पूर्व उपराष्ट्रपति र पूर्व अर्थमन्त्रीका परिवार सुन तस्करी गिरोहका व्यापारिक साझेदार
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्व अर्थमन्त्री वर्षमान पुनका परिवारको सुन तस्करीमा संलग्न गिरोहसँग व्यापारिक साझेदारी रहेको पाइएको छ।
साढे ६० किलोग्राम सुन तस्करी प्रकरणमा नयाँ मोड आएको छ। यसमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्व अर्थमन्त्री एवं सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन परिवारको भूमिका सन्दिग्ध देखिएको छ। दुई रोल्पाली पुन परिवारको तस्कर गिरोहसँग व्यापारिक साझेदारीदेखि बिचौलियाको भूमिकासम्म संलग्नता भेटिएको हो।
वर्षमान पुनका कान्छा भाइ प्रनिश पुन मगर सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहका व्यापारिक साझेदार रहेको खुलेको छ भने पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश यो गिरोहलाई सहजीकरण गर्न खटिएको भेटिएको छ। यो तथ्यले तस्करीको नयाँ आयाम उद्घाटित भएको छ।
वर्षमानका भाइ प्रनिशको भियना मल्टिपर्पोज ग्रूपमा लगानी देखिन्छ भने नन्दबहादुरका छोरा दीपेश गिरोहका सदस्यसँग हेलिकोप्टरमा गोसाइँकुण्ड गएको भेटिएको छ। नन्दबहादुर र वर्षमान दुवै माओवादीका पूर्व डिप्युटी-कमान्डर समेत हुन्। दीपेश माओवादी भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव हुन्।
दावाकी पत्नी अमला रोका सहित एउटा चिनियाँ समूहलाई लिएर मनाङ एअरको हेलिकोप्टरमा दीपेश गोसाइँकुण्ड गएको प्रमाण हिमालखबरले फेला पारेको छ, जसले यो गिरोहसँग दीपेशको लामो समयदेखि साँठगाँठ रहेको पुष्टि गर्छ। २०७६ माघ १ गते अमला र दीपेश तीन जना चिनियाँ नागरिक सहित गोसाइँकुण्ड गएका थिए।
छङफङ होटलमा साझेदार रहेका चु जिलियाङ पनि यो भ्रमणमा सामेल थिए। छङफङ होटलमा दावा, अमला, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिकहरू जिलियाङ, चेन काइमु, गुआङपेङ जोङ साझेदार छन्। यो होटल ३० करोड रुपैयाँ चुक्ता पूँजी सहित २०७४ सालमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको हो। दीपेशलाई प्रहरीले सन्दिग्धको भूमिकामा राखेको छ।
गाउँले बहिनी विवाह गरेकाले दावासँग सामान्य चिनजान मात्रै रहेको वर्षमानले दाबी गर्दै आएका छन्। तर, प्रमाणले भने सम्बन्धको आयाम त्यतिमा मात्रै सीमित नरहेको खुलाएको छ। काठमाडौं महानगरपालिका-२९ मा कार्यालय रहेको भियना मल्टिपर्पोज ग्रूपमा वर्षमानका भाइ प्रनिशको शेयर भेटिएको छ। कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेख अनुसार यो कम्पनीमा अमला, दीपक बुढा, सिशम रोका मगर र प्रनिशको शेयर छ। तीन करोड रुपैयाँ चुक्ता पूँजी रहेको यो कम्पनीका अध्यक्ष अमला हुन्। दीपक अमलाका भाइ हुन् भने सिशम छोरी।
कम्पनी रजिस्ट्रार कार्यालयमा गत वैशाख १९ गते कम्पनीको शेयर लागत अद्यावधिक गरिएको छ। जस अनुसार सबैभन्दा ठूलो शेयरधनी अमला छिन्। उनको दुई लाख २५ हजार कित्ता शेयर छ। प्रनिश ३० हजार कित्ता शेयरका मालिक हुन् भने दीपकको ४२ हजार ५०० र सिशमको दुई हजार ५०० कित्ता शेयर छ। यो लगानीले वर्षमान परिवारसँग गिरोहको सम्बन्धलाई थप सन्दिग्ध बनाइदिएको छ।
साउन १४ गते राजस्व अनुसन्धान विभागले काठमाडौंंको भियना होटलबाट पक्राउ गरेको भोलिपल्टै वर्षमानले दावासँग पारिवारिक बाहेक आफ्नो सम्बन्ध नरहेको बताएका थिए। दावासँगका तस्वीर सार्वजनिक भएपछि उनले बचाउ गरेका थिए। संसद् भवनबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै वर्षमानले पुरानो तस्वीर अहिलेकै जस्तो गरी प्रचार गरेर आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका थिए।
त्यही दिन बिहान बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा पनि वर्षमानले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिएका थिए। सत्तारूढ दल आयोग गठनका सट्टा सीआईबीलाई नै अनुसन्धान सुम्पिनुपर्नेमा अडिग रहेकै वेला वर्षमानले फरक धारणा राखेका थिए। पछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरोध गरेपछि सीआईबीले अनुसन्धान सकाएपछि आयोग बनाउने राजनीतिक सहमति बनेको थियो।
दावासँग वर्षमान र उनकी पत्नी एवं पूर्व सभामुख ओनसरी घर्तीको लामो समयदेखि साइनो रहेको देखिन्छ। राजनीतिसँगै अमला उच्च हिमाली भेगमा फल्ने गुच्छी च्याउ, यार्सागुम्बा लगायत जडीबुटीको व्यापार गर्थिन्। यही क्रममा दावा र अमलाको भेट भएपछि उनीहरूले वैवाहिक सम्बन्ध कायम गरे। अमलासँग विवाह गरेपछि दावाले २०७५ सालमै काभ्रेबाट वंशजको आधारमा नेपाली नागरिकता र राहदानी लिएका थिए, जसको खुलासा हिमालखबरले गरेको थियो।
दावाले चिनियाँ नागरिकलाई वैदेशिक लगानीकर्ताको आवरणमा नेपाल भित्र्याउने गरेका छन्। वर्षमान र ओनसरीलाई यही आवरणमा समेत बारम्बार भेटेको तथ्य प्रहरीले पाँच वर्षअघि नै सङ्कलन गरेको थियो। ओनसरी सभामुख छँदा उनको कार्यकक्षमै दावा सहितको समूहले भेट्ने गर्थ्यो।
दावा नेपालमा चिनियाँ आपराधिक समूहलाई भित्राउने ‘अजेन्ट’ रहेको प्रहरी अभिलेखमा छ। २०७४ सालसम्म माओवादीको रोल्पा-काठमाडौं सम्पर्क मञ्चमा सक्रिय अमलासँग विवाह गरेपछि दावाले माओवादी नेताहरूसँग सम्बन्ध बनाएका हुन्। त्यसकै आडमा उनले नेपालमा आपराधिक जालो फिंजाएको प्रहरी अनुसन्धानमा देखिएको छ।
त्यही सम्बन्धका आधारमा राज्यको महत्त्वपूर्ण ओहोदामा बसेका व्यक्तिहरूको पारिवारिक सदस्यलाई साझेदार बनाउनेसम्म विस्तार भएको देखिन्छ। भाइको नाममा लगानी गरेको हुन सक्ने आशङ्कामा प्रहरीले वर्षमानलाई पनि अनुसन्धानको घेरामा राखेको छ। यसबारे प्रतिक्रिया लिन वर्षमानको मोबाइलमा बारम्बार सम्पर्क गर्दा पनि फोन उठेन।
दावाको आपराधिक साम्राज्य
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका दावाका मुखबाट हत्तपत्त शब्द निस्कँदैन। बोल्नै परे निकै बेर सोचविचार गरेर फाट्टफुट्ट शब्द फुत्काउँछन्। “के बोल्ने र के नबोल्ने भनेर तालीमप्राप्त व्यक्ति जस्तै छन्,” सीआईबीकी निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य भन्छिन्, “यस्तो आनीबानी त कुख्यात अपराधीको मात्रै हुन्छ।”
सबै कुरा लुकाउन खोजे पनि दावाले प्रयोग गर्ने मोबाइलमा भेटिएका प्रमाणले भने उनको आपराधिक साम्राज्यको एकपछि अर्को तथ्य खोलिरहेका छन्। प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) परीक्षणमा भेटिएका तथ्यले दावाको आपराधिक यात्राको फड्को आकलन गर्न सकिन्छ। सीआईबी स्रोतका अनुसार दावाको मोबाइलमा भेटिएको ‘भोइस मेसेज’, तस्वीर र कुराकानीले उनी विदेशीलाई नेपाली नागरिकता, राहदानी दिलाउने कार्यमा समेत सामेल रहेको भेटिएको छ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार वंशजको आधारमा नेपाली नागरिकता लिएका दावाले बाङ्लादेशी र पाकिस्तानीलाई समेत नागरिकता र राहदानी दिलाएका छन्। दावाले बाङ्लादेशी र पाकिस्तानीलाई पठाएको ‘भोइस मेसेज’ मा ‘तिमीहरूको डकुमेन्ट तयार भइसक्यो’ भनेको पाइएको प्रहरी स्रोतले बतायो।
यसका साथै उनको मोबाइलमा नेपाली नागरिकता र राहदानीका केही तस्वीर पनि भेटिएका छन्। “यी कागजात बाङ्लादेशी र पाकिस्तानीको हो कि होइन भन्ने यकीन गरिरहेका छौं,” प्रहरी स्रोतले भन्यो।
दावा समूह ‘क्रिप्टो करेन्सी’ को कारोबारमा पनि संलग्न देखिएको छ। अवैध सुनको कारोबारसँगै जोडिने हुन्डी सहित दावा समूहले ‘क्रिप्टो’ मार्फत समेत भुक्तानी दिने गरेको पाइएको छ। वैधानिक बाटोबाट भुक्तानी नहुने भएपछि अवैध कारोबारीले हुन्डी मार्फत लेनदेन गर्छन्। दावा समहूले भने क्रिप्टो मार्फत भारत र नेपालबाट चीनमा भुक्तानी गरेको भेटिएको हो।
को को छन् दावा गिरोहमा?
भियतनाम, कम्बोडिया, मलेशिया, फिलिपिन्स, लाओस, सिंगापुर लगायत पूर्वी एशियाली मुलुकमा चिनियाँ आपराधिक गिरोहले अनलाइन मार्फत आर्थिक ठगी गर्दै आएको थियो। ठगीको बाटोबाट ठूलो मात्रामा चिनियाँ मुद्रा विदेशिएपछि चीनले यो अपराध रोक्न ती राष्ट्रलाई आग्रह गरेको थियो।
२०७१ सालदेखि चीनले विदेशी मुलुकमा बसेर सम्पत्ति शुद्धीकरण, ठगी, अनलाइन ठगी लगायत अपराधमा संलग्न चिनियाँ नागरिक विरुद्ध ‘फक्स हन्ट’ नामक विश्वव्यापी अपरेशन चलाएको थियो। चरणबद्ध रूपमा चलाइएको यो अपरेशनपछि पूर्वी एशियाली मुलुकमा रहेका चिनियाँ गिरोहलाई दावाले नेपाल ल्याएको प्रहरी प्रधान कार्यालयको अभिलेखमा छ।
चिनियाँ गिरोहलाई नेपालमा भूमिका बाँडेर नै दावा समूहले सघाउँदै आएको पाइन्छ। प्रहरीका अनुसार अमलाले राजनीतिक र प्रशासनिक ‘लाइन’ मिलाउने भूमिका पाइन्। काठमाडौंको ठमेलका मञ्जिल श्रेष्ठ, अमलाका भाइ दीपक बुढामगर, दिलीप आचार्य, सागरसिं पाली, निस श्रेष्ठ, गोविन्द सापकोटा र सीता राना मगर दावा गिरोहका सहयोगीका रुपमा थिए। मञ्जिल त दावाको अवैध कारोबारका व्यवस्थापक र साझेदार दुवै हुन्।
साझेदारी नरहेको कम्पनीमा दावा-अमला गिरोहको व्यवस्थापकका रूपमा मञ्जिलले काम गरेको प्रहरीले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ। गत भदौमा प्रहरीले काठमाडौंका अवैध कल सेन्टरमा छापा मारेको थियो। त्यसमा संलग्न व्यक्ति विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको अभियोगपत्रमा उल्लेख थियो।
त्यस्तै, पाली, श्रेष्ठ र सापकोटा कानूनी कागजात बनाउने भूमिकामा छन्। सापकोटा पूर्व कर्मचारी हुन्। सीताले शुरूआती चरणमा भाषा अनुवादकको काम गरेको पाइएको छ।
अमलाले आफ्नो सिङ्गो परिवारलाई नै अवैध कर्ममा डोर्याएको देखिन्छ। भाइ दीपक र छोरी सिशमलाई भियना मल्टिपर्पोजको लगानीकर्ता बनाएकी छन् भने छोरा सुविन्द्र सिनामंगलमा रहेको स्काई वर्ल्ड सर्भिसका मालिक हुन्। अमलाको आफ्नै नाममा भियना कम्पनी सहित, रोयाल स्यान्ड्स र छङफङ होटलमा लगानी छ। भियना होटलमा पनि अमलाको सम्बन्ध छ।
अवैध ‘लोन एप’ चलाएको भन्दै भियना होटलमा एक वर्षअघि छापा मार्दा प्रहरीले अमलाको संलग्नता भेटेको थियो। घरधनी रत्नमान श्रेष्ठसँग होटल चलाउने सम्झौतामा अमला र मञ्जिलले गरेको कागज भेटिएको थियो, जुन अभियोगपत्रमै उल्लेख गरिएको छ। रोयल स्यान्ड्समा मञ्जिलको पनि लगानी छ भने छङफङमा मञ्जिल, दावा र अमला तीन जनाकै लगानी छ।
अमला निकट सूत्रका अनुसार नातामा बहिनी पर्ने बिन्दु मगरका नाममा समेत यो गिरोहले लगानी गरेको छ। उनको नाममा चिनियाँ नागरिकसँगको साझेदारीमा निर्माण कम्पनी खोलिएको स्रोतको भनाइ छ। बिन्दु सुन तस्करी प्रकरणमा प्रहरीको खोजी सूचीमा छिन्।
राजनीतिक र प्रशासनिक धाप
गत पाँच वर्षदेखि अपराधको दुनियाँमा देखिएको यो गिरोह विरुद्ध हालसम्म तीन पटक कानूनी कारबाहीको प्रयास भएको पाइन्छ। २०७६, २०७९ साल र अहिले। यसअघिका दुई वटै अपरेशनमा यो समूहका नाइके उम्काइएको पाइन्छ।
चीनको आग्रहमा २०७६ सालमा नेपाल प्रहरीले चलाएको अपरेशन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग गिरोहको सम्बन्धका कारण असफल बनेको थियो। चीनले पक्राउ गर्नुपर्ने एक हजारभन्दा बढी चिनियाँको सूची दिए पनि खनालसँग गिरोहका चिनियाँ नाइके चेन सितियान सम्बन्ध गाँसेर आफू सहित मुख्य आरोपित जोगाउन सफल भएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जफत गरेको ठूलो मात्राको विद्युतीय सामान छुटाउन यो गिरोहले खनाललाई अगाडि सारेको थियो। सामान नछुटे पनि कारबाहीबारे सूचना चुहाएर गिरोहका मूल व्यक्तिलाई प्रहरीले नै भगाएको थियो। गिरोहका नेपाली साझेदारबारे त त्यति खेर प्रहरीले थाहा नपाए झैं गरेको थियो।
त्यसको तीन वर्षपछि कल सेन्टरका नाममा चिनियाँ लोन एप मार्फत यो गिरोह ठगी गर्न सक्रिय भयो। लोन एप मार्फत ऋण दिने र असीमित रकम असुल्ने यो धन्दा गिरोहले काठमाडौं, रुपन्देही, काभ्रे, कास्की, चितवनमा फैलाएको थियो। काठमाडौं र रुपन्देहीमा प्रहरीले छापा मार्दा दावा-अमला समूह नै देखिएको थियो।
तर, २०७९ भदौमा प्रहरीले मुद्दा चलाउँदा भने यी दुवै जनालाई अभियुक्त बनाइएन। जबकि भियना होटलबाट सञ्चालन भएको लोन एप काण्डमा यी दुवै जना कागजी रूपमै देखिएका थिए।
दुवै पटक किन दावा-अमला गिरोह जोगियो भन्ने भेद अहिले फेरि सतहमा आएको छ। सुरक्षा निकायका तत्कालीन उच्च पदस्थहरूको आडमै यो समूह जोगिएको पाइएको छ। जसरी २०७६ सालमा प्रहरी नेतृत्व यो गिरोहलाई जोगाउन लागिपर्यो त्यसरी नै २०७९ सालमा समेत तत्कालीन प्रहरी प्रमुखको दावासँगको सम्बन्धले काम गरेको भेटिएको छ। सीआईबी स्रोतका अनुसार २०७९ वैशाखदेखि चैतसम्म प्रहरी प्रमुख रहेका धीरजप्रताप सिंहसँग दावाको बाक्लो फोन सम्पर्क देखिन्छ।
सम्पर्कको पुष्टि सिंह स्वयंले हिमालखबरसँग गरे। आफू सीआईबी प्रमुख छँदा दावा सुराकीको हैसियतमा सम्पर्कमा आएको सिंहको भनाइ छ। प्रहरी प्रमुख हुनुअघि सिंह सीआईबी प्रमुख थिए। “सीआईबी प्रमुखको हैसियतले सुराकी राख्न पाउने कानूनी प्रावधान अनुसार नै दावासँग मेरो सम्पर्क भएको हो,” पूर्व आईजीपी सिंहले भने, “यसमा मेरो कुनै दुराशय छैन। पछि ऊ अपराधमा संलग्न भयो त मेरो के गल्ती?”
सिंहले सुराकी राख्दा दावाको आपराधिक पृष्ठभूमि भने प्रहरीको अर्को एकाइ अपराध महाशाखासँग थियो। तर, दावाको पृष्ठभूमिबारे आफूलाई केही थाहा नभएको सिंहको जिकिर छ। जबकि २०७६ सालमै दावा समूह नेपालमा चिनियाँ अपराधीलाई आश्रय दिन सक्रिय रहेको सार्वजनिक भइसकेको थियो।
नेपालभन्दा बाहिरबाट आउने टेलिफोनको कल बाइपास लगायत सूचना दावाले आफूलाई दिने गरेको सिंहको भनाइ छ। जबकि सिंह सीआईबी प्रमुख छँदा कल बाइपासको अनुसन्धान विरलै भएको थियो। “यसमा अलि अलि काम गरिएको थियो,” सिंह भन्छन्।
यो गिरोहको राजनीतिक पहुँच माओवादीमा मात्रै सीमित छैन। २०७९ वैशाखमा उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अध्यागमन विभागबाट सादा पोशाकमा एक प्रहरी निरीक्षक पठाइदिन खबर आयो। गृह मन्त्रालयको निर्देशन भनिएपछि कार्यालयले तुरुन्तै पठाई पनि हाल्यो।
अध्यागमनले काठमाडौं प्रहरीको समेत सहयोग लिएर महाराजगन्जको एउटा घरबाट २२ चिनियाँलाई पक्राउ गर्यो। तर, लगत्तै गृहमन्त्री बालकृष्ण खाणले अध्यागमन, उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी प्रमुख र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर कसले र किन छापा मारेको भन्दै र्याखर्याख्ती पारेको एक प्रहरी अधिकृत सम्झन्छन्। पक्राउ परेका २२ जनालाई नै सोही साँझ अध्यागमनले बोलाएका वेला उपस्थित हुने शर्तमा गुपचुप रूपमा छाडियो।
त्यति वेला उपराष्ट्रपति कार्यालयका सचिव र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले पनि उनीहरूलाई छाड्न दबाब दिएको अध्यागमन विभाग स्रोत बताउँछ। अध्यागमनले त्यहाँ अवैध असुली हुने गरेको शङ्कामा छापा मारेको थियो।
सुन तस्करीका सन्दिग्ध पूर्व एसएसपी
जब यो समूहको व्यक्ति प्रहरीको नियन्त्रणमा पुग्छ, तब दावा, अमला र मञ्जिल तत्कालन सम्पर्कविहीन बन्ने गरेको पाइन्छ। सुन तस्करी प्रकरणमा दावालाई राजस्व अनुसन्धान विभागले पक्राउ गर्दा अमला भियना होटलमै थिइन्, तर विभागले केही गरेन। विभागले दावालाई पक्राउ गर्दा सोही होटलमा रहेका चार जना चिनियाँ पनि उम्किए, जसलाई पछि सीआईबीले अनुसन्धानको जिम्मा पाएपछि बौद्ध लगायतका क्षेत्रबाट पक्राउ गरेको थियो।
अमलालाई सीआईबीले पक्राउको सूचीमा राखे पनि भागिसकेकी छन्। विभागले सुन प्रकरण बाहिरिएको १६ दिनपछि मात्रै सीआईबीलाई अनुसन्धानको जिम्मेवारी हस्तान्तरण गरेको थियो। जबकि यस्तो संगठित तवरमा हुने अपराधमा प्रहरी र अन्य निकायले समानान्तर अनुसन्धान गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ। यस्ता घटनामा राज्य संयन्त्रका पहुँच भएकाहरू संलग्न हुने भएकाले आरोपित फुत्कन नदिन र प्रमाण नष्ट नहोस् भनेर समानान्तर अनुसन्धान गरिन्छ। तर, यसमा संगठित अपराध अनुसन्धानको जिम्मेवारी पाएको प्रहरी लामो समय अनुसन्धानबाट विमुख बन्यो।
फलतः अहिले गिरोहका थुप्रै व्यक्ति भागिसकेका छन्। प्रहरीको खोजी सूचीमा रहेकी बिन्दुले त दावा पक्राउ परेको भोलिपल्ट नै पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटेर फेसबूकमा ‘रिल’ बनाएर सार्वजनिक गरेकी थिइन्। रिलमा अमला पनि सँगै देखिन्छिन्।
पूर्व उपराष्ट्रपति परिवारसँग दावा-अमलाको सम्बन्ध पुरानै हो। उपराष्ट्रपति छँदै दावासँग नन्दबहादुरको पटक पटक भेटघाट भएको देखिन्छ। यद्यपि कानूनी कागजातमा भने यो परिवार गिरोहसँग कतै देखिंदैन।
केही पूर्व सुरक्षा अधिकारी पनि अनुसन्धानको दायरमा छन्। एक जना पूर्व प्रहरी वरिष्ठ उपरीक्षकलाई पनि सीआईबीले अनुसन्धानको घेरामा राखेको छ।
त्यस्तै, सीआईबीले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलको पनि पछिल्लो सुन तस्करीमा संलग्नताको आधार भेटेको छ। भदौ १२ गते पक्राउ परेका रमेश बस्नेतसँग राहुलको सम्पर्क अनपेक्षित बाक्लो देखिएको छ। दावाका मुख्य सहयोगी भनिएका किशोर बस्नेतसँग सम्पर्क देखिएपछि रमेश पक्राउ परेका थिए।
सुन तस्करी प्रकरण बाहिरिएपछि मात्रै राहुलले चार वटा मोबाइल सेट र सिम बदलेको पाइएको छ। यी मोबाइलबाट थप राजनीतिक कनेक्सन खुल्ने सीआईबीको भनाइ छ।
यद्यपि राजनीतिक तह तानिने भएपछि अनुसन्धान नै अगाडि नबढ्ने विगतको रोग यो प्रकरणमा समेत दोहोरिने डर भने छ। यो गिरोहको संलग्नता खोतल्न सक्ने आधार हुँदाहुँदै यसअघि पनि पटक पटक अनुसन्धान अघि बढेको थिएन।