गोर्खा ब्रुअरी प्रकरणः छानबिनमा तानिएका न्यायाधीशले दिए राजीनामा
गोर्खा ब्रुअरीको पक्षमा अन्तरिम आदेश जारी गरेपछि छानबिनको दायरामा तानिएका न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएका छन् ।
९ साउनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गरी अन्तरिम आदेश जारी गरेको भन्दै उच्च अदालत पोखरामा कार्यरत न्यायाधीश रामचन्द्र यादव, नरबहादुर शाही र जीवनहरि अधिकारीमाथि छानबिन र कारबाही गर्न न्यायपरिषदमा लेखी पठाउन आदेश दिएको थियो ।
सर्वाेच्चको आदेश लगत्तै तीनै जना न्यायाधीशलाई उच्च अदालत पोखराबाट न्यायपरिषद् सचिवालयमा काज सरुवा गरिएको थियो ।
आदेशपछि न्यायपरिषद् बैठकले उच्च अदालत पोखराका न्यायाधीशले जारी गरेको आदेशका विषयमा छानबिन गर्न सर्वाेच्चका न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिले उच्च अदालतले जारी गरेको आदेशका विषयमा छानबिन गरिरहेको छ ।
उमेर हदका कारण अधिकारी आगामी फागुनमा सेवा निवृत्त हुुँदै थिए । तर, गोर्खा ब्रुअरीको पक्षमा जारी भएको अन्तरिम आदेश विवादित भएपछि पदावधि समाप्त हुनु भन्दा ७ महीना अगाडि राजीनामा दिएका हुन् ।
सोमबार प्रधानन्यायाधीश राणालाई बुझाएको राजीनामा पत्रमा अधिकारीले गोर्खा ब्रुअरीका पक्षमा आदेश जारी गर्दा कुनै दोष नभएको दाबी गरेका छन् ।
गाेर्खा ब्रुअरी प्रकरणमा हिमालले लगातार फलाेअप स्टाेरी गर्दै आएकाे छ ।