‘सबैलाई समेटेर नेपालको इतिहास त लेखिएकै छैन’
‘नेपाल हरेक ढुङ्गा ढुङ्गामा इतिहास भएको देश हो। नेपाली संस्कृतिलाई मिथकहरूको शांग्रिला नै भन्न सकिन्छ। नेपालको पारम्परिक इतिहास लेखनमा मिथक र पौराणिक परम्पराले पनि स्थान पाएकै छ।’
हिमाली क्षेत्रको पुरातात्त्विक अन्वेषण एवं उत्खननमा परिचित नाम हो प्रकाश दर्नाल। पुरातत्त्व विभाग राष्ट्रिय संग्रहालय र राष्ट्रिय अभिलेखालय जस्ता अनुसन्धानमूलक केन्द्रहरूमा काम गरेका ६६ वर्षीय दर्नाल विशेषतः अभिलेख अध्ययन, पुरातात्त्विक उत्खननमा संलग्न रहे।
त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर गरेका उनले भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्यूट अफ आर्कियोलोजी (एएसआई)बाट पुरातत्त्व विषयमा पोस्ट ग्राजुएट (सन् १९९६-९८) गरेका थिए। हाम्रो सांस्कृतिक धरोहर र नेपालका सांस्कृतिक सम्पदाहरू पुस्तक प्रकाशन गरेका दर्नालको बौद्ध सांस्कृतिक सम्पदा र हेरिटेज एन्ड आर्कियोलोजी पुस्तक प्रकाशोन्मुख छन्।
प्राचीन नेपाल र अभिलेख पत्रिका लगायत जर्नलहरूमा अनुसन्धानमूलक सामग्री लेख्दै आएका दर्नाल सेवानिवृत्तिपछि पनि अनुसन्धानमै तल्लीन छन्। उनै पुरातत्त्वविद् दर्नालसँग हिमालखबरका लागि गोविन्द न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
पुरातत्त्व विभाग, राष्ट्रिय संग्रहालय र राष्ट्रिय अभिलेखालय जस्ता अनुसन्धानमूलक संस्थामा लामो समय काम गर्दाको अनुभव कस्तो रह्यो?
अनुभव निकै सुखद रह्यो। किनकि पुरातत्त्व विभाग यस्तो संस्था हो, जसको हरेक काम महत्त्वपूर्ण अध्ययन र अनुसन्धानसँग सम्बन्धित हुन्छ। प्राचीन स्मारक संरक्षण ऐन, २०१३ का अनुसार यसको मुख्य काम पुरातात्त्विक उत्खनन र अन्वेषण गर्नु नै हो। तर, विविध कारणले पुरातत्त्व विभागले पुरातात्त्विक उत्खननभन्दा पनि संरक्षणको कामलाई बढी महत्त्व दिएको छ।
राष्ट्रिय अभिलेखालयमा पनि चार-पाँच वर्ष काम गर्दा निकै सुखद अनुभव गरेको छु। विशेषतः इटुम्बहालको प्रज्ञापारमिता राष्ट्रिय अभिलेखालयको रेकर्डमा थिएन। क्याप्टेन चन्द्र शाक्यको प्रयासमा त्यो किताबलाई ल्याएर माइक्रोफिल्मिङ गर्यौं। पछि यही फिल्मबाट इतिहासकार महेशराज पन्तले निकै गहन अनुसन्धान गरी पूर्णिमामा लेख प्रकाशित गर्नुभएको छ। त्यसपछि धेरैले विश्वास गरेर आफूसँग भएका पुराना र महत्त्वपूर्ण हस्तलिखित ग्रन्थ तथा लिखतहरू राष्ट्रिय अभिलेखालयमा राख्न दिए।
राष्ट्रिय अभिलेखालयमा नभएको किलाको अक्षर (माथि रेफ दिंदा किला आकार बन्ने) भएको ग्रन्थ पनि भेटेका थियौं। धनवज्र वज्राचार्यका भतिजा (पीयूष औषधालय)सँग संग्रहमा रहेको त्यो ग्रन्थलाई चाहिं राष्ट्रिय अभिलेखालयमा ल्याउन प्रयास गरे पनि सकेनौं। म हुँदै तिब्बती ग्रन्थहरूको क्याटलग प्रकाशन गर्ने कामलाई पनि निरन्तरता दिइयो।
निश्वासतत्त्व संहिता र सुश्रुतसंहिता ‘मेमोरी अफ द वर्ल्ड’ सूचीमा सूचीकृत भयो। अमेरिकाको रुविन संग्रहालयमा लिलामीमा राखिएका गाताचित्र राष्ट्रिय अभिलेखालयमा फिर्ता ल्याइयो।
राष्ट्रिय संग्रहालयमा धेरै समय रहिनँ। तर, कार्यरत हुँदा चाहिं भूकम्पले क्षतिग्रस्त सम्पदाहरू राख्ने काम भयो। सिंहदरबारको गद्दी बैठकका सामानहरूको सुरक्षा गरियो।
इतिहास र संस्कृतिको अध्ययनमा यी संस्थाको विधागत भूमिका र आपसी सम्बन्ध कस्तो हुन्छ?
इतिहास पढ्नु भनेको ‘मेथोडोलोजी’का साथै मानवशास्त्रको अध्ययन, अनुसन्धान र विश्लेषण गर्न जान्नु पनि हो। पुरातत्त्व विभागले पुरातात्त्विक स्थलको उत्खनन गर्नुसँगै ऐतिहासिक महत्त्वको स्मारकको जीर्णोद्धार पनि गर्छ। यसरी गरिने हरेक कार्यको वैज्ञानिक ‘कन्जरभेशन नोट’ राखिने हुँदा इतिहासबारे पनि अध्ययन हुन्छ।
अभिलेखालय भनेको अहिलेसम्म भेटिएका ऐतिहासिक कागजपत्रको स्रोतको केन्द्र हो। अभिलेखालयमा अध्ययन नगरी इतिहास सम्बन्धी अध्ययन कार्य पूरा हुँदैन। संग्रहालयमा पनि अमूल्य मूर्ति, चित्र, ढुङ्गे हतियार, ऐतिहासिक वस्तुहरूको संग्रह आदि हुने भएकाले यी तीन वटैको आपसमा सम्बन्ध र समन्वय छ।
पुरातात्त्विक प्रमाणका आधारमा नेपालको इतिहासलाई कसरी हेर्नुहुन्छ?
नेपालको भाषा, साहित्य र कला-संस्कृतिमा हिमालयले गहिरो प्रभाव पारेको छ। भूगर्भशास्त्रीका अनुसार करीब सात करोड वर्ष अघि हिमालको उत्पत्ति भएको हो। करीब ८० लाख वर्ष अघि हिमालका टाकुराहरू यस्तो उचाइमा पुगे, जसले यस क्षेत्रको मौसमी हावापानीको व्यवस्था हुन गयो।
यसैले अरब सागरका देशहरू, हिन्द महासागर (जम्बुद्वीप) र उत्तरमा चीनतर्फको पानी पर्ने वर्षात्को स्वरूपलाई बदलिदियो। अतः भौगोलिक विविधता अनुरूप विभिन्न प्रकारका हावापानी रहन गयो।
मध्यहिमयुगमा नेपालको दक्षिणतिर चुरे सिवालिक पहाडको उत्पत्ति भयो। यही वेलामा महाभारत पर्वतमा काठमाडौं उपत्यकाको उत्पत्ति भएको थियो। उपत्यकाको मानव विकास दक्षिणी भेगतिर भयो जहाँ सल्ला, खस्रु र भोजपत्रका रूखको घना जङ्गल थियो।
प्रागैतिहासिक अध्ययनका आधारमा करीब दुई लाख वर्ष अघि यहाँ ताल रहेको कुरा भूगर्भशास्त्रीहरूले बताएका छन्। वंशावली तथा हिन्दू पौराणिक कथनअनुसार, श्रीकृष्णले चोभारको डाँडो काटेर पानी बाहिर पठाई बस्ती बसाएको भन्ने विश्वास छ। बौद्ध मिथकमा उत्तर महाचीनबाट मञ्जुश्री आई चोभारको डाँडो काटेर पानी बाहिर पठाई यहाँ मञ्जुपत्तन शहर बसाएको वर्णन पाइन्छ।
जे होस्, उपत्यकाको ताल सुकेपछि बिस्तारै यहाँ बस्ती विकास भएको भौगर्भिक एवम् प्रागैतिहासिक तथ्यबाट थाहा हुन्छ।
हिमाली क्षेत्रका पुरातात्त्विक अन्वेषण र उत्खननमा पनि संलग्न हुनुभयो। नेपाली सभ्यताको जग बसाउन हिमाली सभ्यताको भूमिका कस्तो पाउनुभयो?
नेपाली संस्कृतिको संरचनामा हिमाली सभ्यताको महत्त्वपूर्ण भूमिका देखिन्छ। विशेषतः मुस्ताङ क्षेत्रमा रहेका विभिन्न प्राचीन गुफा संस्कृतिको अध्ययनबाट यस क्षेत्रमा प्राक्मानवको गतिविधि भएको थाहा हुन्छ।
मुस्ताङको चोखोपानी गुफा पत्ता लाग्दाको रोचक प्रसङ्ग शुक्रसागर श्रेष्ठले मार्टिन चौतारीबाट प्रकाशित समाज अध्ययन ११ मा उल्लेख गरेका छन्। जनकलाल शर्माले चोखोपानी क्षेत्रमा बिजुली उत्पादन सम्बन्धी काम गर्दा संयोगवश त्यहाँ रहेको एउटा गुफामा पुरातात्त्विक वस्तुहरू फेला परेको थाहा पाएपछि देवेन्द्रनाथ तिवारीलाई खटाएका थिए। उनले त्यहाँ गएर पुरातात्त्विक अध्ययन गर्दा मानव चिहानहरू भेटे।
मुस्ताङको चोखोपानी क्षेत्रमा बिजुली उत्पादन सम्बन्धी काम गर्दा संयोगवश त्यहाँ रहेको एउटा गुफामा पुरातात्त्विक वस्तुहरू भेटियो। लगत्तै पुरातत्त्व विभागले त्यहाँ गएर पुरातात्त्विक अध्ययन गर्दा त्यहाँ मानव चिहानहरू भेटिए। यसले नेपालको हिमाली पुरातात्त्विक अन्वेषण र अनुसन्धानमा विश्वसमुदायको ध्यान गयो।
यसपछि जर्मनीको काउल्फिल्ड माइसेजाल इन्स्टिच्यूटले पुरातत्त्व विभागसँगको सहकार्यमा सन् १९९२ देखि १९९७ सम्म पुरातात्त्विक अन्वेषण र उत्खननको काम गर्यो। यस अनुसन्धानबाट मानव कङ्काल, तामाबाट निर्मित मानवाकृति (एन्थ्रोपोमोर्फिक फिगर), टुटी भएको तथा दुई मुख जोडिएको माटोको भाँडा, डोरीको छाप भएका माटोका भाँडाहरू, कार्नेलियन विड, शङ्ख, तामाका चुरा, पाषाण सियो र एरोहेड लगायत पुरातात्त्विक वस्तुहरू भेटिएका थिए।
यस्ता वस्तुको प्राप्तिले मुस्ताङ क्षेत्रमा मानव बसोबास र गतिविधिहरू भएको पुष्टि हुन्छ। पछि चोखोपानी गुफाको साथसाथै यस क्षेत्रमा रहेका झोङ, मेब्राक लगायत गुफाहरूको अध्ययनबाट लगभग इशापूर्व ८०० को आसपासमा यी गुफामा मानवले बसोबास गर्न थालेको मानिन्छ। अझ रोचक कुरा त मेब्राक गुफामा ‘ममी’ हरूको अश्मिभूत कङ्कालहरू भेटिएका छन्।
यहाँ प्राप्त पुरातात्त्विक वस्तुहरूको विश्लेषण गर्दा यो क्षेत्र भारत, चीन लगायत सेन्ट्रल एशियासम्मको व्यापारिक मार्ग रहेको हुनसक्ने देखिन्छ जहाँ विशेषतः नून र अनाजको व्यापार हुन्थ्यो।
दुई हजार वर्ष अघि नै सिंचाइ प्रणालीको समेत विकास भएको देखिन्छ। यस क्षेत्रमा गहुँ, जौ, दाल जस्ता अनाजहरू उत्पादन गर्न जानेका सङ्केतहरू भेटिन्छन्। त्यस बाहेक विशेषतः पेट्रोग्लिफ (चट्टानमा कुँदिएका विभिन्न आकृति)को अध्ययनबाट पनि त्यस क्षेत्रका प्राचीनताबारे जान्न सकिन्छ।
कागबेनी, समर र छुकसाङबाट पेट्रोग्लिफहरू प्राप्त भएका छन्, जुन होलोसिन पिरियडको मानिन्छ। घोडा, सूर्य र शिकार गर्दै गरेका चिह्नहरू पेट्रोग्लिफमा खोपिएको देखिन्छ। यसबाट पनि त्यस वेलाको सामाजिक तथा सांस्कृतिक परिस्थितिबारे जान्न सकिन्छ। त्यस क्षेत्रमा प्राप्त पेट्रोग्लिफको पुरातात्त्विक अध्ययनबाट तिब्बतीको आगमनपूर्वको मानवको विषयमा जानकारी हुन्छ।
अतः त्यस क्षेत्रमा प्राप्त पेट्रोग्लिफको पुरातात्त्विक अध्ययनबाट तिब्बतीको आगमनपूर्वको मानवको विषयमा जानकारी हुन्छ। मुस्ताङ क्षेत्रका रिञ्जेलिङ, गोइजुफु, झोङक्वोरे, सामजुङ्ग लगायत सयौं गुफामा रहेका भित्तेचित्र भारतको विशेषगरी लद्दाख क्षेत्रका गुफामा प्राप्त भित्तेचित्रसँग मिल्दाजुल्दा (सांस्कृतिक समरूपता) रहेको तुलनात्मक अध्ययनबाट थाहा हुन्छ।
यसबाट नेपाली संस्कृतिको जग बसाउन हिन्दूकुश अर्थात् हिमालको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ। आर्य र मंगोललाई जोड्ने सीमास्मारकका रूपमा हिमालको भूमिका छ भन्दा पनि अन्यथा हुँदैन।
यसै प्रसङ्गमा माइकल पिसेलले कागबेनी क्षेत्रलाई मध्यएशियाको मुख्य द्वार भनेका छन् नि, किन होला?
कालीगण्डकी करिडोर भएर कागबेनी हुँदै लोमान्थाङ, कैलाश मानसरोवर र तिब्बत-चीनसम्म जाने मुख्य बाटो भएकाले यस क्षेत्रलाई उनले मध्यएशियाको मुख्य द्वार भनेको हुनुपर्छ। तीन हजार वर्ष अघिदेखि नै यो क्षेत्रमा बसोबास शुरू भएको प्रमाण भेटिनाले र यो मध्यएशियालाई जोड्ने मुख्य नाका तथा व्यापारिक मार्ग भएको हुनाले उनले यसो भन्नु स्वाभाविक नै हो।
नेपालमा को आदिवासी, को आप्रवासी भन्ने लामो समयदेखि प्राज्ञिक र राजनीतिक विमर्श चलिरहेको छ। पुरातात्त्विक प्रमाणले यसबारे के भन्छ?
नेपालको सन्दर्भमा पुरातात्त्विक प्रमाणको आधारबाट को आदिवासी, को आप्रवासी भन्ने विषयमा खासै अध्ययन भएको छैन। तर, नेपाल प्रागैतिहासिक कालदेखि नै प्राक्मानवहरूको आकर्षणको केन्द्र थियो। यसकारण मंगोल र आर्यमूलका मानिसको सांस्कृतिक अन्तर्घुलन अर्थात् एउटा ‘मेल्टिङ पट’ का रूपमा नेपालले भूमिका निर्वाह गरेको तथ्य सांस्कृतिक, मानवशास्त्रीय एवम् पुरातात्त्विक अध्ययनबाट प्रमाणित हुन्छ।
नेपालमा जति पनि जातीय संरचना छ, अपवाद बाहेक तिनीहरूको मानवशास्त्रीय अध्ययन हुन सकेको छैन। अनुहार तथा नाकमुख हेरेर हिमालमा बस्ने मंगोल मूलवासी, तराई-पहाडमा बस्ने खस-आर्य समूह भनी पहिचानको आधार बनाउने पद्धति कतिको वस्तुनिष्ठ र वैज्ञानिक छ?
वंशावली अनुसार शुरूमा थानकोट-चित्लाङ भेगमा गोपालवंशी, महिषपालवंशी, किरात र क्रमशः लिच्छवि र मल्लहरूले शासन गरेको उल्लेख छ। काठमाडौंका नेवार समुदायको सम्पदा र संस्कृति हेर्दा पनि आर्य र मंगोल समुदायको समन्वयबाट नै बागमती सभ्यताको विकास भएको देखिन्छ। यसो हुनुका ऐतिहासिक कारणहरूको मानवशास्त्रीय, समाजशास्त्रीय अध्ययन नै नहुनु दुःखद हो।
यसकारण नेपालमा को आदिवासी, को आप्रवासी भन्दा पनि दुवै समूहको समन्वयबाट नेपाली समाजको सांस्कृतिक संरचनाको शिलान्यास भएको छ भन्ने तर्क बढी वस्तुनिष्ठ हुन्छ।
वंशावलीका आधारमा गोपालवंशी आर्यलाई नेपालको प्रथम आदिवासी मान्न सकिंदैन वा पुरातात्त्विक, पौराणिक तथा मिथकीय आधारमा किरात र नागवंशीहरू नेपालका प्रथम आदिवासी हुन्?
वंशावलीअनुसार त शुरूमा गोपालहरू नै हुन्। अझै पनि चित्लाङ र थानकोट भेगमा गोपालहरूको बस्ती भएको प्रमाणले त्यस कथनलाई पनि जोड दिन्छ। तर, यस विषयमा मानवशास्त्रीय अध्ययन नै भएको छैन। पुरातात्त्विक उत्खननको काम पनि तुलनात्मक रूपमा कम नै छ।
नेपाल हरेक ढुङ्गा ढुङ्गामा इतिहास भएको देश हो। नेपाली संस्कृतिलाई मिथकहरूको शांग्रिला नै भन्न सकिन्छ। नेपालको पारम्परिक इतिहास लेखनमा मिथक र पौराणिक परम्पराले पनि स्थान पाएकै थियो।
किरात र नागजातिको सम्बन्धमा किरातहरूको केही मात्रामा लिच्छवि अभिलेखमा पाइने किराती शब्दहरूको प्रमाण छन्। लिच्छविकालका अभिलेखहरूमा परेका संस्कृत-इतर शब्दहरू र किरातवर्षधर जस्ता शब्दले पनि यस कथनलाई बल दिन्छन्। भाषा वंशावलीले पनि किरातहरूको चर्चा गरेकै छ। यस आधारमा लिच्छविपूर्व किरातहरूको शासन थियो ठोकेरै भन्न सकिन्छ।
ऐतिहासिक कालगणनाअनुसार, किरातशासनलाई बुद्धको समकालीन मानिन्छ। तर, त्यति लामो समय शासन गरेका किराती शासकहरूको पुरातात्त्विक प्रमाण किन पाइएन भनेर प्राज्ञिक सवाल उठाउनु जरुरी छ। पशुपति क्षेत्रमा पाइएको विरूपाक्षको मूर्तिलाई कतिपयले किरातकालको माने पनि कतिपयले लिच्छविकालीन मानेको हुँदा यस विषयमा निष्कर्षमा पुगिहाल्न सकिंदैन। अझ भनौं, विरूपाक्षको मूर्ति किरातकालीन हो भन्दै गर्दा त्यस कथनमा विश्वस्त हुने आधारहरू आफैंमा प्रश्नको परिधिमा छन्।
किरात शासकहरू प्रकृतिपूजक भएका कारण कलाकृतिको निर्माणमा उनीहरूको ध्यान नगएको हो कि! यो एउटा खोजको विषय हो। लिच्छविकालका अभिलेखहरूमा किरातशासनलाई प्रमाणित गर्ने आधारहरू छन्। लिच्छविकालका २०० भन्दा बढी अभिलेखमा प्रयुक्त संस्कृत-इतर शब्दहरू किरात भाषाका नै हुनुपर्छ।
तर, यसको भाषाशास्त्र र भाषिक पुरातत्त्वको कोणबाट थप अध्ययन गर्न जरुरी देखिन्छ। शिलालेखमा उनीहरूको भाषिक अस्तित्व पुष्टि हुनु र वंशावली वर्णनबाट किरात सभ्यताकै रूपमा विकसित थियो भन्न सकिन्छ। तर, लिच्छविहरूको तुलनामा किरात सभ्यताको कम प्रमाण प्राप्त भएको हुँदा यसबारे थप विवेचना गर्न सकिंदैन। यस विषयमा थप अध्ययन गर्न ढिला भइसकेको छ।
नागजातिको सन्दर्भमा ज्यादा मिथकीय प्रमाणहरू प्राप्त भएका छन्। यहाँका लोककथाहरूमा विशेषतः शेषनाग, कर्कोटक नाग आदिको वर्णन पाइन्छ। नागदह, टौदह, नागपोखरी आदि अहिले पनि प्रख्यात नै छन्। मञ्जुश्रीले चोभारको पहाड काटेर पानी बाहिर पठाउँदा बगेर जान लागेका कर्कोटक नागलाई टौदहमै रोकेको कथाले पनि नागको इतिहासबारे थाह हुन्छ।
नेवारी संस्कृति नै हेर्दा पनि नागको ऐतिहासिकता र मिथकीय सम्बन्धबारे थाहा हुन्छ। नेपाल र भारतमा अझै पनि नाग जातिका थरहरू भेटिन्छन्। तर, पनि पुरातात्त्विक प्रमाणका आधारमा नाग जातिको प्राचीनताबारे बोल्न कठिन छ।
नेपाली सभ्यतको शिलान्यासमा मंगोलमूल र खस-आर्य समूहका मानिसको के-कस्तो योगदान रह्यो?
हाम्रा शिलालेखहरूमा आर्य भनेर धेरै विमर्श भएको देखिंदैन। तर, मंगोलमूलका मानिने मानव समूहको पर्याप्त मात्रामा पुरातात्त्विक प्रमाणहरू प्राप्त भएका छन्।
हालको दाङ जिल्लामा जर्मन विद्वान् गुड्रुन कर्भिनसले करीब १० वर्ष पुरातात्त्विक एवम् प्रागैतिहासिक अध्ययन गरेकी थिइन्। नेपालको प्रागैतिहासिक विषयमा विश्वसमुदायलाई जानकारी गराउने उनी पहिलो विदेशी व्यक्ति थिइन्।
उनले त्यस क्षेत्रमा प्रशस्त प्राक्मानवका उपकरण तथा औजारहरू पत्ता लगाएकी थिइन्। उनले विशेषतः प्यालियोलिथिक एजदेखि निओलिथिक एजसम्मको तहबद्ध अध्ययन गरेकी थिइन्। उनले दाङको ब्राकुटी, गदरिया र बबई खोलाबाट ह्यान्ड एक्स टूल अर्थात् हाते बन्चरो र माइक्रोलिथ उपकरणहरू पत्ता लगाइन्।
यस आधारमा दाङ क्षेत्रमा विशेषतः ह्यान्ड एक्स संस्कृतिको विकास भएको देखिन्छ। तुलनात्मक काल निर्धारणको आधारमा यो संस्कृति लगभग एक लाख ६० हजारदेखि एक लाख वर्षअघिसम्म विकास भएको पुरातत्त्वविद्हरूको भनाइ छ।
कोर्विनसका अनुसार दाङ क्षेत्रमा विकसित यो संस्कृति भारतको सोहन संस्कृतिसँग मिल्दोजुल्दो थियो। यसको अर्थ त्यस वेलादेखि नै दाङ क्षेत्रमा आप्रवासीहरूको आगमन भइसकेको बुझिन्छ।
त्यस्तै, पूर्वी तराईको महोत्तरीको रातु खोलामा पनि कोर्विनसले प्रागैतिहासिक अध्ययन गरेकी थिइन्। उनका अनुसार रातो खोलामा विकसित संस्कृति माइक्रोलिकिथ संस्कृति (ढुङ्गाका ठूला ठूला हतियार बनाउने) लगभग सात हजार वर्ष पुरानो मानिन्छ, जुन भारतीय संस्कृतिसँग नमिली, दक्षिणएशियाको होआविन्हिएन (भियतनामी, नागाल्यान्ड) संस्कृतिसँग मिल्दोजुल्दो भनेर उनले लेखेकी छन्।
यी प्रसङ्गका आधारमा प्राचीनकालदेखि नै मंगोलमूलका समुदाय र आर्य समुदायको समन्वयबाट सांस्कृतिक संरचनाको रूपरेखा बनिसकेको थियो। यस आधारमा नेपाल प्राचीनकालदेखि नै सांस्कृतिक अन्तर्घुलनको केन्द्र बन्न पुगेको थियो भन्न सकिन्छ।
यस क्षेत्र प्राक्मानवको महत्त्वपूर्ण क्रीडाभूमि थियो भन्ने तर्कलाई बुटवलस्थित तिनाउँ खोलामा प्राप्त एक करोड १० लाख वर्ष पुरानो रामापिथेकसको अस्थिअवशेषको प्राप्तिबाट पनि प्रमाणित हुन्छ। यी पुरातात्त्विक तथा प्रागैतिहासिक प्रसङ्गले नेपालमा को आदिवासी, को आप्रवासी भन्ने राजनीतिक भाष्यलाई कमजोर बनाउँछ। अतः नेपाली सभ्यता र संस्कृतिको शिलान्यासमा आर्य र मंगोल दुवै समुदायको महत्त्वपूर्ण भूमिका देखिन्छ।
कतिपय इतिहासविद्ले भाषा, साहित्य, सम्पदा र संस्कृतिका आधारमा लिच्छविकाललाई ‘स्वर्णयुग’ मानेका छन। तर, अभिलेखका पानामा ती सम्पदाका सर्जक गुमनाम छन् नि?
लिच्छविकाल कति कुरामा पूर्ण छैन होला। तर, त्यस वेला विकसित भाषा, संस्कृति, साहित्य, कला-वास्तुकला, स्थापत्यकला, शिल्प सौन्दर्य, सैन्य व्यवस्था, कृषि प्रणाली लगायत विविध पक्षमा उत्कृष्ट विकास भएको हुँदा यसलाई स्वर्णयुग मान्न नसकिने होइन।
लिच्छविकालका दरबारका विषयमा चिनियाँ वृत्तान्तमा सन्दर्भ परेका आधारबाट पनि त्यस वेलाको भव्यताको अनुमान गर्न सकिन्छ। त्यस्तै, अंशुवर्माले आफूलाई ‘श्रीकलहाभिमानी’ अर्थात् सरस्वतीको भक्त बताएका छन्। यसबाट उनको विद्याप्रतिको मोह झल्किन्छ। उनले शब्दविद्या पुस्तक लेखेको मानिन्छ।
चाँगुनारायणमा राजा मानदेवले राख्न लगाएको अभिलेख, अनुपरम गुप्तले राख्न लगाएको अभिलेख, जयदेव द्वितीयको पशुपति अभिलेख लगायत भाषिक परिस्कारयुक्त संस्कृत भाषा, अभिलेखमा व्यक्त दार्शनिक चेतना, न्याय, सुव्यवस्थित राजनीतिक प्रणाली, कृषि तथा सिंचाइ प्रणाली, अर्थव्यवस्था आदिका आधारमा लिच्छविकाललाई स्वर्णयुग मान्न सकिन्छ।
त्यसो त आजको जस्तो विज्ञान-प्रविधि नभएको त्यस युगमा निर्माण भएका कला-वास्तुकलाका सन्दर्भले पनि स्वर्णयुगको परिकल्पनालाई नै जोड दिन्छ। इतिहासविद्हरूले पनि यसै विषयलाई आधार बनाएका हुन्।
विशेषतः राजा र उनका परिवारका सदस्यले राख्न लगाएको अभिलेख तथा निर्माण गर्न लगाएका सम्पदाले उनीहरूको इतिहास झल्काउँछ। तर, यहींनेर त्यस वेलाका कलासर्जक र आमनागरिकको इतिहास किन उल्लेख भएन भन्ने प्रश्न उठ्छ।
त्यस वेलाका सर्जकमा धार्मिक आस्थाका कारण व्यक्ति माध्यम मात्र हो, वास्तविक स्रष्टा भगवान् नै हुन भन्ने भावार्थमा उनीहरूले आफ्नो नाम वा इतिहास नराखेको पनि हुन सक्छ। मल्लकालसम्म पनि यसै भावनाले निरन्तरता पाएको देखिन्छ।
त्यस वेलाका समग्र नागरिकको स्थिति के थियो भन्ने थाहा नभए पनि अभिलेखमा शूद्र, चाण्डाल, दासदस्युहरूको दयनीयताको झल्को पाइँदा आमनागरिकको अवस्थिति नाजुक नै थियो भन्न सकिन्छ। त्यसकारण उनीहरूको आँखाबाट हेर्दा स्वर्णयुगको सन्दर्भमाथि प्रश्न उठाउन नसकिने नै त होइन। वस्तुतः स्वर्णयुग हुनाका लागि के के मापदण्ड हुनुपर्छ भन्ने सवालमा छलफल नै नभएको अवस्थामा यसै ठोकुवा गर्न सक्ने अवस्था पनि भएन।
स्वर्णयुगको झल्को दिने अभिलेखमा शूद्रलाई कसरी चित्रण गरिएको छ?
अभिलेखमा शूद्रहरूको दारुण अवस्थाको चित्रण पाइन्छ। किनभने एक त, लिच्छविहरूले हिन्दू वर्णाश्रम व्यवस्थालाई अपनाएका थिए। थानकोट वसन्तदेवकै अभिलेखहरूमा पनि चार वर्ण र १८ जातको सन्दर्भ छ। पछि, त्यही श्रमजीवी र शिल्पी समुदायले गर्ने कामको आधारमा जयस्थिति मल्लले वर्णाश्रम व्यवस्थालाई निरन्तरता दिएका थिए। तर, सो विभाजन जड रूपमा स्थापित हुँदै गयो। शिल्पकारितामा आबद्ध उनीहरू जडवत् पर्खाल जस्तो थरको रूपमा स्थापित भए, जुन पेशाबाट उनीहरूलाई मुक्त हुनै दिइएन।
अहिलेको अवस्था हेर्दा पनि उति वेलाको उनीहरूको कहालीलाग्दो अवस्थाको कल्पना गर्न सकिन्छ। उनीहरूको इतिहास नलेखिनु नै ठूलो अन्याय हो। उनीहरू पीडित थिए, अन्यायमा परेका थिए भन्ने कुरा त उनीहरूको अलिखित इतिहासबाटै अनुमान गर्न सक्छौं नि।
उनीहरूमाथि न्याय हुन्थ्यो भने उनीहरूको पक्कै पनि इतिहास लेखिन्थ्यो होला। त्यो नहुनु इतिहासमा अन्याय नै हो। यसकारण शिल्पी समुदायको कोणबाट हेर्दा चाहिं लिच्छविकालको स्वर्णयुगमाथि प्रश्न चिह्न लाग्छ नै।
हजारौं सम्पदा, त्यसमा निहित जीवन्त परम्परा, राष्ट्रिय अभिलेखालयमा रहेका हजारौं दस्तावेजीय दर्शनका आधारमा मल्लकाललाई किन स्वर्णयुग नभनिएको होला?
राष्ट्रिय अभिलेखालयमा रहेका वंशावली, दर्शनशास्त्र, तन्त्र, आयुर्वेद तथा चिकित्साशास्त्र लगायत विविध विषयका हजारौं ग्रन्थबाट मल्लकालका सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक र राजनीतिक लगायत विविध सामाजिक पक्षबारे थाहा हुन्छ। मल्लकालीन सामाजिक-सांस्कृतिक अभ्यास र हजारौं सम्पदाका आधारमा मल्लकाललाई स्वर्णयुग भन्नुपर्छ भन्ने तर्कहरू पनि उठेका छन्।
अपवाद बाहेक लिच्छविकालका सम्पदाहरूमा सांस्कृतिक गतिविधि पनि निकै कम देखिएको छ। यसकारण मल्लकाललाई किन स्वर्णयुग भनिएन भन्ने प्रश्नमा मल्लकालका यति धेरै विकास किन र कसरी भयो भन्ने सवालमा खोजी हुनुपर्छ। मल्लकालीन भव्यता र वैभवता एक्कासि विकास भएको होइन, यसको पृष्ठभूमिमा लिच्छविकाल नै बलियो जग थियो भन्ने कतिपय इतिहासविद्हरूको तर्क छ।
यसकारण नै लिच्छविकाललाई बढी जोड दिइएको हो कि भन्ने मलाई लाग्छ। तर, दाँजेर हेर्दा जगको हिसाबले लिच्छविकालको विशेष महत्त्व छ।
लिच्छविहरूले पनि उनीहरूभन्दा पहिलेका गोपाल, महिषपाल र किरातहरूले बनाएको सभ्यताको जगमा टेकेर थप विकास गरेका पो हुन् कि? वा लिच्छविहरूसँगै सिपालु कलाकार, शिल्पीहरूको आगमन पनि भएको हुन सक्छ।
नेपालको सन्दर्भमा विजेताहरूको मात्र इतिहास लेखिएको हो त?
सबैलाई समेटेर नेपालको इतिहास त लेखिएकै छैन। वंशावली त एउटा डायरी जस्तै हो, जसले राजा, महाराजका गतिविधिको बुँदा टिपोट मात्र गरेको देखिन्छ। त्यसकारण भुइँमान्छेको इतिहास नलेखिंदासम्म इतिहास लेखनको कार्य पूरा भयो भन्न मिल्दैन।
पुरेत्याइँ गर्नेहरू र शासकको वरिपरि घुम्नेहरूको नै यहाँ इतिहास लेखिएको प्रतीत हुन्छ। तर, इतिहासको खास निर्माता जो हुन् उनीहरूको अध्ययन नै भएको छैन। खोजी गर्न ढिला भइसकेको छ।
पृथ्वीनारायण शाहलाई विभूति मान्दै गर्दा बिसे नगर्चीलाई कहाँ जोड्न सकिएला?
पृथ्वीनारायण शाहको गुण-दोष जे भए पनि छरिएर रहेका राज्य (देश)हरूलाई एउटै मालामा उन्न सकेका भनेर उनलाई सम्झन्छौं। तर, देशलाई एउटै मालामा उन्नका लागि बौद्धिक सहयोग गर्ने बिसे नगर्चीको भूमिका इतिहासका पानामा कतै उल्लेख नहुनु दुर्भाग्य हो। नुवाकोटको लडाइँमा पृथ्वीनारायणलाई जुक्ति दिने बिसे नगर्चीको भूमिका खोजी हुनैपर्छ।
अहिले पनि समाजले दलित समुदायलाई मान्छे गन्दैन भने त्यस वेला बिसे नगर्चीको के अवस्था थियो होला सहजै अनुमान गर्न सक्छौं। बिसे नगर्चीको परिआएको वेला राजालाई समेत राय सल्लाह दिन सक्ने सामर्थ्यप्रति उच्च मूल्याङ्कन गर्नैपर्छ। बिसे नगर्चीको सहकारिताको भावना र देशप्रतिको उच्च विचारले नै पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई सहयोग पुर्याएको देखिन्छ। गोरखाका २१ हजार घरधुरीबाट एक-एक रुपैयाँ उठाउनुपर्छ भन्ने नगर्चीको जुक्ति नै एकीकरणको महत्त्वपूर्ण अध्याय थियो।
पुरातात्त्विक प्रमाणका आधारमा दलित समुदायको इतिहास कस्तो देखिन्छ?
हुन त पृथ्वी मल्लको शाके १२७९ को अभिलेखमा दमाईं र अन्य जातिलाई सबै कर (३६ कर) चन्द्रसूर्य रहुन्जेल त्यागिदिएको उल्लेख छ। सम्भवतः दलित समुदायबारे उल्लेख भएको त्यो नै पहिलो अभिलेख हो।
गोरखाका राजा छत्र शाहले शाके १५३१ मा राख्न लगाएको नगरा अभिलेख शाह राजाहरूको पहिलो अभिलेख हो। डमरुबाट नगराको उत्पत्ति भएको मानिन्छ, जसबारे वैदिक साहित्यमा समेत उल्लेख छ। विशेषतः मन्दिरमा बजाइने बाजालाई नगरा भनिन्छ र नगरा बजाउनेलाई नगर्ची भनिन्छ। त्यस्तै, सामाजिक उत्सवमा बजाइनेलाई दमाहा र सो बजाउनेलाई दमाईं भनिने सामाजिक चलन हो।
यसरी हेर्दा शिवजीले बजाउने डमरुसँग यसको सम्बन्ध देखिन्छ। तर, पछि समाजमा यसलाई हेयका रूपमा हेर्न थालियो। वैदिककालमा नाच्नेलाई किन्नर र बजाउनेलाई गन्धर्व भनियो, पछि यिनैलाई स्वाङ्गिक भनिन थालियो।
कर्णाली प्रदेशको इतिहासमा प्रदीप रिमालले एउटा रोचक कुरा लेखेका छन्। उनले लेखेको पुस्तकमा सामाजिक कार्यमा भान्जालाई नगरा बजाउन लगाइन्थ्यो भन्ने छ। दलित भनिने सबै समुदायको संस्कार, जात, थर, संस्कृति आदि ब्राह्मण-क्षेत्री समुदायसँग नै मिल्छ। तर, पछि उनीहरूलाई विभेद, बहिष्कार र वञ्चितीकरणमा पारियो। उनीहरूको इतिहास लेखिएन वा मेटाइयो।
हालसालै प्रकाशित भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहका पानाहरूमा धेरै ठाउँमा नगराको प्रसङ्ग छ। जसमा नगरालाई शक्तिको स्रोतका रूपमा चर्चा गरिएको छ। उनीहरूले सेन तथा शाह राजाहरूबाट सनदको साथमा नगरा पनि प्राप्त गरेको उल्लेख छ।
प्रमाण विनाका मिथकीय र विभूतीय पात्रहरूले नेपाली राष्ट्रवादको प्रारूपमा कस्तो भूमिका खेलेका छन् नि?
वास्तवमा विभिन्न विज्ञबाट राष्ट्रिय स्तरमा छलफल गरी विभूति चयन गरिनुपर्नेमा एकलौटी विभूति चयन गरिएको प्रतीत हुन्छ।ऐतिहासिक रूपमा प्रामाणिक नभएका व्यक्तित्वलाई विभूति मान्ने कि नमान्ने भन्ने विषयमा बहस हुनुपर्छ। जस्तै- जनकलाई राष्ट्रिय विभूति भन्छौं, तर जनकवंशमा पनि अनेकौं जनकहरू छन्, कुन चाहिं जनक राष्ट्रिय विभूति हुन् त भन्ने विषय निरूपण हुनुपर्छ।
सीताजीको ऐतिहासिकताबारे पनि खोजी गर्न बाँकी नै छ। बुद्धको विषयमा कुनै विवाद छैन। तर, भृकुटीको कुरा गर्दा नेपालमा उनको स्रोतसन्दर्भ हालसम्म प्राप्त भएको छैन। तिब्बती स्रोतमा मात्र उनको सन्दर्भ पाइएको छ। हामीले भने इतिहास लेखनमा तिब्बती स्रोतहरूको प्रयोग नै गरेका छैनौं। त्यसकारण यस अन्योललाई हटाउन गहन अध्ययनको जरुरी छ।
पञ्चायती सत्तालाई टिकाउन यस्ता मिथकीय पात्रहरूको निकै प्रयोग गरियो भनिन्छ नि?
मैले पञ्चायतकाल देखे पनि पञ्चायती राजनीति एकदलीय र निरङ्कुश थियो भन्ने बुझेको थिएँ। प्रजातन्त्र नभएकाले नै २०३६, २०४६ र २०६२ सालमा विभिन्न आन्दोलन भएका थिए। जस्तै मिथकीय पात्रहरूको प्रयोग गरे पनि जनताको साथ नभएमा त्यसले सार्थकता पाउँदैन।
तपाईंले नेपाली इतिहास लेखनको धार कतातिर बगेको देख्नुभएको छ?
सत्यमोहन जोशीले बारम्बर ‘हामीले इतिहास त लेख्यौं, तर आआफ्नो ढङ्गले जस्तो स्रोत भेट्यौं त्यस्तै लेख्यौं। सबै क्षेत्रका ऐतिहासिक दस्तावेजको खोज गरी एउटा राष्ट्रिय इतिहास हामीले लेख्न सकेनौं’ भन्नुहुन्थ्यो। मलाई पनि यो कुरा हो जस्तो लाग्छ।
लेखक कमलप्रकाश मल्लले भाषिक पुरातत्त्वको कोणबाट नेपालको इतिहासबारे कलम चलाएका छन्, यसले नेपालको इतिहास लेखनमा नयाँ आयाम थप्छ कि थप्दैन?
हरेक कोणबाट इतिहासको अध्ययन हुनुपर्छ। सबै जना सबै कुरामा पोख्त हुनुपर्छ भन्ने छैन। त्यसकारण विभिन्न विधामा कलम चलाउनेहरूबाट आएको निचोड नै इतिहास लेखनका लागि ज्ञानको स्रोत हो। कमलप्रकाश मल्लले भाषिक पुरातत्त्वको कोणबाट नेपाल मन्थनको प्राज्ञिक क्षेत्रमा जुन योगदान दिएका छन्, त्यो महत्त्वपूर्ण उपलब्धि हो।
लिच्छविकालमा चलेका भनिएका दुईथरी संवत् सम्बन्धी विवाद अझै निरूपण भएको छैन, यस सम्बन्धी राजवंशी परिवार र नयराज-महेशराज पन्तका तर्कहरूबारे तपाईंको धारणा के छ?
नेपालमा यति धेरै संवत् छन्, जुन साँच्चै भन्ने हो भने टाउको दुखाइको विषय हो। मान्छेलाई यसले आकर्षित नै गर्दैन। इतिहासको अध्ययन गर्नेलाई पनि यो झमेला नै हो।
नयराज पन्तले लिच्छवि संवत्को निष्कर्ष लेखेको पनि लगभग ३८ वर्ष भइसकेको छ। योबीचमा यस सम्बन्धी अध्ययन गर्नेहरू पनि निस्किरहेका छन्। विशेषतः श्यामसुन्दर राजवंशीले अनुसन्धान गरिरहेका छन्। जति पनि लिच्छविकालका अभिलेखहरू पत्ता लाग्छन्, तिनको अध्ययन गर्ने श्यामसुन्दर नै हुन्। अर्थात् पुरातत्त्व विभागले जति पनि संवत् सम्बन्धी काम गरेको छ, त्यो श्यामसुन्दरकै खोजबाट हो।
श्यामसुन्दरका अनुसार लिच्छविकालमा दुई थरी संवत् चलेको होइन। उनका अनुसार लिच्छवि संवत् भारतको शक संवत्भन्दा एक वर्ष पाँच महीना अघि छ। यसरी जोड्ने हो भने लिच्छवि संवत् एकदमै शृङ्खलाबद्ध भएर जान्छ।
अंशुवर्माको पालामा जुन संवत् २९ देखि शुरू भएको देखियो, त्यो त भारतमा हर्षवर्द्धनले पनि शुरू गरेका थिए। यहाँ अंशुवर्माले संवत् ५२९ लेख्नुपर्नेमा पाँच सय छाडेर २९ बाट शुरू गरे। तर, यो धेरै कालसम्म गएन। केही वर्षपछि नै संवत् ५३६ को अभिलेख भेटियो। यसबाट पनि लिच्छवि संवत् अटुट रूपमा चलेको देखिन्छ। त्यस कारण राजवंशीको तर्कलाई हुँदै होइन भनेर पन्छाउन मिल्दैन।
एकदम रोचक कुरा त धनवज्र वज्राचार्यले चाबहिलको अभिलेखलाई चाँगुनारायणको भन्दा पनि पहिलो मानेका थिए। धनवज्र वज्राचार्यको यस कुरालाई लिएर कमलप्रकाश मल्ल र संशोधन मण्डलबीचमा पनि बहस भएको थियो।
धन्दो चैत्यको शिलापत्रलाई मैले शुरूमा देख्दा नै यो आधा मात्र हो, यसको अर्को खण्ड हुनुपर्छ भनेको थिएँ। संयोगवश पछि म र कुल केसीले चारुमतीमा अर्को खण्डित अभिलेखको दोस्रो भाग त्यहाँ देख्यौं। पछि, त्यो अभिलेखलाई श्यामसुन्दरले पढ्दा संवत् ४२१ को भन्ने थाहा भयो। अतः यसको खण्डित अभिलेखको प्राप्तिले इतिहासका धेरै भ्रम हटेर गयो।
कमलप्रकाश मल्ल र महेशराज पन्तबीचको बहसले भिन्नखाले वैचारिकी निर्माणमा कस्तो भूमिका खेल्यो?
प्राज्ञिक बहस जहाँसम्म भयो, त्यो निकै स्तुतियोग्य र उत्साहवर्द्धक थियो। पछि उहाँहरू व्यक्तिगत तहमा ओर्लेर वादविवाद गर्दा कहाँ कहाँ नपचेको जस्तो लाग्यो।
नेपालको इतिहास लेखनमा संशोधन मण्डलको शक्ति र सीमाबारे बताइदिनुस् न।
तथ्य प्रमाणका आधारमा इतिहासमा लेखिएका त्रुटिहरू सच्याउने र निरन्तर खोजी गर्ने काममा संशोधन मण्डलको महत्त्वपूर्ण भूमिका देखिन्छ। उपत्यकाभित्र मात्र सीमित हुनु संशोधन मण्डलको बाध्यता होला, जसले गर्दा देशलाई नै घाटा परेको म ठान्छु। तर, संशोधन मण्डलले आफ्नो स्रोतसाधनबाट जेजति गरेको छ, त्यसको जति तारीफ गरे पनि कम नै हुन्छ।
हाल भइरहेका र हुन लागेका पुरातात्त्विक उत्खननले नेपालको इतिहासबारे कस्तो क्षितिज उघार्ला?
धादिङ, भेडियारी, किचकवध, खोक्सार, खप्टेडाँडा, सुर्खेत, उदयपुर, मणिमण्डप, भवानीपुर, बालुवा, मुस्ताङका गुफाहरू लगायत पुरातात्त्विक स्थलमा भएका उत्खननले नेपालको अतीतलाई उजागर गरेको छ। पछिल्लो कालमा पुरातत्त्व विभागले दुर्हाम विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनी र तिलौराकोटमा उत्खनन कार्य गरिरहेको छ। यसले बुद्ध जन्मेको लुम्बिनी र उनले २९ वर्ष बिताएको तिलौराकोटबारे थप प्रमाणहरू प्राप्त हुनेछ।
रामग्राम, पण्डितपुर, भवानीपुर जस्ता पुरातात्त्विक स्थलहरूमा गरिने उत्खननको कार्यबाट बुद्धको मामाघर अर्थात् कोलीय देवदहमाथि जानकारी हुने विश्वास छ।
पुरातात्त्विक अन्वेषण र उत्खननमा सरकारको दृष्टिकोण कस्तो पाउनुभएको छ?
यो विषयमा सरकारी दृष्टि निकै कम परेको जस्तो लाग्छ। पुरातात्त्विक क्षेत्रमा चाहिने जति बजेट नि नपरेको हो कि भन्ने लाग्छ। उत्खनन ज्यादै खर्चिलो काम हो। विशेषज्ञ सहितको टीमले दुई-तीन महीनासम्म काममा खटिनुपर्छ। यो बहुआयामिक विषय भएकाले उत्खनन कार्यमा मानवशास्त्री, बोटानिस्ट, जिओलिजिस्टहरू समेत संलग्न हुनुपर्छ।
पुरातत्त्व कति महत्त्वपूर्ण छ भन्ने कुरा त भूकम्पपछि काष्ठमण्डपमा गरिएको उत्खननले पनि गराउँछ। १३-१४औं शताब्दी मानिएको काष्ठमण्डपको इतिहास उत्खननपछि अझ पर धकेलिएर सातौं शताब्दीसम्म पुग्यो। अझ त्यस स्थानमा पहिलो शताब्दीमै बस्ती बसिसकेको जानकारी भएको छ जसले हाँडीगाउँको पुरातात्त्विक इतिहाससँग सादृश्य राख्छ।
पुरातत्त्व महत्त्वपूर्ण विषय हुँदाहुँदै पनि यसमा विद्यार्थीको आकर्षण कम छ। यसमा नयाँ पुस्तालाई आकर्षित गर्न के गर्नुपर्ला?
हाम्रो देशले इतिहास र पुरातत्त्वलाई महत्त्व नदिएका कारण पनि यी विषय समस्यामा परेका हुन्। विशेषतः आफ्नो इतिहास नबुझ्नेले वर्तमान र भविष्य दुवै बुझ्न सक्दैन। अहिलेको विद्यालयको पाठ्यक्रममा त इतिहासको विषय नै छैन। कलेजमा पनि इतिहासलाई ध्यान दिइएको छैन।
इतिहास त विद्यार्थीकालदेखि नै सिकाउँदै लानुपर्ने हो। नयाँ नयाँ विषय र विधाका कारण पनि इतिहास विषय ओझेलमा परेको हो कि! इतिहास पढेर रोजगारी पाउने निश्चितता नभएको हुँदा विद्यार्थीको आकर्षण कम भएको हो कि!
अन्त्यमा, पुरातत्विक अध्ययनमा जोड दिन पुरातत्त्व विभाग र त्रिविको मानवशास्त्र विभागबीच कसरी समन्वय गर्न सकिएला?
त्रिविबाट उत्पादन हुने जनशक्ति नै पुरातत्त्व विभागमा आउने हो। अहिले पुरातत्त्व विभाग र त्रिविको संस्कृति र पुरातत्त्व विभागसँगको सहकार्यमा उत्खनन कार्य भइरहेको छ। विशेषतः त्रिविको मानवशास्त्र र पुरातत्त्व विभागबीच आवश्यक सहकार्य नभएकै हो।
अहिले त हरेक नगरपालिकामा पुरातत्त्वविद्लाई समावेश गर्नु उचित हुन्छ। यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ। यसो भएमा त्रिविले उत्पादन गरेको जनशक्तिलाई राज्यले सदुपयोग गर्ने अवसर पाउँछ।
(सम्पादन: असीम तिमल्सिना, भाषा: प्रद्युम्न खनाल)