नेपालको प्रागैतिहासिक अध्ययनमा गुड्रुन कर्भिनस
विदेशी भूमिमा आएर नेपालको पुरातत्त्व, प्रागितिहास र मानवशास्त्रको क्षेत्रमा गुड्रुन कर्भिनसले पुर्याएको योगदान सम्झिनु त जरुरी छ नै उचित मूल्याङ्कनको पनि आवश्यकता छ।
अंग्रेजको प्रवेशसँगै भारतीय उपमहाद्वीपमा सभ्यताका विविध पक्षमा केन्द्रित रहेर अध्ययन अनुसन्धान हुन थालेको पाइन्छ। सन् १८६१ मा ब्रिटिश भारतमा ‘आर्कियोलोजिकल सर्भे अफ इन्डिया (एएसआई)’ को स्थापनापछि त इतिहास र संस्कृतिको अध्ययनमा पुरातात्त्विक प्रमाणलाई बढी महत्ता दिइयो।
ब्रिटिश-भारतमा जस्तै नेपालमा पनि ऐतिहासिक अध्ययन र अनुसन्धानमा विदेशी विद्वान्ले नै शुरूआत गरेको इतिहास छ। विशेषतः नेपालको पुराविद्याको खोजमा यूरोपियन र भारतीय इतिहासकारले योगदान दिएको देखिन्छ (महेशराज पन्त, नेपाली इतिहासको परिवेश, केहि ऐतिहासिक र मसिजीवी, पृष्ठः ३५, ४३, ५३ ६१ र ८९)।
विदेशीसँगै नेपाली विद्वान् पनि यसमा जुट्न थाले। २००९ सालमा स्थापित संशोधन मण्डल संस्थागत रूपमा पुराविद्याको खोजमा लाग्यो। यसै साल स्थापित पुरातत्त्व विभागको पनि उद्देश्य पनि पुरातात्त्विक प्रमाणका आधारमा ऐतिहासिक घटनालाई विवेचना गर्ने नै थियो।
प्रागितिहासको खोजीको इतिहास
लिखित प्रमाणको युग शुरू भएपछि इतिहासको थालनी हुन्छ भने सभ्यताको विकास भएको तर लिखित प्रमाण नभएको युगलाई आद्य इतिहास भनिएको छ। योभन्दा पहिलेको मानव इतिहासलाई प्रागितिहास भन्ने गरिन्छ, जुन प्राचीन ढुङ्गे औजार र उपकरण, मानवको अस्थि-अवशेष र वनस्पतिको अवशेषका आधारमा विवेचना गरिन्छ।
यूरोप र भारतमा प्रागितिहासको अध्ययनको इतिहास लामो छ। नेपालमा भने निकै पछिबाट प्रागितिहासको खोजी गर्न थालियो। २००९ सालमा पुरातत्त्व विभागको स्थापनापछि औपचारिक रूपमा प्रागितिहासको खोजी शुरू भएको मान्नुपर्छ। स्थापनाको पहिलो दशक पुरातत्त्व विभाग क्रियाशील नभएको प्रतीत हुन्छ।
त्यसअघि भूगोलविद् टोनी हागनको नेपाल प्रवेशसँगै प्राग्मानवको विषय उठेको छ। नेपालको भौगर्भिक अवस्थितिको अध्ययन गर्ने क्रममा यस क्षेत्रमा प्राग्मानवले बसोबास गरेको हुन सक्ने अनुमान गरेका थिए (प्राचीन नेपाल, अंक ६, पृष्ठः १)।
त्यसपछि सन् १९६० जनवरीमा नेपाल आएका अमलानन्द घोषले काठमाडौं उपत्यकाको भौगर्भिक अवस्थितिको प्रारम्भिक अन्वेषण गरी प्रागैतिहासिक सर्वेक्षणमा जोड दिएका थिए। त्यही अक्टोबरमा काठमाडौं आएका आरभी जोशीले यस विषयमा अध्ययन गरे पनि प्रामाणिक प्रतिवेदन दिन नसकेको विद्वान्हरूको धारणा छ। (ऐ.ऐ. पृष्ठ) जुन नेपालको पहिलो वैज्ञानिक अन्वेषण थियो।
नेपालको प्रागितिहासबारे अध्ययन गर्ने पहिलो नेपाली विद्वान् रामनिवास पाण्डेय हुन्। उनले सन् १९६६ तिर दाङ उपत्यका र बर्दियाको दानव ताल नजिकैको खोला किनाराबाट पूर्वपाषाणकालीन ढुङ्गे हतियार र उपकरण प्राप्त गरेका थिए।
नेपालको प्रागितिहासको खोजमा निल रतन बनर्जीको पनि योगदान देखिन्छ। सन् १९६९ मा जनकलाल शर्माको सहयोगमा उनले नवलपरासीको त्रिवेणीघाटमा नदीको कटानको अध्ययन गरी ‘क्वार्टजाइट’ ढुङ्गाका हाते बञ्चरो र कोर्याँसाहरू प्राप्त गरेका थिए (प्राचीन नेपाल, अङ्क ६, पृष्ठ १-८)।
त्यस्तै, नेपालको प्रागितिहासको खोजमा रूसका विद्वान् स्चेतेनकोको पनि विशेष योगदान रहेको देखिन्छ। उनले जनकलाल शर्माको सहयोगमा सन् १९७८ मा नवलपरासीको कोटटाँडी र डण्डा नदीको छेउछाउमा अन्वेषण गरी पुरापाषाणकालका प्रागौजार प्राप्त गरेका थिए। जुन पाकिस्तान र भारतको सोहन संस्कृतिसँग मिल्दोजुल्दो देखिन्छ (प्राचीन नेपाल, अङ्क ४३-४५, पृष्ठ १)।
त्यही वर्ष उनले काठमाडौं बूढानीलकण्ठस्थित धोबीखोलाको किनारमा पुरापाषाणकालका उपकरण तथा औजार प्राप्त गरेका थिए। जुन मंगोलिया, चीन र गोबी क्षेत्रमा पाषाण उपकरणका समरूप थिए (ऐ. पृष्ठ )। यस तथ्यका आधारमा उनले नेपालमा बसोबास गर्ने प्राग्मानवको सम्बन्ध यूरोपेली र मंगोल मूलका मानवका पूर्वजसँग मिल्ने अनुमान गरेका छन्। तर, यस तर्कलाई प्रमाणित गर्ने अन्य प्रामाणिक सामग्री प्रस्तुत गर्न सकेका छैनन् (रामनिवास पाण्डेय र दिनेशचन्द्र रेग्मी, नेपालको प्रागितिहास, पृष्ठ ५३-५४)।
स्चेतेनकोले धोबीखोलामा प्राप्त उपकरणलाई ३० हजार वर्ष पुरानो मानी यसको सम्बन्ध मंगोलियासम्म पुर्याएका छन्। यस आधारमा तामाङ जाति यहाँको सर्वप्राचीन आदिवासी हुन् भन्ने तामाङ समुदायको तर्कलाई स्चेतेनकोको तर्कले समर्थन गर्छ। मूल रूपमा मंगोल समुदायबाट नै कालान्तरमा तामाङ, मुर्मी जस्ता अनेकौं उपथरमा सम्बोधित हुन गएको जनकलाल शर्माको तर्क छ (शर्मा, हाम्रो समाज एक अध्ययन, पृष्ठ ३१९)। तामाङ समुदायको उपत्यका प्रवेश सम्बन्धी किंवदन्तीले पनि शर्मा र स्चेतेनकोको तर्कलाई जोडबल दिएको देखिन्छ।
त्यसपछि जर्मन पुराविद् गुड्रुन कर्भिनसले दाङ उपत्यकालाई आफ्नो अध्ययनको केन्द्र मानी सन् १९८३ देखि करीब १० वर्षसम्म नेपालको प्रागितिहासको अध्ययन गरिन्। सैद्धान्तिक रूपमा नेपालको प्रागितिहासलाई विश्वसामू चिनाउन उनको महत्त्वपूर्ण योगदान रहेको छ।
नेपाली पुरातत्त्वविद् देवेन्द्रनाथ तिवारीले पनि सन् १९८५ मा मुस्ताङ जिल्लाको टुकुचे नजिकैको चोखोपानी गुफामा पुरातात्त्विक उत्खनन गरी प्राग्मानवका उपकरण तथा औजार पत्ता लगाएका थिए (प्राचीन नेपाल, अङ्क ८५, पृष्ठ १-२)। त्रिभुवन विश्वविद्यालयको ‘नेपाल र एशियाली अध्ययन केन्द्र’ (सिनास)को प्रागैतिहासिक अध्ययन अनुसन्धान परियोजना अन्तर्गत रहेर रामनिवास पाण्डेय र दिनेशचन्द्र रेग्मीले अनुसन्धान कार्य पूरा गरेपछि यस विषयमा कमै मात्र अध्ययन गरिएको देखिन्छ।
कर्भिनसको योगदान
जर्मन नागरिक गुड्रुन कर्भिनसले भूगर्भशास्त्र, मानवशास्त्र, पुरातत्त्व, र प्रागितिहास विषयमा अध्ययन गरेकी थिइन्। पछि उनले आफ्नो अध्ययन क्षेत्र नेपाल र भारतको प्रागैतिहासिक र पुरातात्त्विक स्थल बनाइन्। सन् १९८३ देखि २००६ सम्म २३ वर्ष नेपाल र भारतको प्रागितिहासको अध्ययनमा लागिन्।
नेपालको प्रागितिहासको अध्ययनको इतिहासमा भूगर्भशास्त्री कर्भिनसको महत्त्वपूर्ण योगदान छ। उनीभन्दा अघिका अध्यताले यस विषयमा छिटपुट मात्र अध्ययन गरेको देखिन्छ। कर्भिनसले विशेषतः दाङ उपत्यकालाई अध्ययनको केन्द्र बनाई यस क्षेत्रको बृहत् अध्ययन गरेकी थिइन्। सन् १९८३ मा त्रिभुवन विश्वविद्यालय र पुरातत्त्व विभागको समन्वयमा उनले आफ्नो अध्ययन अनुसन्धानलाई अघि बढाइन्।
उनले पश्चिम शिवालिक क्षेत्रमा दाङको देउखुरी र पूर्वमा कमला नदीको फाँटमा भूगर्भशास्त्रीय र प्रागैतिहासिक विषयको अध्ययन गरेको देखिन्छ। सन् १९८० मा बुटवलस्थित तिनाउ खोलाको किनारामा डा. हटचिन्स र डा. जेम्स मुन्थेको टोलीले एक करोड १० लाख वर्ष पुरानो रामापिथेकस (बुटवल पिथेकस) नरवानरको दाँतको अवशेषको प्राप्तिले नेपालको मैदानी भूभाग प्रागितिहासको गुल्जार क्षेत्र रहेको हुन सक्ने सम्भावनालाई देखायो। यस प्राप्तिले विश्व समुदायलाई नेपालमा प्रागितिहासको अध्ययन गर्न प्रेरणा दियो।
पछि कर्भिनसले पनि दाङको देउखुरी, चुरे र शिवालिक क्षेत्रमा प्रागितिहास अध्ययन गरी नेपालको तराई क्षेत्र प्राग्मानवको आवादी क्षेत्र हो भन्ने तथ्यलाई प्रमाणित गरिन्। यस कारण नेपालको प्रागितिहासलाई प्राज्ञिकताको कसीबाट प्रमाणित गरेर विश्व समुदायलाई यसतर्फ ध्यान आकृष्ट गराउन उनको विशेष देन छ। भूगर्भशास्त्र, पुरातत्त्वशास्त्र र पुराजीवाश्मकी ज्ञाता कर्भिनसले आफ्नो अनुसन्धान र अन्वेषणबाट प्राप्त प्रागुपकरणहरूलाई यसै कोणबाट व्याख्या गरेकी छन्।
शिवालिक क्षेत्रको भौगोलिक अवस्थिति, मायोसिन र प्लियोसिन युगको सांस्कृतिक उपकरण र यसमा पुराजीवावशेषको सम्भाव्यता पत्ता लगाउनु उनको अध्ययनको उद्देश्य थियो। त्यसै गरी शिवालिक क्षेत्रको ‘सेडिमेन्ट’ र त्यहाँ प्राप्त जीवावशेषको समयावधि पत्ता लगाउनु, नेपाल, भारत र पाकिस्तानका शिवालिक क्षेत्रको सेडिमेन्टको तुलनात्मक अध्ययन गर्नु नै उनको अध्ययनको मूल ध्येय थियो। यी सैद्धान्तिक उद्देश्यलाई प्रमाणित गर्ने क्रममा उनले शिवालिक क्षेत्रमा हिमयुग र प्रारम्भिक होलोसिनको अध्ययन गर्नुका साथै पाषाण उपकरणका आधारमा ढुङ्गेयुगको मानवको इतिहासलाई उजागर गर्ने प्रयास गरेकी छन्।
कर्भिनसले जनकलाल शर्मासँग मिलेर काठमाडौं उपत्यकाको साँखु क्षेत्रमा पुराजीवावशेषको अध्ययन गरेकी थिइन्। यस अध्ययनका क्रममा मानवको दाँत पत्ता लागेको थियो (जनकलाल शर्मा, गुड्रन कर्भिनस, प्राचीन नेपाल, अङ्क ८२)। जुन पछिल्लो हिमयुगकालीन मानवको दाँत मानिन्छ। कर्भिनसले पुरातत्त्व विभागबाट प्रकाशित हुने प्राचीन नेपालको अङ्क ८२ (सन् १९८४), अङ्क ८६-८८ (सन् १९८५) र अङ्क १५४ (सन् २००४) अध्ययन प्रतिवेदन प्रकाशित गरेको देखिन्छ।
अङ्क १५४ मा उनले अनुसन्धानको समग्र प्राप्तिलाई निष्कर्षमा लेखिकी छन्। यस अङ्कमा विशेषतः दाङको रातोखोला र देउखुरी क्षेत्रबाट प्राप्त औजार तथा उपकरणको वैज्ञानिक ढङ्गले व्याख्या गरेकी छन्। विशेष गरी मध्य हिमयुगको बञ्चरो, फलेक, ब्लेड, होलोसिन युगको बसिला, छिनो र कोर्याँसो लगायतका नवपाषाणकालिक औजारको व्याख्या गरेकी छन्। यस व्याख्याका आधारमा दाङ उपत्यकाको मानवशास्त्रीय अध्ययन गर्न सहयोग पुग्छ। उनले देउखुरीबाट प्राप्त गरेका प्रागैतिहासिककालका (नवपाषाणकाल) ढुङ्गे उपकरण तथा औजार छाउनीस्थित राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरेकी थिइन्, जुन संग्रहालयको प्रागैतिहासिक प्रदर्शनी कक्षमा राखिएको छ।
१ जनवरी २००६ मा भारतको पुनेमा उनको हत्या भयो। त्यसको एक वर्षपछि सन् २००७ मा दाङ उपत्यकामा उनले गरेको कामको अध्ययन प्रतिवेदन दुई भागमा प्रकाशित गरिएको भयो। पहिलो भागमा दाङ उपत्यकाको प्रागैतिहासिक वस्तुस्थिति, प्रारम्भिक पुरापाषाणकालदेखि नवपाषाणकालसम्मका औजार र उपकरणको प्रकार र प्रकृतिको शैलीगत विशेषता, यसै क्षेत्रको चतुर्थक युगको भौगर्भिक स्तरको विवेचना गरिएको छ। त्यस्तै दोस्रो भागमा चित्रहरूको विवरण छ।
कर्भिनसको सम्मान
नेपाल प्रागितिहासको दृष्टिकोणले महत्त्वपूर्ण रहेको तथ्यलाई विभिन्न ठाउँबाट प्राप्त पाषाण उपकरणले प्रमाणित गरेका छन्। सन् १९६० को दशकदेखि नेपालको प्रागितिहासको अध्ययन शुरूआत भए पनि यसले जुन रूपमा तीव्रता पाउनुपर्ने हो, त्यो हुन सकेको छैन। कर्भिनसले प्रागितिहासको क्षेत्रमा अतुलनीय योगदान दिएकी छन्। तर, उनको कामलाई निरन्तरता दिन सक्ने दोस्रो पुस्ता तयार हुन सकेन।
एकातिर, सरोकारवालाको उदासीनता देखिन्छ भने अर्कोतिर, यस क्षेत्रमा रुचि राख्नेलाई प्रेरणा र सहयोग दिन सकिएको छैन। त्रिविको भूगर्भ विभाग, संस्कृति र पुरातत्त्व विभाग, मानवशास्त्र विभाग र नेपाल सरकारको पुरातत्त्व विभागबीच आवश्यक समन्वय गरी मानवशास्त्रको अध्ययन अनुसन्धान गर्न-गराउन सकिन्छ।
पछिल्ला दशकमा हिमाली क्षेत्रको पुरातात्त्विक अध्ययन धिमा गतिमा चलिरहेको देखिन्छ। तर, प्रागितिहासको विधामा विज्ञता हासिल गरेर काम गर्न सक्ने जनशक्ति तयार पार्न सकिएको छैन। सन् १९८५ को आसपासमा त्रिवि अन्तर्गतको नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास)ले प्रागितिहासको क्षेत्रमा केही काम गरे पनि त्यसपछि निरन्तरता पाउन सकेको छैन। त्यस कारण गुड्रुन कर्भिनस नै यस्तो कोशेढुङ्गाका रूपमा रहेकी छन्, जसले समग्र तराई क्षेत्रको प्रागितिहासको अध्ययनमा ठूलो योगदान पुर्याएकी छन्।
उनका अनुसन्धानमूलक प्रतिवेदनमाथि मानवशास्त्रीय दृष्टिकोणबाट बहस गर्नु आजको आवश्यकता हो भने उनले सङ्कलन गरेका ढुङ्गे औजारको खोजी र पहिचान गर्न जरुरी छ। मुस्ताङको चोखोपानी गुफामा उत्खनन गर्दा नवपाषाणकालका हतियार प्राप्त भएका थिए। यस आधारमा हिमालदेखि तराईसम्म नवपाषाणकालिक मानवको बसोबासको क्षेत्र थियो भन्न सकिन्छ।
चोखोपानी गुफा र दाङमा प्राप्त उपकरणको तुलनात्मक अध्ययन गरी मानवशास्त्रको क्षेत्रमा अध्ययन अनुसन्धान गर्न सकिन्छ। प्राप्त पुराजीवावशेष, प्रागुपकरण र भारतका प्रागुपकरणहरूको तुलनात्मक अध्ययन गरी मध्य हिमयुगकालमा दाङ क्षेत्रमा प्राग्मानवले बसोबास गर्न थालेको उनको निष्कर्ष छ।
कर्भिनसको निधनपछि उनले गरेका काममाथि उचित छलफल गर्न सरोकारवाला निकाय उदासीन भएको देखिन्छ। उनका विचारलाई समाजशास्त्रीय, मानवशास्त्रीय तथा पुरातात्त्विक कोणबाट व्याख्या गर्न ढिलो भइसकेको छ। यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारले आवश्यक पहल गर्नु आवश्यक छ। विदेशी भूमिमा आएर पुरातत्त्व, प्रागितिहास र मानवशास्त्रको क्षेत्रमा कर्भिनसले पुर्याएको योगदानलाई सम्मान गर्न जरुरी छ।
उनै गुड्रुन कर्भिनसको योगदानबारे आज दिउँसो ३ देखि ५ बजेसम्म पाटनढोकास्थित यलमाया केन्द्रमा भाषाविद् जर्ज भान ड्रिमले मन्तव्य दिने कार्यक्रम छ। कार्यक्रमको आयोजना मदन पुरस्कार पुस्तकालयले गरेको हो।