विश्वकपका लागि भारत र दक्षिण अफ्रिकाले टुङ्गो लगाए १५ सदस्यीय टोली
एक महीनापछि हुने आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिताका लागि भारत र दक्षिण अफ्रिकाले आफ्नो १५ सदस्यीय टोली टुङ्गो लगाएका छन्।
१३औं संस्करणको यो विश्वकप ५ अक्टोबरबाट भारतमा आयोजना हुँदै छ। आयोजक राष्ट्र भारतले आफ्नो १५ सदस्यीय टोलीमा रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस ऐयरलाई समेटेको छ। यस्तै, चोटका कारण टीम बाहिर रहेका केएल राहुल पनि १५ जनाभित्र अटाएका छन्।
इशान किसन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दूल ठाकुर, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद शामी र मोहम्मद सिराज पनि विश्वकप खेल्ने टोलीमा समेटिएका छन्।
भारतीय टोलीको कप्तानका रूपमा रोहित शर्मा नै हुनेछन्। भारतले आफ्नो पहिलो खेल ८ अक्टोबरमा अस्ट्रेलिया विरुद्ध खेल्नेछ।
यस्तै, दक्षिण अफ्रिकाले टेम्बा बभुमाको कप्तानीमा विश्वकप खेल्ने टोलीको टुङ्गो लगाएको छ। टोलीमा बभुमा सहित जेराल्ड कोट्जी, क्विन्टन डि कक, रिजा हेन्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, सिसान्दा मगाला, केशव महाराज, एडन मार्क्रम, डेविड मिलर, लुंगी इनगिडी, एन्रिच नोकिया, कगिसो रबाडा, तब्रिज शम्सी र रस्सी भान डेर डसन छन्।
दक्षिण अफ्रिकाले विश्वकपमा ७ अक्टोबरमा पहिलो खेल श्रीलंका विरुद्ध खेल्नेछ।
कुनै पनि राष्ट्रले आफ्नो १५ सदस्यीय खेलाडीमा फेरबदल गर्न चाहेमा २८ सेप्टेम्बरसम्मको समय दिइएको छ। त्यसपछि खेलाडी परिवर्तन गर्न आईसीसीको अनुमति लिनुपर्नेछ।
डि ककको सन्न्यास
यस्तै, दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डि ककले यो विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने भएका छन्।
सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका डि ककले हालसम्म १४० एकदिवसीय खेल खेलेका छन्। जसमा उनले ४४.८५ को औसतमा पाँच हजार ९६६ रन बनाएका छन्। यसमा १७ शतक र २९ अर्धशतक सामेल छ।
उनले सन् २०१६ मा अस्ट्रेलिया विरुद्ध १७८ रन बनाएका थिए। एकदिवसीयमा उनको यो व्यक्तिगत उच्च स्कोर हो। यस्तै, विकेटकिपरका रूपमा उनले १८३ क्याच र १४ स्टम्पिङ गरेका छन्।
डि ककले सन् २०२१ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट सन्न्यास लिइसकेका छन्।