मूल्यवृद्धि उच्च, मरमसलाको भाउ ४५ प्रतिशतले बढ्यो
चाडपर्व शुरू भएकै वेला भान्सामा अधिक प्रयोग हुने मरमसलाको बजार भाउ भने आकाशिएको तथ्याङ्कले देखाएको छ।
आइतबार नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको तथ्याङ्कले साउनमा मरमसलाको मूल्य ४५.५६ प्रतिशतले बढेको देखाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा जिराधनियाँ सहितका मसलाको मूल्य तीव्र गतिमा उकालो चढिरहेको छ।
राष्ट्र ब्यांकका अनुसार खाद्यान्न र खाद्य पदार्थको मूल्य १३.२ प्रतिशतले बढेको छ। अर्थात्, गत वर्षको साउनमा १०० रुपैयाँले जति खाद्यान्न किन्न पाइन्थ्यो, त्यति परिमाणमा खाद्यान्न किन्न अहिले ११३ रुपैयाँ २० पैसा खर्च गर्नुपर्छ। खाद्यान्नको मूल्य बढ्दा न्यून आम्दानी हुने समूह बढी मर्कामा पर्छ। किनभने न्यून आम्दानी गर्ने समूहको आम्दानीको अधिकांश हिस्सा खानेकुरा किन्न खर्च हुन्छ।
त्यसैगरी, दुग्ध पदार्थ तथा अन्डाको १२.१९ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले बढेको छ। यद्यपि, घ्यूतेलको मूल्य १५.१३ प्रतिशतले घटेको छ।
त्यस्तै, साउनमा मनोरञ्जन र सांस्कृतिक क्षेत्रको मूल्य १५.५ प्रतिशत तथा शिक्षा क्षेत्र ९.१० प्रतिशतले बढेको छ।
राष्ट्र ब्यांकका अनुसार हिमाली क्षेत्रमा मूल्यवृद्धि दर उच्च छ। काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत, तराईको ६.७० प्रतिशत, पहाडको ७.५० प्रतिशत र हिमालको ११.४६ प्रतिशत रहेको राष्ट्र ब्यांकले जनाएको छ।
साउनमा औसत मूल्यवृद्धि दर ७.५२ प्रतिशत पुगेको छ। असारमा मूल्यवृद्धि दर ७.४४ प्रतिशत थियो। यो गत वर्षको साउनमा भने ८.२६ प्रतिशत थियो।