हजयात्रीको रकम अनियमिततामा म संलग्न छैन: ताज मोहम्मद मियाँ
नेपाल हज समितिका पूर्व अध्यक्ष ताज मोहम्मद मियाँले हज जानेहरूबाट आफूले पैसा नलिएको दाबी गरेका छन्।
पूर्व अध्यक्ष मियाँले हिमालखबरमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रस्टीकरण दिएका हुन्। हजयात्राका क्रममा भएको अनियमितताका विषयमा हिमालखबरमा भदौ १२ मा समाचार प्रकाशन गरिएको थियो। हजयात्रीबाट उठाएको पैसा पदाधिकारीको भागबन्डा गरेको अडिओ हिमालखबरले प्राप्त गरेको छ।
हजयात्राका क्रममा करौडौं अनियमितता भएको भन्दै गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छन्। तिनै प्रमाणहरुका आधारमा हिमालखबरले समाचार प्रकाशन गरेको हो। पूर्व अध्यक्ष मियाँले भने आफू त्यसमा संलग्न नभएको खण्डन पठाएका छन्।
पूर्व अध्यक्ष मियाँले पठाएको प्रतिक्रिया:
प्रस्तुत विषयमा हिमालखबर अनलाइनले मिति २०८० भदौ १२ गतेका दिन ‘हजयात्रीको रकममा पदाधिकारीको भागबन्डा’ शीर्षकमा प्रकाशित समाचारमा मेरो नाम जोडिएर अपुष्ट, निराधार, कपोलकल्पित र तथ्यहीन समाचार प्रकाशन गरेकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
उक्त समाचारमा मेरो नाम जोडेर आर्थिक लेनदेन भएको र मलाई पनि भागबन्डा लगाएको भन्ने समाचारले मेरो राजनीतिक र सामाजिक जीवनमा प्रभाव पारेको छ। म मुस्लिम समुदायको हकहित, अधिकारको उत्थानका लागि ३५ वर्षदेखि निरन्तर लागिपरेको र अहिलेसम्म कहींकतैबाट आर्थिक लेनदेनमा सहभागी नभएको व्यक्ति हुँ। जहिले पनि मैले आफ्नो समुदाय, देश र जनतालाई शिरमा राख्दै राजनीति गतिविधिमा सामेल हुँदै आएको सबैमा विदितै छ।
समाचारमा जसरी नेवा मुस्लिम भन्ने संस्थाले मेरो नाम जोडेर आर्थिक भागबन्डाको विषय उठाएको छ, यही नै तथ्यगत छैन। नेवा मुस्लिम, बाहुन मुस्लिम, क्षेत्री मुस्लिम, गुरुङ मुस्लिमलाई चिन्दैन। संविधानले चिन्ने भनेको नेपाली मुस्लिमलाई मात्र हो। म आबद्ध संगठनको सचिवालयको गतिविधिमाथि प्रश्नचिह्न हुने गरी उठाएकाले संगठनको अध्यक्षको हैसियतले हजभित्रको गतिविधिबारे तल्लो तहसम्म पुगेर सत्यतथ्यमा कहींकतै तलमाथि भएको पुष्टि भएमा निर्मम ढङ्गले कारबाही बढाउन संगठनलाई आवश्यक परेको अवस्थामा आफ्नो कहींकतै हज सम्बन्धमा संलग्न नभएको व्यक्तिमाथि समाचार प्रकाशन गर्नुलाई दुःखद रूपमा लिएको छु। प्रकाशित समाचारलाई खण्डन गर्न चाहन्छु, सम्प्रेषित समाचारमाथि मेरा केही गम्भीर प्रश्नहरू छन्।
१) समाचारमा वर्तमान हज कमिटीका सदस्य इस्लाम मियाँलाई कोट गरेर लेखिएको समाचारप्रति मेरो प्रश्न छ- हजयात्रीबाट सुन्नमा आएको छ कि १०० जना हजयात्रीबाट ६०० साउदी रियालको दरले कुर्वानीको रकम उठाई कुर्वानी नगरी सम्पूर्ण रकम कुम्ल्याएको कुरालाई के म विधिवत् रूपमा यसलाई वैधानिक ठाउँमा उठाउन मिल्छ त?
२) राजमोहम्मद अन्सारीबारे कार्यवाहक अध्यक्षबाट १५ सय साउदी रियाल लिएको भन्ने कुरा आएको छ, के यो पनि मैले वैधानिक ठाउँमा उठाउन मिल्छ त?
३) दिनभरि मस्जिदको प्राङ्गणमा बस्ने आफूलाई मुस्लिमको ठेकेदार सम्झने तर विदेशी ...सँग ... हर्कत गर्नेको मसँग भिडिओ सुरक्षित छ, के यो भिडिओलाई मैले सार्वजनिक गर्न मिल्छ त?
४) आफूलाई मुस्लिमको सबैभन्दा ठूलो व्यक्ति र मसीहा सम्झने र संवैधानिक कार्यालयलाई एउटा ब्ल्याकमेलिङको अड्डा बनाएर समुदायलाई हैरानी र दोहन गर्ने, आफ्ना परिवारका सदस्यलाई हजमा पठाउनका लागि कतार दूतावास र अन्य इस्लामिक देश सहित केही दूतावासबाट गोजी खर्च भनेर मोटो रकम लिएको विषय, सर्वोच्च अदालतमा विवादित नक्कली नागरिकता नक्कली सर्टिफिकेटबारे कानूनी प्रक्रिया अगाडि बढाउन के म अग्रसर हुनुपर्ने हो त?
म आफैं दुई कार्यकाल हज समितिको अध्यक्ष भएर हजयात्रीलाई गर्नुपर्ने सहयोगमा कहींकतै कुनै कसर बाँकी नराखी कार्यसम्पादन गरेको र अहिले पनि नेपाली मुस्लिमहरूले यो मेरो कार्यकाललाई स्वर्णकालका रूपमा लिने गरिएको जगजाहेर छ। आफू जहिले पनि हजयात्रीलाई सस्तो सुलभ र सुविधाजनक ढङ्गले हजयात्रा सम्पन्न गराउनुपर्छ भन्ने मान्यता राखेर आफ्नो समुदायलाई राष्ट्र र राष्ट्रियताबारे गम्भीर भएर लागेको व्यक्ति हुँ। मेरो यो समर्पणको रफ्तारलाई यस्ता कपोलकल्पित भ्रमपूर्ण समाचारले कदापि विचलित गराउनेछैन भन्ने विश्वासका साथ आमनेपाली जनसमुदायमा स्पष्ट पार्न चाहन्छु। मेरो एउटै मान्यता छ, पैसाबाट आफू कहिल्यै प्रयोग नहुने, आवश्यक पर्दा सही ठाउँमा पैसालाई प्रयोग गर्ने मान्यतासँग सचेत छु। तसर्थ मलाई जोडेर समाचार सम्प्रेषण गरिएको छ, ती सम्पूर्ण कथित आरोपलाई खण्डन गर्दै आगामी दिनमा यस्ता किसिमका भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न आग्रह गर्दछु।
अन्त्यमा संयोगवश कहींकतै बसेको वेला हँसीमजाकमा बोलिएका विषयलाई गलत ढङ्गले रेकर्ड गरी त्यसैलाई आधार बनाएर आरोप लगाउनु अत्यन्तै निन्दनीय र गैरकानूनी रहेको बताउन चाहन्छु।
ताज मोहम्मद मियाँ
पूर्व अध्यक्ष, नेपाल हज समिति
१३ भदौ २०८०
हिमालखबरमा प्रकाशित समाचार: