विश्वकपका लागि अस्ट्रेलियाका १५ खेलाडी चयन
एक महीनापछि हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि अस्ट्रेलियाले आफ्नो टोलीको टुङ्गो लगाएको छ।
पाँच पटक एकदिवसीय विश्वकपको उपाधि उचालेको टोली अस्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा अनुभवी खेलाडीहरू समेटेर टोली निर्धारण गरेको हो। अस्ट्रेलियन टोलीमा स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल र मिचेल स्टार्क जस्ता अनुभवी खेलाडी छन्।
यस्तै, एलेक्स केरी, जोश इंग्लिस, सन एबट, एस्टन एगर, केमरून ग्रीन, जोश हेजलवूड, ट्रेभिस हेड, मिचेल मार्श, मार्कस स्टोइनिस र एडम जाम्पा पनि अस्ट्रेलियन टोलीमा अटाएका छन्। टेस्टमा राम्रै प्रदर्शन गरिरहेका मार्नस ल्याबुशेन भने १५ सदस्यीय टोलीमा छैनन्।
अस्ट्रेलियाले आफ्नो पहिलो खेल आयोजक राष्ट्र भारत विरुद्ध ८ अक्टोबरमा खेल्नेछ।
१३औं संस्करणको यो विश्वकप ५ अक्टोबरबाट शुरू हुँदै छ। विश्वकपका लागि भारत र दक्षिण अफ्रिकाले हिजै आआफ्नो १५ सदस्यीय टोलीको टुङ्गो लगाइसकेका छन्।
न्यूजिल्यान्डले ११ सेप्टेम्बरमा १५ सदस्यीय टोली टुङ्ग्याउने आईसीसीको वेबसाइटमा उल्लेख छ। यसबीच, न्यूजिल्यान्डका कप्तान केन विलियम्सनले भने यो विश्वकप खेल्ने भएका छन्। घुँडामा चोट लागेका कारण टीम बाहिर रहेका विलियम्सनलाई समेटेर न्यूजिल्यान्डले १५ जनाको टोली बनाउने भएको छ।
न्यूजिल्यान्डले विश्वकपको उद्घाटन खेल नै खेल्नेछ। जसमा उसको प्रतिद्वन्द्वी इङ्ल्यान्ड हुनेछ।
कुनै पनि राष्ट्रले आफ्नो १५ सदस्यीय खेलाडीमा फेरबदल गर्न चाहेमा २८ सेप्टेम्बरसम्मको समय दिइएको छ। त्यसपछि खेलाडी परिवर्तन गर्न आईसीसीको अनुमति लिनुपर्नेछ।