वर्षमानका भाइको लगानीको सुनखानी खोज्न तस्कर समूहको सहयोग
नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनका भाइ लगानीकर्ता रहेको सुनखानी खोजबिनमा सुन तस्कर समूहले सघाएको खुलेको छ।
साढे ६० किलोग्राम सुन तस्करीमा संलग्नहरू पूर्व अर्थमन्त्री वर्षमान पुनको पारिवारिक लगानी भएको सुनखानी खोजतलासको सम्भाव्यता अध्ययनका लागि रोल्पा पुगेको खुलेको छ। सुन तस्करीमा व्यवस्थापकीय भूमिकामा देखिएका तिब्बती मूलका बेल्जियमका नागरिक दावा छिरिङले नै बयानमा यो विषय स्विकारेको जिल्ला अदालत, काठमाडौंमा भदौ ३१ गते दर्ता अभियोगपत्रमा उल्लेख छ।
यो टोली हेलिकोप्टर चार्टर गरेर रोल्पा पुगेको र चारपाँच दिन बसेर फर्किएको पनि दावाले बताएका छन्। आगो भनिने चिनियाँ नागरिक वेङ जिंग्वोले चीनबाटै तीन जना विशेषज्ञ झिकाएर सम्भाव्य अध्ययनका लागि रोल्पा लगेका हुन्। यो टोलीसँग दावा समेत गएका थिए।
त्यही क्रममा वेङले आफूलाई बिस्कुट आकारको सुनको फोटो देखाएर किन्ने ग्राहक खोजेमा २० हजार रुपैयाँ कमिशन दिने बताएको पनि दावाले बयानमा खुलाएका छन्। दावाको मोबाइलमा फोटो पनि भेटिएको थियो। यद्यपि दावासँग वेङको पुरानै चिनजान रहेको प्रहरीको भनाइ छ।
रोल्पाको सुनछहारीमा भियना मल्टिपर्पोज ग्रुप कम्पनीले २०७७ सालमा सुन खानी तथा भूगर्भ विभागबाट खोजतलासको अनुमति पाएको थियो। यो कम्पनीमा पूर्व अर्थमन्त्री पुनका कान्छा भाइ प्रनिशको ३० हजार कित्ता शेयर छ। कम्पनीको मुख्य शेयरधनी दावाकी श्रीमति समेत रहेकी अमला छिन्।
कम्पनी रजिस्ट्रारको कार्यालयको अभिलेख अनुसार यो कम्पनीमा अमला सहित दीपक बूढा, सिशम रोका मगर र प्रनिशको शेयर छ। तीन करोड रुपैयाँ चुक्ता पूँजी रहेको यो कम्पनीकी अध्यक्ष अमला हुन्। दीपक अमलाका भाइ हुन् भने सिशम छोरी।
दावा अमलाका दोस्रा श्रीमान् हुन्। सुजनप्रकाश रोकाको मृत्युपछि अमलाले दावासँग विवाह गरेकी हुन्। सिशम भने सुजन-अमलाकी छोरी हुन्।
कम्पनी रजिस्ट्रारको कार्यालयमा गत वैशाख १९ गते कम्पनीको शेयर लागत अद्यावधिक गरिएको छ। जस अनुसार सबैभन्दा ठूलो शेयरधनी अमला हुन्। उनको दुई लाख २५ हजार कित्ता शेयर छ। प्रनिशको ३० हजार कित्ता शेयर छ भने दीपकको ४२ हजार ५०० कित्ता र सिशमको दुई हजार ५०० कित्ता शेयर छ। प्रहरीका अनुसार यो लगानीले पुन परिवारसँग गिरोहको सम्बन्धलाई थप सन्दिग्ध बनाएको भए पनि त्यसतर्फ अनुसन्धान गरिएन।
अमला सुन तस्कर गिरोहको ‘शेल्टर’ रहेको ठमेलस्थित भियना होटलकी सञ्चालक पनि हुन्। मञ्जिल श्रेष्ठ र अमलाको नाममा यो होटल रहेको कम्पनी रजिस्ट्रारको कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पठाएको पत्रमा उल्लेख छ।
यसअघि छङफङ होटलको नाममा दर्ता भएको होटललाई पछि नाम फेरेर भियना बनाइएको अनुसन्धानका क्रममा बयान कागज गर्ने विजय श्रेष्ठले बताएका छन्। यो कम्पनीले नेपाली माटो चीन निर्यात गर्ने समेत तयारी गरेको श्रेष्ठले बताएका छन्। श्रेष्ठ भियनाको कानूनी कागजात मिलाउन संलग्न रहेको पाइएको छ।
छङफङ त्यही होटल हो, जसको चिनियाँ साझेदारसँग पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन समेत घुम्न हेलिकोप्टरमा रसुवाको गोसाइँकुण्ड पुगेका थिए। अमला सहित २०७६ माघ १ गते एक चिनियाँ समूहलाई लिएर मनाङ एअरको हेलिकोप्टरमा दीपेश गोसाइँकुण्ड पुगेको खुलेको छ।
त्यो भ्रमण टोलीमा रहेका चिनियाँ नागरिक चु जिलियाङ त्यही छङफङ होटलका लगानीकर्ता हुन्। दीपेशसँग पक्राउ परेका दावाको थुप्रै पटक फोन सम्पर्क भएको देखिए पनि थप प्रमाण भने फेला नपरेको भन्दै सीआईबीले कागज मात्र गराएर छोडेको छ।
सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य अनुसन्धान बाँकी नै रहेकाले राजनीतिक ‘कनेक्सन’ खुल्ने आशा रहेको बताउँछिन्। “अनुसन्धान सकिएको छैन। यो अनुसन्धान एकदमै छोटो समयमा सकाउनुपर्ने बाध्यतामा हामी थियौं,” बज्राचार्य भन्छिन्।
अमला र दीपेश पुनबीच सुन तस्करी भएको अवधिमा पाँच पटक कुराकानी भएको अभियोगपत्रमा उल्लेख छ। भियना होटलबाट दावा पक्राउ परेपछि अमलाले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनसँगै बसेको भिडिओ क्लिप फेसबूक ‘रील’ राखेकी थिइन्।
अमलाको साढे ६० किलो र भेप प्रकरणका उपल्लो तहको भूमिकामा देखिएका दाओजिन वाङसँग समेत नौ पटक सम्पर्क भएको अभियोगपत्रमा छ। भेप प्रकरणको वेला वाङ नेपालमै थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान रोकिएपछि छुटाउन भन्सार कार्यालयमै पुगेका थिए।
दावाको मोबाइलमा भेप प्रकरण सम्बन्धी बिलको फोटो समेत भेटिएको छ। ली फुङचेङले फोटो पठाएको दावाले बयानमै स्विकारेका छन्।
दावा र अमला दुवैको संलग्नता विद्युतीय चुरोट भेप प्रकरणमा समेत देखिएको प्रहरीले जनाएको छ। भेप प्रकरणमै जोडिएर पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल अनुसन्धानका लागि हिरासतमै छन्। वाङ र लीसँग सम्पर्क देखिएपछि राहुल अनुसन्धानमा तानिएका हुन्। वाङसँग पूर्व सभामुख महराको पनि सम्पर्क देखिएको थियो।
तिब्बती शरणार्थी दावा
दावाले प्रहरीसँग आफू १७ वर्षको उमेरमै शरणार्थीका रूपमा चीनको स्वशासित क्षेत्र तिब्बतबाट नेपाल आएको बताएका छन्। सन् १९९९ मा आफू नेपाल आएको दावाले बयानमा खुलाएका छन्, जतिखेर नेपाल आएका तिब्बती शरणार्थीलाई नेपालले परिचयपत्र दिन बन्द गरिसकेको थियो।
सन् १९८९ देखि नै जिल्ला प्रशासन कार्यालय मार्फत बाँडिने परिचयपत्र बाँड्न छोडिएको थियो। तर, त्यसपछि समेत आएका तिब्बतीलाई काठमाडौंस्थित शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयको अप्रत्यक्ष सहयोगमा भारत पठाइन्थ्यो। स्वयम्भूमा रहेको तिब्बती रिसेप्सन सेन्टरमा केही समय राखेर दलाई लामा बस्ने भारतको धर्मशाला क्षेत्रमा पठाइने गरेको थियो।
दावाले प्रहरी बयानमा स्वयम्भूको तिब्बती क्याम्पमा केही समय बसेर भारतको हिमाञ्चल प्रदेशमा पढ्नका लागि गएको बताएका छन्। सन् २००३ मा कक्षा १२ को पढाइ सकेर फेरि नेपाल आएको उनको भनाइ छ। सन् २०११ मा भारतबाट बेल्जियम गएर उतैको नागरिकता र राहदानी लिएको पनि उनले खुलाएका छन्।
दावाले २०७४ सालमा काभ्रेबाट एक लाख रुपैयाँ तिरेर नागरिकता लिएको बयानमा बताएका छन्। जिमी भन्ने व्यक्तिले नागरिकता बनाइदिएको उनले खुलाएका छन्। राहदानी नलिएको बताए पनि उनले नेपाली राहदानी प्रयोग गरेको अध्यागमनको अभिलेखमा छ।
पूर्व माओवादी कार्यकर्ता अमलासँग विवाह गरेपछि दावाले आफूले मात्र वंशजको नेपाली नागरिकता लिएनन्, गिरोहका अन्य सदस्यलाई पनि ती कागजात दिलाएको पाइएको छ। यो समूहले साढे ६० किलोग्राम बाहेक थप ३०२ किलोग्राम सुन ल्याएको अभियोगपत्रमा उल्लेख छ।