धमिलियो भुटानको सम्झना, सन्तान उडे पुनर्वासमा
२८ असोजमा झापाको बलडाँगी शिविरको छाप्रोमा एक्लै भेटिएकी खिनमाया आचार्य (८४) ११ सन्तानकी आमा भएर पनि बुढेसकालमा एक्लै बन्नु परेकामा दुःखी थिइन्।
शरणार्थी शिविर बेलडाँगी-२ सेक्टर ई-३ मा उनी एकल जीवन बिताइरहेकी छन्। पति देवीचरण (८५)को गत २८ साउनमा शिविरमै निधन भयो।
दक्षिण भूटानको सर्भाङ गेलेफुबाट नेपालमा शरण लिन आउँदा जेठो छोरो मोतीखर, छोरीहरू मनमाया र ठगमाया उतै छुटेका थिए। यता सँगै आएका छोराहरू तिलचन्द्र, धर्मेन्द्र, हिमलाल तथा छोरीहरू जमुना, दिलकुमारी, गंगा र मन्दोदरी अमेरिका र क्यानडा पुनर्वास भए। ६ वर्षअघि शिविरबाट हराएका माइलो छोरा लोकनाथ अझै भेटिएका छैनन्। “यत्तिका छोराछोरी र आफन्त भएर पनि आज एक्लै भएँ,” उनी भन्छिन्।
नारायण सुवेदी (५१) ले भूटानमै छुटेकी जेठी श्रीमती जुनुलाई नभेटेको २७ वर्ष भयो। ३१ फेब्रुअरी १९९३ मा झापाको खुदुनाबारीस्थित शरणार्थी शिविर आएका सुवेदीले उतैबाट आएकी लक्षीमाया मगरसँग दोस्रो बिहे गरे। तर, १५ वर्षपछि उनीहरूको सम्बन्धविच्छेद भयो।
अहिले अमेरिकामा रहेकी लक्षीमायाले ‘नारायणले हिंसा गरेको’ सिकायत गरेकाले पुनर्वास योजनामा आफू नपरेको उनको भनाइ छ। तेस्रो विवाह गरेकी कमला गुरुङ पनि तीन छोराहरूका साथ पुनर्वासमा अमेरिका गएपछि उच्च रक्तचापका बिरामी नारायण अहिले एक्लै छन्।
बेलडाँगी-२ शिविरकै लालबहादुर प्रधान (८०) का ६ छोराछोरीमध्ये चार जना पुनर्वासमा विभिन्न देश गए। पक्षघात र उच्च रक्तचापका रोगी प्रधान छोराछोरीको सम्झनाले विरक्तिने गर्छन्। उनको स्याहार गरेर बसेका छोरा भीमबहादुर भन्छन्, “वृद्ध र रोगी आमाबुबालाई छाडेर कहीं जान मनले मानेन। सुख दिन पनि सकेको छैन।”
पुनर्वासमा इच्छा नभएर छुट्नेहरूमा अविवाहित बयोवृद्ध बढी छन्। तिनैमध्येका एक हुन्, लालबहादुर थापा (७१)। बेलडाँगी-२ को सेक्टर सी-४ छाप्रो नम्बर ९१ मा बस्ने उनी अविवाहित हुन्।
शिविरको पूर्वी किनारमा जंगल छेउको छाप्रोमा ४ वर्ष अघिसम्म उनका टाढाका नातेदार पनि बस्थे। तर, ती नातेदारको परिवार पुनर्वास भएपछि वृद्ध लालबहादुर छाप्रोमा एक्लै परेका छन्। बिहान पकाएको खाना प्रायः दुईछाक खान्छन्। “यो धर्तीमा मेरो कोही छैन, साँच्चै म यहाँ एक्लै बसेर काल पर्खिइरहेको छु,” उनी भन्छन्।
ओम सापकोटा (४४) बेलडाँगी-२ सेक्टर डी-४ को छाप्रो नम्बर १९ मा छन्। भुटानको साम्ची जिल्लाको सिब्सु ब्लक टेण्डु गाउँको सम्झना धमिलिँदै गएको छ। अझै पनि त्यहाँको खेतबारी स्याहारेर कान्छा काका रविलालको परिवार बसिरहेको छ।
२७ वर्षअघि उनी यही शिविरमा आउँदा १७ वर्षका किशोर थिए। मनग्य आयस्ता भएको कृषि र पुरेत्याइँबाट पालिएको परिवारको जेठो छोराले १२ वर्षदेखि आमाबाबुको मुख देख्न पाएका छैनन्।
उनी सन् २००६ मा बनारसबाट शास्त्रीको पढाइ छिचोलेर शरणार्थी शिविर फर्किंदा माओवादी सशस्त्र विद्रोह चरम अवस्थामा थियो। फर्कने क्रममा झापाको काँकडभिट्टादेखि दमकसम्मको ५० किलोमिटरमा १३ ठाउँमा सेना र प्रहरीले जाँच गरे। शिविरमा पनि भुटानी माओवादीको गतिविधि तीव्र थियो। ‘क्रन्ति’मा लाग्न आउने दबाबपछि उनी फेरि फेरफारे कपडा र किताबको पन्तुरो बोकेर बनारस फर्किए।
६ वर्षपछि डिसेम्बर २०१२ मा शिविर फर्किंदा छाप्रो रित्तो थियो। बाबु तुलसीप्रसाद, आमा कौशिला, भाइहरू चेतन र कृष्ण, बहिनीहरू कमला, भीमा र हरिमाया अमेरिकाको ओहायो र भजिर्निया पुनर्वास भइसकेका थिए।
जेठी दिदी सावित्रा क्यानाडाको टोरण्टोमा छिन्। भारतको सिक्कममा बिहे भएकी माइली दिदी शान्तिमाया मात्र यता रहिन्। “उता आमा मेरो बाटो हेर्दै भक्कानिनुहुन्छ रे,” दशैंछेक छाप्रोको घुर्यान लिपपोत गरिरहेका सापकोटा भन्छन्, “पुनर्वासमा जाने मेरो कागजपत्र मिलेको छैन, यता आफू पनि विरहको कहर काटिरहेको छु।”
उनी सन् २००६ को शरणर्थी गणना र सन् २०१२ को पुनदर्तामा छुटे। सोही कारण उनको शरणार्थीको पहिचान संकटमा छ। तेस्रो मुलुक पुनर्वासको स्वेच्छिक फारम पनि भर्न पाएनन्।
शिविर सचिव टीकाराम रसाइलीका अनुसार यतै छुटेका एकल पुरुष र महिलाको संख्या ३३७ छ। १८ वर्ष पुगेसँगै पुनर्वासमा जाने वा नजाने निर्णय लिन पाइने सुविधा छ। छोरा-नातिहरू पुनर्वासमा जाँदा तिनका बाबुआमा र हजुरबा-हजुरआमा यतै छुटेर बेसहारा बनेका छन्।
आफन्तहरूबाट छुटेकाहरूलाई समिति र छिमेकीको परोपकारले भरथेग गरिरहेको शिविर सचिव रसाइली बताउँछन्। सन् २०१७ देखि राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगलगायत दाताले शरणार्थीका लागि खाद्य सहायता बन्द गरी मासिक रु. ६५० दिन थालेका छन्।
श्रीमती धनमाया र चार छोराछोरीका परिवार पुनर्वासमा गएपछि बेलडाँगी-२ शिविरमा एक्लै रहेका नरबहादुर बस्नेत (७६) भन्छन्, “बस्न पाए पनि खानलाई निकै समस्या छ।”
पढ्नूस्
नेपालमै घुलमिलको बाटोमा भुटानी शरणार्थी