टिप्पणीसोमवार, पौष ९, २०७५

लैंगिक हिंसामा महिला मात्रै किन दोषी ?

हिमालखबर

विवाहेत्तर वा विवाहपूर्वको सम्बन्धबाट हुने गर्भधारण र त्यसपछिका दुर्घटनाको सम्पूर्ण दोष महिलाले मात्र पाउने अवस्था लैंगिकतामा आधारित हिंसाको पराकाष्ठा हो।

मानव जन्मँदा जुन लिंग लिएर जन्मन्छ त्यसको आधारमा ऊ पुरुष, महिला या ट्रान्सजेन्डर (तेस्रोलिंगी) हुन्छ । यो उसको लिंग हो । तर ऊ हुर्किएको समाजले उसलाई महिला, पुरुष वा तेस्रोलिंगी हुनुको बेग्लै पहिचान दिन्छ ।

पहिरन, काम, शृंगार, व्यवहार, राजनीतिक पहुँचलगायतका हरेक कार्यमा यो महिलाले गर्ने, यो पुरुषले भनेर छुट्याइन्छ । र, विभिन्न प्रतिबन्ध लगाउन थालिन्छ । यसलाई लैंगिकता भनिन्छ । जन्मँदा लिंगले छुट्याए अनुसार महिला, पुरुष र तेस्रोलिंगीमा एउटा मात्र फरक हुन्छ– महिलाले गर्भधारण गरेर बच्चा जन्माउन सक्छिन् पुरुष र तेस्रोलिंगीले सक्दैनन् । तर लैंगिकताले भने यी तीनै लिंगमा अनेकौं भेद सृजना गराइदिन्छ ।

लिंग र लैंगिकताको आधारमा, छालाको रंगको आधारमा, धन–सम्पत्ति, शक्ति, मुलुक आदि धेरै पहिचानको आधारमा मानवले मानवमाथि नै सदियौंदेखि भेदभाव गरिरहेको छ । यी भेदभावमध्ये लैंगिकताको आधारमा हुने भेदभावले सबैभन्दा बढी विकृति ल्याउँछ । र, यही भेदभावको आधारमा हिंसा हुन्छ । जसलाई लैंगिकतामा आधारित हिंसा (जेन्डर बेस्ड भायलेन्स) भनिन्छ ।

स्केचः रविन साय्‌मि

गाँस, बास र कपासलाई मानिसको आधारभूत आवश्यकता भनिए पनि प्रकृतिले भने सम्भोगलाई पनि हरेक जीवको आधारभूत आवश्यकतामा पारेको छ । तर, जीवको निरन्तरका लागि पनि आवश्यक सम्भोगलाई आधारभूत आवश्यकता नमानी यसको नियन्त्रण गर्न समाज उद्यत हुँदा महिलाको यौन क्रियामा लाञ्छना लगाउन थालियो ।

पुरुषको संलग्नता विना गर्भधारण हुन नसक्ने थाहा हुँदाहुँदै पनि गर्भधारण हुनु र त्यसपछिका कुनै कुकृत्य भएको खण्डमा दोष सबै महिलाले पाउने अवस्था आयो । पितृसत्तात्मक संरचनामा यो महिलालाई नियन्त्रण गर्ने योजना पनि हो । वास्तवमा यो लैंगिकतामा आधारित हिंसाको पराकाष्ठा हो ।

मानव सभ्यताको विकासका क्रममा पारिवारिक संरचनाको सृजनासँगै विवाहलाई संस्थागत रूप दिइयो । तर, यौन सम्बन्ध प्राकृतिक प्रक्रिया भएकोले यो विवाह बाहिर पनि भइरहेको थियो, हुन्छ र हुनेछ । पारिवारिक संरचनामा परिवारको इज्जत महिलाको यौन क्रियामा जबसम्म केन्द्रित हुन्छ तबसम्म लैंगिकतामा आधारित हिंसाको शिकार महिला नै हुन्छन् ।

नेपालका कारागारमा झण्डै २०० महिला आफूले जन्माएको बच्चालाई मारेको अभियोगमा कैद छन् तर, ती बच्चाका बाबुको भने नाम समेत कतै उल्लेख छैन । यसो हुनुको कारण पनि लैंगिकतामा आधारित हिंसा नै हो । निर्मम हत्या गर्ने आमा र बच्चा जन्मिएपछि त्यसको जिम्मेवारी नलिने बाबु दुवै सजायका भागीदार हुन् ।

विवाह पूर्व होस् अथवा विवाहपश्चात् यौन आनन्द लिंदा सामाजिक दायित्वबारे नसोच्ने तर, बच्चा जन्मेपछि त्यसको जिम्मेवारी उठाउन नचाहने कोही पनि निर्दोष हुन सक्दैन । उमेर नपुगेका बालिकाबाट बच्चा जन्मेको हो भने बालिकालाई संरक्षण दिएर बाबुलाई बलात्कार गरेको कसुरमा सजाय दिनुपर्छ ।

हाम्रो अर्थतन्त्र रेमिटेन्सले धानिएको भनिए पनि त्यसले समाज र परिवारमा ल्याएको विग्रहबाट चुकाउनु परेको मूल्यको भने कतै लेखाजोखा छैन । वैदेशिक रोजगारीमा जाने पुरुषहरूका श्रीमतीलाई उनीहरूकै आफन्तले जबर्जस्ती गरी बच्चा जन्मेपछि मार्न लगाएको अवस्थामा उक्त पुरुषलाई पनि बलात्कार र हत्या गरेको कसुर अनुसारको सजाय हुनुपर्छ ।

तर, वैदेशिक रोजगारीमा गएका पुरुषले पठाएको रकम खर्च गर्ने, आफ्नो यौन चाहनालाई प्राथमिकता दिई परपुरुषसँग स्वेच्छाले सम्बन्ध राख्ने र, बच्चा जन्मेपछि हत्या गर्नु जघन्य अपराध नै हो । यस्तोमा मारिने बच्चाका आमाबाबु दुवैले सजाय पाउनुपर्छ । वैदेशिक रोजगारमा गएका श्रीमान्को कमाइमा मोज गर्ने र वैवाहिक सम्बन्धको सीमा नाघ्ने हो भने त्यो, पुरुषप्रति भएको लैंगिकतामा आधारित भेदभाव हो ।

कानूनले छोराछोरी दुवैलाई पैतृक सम्पत्तिमाथि बराबरको हकदार बनाएको छ । त्यसैले दुवैलाई समान शिक्षा र रोजगारको अवसर हुनुपर्छ । छोराहरूलाई पढाइ छुटाएर वैदेशिक रोजगारमा भारतलगायत अन्य मुलुकमा पठाउने चलन छ, हामीकहाँ । त्यसो गर्दा छोरालाई थप जिम्मेवार बनाउन भन्दै विवाह गरिदिने प्रचलन छ ।

यो पुरुषमाथि हुने लैंगिकतामा आधारित हिंसा हो । घरपरिवारको लागि धनसम्पत्ति आर्जन गर्ने, बाबुबाजेको ऋण चुक्ता गर्ने अब पुरुषको मात्र जिम्मा होइन । त्यस्तै, सम्पत्ति कमाउन जाँदा श्रीमतीको यौनचाहना पूरा गर्न नसक्नु उनीहरूको कमजोरी होइन ।

किशोरकिशोरी, महिला र पुरुष सबैलाई व्यावहारिक शिक्षा र प्राविधिक ज्ञान दिएर जीविकोपार्जनका लागि सक्षम बनाउनु जरूरी छ । विस्तारै उनीहरूलाई उपयुक्त पारिवारिक संरचना आफैं निर्माण गर्न सक्ने बनाउनुपर्छ । यसका लागि अभिभावक, समाज र राज्यले पनि ध्यान दिनु जरूरी छ ।

पढ्नुहाेस् ।

आमालाई जेल, बाबुलाई चैन

प्रतिकृया दिनुहोस