हामीबीच मगमगाइरहेका सुवास
परस्पर विरोधी धारणाहरू सुन्दै, सम्झाउँदै र समन्वय गर्दै सहमतिमा ल्याउने काममा सुवास नेम्वाङको शान्त, संयमित, सबैका कुरा सुन्ने तर सही कुरामा अडेर आफ्नो मान्यता नछोड्ने स्वभाव र चरित्रले निर्णायक भूमिका खेलेको थियो।
बगैंचामा धेरै प्रकारका फूल हुनु स्वाभाविक हो। तर, केही फूलको सुन्दरता र सुगन्धले त्यहाँ पुग्नेहरूलाई प्रभावित पार्छन्, वातावरण सुगन्धित बनाउँछन्। त्यस्ता फूल झरेर जाँदा चित्त दुख्छ। बगैंचा शून्य शून्य अनुभूत हुन्छ।
सुवास नेम्वाङको अवसानसँगै अहिले नेपाली राजनीतिको बगैंचाबाट एउटा सुवासित फूल झरेको छ। राजनीतिक वातावरणलाई संयमित, सुगन्धित र समन्वयको बाटोमा लैजाने सामर्थ्य राख्ने पात्रको असामयिक निधन भएको छ। राजनीतिक बगैंचाको आकर्षक, सुन्दर र सुगन्धित फूल सधैंका लागि हराएको छ।
राजनीतिको एउटा लामो कालखण्ड सँगै बिताएको, आफूभन्दा केही जेठो, सहृदयी र मधुर भाषामा आफ्ना कुरा राख्ने राजनीतिक सहयोद्धाको अप्रत्याशित र पत्याउनै मन नलाग्ने मृत्युले मनमस्तिष्क नराम्ररी बिथोलिएको छ।
नेम्वाङ नेकपा (एमाले)का उपाध्यक्ष र नेता त हुनुहुन्थ्यो नै, पार्टीको प्रमुख कानूनी सल्लाहकारका रूपमा समेत शुरूदेखि नै भूमिका निर्वाह गर्दै आउनुभएको थियो। विद्यार्थी नेतादेखि पार्टी नेतासम्मको सम्पूर्ण भूमिका सफलतापूर्वक पूरा गर्नुभयो। फूटबल खेलका शौखिन तथा अर्जेन्टिनी फूटबल टीम र खेलाडी मेस्सीका प्रशंसक उहाँ राजनीतिमा पनि स्वच्छ र पारदर्शी खेलभावना हुनुपर्ने मान्यतामा जीवनभर अडिग रहनुभयो।
देशभक्ति, लोकतान्त्रिक प्रतिबद्धता, स्वच्छता र पारदर्शिता नेम्वाङको जीवनमूल्य थियो। जनहित र राष्ट्रहित सर्वोपरि हुने र त्यसैलाई शिरमा राखेर राजनीति गर्नुपर्ने मान्यतामा कहिल्यै डगमगाउनुभएन। उहाँको देशभक्ति घटनाक्रमहरूले पटक पटक सावित गरेका छन्। नेपाल र नेपालीको स्वाभिमान तथा स्वतन्त्रताभन्दा मूल्यवान् अरू केही हुन सक्दैन भन्ने कुरा उहाँले कहिल्यै बिर्सनुभएन। शब्दमा देश र जनताको नाम पटक पटक लिने, चर्को क्रान्तिकारी कुरा गर्ने, स्वाभिमानको गफ लगाउने तर विदेशी र बाह्य शक्तिका सामु लडखडाउने कतिपय अन्य नेपाली नेताभन्दा फरक हुनुहुन्थ्यो, उहाँ।
संविधान जारी गर्ने वेला नेम्वाङले दह्रो अडान लिनुभयो। केही दिन सार्न पाए हुन्थ्यो भन्ने तत्कालीन राष्ट्रपति र प्रधानमन्त्रीको आशय र आफैंमाथि परेको बाह्य दबाबलाई समेत चुनौती दिंदै उहाँले राष्ट्रपतिले संविधानसभामा आएर संविधान जारी गर्नैपर्ने अवस्थाको तारतम्य मिलाउनुभयो। संविधान जारी गर्नुपर्ने पक्षमा उहाँलाई नेकपा (एमाले) र कृष्णप्रसाद सिटौलाको पनि बलियो साथ रह्यो।
क्रुद्ध बाह्य शक्तिले त्यसपछि नेम्वाङलाई चुनावमा हराउन अनेक शक्ति प्रयोग गर्यो, तर एमालेको बलियो संगठन र आफ्नै लोकप्रियताका आधारमा उहाँ चुनिएर पुनः संसद्मा आउनुभयो।
एमालेको लोकप्रियता बढाउन पनि नेम्वाङको भूमिका रह्यो। उहाँले एमालेको प्रारम्भिक रूप अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटीको सदस्यता २०३३ सालमा जेलमा पाउनुभएको थियो। नेम्वाङ, प्रदीप नेपाल, गोपाल शाक्य र राजेन्द्र पाण्डेले जेलमा त्यो सदस्यताको शपथग्रहण एकै ठाउँ उभिएर गर्न सम्भव नभएपछि टहलिंदै टहलिंदै गर्नुभएको थियो। उहाँहरूलाई जेल कमिटीका तर्फबाट घनेन्द्र बस्नेतले सदस्यता दिनुभएको थियो।
नेम्वाङसँग मेरो सम्पर्क, भेटघाट र घनिष्ठता उहाँ कानून व्यवसायीका रूपमा सक्रिय छँदै बढेको हो। त्यस वेला म सम्पादक थिएँ, अनेकौं मुद्दा लागिरहन्थे। पञ्चायतको निरङ्कुश शासनका बखत एउटा खुट्टा जेलमा र एउटा खुट्टा बाहिर रहेको अनुभूति हुन्थ्यो। मानव अधिकार आन्दोलनदेखि सबै प्रकारका गतिविधिमा सक्रियता र अगुवाइ हुन्थ्यो हाम्रो। नेपाल बार एशोसिएशनको महासचिवमा नेम्वाङलाई जिताउन म आफू पनि लागेको थिएँ, उवेला। नेपाल बारको महासचिव रहँदादेखि नै उहाँले आफ्नो समन्वयकारी क्षमता देखाउन थाल्नुभएको थियो।
एमालेले दलहरूसँग वार्ता गर्न बनाएको टोलीमा हामी नियमित सदस्य जस्तै थियौं। यही स्थिति नेम्वाङ सभामुख नबन्दासम्म कायमै रह्यो। सभामुखका रूपमा पनि उहाँको भूमिका निष्पक्ष, तटस्थ र सन्तुलित रह्यो। पार्टीका मीटिङ, बैठक, भेला मात्र होइन, सामान्य गतिविधिबाट समेत आफूलाई टाढा राखेर, पार्टीका सबै प्रकारका राजनीतिक जिम्मेवारीबाट अलग्गै बसेर सभामुख पदलाई विवादरहित र गरिमामय बनाउन नेम्वाङको उल्लेखनीय भूमिका रह्यो।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले दरबारको लहलहैमा परेर प्रतिनिधिसभा विघटन गरे लगत्तै एमाले केन्द्रीय कमिटीको बैठक बसेको थियो। त्यो बैठक अगाडि नेम्वाङ र मबीच छलफल हुँदा हामी दुवै ‘चुनाव हुँदैन, यो विघटन चुनाव गराउन भएको पनि होइन, बरु यो लोकतन्त्र तथा संसदीय व्यवस्था मास्ने षड्यन्त्र हो, प्रतिनिधिसभाको कार्यकाल अझै निकै बाँकी रहेकाले पुनःस्थापनामा जोड दिनुपर्छ’ भन्नेमा सहमत भयौं।
बैठकको तयारी हुँदै गर्दा भरतमोहन अधिकारी पनि आइपुग्नुभयो। उहाँसँग हामीले प्रतिनिधि सभा पुनःस्थापनालाई जोड दिनुपर्ने र यसका लागि संयुक्त मोर्चा बनाएर संघर्षमा जानुपर्ने धारणा राख्यौं। अधिकारीले ‘ठीक छ, ठीक छ, मलाई पनि यस्तै लागेको छ’ भन्नुभयो।
बैठक भने हामीले सोचे जस्तो भएन। अधिकांश वरिष्ठ नेताहरू चुनावको पक्षमा उभिएपछि अधिकारी पनि बोल्नुभएन। तर, नेम्वाङ र मैले ‘प्रतिनिधि सभाको पुनःस्थापनाकै लागि संघर्ष गर्नुपर्छ, यो विघटन चुनाव गराउनका लागि भएकै होइन’ भन्नेमा जोड दियौं। त्यस वेला हाम्रो कुरा सुनिएन।
जब राजाले असोज १८ र माघ १९ का घटना गराउँदै जान थाले, दलहरू बाध्य भएर संयुक्त आन्दोलन र प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा सहमत भए। आन्दोलन सफल भएपछि कांग्रेसका कतिपय नेता हिचकिचाउँदा पनि हामी युवा सांसदको जोडले प्रतिनिधि सभाको क्रान्तिकारी घोषणा जारी भयो। त्यसका लागि नेम्वाङको महत्त्वपूर्ण भूमिका रह्यो।
द्वन्द्वग्रस्त राजनीतिलाई संवैधानिक घेराभित्र ल्याएर संसदीय र संवैधानिक प्रक्रियाबाट समाधान खोज्ने कार्यमा सभामुख र संविधानसभा अध्यक्षका रूपमा नेम्वाङको भूमिका उल्लेखनीय छ। संविधान निर्माणका वेला देखापरेका अनेकौं जातीय भावना, जोड र आआफ्नो रुचिको संविधान बन्नुपर्ने परस्पर विरोधी धारणाहरू सुन्दै, सम्झाउँदै सहमतिमा ल्याउने काममा उहाँका शान्त, संयमित, सबैका कुरा सुन्ने तर सही कुरामा अडान नछोड्ने स्वभाव र चरित्रले निर्णायक भूमिका खेलेका थिए।
अहिलेको संसद्मा पनि नेम्वाङको भूमिका र उपस्थिति आवश्यक थियो। कुनै दलको पनि बहुमत नरहेको वर्तमान संसद्मा अस्थिरता र द्वन्द्व देखापरिरहनु अस्वाभाविक हुँदैन। संसद्मा राजनीति र समाजमा देखापरेका अन्तर्विरोध, द्वन्द्व र आकांक्षा विभिन्न रूपमा प्रकट भइरहन्छन्।
संसद्ले यसरी व्यक्त हुने हरेक आवाज सुनेर, छलफल गरेर समाधान दिन पनि सक्नुपर्छ। यसका लागि समाजका विविध पक्षलाई प्रखरता र तर्कसाथ प्रस्तुत गर्ने र तिनलाई समायोजन र समन्वय गरेर जाने दुवैखाले सांसद चाहिन्छन्। नेम्वाङमा यी दुवै खूबी थिए। उहाँ विषयवस्तुलाई प्रभावकारी ढङ्गबाट प्रस्तुत गर्न र समन्वयका उपाय खोज्न सक्नुहुन्थ्यो। त्यसैले संसद्मा उहाँको अभाव गहिरोसँग अनुभूत भइरहनेछ।
नेम्वाङ नहुनुको समस्या एमालेले मात्र होइन, यो संसद्ले पनि भोग्नेछ। अब निरन्तर खट्किरहनेछ, उहाँको रिक्तता!
अलबिदा सुवासजी! भौतिक रूपमा हामीबीच नरहनुभए पनि सम्झनामा तपाईं मगमगाइरहनुहुनेछ।