२०४८ सालदेखि नै ‘एट्रियल फिब्रलेशन’ का बिरामी थिए नेम्वाङ
डा. सायमि ‘मुटुको बिरामीले नियमित जाँच गरिरहनुपर्छ’ भन्थे। नेम्वाङ हाँसेर टार्थे। डा. सायमिका अनुसार औषधि खाइरहेकाले समस्या आउँदैन भन्ने कुरामा नेम्वाङ ढुक्क थिए।
२०४८ सालतिरको कुरा हो, मुटुरोग विशेषज्ञ डा. अरुण सायमि त्रिपुरेश्वरस्थित ब्लूक्रस अस्पतालको ओपीडीमा बिरामी हेरिरहेका थिए। त्यही वेला एमाले नेता सुवासचन्द्र नेम्वाङ ओपीडीमा देखा परे।
डा. सायमिले सोधपुछ गरेपछि थाहा भयो- उनी सास फेर्न गाह्रो हुने, रिंगटा लाग्ने र कमजोर महसूस गर्ने भएर अस्पताल पुगेका रहेछन्।
डा. सायमिले अस्पतालमा उपलब्ध सम्पूर्ण स्रोतसाधनको बलमा परीक्षण गर्दा नेम्वाङको मुटुको धड्कनमा गडबड भएको आशङ्का गरे। त्यति वेला यस्तो रोगको उपचार नेपालमा सम्भव थिएन।
नेम्वाङ त्यति वेला राष्ट्रिय सभाका सदस्य थिए। उच्चपदस्थ व्यक्ति भएकाले पनि डा. सायमिले नेम्वाङलाई भारतको दिल्ली गएर उपचार गर्न सुझाए। नेम्वाङले सायमिलाई ‘तपाईं पनि सँगै हिंड्नुस्’ भने।
केही दिनपछि नेम्वाङ र डा. सायमि सहितको टोली दिल्ली पुग्यो। दिल्लीको बात्रा अस्पतालमा नेम्वाङको मुटुको परीक्षण गराइयो। तर, एन्जियोग्राम, ईसीजी लगायत परीक्षण गर्दा पनि उनको समस्या भने पत्ता लागेन।
अन्ततः नेम्वाङको इलेक्ट्रोफिजियोलोजिकल स्टडी (ईपीएस) गरियो। ईपीएस प्रविधिबाट परीक्षण गर्दा भने नेम्वाङको मुटुमा केही असामान्य तन्तुहरू फेला परे। यिनै तन्तुका कारण नेम्वाङको मुटुको धडकन गडबड भइरहेको पत्ता लाग्यो।
डा. सायमिका अनुसार चिकित्सकीय भाषामा यस्तो रोगलाई ‘एट्रियल फिब्रलेशन’ भनिन्छ। यो रोगले मानिसको श्वासप्रश्वासमा समस्या निम्त्याउँछ भने रिंगटा लाग्ने, उच्च रक्तचाप हुने जस्ता लक्षण देखिन्छन्। यो रोग लागेका मानिसलाई स्ट्रोक र हृदयाघातको जोखिम उच्च हुन्छ।
दिल्लीका चिकित्सकले नेम्वाङलाई जीवनभर ‘एट्रियल फिब्रलेशन’ रोगको औषधि खानुपर्ने बताएका थिए। सोही अनुरूप नेम्वाङले औषधि सेवन गर्दै आएका पनि थिए।
“मुटुको चाल असमान्य बनाउने तन्तुलाई ‘रेडियो फ्रिक्वेन्सी एबलेशन’ थेरापीद्वारा जलाएर नष्ट तथा निष्क्रिय पारिएको थियो,” डाक्टर सायमिले नेम्वाङको उपचार सम्झँदै भने।
दिल्लीबाट फर्केपछि पनि नेम्वाङ र डा. सायमिको कैयौं पटक भेट भएको थियो। मानव अधिकार संरक्षण मञ्चमा डा. सायमि र नेम्वाङ सँगै थिए। जति पटक भेटे पनि डा. सायमि नेम्वाङलाई स्वास्थ्य अवस्थाबारे सोधिरहन्थे।
‘अहिले सबै ठीक छ। केही समस्या देखिए आइहाल्छु नि’ नेम्वाङको जवाफ यस्तो हुन्थ्यो।
सायमि ‘मुटुको बिरामीले नियमित जाँच गरिरहनुपर्छ’ भन्थे। नेम्वाङ हाँसेर टार्थे। “औषधि खाइरहेकाले समस्या आउँदैन भन्ने कुरामा उहाँ ढुक्क हुनुहुन्थ्यो,” डा. सायमिले भने।
डेढ वर्षअघिको कुरा हो, डा. सायमि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत थिए। त्यही वेला संघीय संसद्का चिकित्सक पुष्पराज रिजालले नेम्वाङलाई नियमित फलोअपका लागि मनमोहन पुर्याएका थिए।
२०४८ सालयता नेम्वाङ र डा. सायमिबीच उपचारकै सिलसिलामा दोस्रो पटक भेट हुँदै थियो। धन्न त्यति वेला नेम्वाङलाई जटिल समस्या भने देखिएन। डा. सायमिले त्यो वेला नेम्वाङको औषधि भने परिवर्तन गरिदिएका थिए।
“अब त उमेर पनि भयो, पहिले जस्तो होइन, नियमितजसो जाँच गरिरहनुपर्छ भनेर पठाएको थिएँ। तर, उहाँसँग त्यसपछि भेट नै भएन,” उनले भने।
पाँच वर्षयता भने नेम्वाङलाई संघीय संसद्को चिकित्सक पुष्पराज रिजालले जाँच्दै आएका थिए। उनले नियमितजसो नेम्वाङको रक्तचाप र मधुमेह जाँच गरिरहन्थे।
डा. रिजालका अनुसार उच्च रक्तचाप र मधुमेहको औषधि खाइरहेकाले वेलावेलामा नेम्वाङलाई रिंगटा लाग्ने र कमजोर महसूस हुने भए पनि पाँच वर्षयता भने उनमा गम्भीर समस्या देखिएको थिएन।
“पछिल्लो पाँच वर्षमा अस्पताल नै भर्ना हुनुपर्ने गरी उहाँ एक पटक पनि बिरामी हुनुभएको थिएन,” डा. रिजालले भने।
नेम्वाङलाई मंगलबार बिहान १ बजेर ५० मिनेटमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको थियो। अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार आकस्मिक कक्षमा रहेका चिकित्सकले जाँच गर्दा उनमा ‘जीवन सम्बन्धी कुनै चाल’ देखिएको थिएन।
अस्पताल पुर्याउँदा नै उनको आँखाको नानी फुलिसकेको थियो भने रक्तचाप र मुटु मापन नहुने अवस्थामा थियो। चिकित्सकले ३५ मिनेटसम्म कृत्रिम श्वासप्रश्वास दिंदा पनि ‘जीवन सम्बन्धी कुनै सङ्केत नदेखिएकाले’ तीन बजे नेम्वाङलाई मृत घोषणा गरिएको थियो।