सुन तस्करी प्रकरणमा भन्सार कर्मचारी पक्राउ
साढे ६० किलोग्राम सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारी पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भन्सार अधिकृत पुष्पा जोशी, नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको हो। तीनै जनालाई शनिबार पक्राउ गरिएको सीआईबीले जनाएको छ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएको सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। त्यससँगै तीन जनालाई नियन्त्रणमा लिएको थियो। आज पक्राउ परेका तीन कर्मचारी सहित यस प्रकरणमा पक्राउ पर्नेको संख्या ३१ पुगेको छ।
यसअघि विमानस्थल भन्सार चार कर्मचारी पक्राउ परेका थिए। उनीहरूकै बयानका आधारमा थप तीन जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
यसमा नेपालीसँगै भारतीय, चिनियाँ र बेल्जियमका नागरिक पनि पक्राउ परेका छन्। तिब्बती मूलका बेल्जियमका नागरिक दावा छिरिङ पक्राउ परेपछि राजनीतिक दलका नेताहरू पनि अनुसन्धानको घेरामा परेका छन्।