सुन तस्करी प्रकरण: पूर्व उपराष्ट्रपति पुनका छोरा अनुसन्धानको घेरामा
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सुन तस्कर गिरोहसँग सम्पर्कमा रहेको देखिएकाले प्रहरीको अनुसन्धानको दायरामा परेका छन्।
साढे ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको कुराकानी भएको देखिएकाले उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज सोधपुछ समेत गरेको छ।
“दावासँग असाधारण तवरमा सम्पर्क भएकाहरूलाई बुझ्न बोलाउने क्रममा दीपेश पुनसँग पनि सोधपुछ गरिएको हो,” सीआईबीका निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले हिमालखबरसँग भनिन्।
सीआईबीका अनुसार प्रारम्भिक सोधपुछमा अनुसन्धानका लागि आवश्यक उल्लेखनीय कुरा खुलेको छैन। यद्यपि दावाकी श्रीमती अमला रोकाका व्यापारिक साझेदारसँग समेत दीपेशको सम्बन्ध देखिएको हिमालखबरले खुलासा गरेको थियो।
२०७६ माघ १ गते अमला र दीपेश तीन जना चिनियाँ सहित मनाङ एअरको हेलिकोप्टरमा गोसाइँकुण्ड गएका थिए। काठमाडौंको छङगफङग होटलमा अमलासँग साझेदार रहेका चु जिलियाङ पनि उक्त भ्रमणमा सामेल थिए।
उक्त होटलमा दावा, अमला, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिकहरू जिलियाङ, चेन काइमु, गुआङपेङग जोङ साझेदार छन्। यो होटल ३० करोड रुपैयाँ चुक्ता पूँजी सहित २०७४ सालमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको कागजातबाट खुल्छ।
दावा पक्राउ परेको भोलिपल्ट समेत अमलाले पूर्व उपराष्ट्रपति नन्दबहादुरलाई भेटेको भिडिओ उनकी बहिनी नाता पर्ने बिन्दु मगरले फेसबूक रिलमा राखेकी थिइन्। यी घटनाक्रमले दावा-अमला गिरोहसँग दीपेशको लामो समयदेखि साँठगाँठ रहेको समेत खुलाउँछ।
दीपेश माओवादी भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का महासचिव समेत हुन्। दावा नेपालमा चिनियाँ गिरोह भित्र्याउने अजेन्ट रहेको प्रहरीको अभिलेखमा छ। उनको पक्राउसँगै राजनीतिक कनेक्सन खुल्ने अपेक्षा थियो।