रिपोर्टबुधबार, ४ पौष , २०७५

आमालाई जेल, बाबुलाई चैन

हिमालखबर

विवाहेत्तर वा विवाहपूर्वको सम्बन्धबाट जन्मने शिशु–हत्याको अभियोगमा आमाहरू जेल पर्छन्, त्यही सम्बन्धमा जोडिएका बाबुले भने समाज र कानूनबाटै छुट पाउँछन् । 

यासोक, पाँचथरकी भूमिसरा परियार (२२) अहिले मोरङ कारागारमा छिन् । जिल्ला अदालत पाँचथरले उनलाई २० वर्ष जेल सजाय तोकेको छ । श्रीमान् वैदेशिक रोजगारमा रहेका बेला ‘अवैध सम्बन्ध’ बाट जन्मेको शिशु मारेको अभियोगमा उनी जेल परेकी हुन् ।

भूमिसरा १४ वर्षकी हुँदा आफूभन्दा ८ वर्ष जेठा आकाश परियारसँग नजिकिएकी थिइन् । तीन वर्ष मलेशिया बसेर फर्केका आकाश र भूमिसराले फोनबाटै निधो गरेर बिहे गरे । १० महीनामै छोरो जन्म्यो, जो अहिले सात वर्षको पुग्यो । छोरो जन्मेको दुई महीनापछि आकाश पुनः मलेशिया गए ।

घर खर्च चलाउन उनी भूमिसरालाई मासिक रु.८–१० हजार पठाउँथे । कहिले बचत गर्नू भनेर एक–डेढ लाखसम्म पठाउँथे । चार वर्षमा उनले झण्डै रु.१० लाख पठाए । तर, पैसाले श्रीमान्‌काे रिक्तता मेटिएन । भूमिसरा आफ्नै देवरसँग नजिकिइन् । त्यही सम्बन्धबाट जन्मेको शिशु मारेर फ्याँकेको पोल खुलेपछि दुई वर्षअघि उनी पक्राउ परिन् ।

भूमिसरा भन्छिन्, “चार वर्षसम्म श्रीमान् आउनुभएन, उमेर मिल्ने देवरसँग मनका कुरा साटासाट गर्दागर्दै शारीरिक सम्पर्क शुरू भयो । समाजले थाहा नपाओस् भनेर बच्चा फाल्न खोज्दा आज यो हालत भयो ।” जिल्ला अदालतले २० वर्ष कैद हुने फैसला गरे पनि सजाय ‘चर्को पर्ने’ भन्दै उच्च अदालत विराटनगरले पाँच वर्ष कैदको फैसला गरी सो फैसला मिले/नमिलेको जाँच गर्न सर्वोच्च अदालतमा पठाएको छ ।

स्केचः रविन साय्‌मि

पाँचथर कारागारमा रहेकी यासोककै जलजला लावती (३०) का श्रीमान् मेघकुमार २०६५ सालदेखि वैदेशिक रोजगारका क्रममा मलेशियामा छन् । जेठाजु नाताका बज्र लावतीसँगको शारीरिक सम्पर्कबाट जन्मेको छोरालाई मारेर सामुदायिक वनमा गाडेको अभियोगमा ३० चैत २०७२ मा जलजला र बज्र पक्राउ परे । जलजला भन्छिन्, “पैसा त पठाउनुहुन्थ्यो, तर लोग्नेबाट हुने आडभरोसा, दुःखसुखको साथ पैसाले दिएन । उमेरकी श्रीमती सम्झेर बेलाबखत घर आउनुभएको भए म यो हालतमा पुग्ने थिइनँ ।”

उनलाई २० वर्ष कैद गर्ने जिल्ला अदालत पाँचथरको सजाय ‘चर्को पर्ने’ भन्दै उच्च अदालत मोरङले पाँच वर्ष कैद गर्ने फैसला गरी त्यो फैसलाको जाँच गर्न सर्वोच्च अदालतमै पठाएको छ । ‘बच्चाको हत्या गरेको देखेर पनि प्रहरीलाई खबर नगरेको’ भनेर एक वर्षको कैद सजाय सुनाइएका बज्र भने कैद भुक्तान गरेर छुटिसकेका छन् ।

चलनचल्ती र कानूनको भाषामा अवैध भनिने यसखाले सम्बन्धबाट जन्मेका शिशु हत्या गरेको अभियोगमा आमा जेल चलान भएका समाचार नियमितजसो आइरहन्छन् ।

प्रकृतिका लागि गर्भधारण एउटा प्राविधिक प्रक्रिया मात्र हो, उपयुक्त वातावरणमा स्वस्थ डिम्ब र शुक्रकीटको मिलन भएपछि गर्भधारण हुन्छ । तर, समाजले यसमा वैधताको पक्ष थपेको छ । समाजका नजरमा वैधानिक नठहरिने गर्भधारण गरेर त्यसको मूल्य चुकाइरहेका भूमिसरा र जलजला तिनै आमाका प्रतिनिधि पात्र हुन् ।

‘अवैध सम्बन्ध’ र शिशु हत्याको लैङ्गिक, सामाजिक र कानूनी पाटो केलाउन हामीले जेलमा रहेका र जेलबाट भर्खरै छुटेका यस्ता आमाहरूका कथाव्यथा केलाउने प्रयास गरेका छौं । यहाँ चर्चा भएका व्यक्तिहरूले समाजमा थप लाञ्छना बेहोर्नु नपरोस् भनेर सबैको नाम परिवर्तन गरिएको छ ।

ज्यानमुद्दा खेप्ने आमाहरू
माझकाेट, तनहुँकी तेजकुमारी रानाले २१ मंसीर २०६७ राति पाँच महीनाकी छोरीलाई तीन पटक चुम्बन गरिन् र रुमालले घाँटीमा कसेर हातले नाकमुख थुनिदिइन् । घटनाबारे अरूले थाहा पाएपछि उनीविरुद्ध प्रहरीमा उजुरी पर्‍यो । “देवर नाता पर्ने कहरबहादुर रानासँगको सम्बन्धबाट गर्भ रहन गयो” त्यसबेला १७ वर्षकी तेजकुमारीले अदालतमा दिएको बयानमा भनेकी छन्, “इच्छाविपरीत गर्भधारण भई जन्मेको बच्चाको न्वारान नभएको, बाबु को हो भनेर समाजलाई खुलाउन सक्ने अवस्था पनि नरहेको र आफ्नो भविष्य पनि अन्धकार हुने देखेर बच्चीलाई पन्छाउनु ठीक हुने ठानी हत्या गरेकी हुँ ।”

तेजकुमारीले गर्भवती भएपछि कहरबहादुरलाई भनेकी थिइन् । शुरूमा उनले ‘मिलाउँछु’ भनेका पनि थिए । गाउँमा यसबारे चर्चा भएपछि समाज बसेर कुरा पनि मिलायो । तर, छोरी जन्मेको पाँच महीनासम्म न्वारान नै नभएपछि तेजकुमारी निराश भइन् । त्यही निराशा छोरीको हत्यासम्म पुग्यो ।

जिल्ला अदालत तनहुँले २०६९ जेठमा तेजकुमारीलाई १० वर्ष कैद हुने फैसला गर्‍यो । ‘सामाजिक तिरस्कारका कारण आवेशमा छोरीको हत्या गरेको, तर यो सजाय चर्को भएको’ दाबीसहित तेजकुमारीले फैसलाको पुनरावेदन गरेपछि पुनरावेदन अदालत पोखराले २०६९ माघमा उनलाई ७ वर्ष कैद हुने फैसला सुनायो । सर्वोच्च अदालतबाट पनि पुनरावेदनकै फैसला सदर भयो । तेजकुमारी अहिले कैद भुक्तान गरेर रिहा भइसकेकी छन् ।

७ भदौ २०७० मा चितवनको पिठुवा गाविसस्थित माधवपुरको धानखेतमा नवजात शिशुको शव भेटियो । भोलिपल्ट उपचारका लागि भरतपुर अस्पताल पुगेकी समीरा लामिछानेसित सोधपुछका क्रममा थाहा भो– त्यो शिशु उनैले जन्माएर फालेकी रहिछन् । पिठुवास्थित मामाघरमा बसेर पढिरहेकी समीराले धादिङ, मैदीका पवन तिवारीसँगको सम्बन्धबाट आफू गर्भवती भएको स्वीकारिन् ।

समिराले प्रहरीमा दिएको बयानअनुसार पिठुवामै रहेको ठूलीआमाको घर जाँदा शौचालयमा बच्चा जन्मेपछि उनले कपडामा पोको पारेर बाल्टीमा राखी नजिकैको कुलोमा फालेकी थिइन् ।

प्रहरीले समीरा र पवनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलायो । तर, जिल्ला अदालत चितवनले यो मुद्दामा फैसला गर्दै भन्यो– “समीरा लामिछानेले जीवित बच्चा जन्माई कर्तव्य गरी मारी कुलोमा बगाएको भन्ने निश्चयात्मक प्रमाण नपुर्‍याई मिसिल पेश भएको अवस्था समेतका आधारमा कर्तव्यबाट नै नवजात शिशुको मृत्यु भएको भनी ठहर गर्न मिलेन ।”

समीराले मृत बच्चा जन्मेको बयान नदिएको र शव परीक्षण प्रतिवेदनमा उल्लेख शिशु जन्मेपछि मृत्यु भएको व्यहोरालाई आधार मानेर अदालतले ‘कर्तव्य नभई भवितव्यबाट मृत्यु भएको’ ठहर गर्‍यो । समीरालाई ४५ दिन कैद र रु.५०० जरिवाना हुने फैसला सुनाइयो, पवनले भने सफाइ पाए ।

तर, जिल्ला अदालतको फैसला उल्ट्याउँदै पुनरावेदन अदालत हेटौंडाले समीरालाई सर्वस्वसहित पाँच वर्ष कैद सजाय हुने फैसला सुनायो । सर्वोच्च अदालतले पनि पुनरावेदनकै फैसला सदर गर्‍यो, २० फागुन २०७२ मा । समीरा अहिले जेलसजाय भुक्तान गरेर कारागारमुक्त भइसकेकी छन् ।

ज्यानमुद्दा खेप्ने अर्की आमा हुन्, सल्यान सिद्धेश्वरकी गगनमाया चलाउने । गगनमायाले आफूले जन्माएको बच्चा प्लाष्टिकले बेरेर गाउँनजिकको ओडारछेउमा खाल्डोमा गाडिन् । ४ असार २०६९ मा शव भेटिएपछि स्थानीय बासिन्दाको उजुरीका आधारमा प्रहरीले गगनमायालाई पक्राउ गर्‍यो ।

“नाताले देवर पर्ने स्थानीय स्कूलकै शिक्षक गरुडध्वजले घरमा मोबाइल चार्ज गर्ने निहुँमा मलाई जबर्जस्ती गर्‍यो, ऊसँग २०६८ साउन र भदौमा दुईपटक मेरो उठबस भएको हो” २५ वर्षीया गगनमायाले प्रहरीसँगको बयानमा स्वीकारिन्, “मलाई बिहे गरेर लैजा भन्दा मानेन । शुरूमा ऊ मलाई नभेटी कताकता गयो, पुसमा घर आएपछि नेपालगञ्ज गएर देखाउँदा डाक्टरले गर्भपतन गर्न मिल्दैन भने । गरुडध्वजले पनि ‘जे सुकै गर’ भन्यो । त्यसपछि बच्चा जन्माएँ, जन्मेपछि बच्चा नचलेकाले मरेको ठानेर सालनाससहित फालें ।”

गगनमायाका श्रीमान् वैदेशिक रोजगारमा गएका थिए । जिल्ला अदालत सल्यानले सर्वस्वसहित जन्मकैदको सजाय हुनुपर्ने ठहर गरे पनि ‘श्रीमान् विदेशमा रहेका बेला परपुरुषसँगको सम्बन्धबाट बच्चा जन्मे पनि सामाजिक लोकलाजका कारण बच्चा फालेकाले’ १० वर्ष मात्र कैद सजाय हुने फैसला सुनायो । पुनरावेदन अदालत तुलसीपुरले २०७० साउनमा यो सजाय ‘चर्को पर्ने’ ठहर गर्दै सात वर्ष कैद हुने फैसला गर्‍यो ।

फैसलामा चित्त नबुझाई कडा सजायको माग गरेको प्रहरी र आफू निर्दोष दाबी गरेकी गगनमाया दुवै सर्वोच्च अदालत पुगे । सर्वोच्चले पुनरावेदनकै फैसला सदर गरेर भन्यो– “गगनमायाको गरुडध्वजसँग उठबस भएको र अवैध गर्भधारणबाट बच्चा जन्मेको देखिन आयो । बच्चा मरेको अवस्थामा जन्मेको थियो भनेर पुष्टि हुने कागजात र देख्ने साक्षी समेत उपस्थित गराउन सकेको देखिएन । अवैध गर्भ र शिशुलाई लुकाउने उद्देश्यका साथ गाडेकाले मरेको शिशु नै जन्मेको थियो भनी पुष्टि हुनसकेन ।” गगनमाया सजाय भुक्तान गरेर अहिले कैदमुक्त भइसकेकी छन् ।

‘वर्जित सम्बन्ध’ को अचानोमा
शिशु हत्याका यस्ता घटनाको पृष्ठभूमि केलाउँदा विवाहेत्तर या विवाहपूर्वका सम्बन्ध प्रमुख कारणका रूपमा देखापर्छन् । जस्तो, सुनसरीको इटहरीस्थित तरहराकी अचला परियारका श्रीमान् भारतमा मजदूरी गर्थे । अचला गाउँमा काम गर्न आएका शिलाबहादुर राजवंशीसँग नजिकिइन् ।

त्यहीक्रममा गर्भ रह्यो । “सात महीनाकी गर्भवती थिएँ, गाग्रोमा पानी बोकेका बेला चिप्लिएँ, गाग्रो पेटमाथि खस्यो” अचलाले भनिन्, “तीन दिनपछि मरेको बच्चा जन्मियो, शिलाबहादुरले लगेर पुरेछन् ।” अदालतबाट दोषी ठहर भएपछि उनी मोरङ कारागारमा कैद भुक्तान गर्दैछिन् ।

काठमाडौं, खुसिबुका तकाजी प्रजापतिको घरको इनारमा २७ भदौ २०७१ मा नवजात शिशुको शव भेटियो । त्यही घरमा भाडामा बस्ने गंगा खनालले बच्चा जन्माएर फालेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान शुरू गर्‍यो । गंगा विवाहित थिइन् । प्रहरीसमक्ष दिएको बयानअनुसार श्रीमान्‌सँग सम्बन्ध नरहेपछि उनी अलग्गै बस्न थालेकी हुन् ।

रेस्टुरेन्टमा वेटरको काम गर्ने गंगाको त्यहीक्रममा काठमाडौंकै सागर लामासँग भेट भयो । सागरले बिहे गर्ने आश्वासन दिएपछि उनीहरूबीच शारीरिक सम्पर्क भयो । तर, गंगा गर्भवती भएपछि सागरले वास्ता गर्न छाडे । गंगाले बच्चा जन्माएको, तर जन्मेपछि भुईंमा ठोक्काएर इनारमा फ्याँकेको बयान प्रहरीलाई दिएकी छन् । जिल्ला अदालत काठमाडौंले उनलाई पाँच वर्ष कैद सजाय हुने फैसला सुनायो । पुनरावेदन र सर्वोच्च अदालतबाट पनि जिल्लाकै फैसला सदर भयो ।

नेपालको प्रचलित कानूनले हाडनाता र नाबालकसित बाहेक कुनै पनि यौन सम्बन्धलाई अवैध मान्दैन । कानूनले तोकेको अवधिभित्र गरिने गर्भपतनमा पनि ‘कसको गर्भ ?’ भनेर सोधिन्न । जब गर्भको भ्रूणले शिशुको आकार ग्रहण गर्छ, त्यसपछि हुने गर्भपतन वा शिशुको हत्यापश्चात् भने त्यस्तो सम्बन्ध नै अवैध ठहरिन पुग्छ ।

महिला–पुरुषबीच सहमतिमै यौन सम्बन्ध भए पनि विवाहेत्तर/विवाहपूर्वका सम्बन्धबाट गर्भ रहेमा शारीरिक, मानसिक र सामाजिक सबैखाले पीडा महिलाले मात्र व्यहोर्नुपर्छ । र, त्यही पीडाबाट जोगिन आमाहरूले आफ्नै शिशुको ज्यान लिने घटना सामान्य झैं बन्न पुगेका छन् । ‘अवैध सम्बन्ध’ मा संलग्न पुरुषहरू पन्छिने, त्यसरी जन्मेका बच्चाको पालनपोषणदेखि समाजमा भोग्नुपर्ने सबैखाले लाञ्छना महिलाले मात्र भोग्नुपर्ने हुँदा त्यसबाट जोगिन पनि आमाहरूले यसखाले क्रूर बाटो रोज्ने गरेको देखिन्छ ।

वैदेशिक रोजगारबाट फर्केका मकवानपुर, राईगाउँका भुवनबहादुर पहरीले १० पुस २०६६ मा प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ– “मेरी श्रीमती जगतमाया पहरीले गर्भ बोकेको कुरा गाउँघरमा सुनी श्रीमतीसँग बुझदा उनले होइन भनी जिकिर गरिन् ।

२०६६ साल पुस ९ गते उनले रगताम्मे कपडा धोई पखाली गरेको गाउँका महिलाले देखी सोधपुछ गर्दा अन्दाजी ४ बजे जिउँदो शिशु छोरी पाएकोमा लाजसरमले गर्दा शिशुको घाँटी निमोठी मारिदिएँ भनी भनेको कुरा म समेतले थाहा पाई घटनास्थल जाँदा शिशुलाई मारी ढुंगा स्याउलाले थिची पुरी राखेको अवस्थामा फेला पारें । सो बारेमा सोधपुछ गर्दा उनले हिमलाल भोलनसँगको सहवासबाट पेट बोकी छोरी जन्माई मारी फालेको हुँदा प्रहरीको सहयोगमा पक्राउ गरी यसै दर्खास्तसाथ पेश गरेको छु ।”

प्रहरीले नवजात शिशुको शव बरामद गरेपछि जगतमायालाई पक्राउ गर्‍यो । उनले अदालतमा दिएको बयानमा भनेकी छन्– “श्रीमान्‌ले कान्छी श्रीमती ल्याएपछि मलाई हेला गर्थे । त्यहीक्रममा हिमलालसँग मेरो सम्बन्ध बस्यो, त्यही सम्बन्धबाट गर्भ रह्यो । बच्चा जन्मँदा सास थियो । समाजबाट लाज बचाउन त्यत्तिकै छाडेर हिंडें । मैले छाडेर हिंडेपछि मरेछ ।” जिल्ला अदालत मकवानपुरले जगतमायालाई ७ वर्ष कैद सजाय हुने फैसला सुनायो, हिमलालले भने सफाइ पाए ।

समाजले नस्वीकार्ने यसखाले सम्बन्धबाट गर्भवती बनेका कतिपय किशोरीले सन्तान जन्माउने र हुर्काउने हिम्मत नगरेका होइनन् । तर, त्यसक्रममा उनीहरूले दुःखका पहाडसँग जुध्नुपर्छ । ती सन्तानलाई विद्यालयमा भर्नादेखि नागरिकता दिलाउन समेत ठूलै संघर्ष गर्नुपर्छ ।

समाजशास्त्री निर्मला ढकाल यस्तै कठिन परिस्थितिको सामना गर्न नसकेर कतिपय महिलाले अपराधको बाटो रोज्ने गरेको बताउँछिन् । “विवाहेत्तर सम्बन्धमा समाजले महिलालाई मात्र जिम्मेवार ठहर्‍याउँछ, घटना सार्वजनिक भएमा ती महिला समाजमा स्वीकार्य हुँदैनन्” ढकालले भनिन्, “समाजले स्वीकाथ्र्यो भने यस्ता घटना कमै हुन्थे, हत्याका घटना त विरलै हुनेथिए ।” कतिपय महिलाले सन्तानलाई काखी च्यापेर आत्महत्या समेत गरिरहेको बताउने ढकाल भन्छिन्, “पारिवारिक कानून परिमार्जनका क्रममा यस्ता समस्या सम्बोधन हुनुपर्छ ।”

२०० आमा जेलमा
कारागार व्यवस्थापन विभागका अनुसार देशभरका कारागारमा अहिले २० हजार ३२८ कैदी/बन्दी छन्, जसमध्ये पुरुष १९ हजार २१ छन् भने महिलाको संख्या एक हजार ३०७ छ । विभागका प्रवक्ता कृष्णबहादुर कटुवालका अनुसार महिलामध्ये ३५९ जना ‘कर्तव्य ज्यान’ मुद्दामा जेल परेका हुन् ।

तर, यो सूचीभित्र आफैंले जन्माएका नवजात शिशुहरूको हत्याका कारण जेल बसेका आमाहरूको यकिन तथ्यांक विभागसँग पनि छैन । “हरेक व्यक्तिको मुद्दाको मिसिल नपल्टाई यस्तो संख्या छुट्याउन सकिन्न” कटुवालले भने, “सरसर्ती हेर्दा कर्तव्य ज्यानमुद्दाका महिला बन्दीमध्ये आधाभन्दा बढी शिशु हत्यासँग सम्बन्धित रहेको अनुमान गर्न सकिन्छ ।”

यसरी हेर्दा देशभर २०० भन्दा बढी महिला बन्दीहरू आफ्नै सन्तानको ज्यान लिएको अभियोगमा जेल जीवन बिताइरहेका छन् । विभागका अधिकारीहरूको अनौपचारिक भनाइलाई आधार मान्ने हो भने हरेक वर्ष ४०/५० जना आमा ‘अवैध सम्बन्ध’ पछि जन्मने शिशु हत्याको अभियोगमा जेल पुगिरहेका छन् ।

नवजात शिशु हत्याको अभियोगमा दोषी ठहर भएका आमाहरूमध्ये अधिकांशलाई जन्मकैदको प्रस्ताव भए पनि अदालतले त्यो सजाय ‘चर्को पर्न जाने’ ठहर गर्दै ७ देखि १० वर्षसम्म कैदमा सीमित गरेको पाइन्छ ।

कारागार व्यवस्थापन विभागका प्रवक्ता कटुवालका अनुसार, १ भदौ २०७५ मा नयाँ फौजदारी संहिता लागू हुनुअघि ४० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका कैदी÷बन्दीलाई बाँकी सजाय मिनाहा दिने व्यवस्था थियो । सो व्यवस्था अनुसार शिशु हत्याका अभियुक्तहरू कैद सजाय पाएको साढे दुई वर्षदेखि चार वर्षसम्ममा कारागारमुक्त भइसकेका हुन्थे ।

उन्मुक्त बाबुहरू
फौजदारी न्यायप्रणालीको मान्यताले भन्छ– कसुरमा संलग्न हुनेले नै सजाय भोग्नुपर्छ, प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न नहुनेहरूलाई सजायको भागीदार बनाउन मिल्दैन । यही मान्यताबाट हेर्दा ‘अवैध सम्बन्ध’ बाट जन्मेका शिशुको हत्याका अधिकांश घटनामा प्रत्यक्षतः आमा संलग्न हुन्छन् । त्यसक्रममा संलग्न ‘बाबुहरू’ माथि सामाजिक प्रश्न नै उठ्दैन ।

वरिष्ठ अधिवक्ता मीरा ढुंगानाका अनुसार यस्ता अपराध हुनुमा महिलाको मात्र दोष हुन्न, तर समाज र कानूनी व्यवस्थाले प्रमाणको भार आमामाथि नै थुपार्छन् । “घटनाको फेहरिस्त महिलालाई नै थाहा हुन्छ, तर उनीहरू अपराधमा संलग्न भएकाहरूबारे जानकारी दिन असमर्थ हुन्छन्, जानकारी दिए पनि कसैले पत्याउँदैनन्” ढुंगानाले भनिन्, “यस्ता घटनामा अनुसन्धान गर्ने निकायले नै महिलालाई दोषी किटान गरेको हुन्छ, प्रहरीबाट हुने अनुसन्धानको दायरा नै संकुचित छ ।”

ढुंगानाको टोलीले दुई वर्षअघि १४ जिल्लामा यसबारे अध्ययन गर्दा दुई जना पुरुष मात्र शिशु हत्यामा संलग्न भई जेलमा सजाय काटिरहेका भेटिएको थियो । महिलाले भने गर्भावस्थामै शिशुको मृत्यु हुँदा समेत परिवारले किटानी जाहेरी दिएपछि शिशु हत्यामा दोषी ठहर भई कैद सजाय भोग्नु परेका उदाहरण पनि छन् ।

‘अवैध सम्बन्ध’ मा रहेका महिला जेल पर्दा पुरुषले भने अदालतबाटै सफाइ पाउँछन् । जस्तो, तनहुँकी तेजकुमारी राना देवर नाता पर्ने कहरबहादुरसँगको सम्बन्धबाट जन्मेकी छोरीलाई हत्या गरेको अभियोगमा जेल परिन् । प्रहरीले कहरबहादुरको नाममा पनि म्याद जारी गर्‍यो । शिशु हत्या बाहेक हाडनाता करणीको मुद्दा अदालत पुग्यो । तर, अदालतबाट फैसला हुँदा कहरबहादुरबारे केही उल्लेख भएन ।

सरकारपक्षबाट यस्ता मुद्दाहरूको कानूनी प्रतिरक्षा गरेकी सह–न्यायाधिवक्ता रमा पराजुलीका अनुसार, अदालतले यस्ता घटनालाई मुख्यतः तीन किसिमबाट हेरेको पाइन्छ । “शिशु हत्याका क्रममा केटा वा केटी कसको संलग्नता थियो भन्ने परीक्षण हुन्छ, अवैध सम्बन्धबाट बच्चाको जन्म भएर बयानका क्रममा केटाले हत्या गर्न उक्साएको हो भने पनि अनुसन्धानका क्रममा संलग्न नदेखिए कारबाहीको मागदाबी गर्न मिल्दैन” पराजुली भन्छिन्, “सबै प्रमाण जुटेपछि मात्रै निक्र्योल हुने र ज्यान मारेको भेटिए मात्र जन्मकैदसम्मको सजाय हुने हो ।”

पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी यसमा सामाजिक परिवेश र कानूनी व्यवस्था दुवैलाई जिम्मेवार मान्छन् । “दुवै पक्षको सहमतिमा हुने सम्बन्धबाट गर्भधारण भएको भेटिन्छ, शिशु–हत्यामा संलग्न नभएको अवस्थामा ‘शारीरिक सम्बन्ध’ कै कारण पुरुषलाई हत्याको आपराधिक दायित्वमा जोड्न मिल्ने व्यवस्था छैन” मल्ल भन्छन्, “आपराधिक मनसाय नभए पनि कतिपय आमाले परिवार र समाजको डरले त्यस्तो सम्बन्धबाट जन्मेका सन्तानलाई पन्छाउनु नै यो समस्याको समाधान ठान्छन्, अनि यस्ता घटना भइरहन्छन् ।” ‘अवैध सम्बन्ध’ बाट जन्मेका सन्तानलाई सहजै स्वीकार नगर्ने समाजले नै अप्रत्यक्ष रूपमा यस्ता घटनालाई प्रेरित गरेको मल्लको निक्र्योल छ ।

प्रतिकृया दिनुहोस