रेमिटेन्स एकचौथाइले बढ्यो, चालू खाता ३४ महीनापछि धनात्मक
नेपाल राष्ट्र ब्यांकले चालू आर्थिक वर्षको पहिलो महीनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्रको प्रमुख पक्ष सकारात्मक भएको बताएको छ।
केन्द्रीय ब्यांकले देशमा रेमिटेन्स आउने क्रम उच्च गतिमा बढेको, विदेशी मुद्राको सञ्चिति सुधारिएको तथा देशमा बाहिरिनेभन्दा भित्रिने रकम बढी भएको उल्लेख गरेको छ। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार गत साउनमा एक खर्ब १६ अर्ब दुई करोड रुपैयाँ बराबर रेमिटेन्स भित्रिएको छ। एकै महीनामा भित्रिएको यो हालसम्मकै धेरै रकम हो।
राष्ट्र ब्यांकका अनुसार अघिल्लो वर्षको यही अवधिका तुलनामा रेमिटेन्स आप्रवाह २५.८ प्रतिशतले बढेको छ। अमेरिकी डलरमा समेत रेमिटेन्स २१.५ प्रतिशतले बढेको छ।
विदेशमा काम गर्न गएका नेपालीले पठाएको रेमिटेन्स बढ्दा देशको विदेशी मुद्राको सञ्चिति बलियो हुन्छ। राष्ट्र ब्यांकका अनुसार साउनमा विदेशी मुद्राको सञ्चिति बढेर ११ अर्ब ८५ करोड अमेरिकी डलर पुगेको छ। गत वर्ष विदेशी मुद्राको सञ्चिति तीव्र गतिमा क्षयीकरण भएपछि श्रीलंकाको हालत हुने भन्दै त्रास फैलिएको थियो।
रेमिटेन्सका कारण देशको बाहिरिनेभन्दा भित्रिने रकम समेत बढी भएको देखिएको छ। जसकारण झन्डै तीन वर्षपछि देशको चालू खाता धनात्मक हुन पुगेको छ। साउनमा चालू खाता १२ अर्ब ९९ करोडले धनात्मक भएको छ। २०७७ कात्तिकपछि चालू खाता निरन्तर घाटामा थियो।
त्यसैगरी, देशको भित्रिने र बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति) साउनमा ३२ अर्ब ९० करोड रुपैयाँ धनात्मक भएको छ। गत वर्षको साउनमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँ घाटामा थियो।
केन्द्रीय ब्यांकका अनुसार साउनमा आयात १.८ प्रतिशतले घटेको छ। साउनमा एक खर्ब २९ अर्ब २४ करोडको मात्रै आयात भएको छ। व्यवसायीले बजारमा माग खस्किएको तथा आर्थिक मन्दीको स्थिति रहेकाले आयात घटेको बताउँदै आएका छन्।
राष्ट्र ब्यांकका अनुसार पेट्रोलियम पदार्थ, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, औषधी, एमएस बिलेट लगायत वस्तुको आयात घटेको छ भने धान तथा चामल, एमएस तार, छड, बार तथा क्वाइल, रासायनिक मल, हट रोल्ड शिट, विद्युतीय उपकरण लगायत वस्तुको आयात बढेको छ। साउनमा निर्यात पनि ८.७ प्रतिशतले घटेर १३ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ।
देशको बाह्य क्षेत्र सकारात्मक भए पनि देशभित्रको अर्थतन्त्र भने धेरै उत्साहजनक नरहेको तथ्याङ्कले देखाएको छ। साउनमा ब्यांक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन २.३ प्रतिशतले घटेको र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको केन्द्रीय ब्यांकले जनाएको छ। बजारमा लगानीको वातावरण खस्किएका कारण कर्जा प्रवाह नबढेको व्यावसायिक जगत्ले बताउने गरेको छ।