समकक्षता: आफ्ना मान्छे घुसाउने र प्रतिस्पर्धी रोक्ने हतियार
खासमा मैले पढेको विषयमा समकक्षता प्रमाणित गर्ने योग्यता नै पुग्दैन त्रिविका जाँचकीहरूसँग। त्यहाँ अहिले पनि मेरो विषयमा उत्तिकै अध्ययन गरेर आएका समकक्षी विज्ञ छैनन्।
शिक्षा मन्त्रालयको छात्रवृत्तिमा चीनमा एमबीबीएस पढेर फर्केको केही समयपछि मैले अमेरिकाको रेडिङ हस्पिटलमा इन्टर्नल मेडिसिन रेजिडेन्सी प्रोग्राम मार्फत स्नातकोत्तर तहको (यहाँको एमडी सरहको) तालीम लिने अवसर पाएँ। त्यसपछि त्यहींकै टुलेन विश्वविद्यालयबाट संक्रामक रोग सम्बन्धी ‘सबस्पेश्यल्टी’ अध्ययन गरें। यो भनेको नेपालमा कसैले एमडी तहको तालीम लिएपछि गरिने इन्टर्नल मेडिसिनको उपविधा, जस्तै मुटुरोग, पेटरोग, स्नायुरोग आदिमा गरिने डीएम सरहको तालीम हो।
सोही विश्वविद्यालयबाट सार्वजनिक स्वास्थ्य विषयमा स्नातकोत्तर गरें। त्यहाँ वर्षमा दुई जनालाई मात्र संक्रामक रोगको फेलोशिप गर्न छानिन्छ। मसँगै छानिएका अर्का साथीले पछि केही वर्ष त्यहीं फेलोशिप कार्यक्रमको निर्देशक भएर काम गरे। अर्थात्, त्यो तालीम त्यहाँ संक्रामक रोग विषयमा उच्चतम तहको अध्यापन गराउन र समग्र प्राज्ञिक कार्यक्रमको नेतृत्व लिन योग्य मानिने रहेछ।
सन् २०१४ मा ‘फेलोशिप’ पूरा गरेपछि चार वर्ष जति अमेरिकामै विशेषज्ञका रूपमा काम गरें। म त्यहाँको बोर्ड अफ इन्टर्नल मेडिसिन र अमेरिकन बोर्ड अफ मेडिकल सबस्पेश्यलिटिज अन्तर्गत इन्टर्नल मेडिसिन र संक्रामक रोग दुवैमा अहिले पनि ‘बोर्ड सर्टिफाइड’ छु। मतलब, उनीहरूले मलाई अझै पनि यी विषयमा विशेषज्ञका रूपमा काम गर्न योग्य ठहर्याइरहेकै छन्। यसकै आधारमा अस्ट्रेलिया, न्यूजिल्यान्ड सहित थुप्रै पश्चिमेली मुलुकमा पनि सोझै काम गर्न मान्यता पाइन्छ।
अहिलेसम्म संक्रामक रोगमा त्यो तहको अध्ययन गरेर नेपाल आई काम गर्नेमा तीन जना जति छौं। सबैभन्दा पहिले आउने र समकक्षताको आवेदन दिने शायद म नै हुँ। त्रिवि शिक्षण अस्पतालमा काम गर्न चाहन्थें। त्यसका लागि योग्यता प्रमाणित गर्न सन् २०१८ मा प्रक्रिया अघि बढाएँ।
चीनको एमबीबीएस र अमेरिकाको इन्टर्नल मेडिसिनको एमडी सरहको तालीमको समकक्षतालाई निकै महीना लागे पनि अन्ततः पाइयो। तर, संक्रामक रोगको फेलोशिप तालीमलाई त्रिविको डीएमको समकक्षता दिन मानिएन। तत्कालीन डीन जगदीश अग्रवाल र क्याम्पस प्रमुख प्रतापनारायण प्रसादले हाकाहाकी दिंदैनौं भने।
कीर्तिपुरको सम्बद्ध निकायमा बुझ्दा चिकित्साशास्त्र सम्बन्धी आवेदन त्यहाँबाट चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा पठाइँदो रहेछ। यस्तोमा आईओएमका पदाधिकारी र तिनीहरू मार्फत स्वार्थपूर्ति गर्न चाहने अन्य पहुँचदार पात्रहरूका निम्ति विदेशबाट कुनै विषयमा आफ्नो भन्दा बढी दक्षता लिएर आएका र प्रतिस्पर्धी देखिन सक्ने व्यक्तिलाई पन्छाउने हतियार बनाइएको छ, समकक्षता।
मैले काम गर्ने चाहना सुनाउँदा शुरूमा त्रिविको इन्टर्नल मेडिसिन विभागका प्रमुखले सहर्ष सघाउँदै क्याम्पस प्रमुख समक्ष करारमा सहायक प्राध्यापक तहको चिकित्सक राख्न माग पठाएका थिए। तर, पछि बुझें, मलाई संक्रामक रोग विशेषज्ञका रूपमा प्रवेश गर्न नदिन समकक्षता रोकिदिने योजना बनिसकेको रहेछ। यसबीच कीर्तिपुर र महाराजगन्ज धाउँदै महिनौं बित्यो।
अग्रवाल र प्रसादबाट फ्याकल्टीका रूपमा नभई ‘सिनियर रेजिडेन्ट’ का रूपमा काम गर्न चाहे बाटो खुला रहेको सन्देश आयो। त्यो भनेको शायद विभागमा बिरामीको सम्पूर्ण सेवाको जिम्मेवारी लिने र रेजिडेन्टलाई पढाउने नभई कामको बोझ मात्र हुने तर श्रेय केही नपाउने, कामको सुरक्षाको प्रत्याभूति नहुने काम थियो। त्यसलाई स्विकार्नु भनेको उहाँहरूलाई ‘देख्यौ त हामीले अमेरिका जस्तो ठाउँबाट आएकालाई कसरी कज्यायौं’ भन्दै जुँगामा ताउ लगाउने ठाउँ दिनु थियो। संक्रामक रोग विशेषज्ञका रूपमा विद्यार्थीको पाठ्यक्रमदेखि प्रशिक्षणमा योगदान गर्न पाउने अवस्था थिएन।
मेरो चाहना त्रिवि शिक्षण अस्पतालमा विशेषज्ञका रूपमा काम गरेर संक्रामक रोगको उपचारमा नयाँ जनशक्ति तयार गर्ने थियो। आईओएमले मान्यता नदिने स्पष्ट भएपछि हार खाएँ। अरू प्राज्ञिक संस्थामा पनि एकपछि अर्का व्यवधान खडा भइरहे। निजी अस्पतालमा काम गर्ने बाहेकको विकल्प रहेन।
मेरो हकमा नेपालमा यस्तै खालका अन्य विषयमा तीन वर्षको तालीम हुने गरेकामा मेरो तालीम दुई वर्षको मात्र रहेको कुतर्क गरियो। अधिकांश पश्चिमेली देशमा इन्टर्नल मेडिसिनका ‘सबस्पेश्यल्टी’को तालीम विषय हेरी एक-दुई वा तीन वर्षसम्मको हुन्छ। प्रायः विषयमा चिकित्सकीय ज्ञान र सीपको तालीम त पहिलो वर्ष नै सकिन्छ। दोस्रो र तेस्रो वर्ष त त्यस विषयमा अनुसन्धान तथा आफूभन्दा कनिष्ठलाई सिकाउन सक्ने गरी अध्यापकीय सीप विकास आदिको काम हुन्छ।
सबस्पेश्यल्टी तहमा साँच्चै सिक्ने-सिकाउने वातावरण भए तीन वर्षको तालीम राख्नै पर्दैन। चिकित्साशास्त्रको स्नातक तहमा अधिकांशतः बकम्फुसे अनुसन्धान हुने नेपालमा तीन वर्षको प्रावधान राखिएको शायद तालीमेबाट श्रम वा शुल्क शोषण गर्न होला।
खासमा मैले पढेको विषयमा समकक्षता प्रमाणित गर्ने योग्यता नै पुग्दैन त्रिविका जाँचकीहरूसँग। त्यहाँ अहिले पनि मेरो विषयमा उत्तिकै अध्ययन गरेर आएका समकक्षी विज्ञ छैनन्।
बुझ्नुपर्ने कुरा के भने, नक्कली प्रमाणपत्र रोक्नु र समकक्षता रोक्नु छुट्टै कुरा हुन्। विदेशमा चिकित्सा पढेको भन्दैमा सबैको पढाइ गुणस्तरीय नहोला। त्यसका लागि मेडिकल काउन्सिलले परीक्षा लिनु ठीकै हो। तर, काउन्सिलमा पनि पहुँच भएकाको मात्र कुरा सुन्ने प्रवृत्ति छ।
उच्च गुणस्तरीय तालीमका लागि परिचित देशमा एमबीबीएसपछि वर्षौंसम्म अझ जटिल उपविधाहरूमा ‘सबस्पेश्यल्टी’ अध्ययन गरेर आएकालाई काउन्सिलले एमबीबीएस सरहको जाँच दिए मात्र लाइसेन्स दिने अत्तो थाप्छ। यो त इतिहास विषयमा वर्षौंअघि स्नातकोत्तर गरेको मान्छेलाई पहिले एसएलसी पास गर अनि मात्र इतिहासविज्ञ भएर काम गर्ने लाइसेन्स दिन्छु भने जस्तो हो।
त्रिविले समकक्षतालाई आफ्ना मान्छे घुसाउने अनि अरूलाई रोक्ने तगारो बनाएको छ। जबकि विदेशमा अझ जटिल उपविधामा विशेषज्ञता हासिल गरेकालाई त स्वदेश फर्किएर काम गर्न स्वागत गर्नुपर्ने हो, किनकि यहाँ त्यस्ता जनशक्तिको प्रायः खडेरी रहन्छ। संक्रामक रोगका सवालमा हाम्रा सरकारी अस्पतालमा अहिले पनि ससाना कुरा नजानेर जटिल समस्या निम्तिएको पाइन्छ। शल्यक्रिया गरेको बिरामीमा अस्पतालबाटै कडा संक्रमण भएर पनि मृत्यु हुन सक्छ।
कोभिड-१९ का वेला त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखिएका बिरामीमध्ये ८४ प्रतिशत जतिको मृत्यु भयो। तीमध्ये मधुमेह भएकाहरूको समूहमा मृत्युदर ९४ प्रतिशत थियो। अधिकांशको मृत्युको कारण जटिल संक्रमण नै थियो। विडम्बना, त्यत्रो संस्थामा अहिलेसम्म पनि यस्ता समस्या हेर्ने संक्रामक रोग विशेषज्ञ छैन।
मलाई लाग्छ, विदेशबाट पढेर आउनेमध्ये धेरैका हकमा अहिलेको स्वरूपको समकक्षता जरुरी नै छैन। समकक्षता साँच्चै चाहिनेका हकमा पनि छिटोछरितो काम गरिदिने छुट्टै निःस्वार्थ र स्वायत्त संस्था आवश्यक छ।
(डा. सुवेदीसँग अनिता भेटवालले गरेको कुराकानीमा आधारित।)