महीनावारी विभेदले पिल्सिएका छोरी
मर्यादित महीनावारीलाई आत्मसात् नगर्दासम्म संविधानले सुनिश्चित गरेका अधिकारबाट महिलाहरू वञ्चित रहनुका साथै लैङ्गिक विभेदका बहुआयामिक असर कायम रहनेछन्।
हिमाल मासिकले २०७९ माघ अङ्कमा बालिका विशेष सामग्री समेटेको थियो। ६ महीना बितिसके पनि मेरो मनमगजमा उक्त अङ्क घरीघरी आइरहन्छ। आमाको महिमा, छोरीहरूमा गर्नुपर्ने लगानी, पोषणको अवस्था, यौन तथा प्रजनन स्वास्थ्य, लैङ्गिक हिंसा जस्ता विषयबारे जब पढ्छु, तब त्यो अङ्क झनै ताजा भएर आउँछ। बालिका बोझ बन्नुका कारण, लैङ्गिक विभेद, असमानता आदिको वरपर रहेर हिमालको उक्त अङ्क र यस्तै अन्य बहसले जोड्न नसकेका विषयवस्तुमा यो लेख केन्द्रित छ।
लैङ्गिक विभेदको कुरा गर्नासाथ हामी पुरुषसत्तालाई दोष दिन्छौं। हुन पनि हाम्रो शरीरमा स्नायु फैलिए जस्तै पुरुषसत्ता हाम्रो समाजका हरेक पाटो र तहमा जेलिएको छ।
पुरुषसत्ताको निर्माण चाहिं कसरी हुन्छ? पद, पैसा, पावर वा कुनै प्रमाणपत्रका साथै पाठेघर (यहाँ पाठेघर बच्चा जन्माउने जैविक कामसँग सम्बन्धित मानिएको छ)। तर, चार वर्षको कुनै बच्चाले ‘आमा, तिमी छिमेकीको पूजामा कुनै हालतमा जान पाउँदिनौ’ कसरी भन्न सक्छ? के त्यति खेर चार वर्षको बच्चासँग पद, पैसा, पावर, प्रमाणपत्र, पाठेघर हुन्छ? पक्कै पनि हुँदैन। यस्तै, यी विषयको बुझाइ र अभ्यास ठाउँ एवम् संस्कृति अनुसार फरक हुन्छ। तसर्थ यी तत्त्व मात्रै पुरुषसत्ता निर्माण र यसको सबलीकरणमा निर्णायक हुँदैनन्।
खासमा पुरुषसत्ता निर्माण गर्ने मुख्य स्रोत हामीसँगै छ, त्यही स्रोत सहित हामी यहाँसम्म आइपुगेका हौं। त्यो हो, महीनावारी। पद, पैसा, पावर, प्रमाणपत्र, पाठेघर (बच्चा जन्मनुअघि) भन्दा पहिले हामीसँग जोडिएको पाटो हो यो। महीनावारी भनेको करीब २८ दिनको अन्तरमा महिलाको शरीरबाट चार–पाँच दिन रगत बग्नु हो, जसको सम्बन्ध मुख्यतया सन्तान उत्पादनसँग हुन्छ। तर, यति मात्र बुझाइ हाम्रो सामाजिक परिवेशमा अपूरो हुन जान्छ। महीनावारीसँग केही सोच र अभ्यास जोडिएका छन्, विशेष गरेर यो अशुद्ध र अपवित्र हो, ती चार-पाँच दिन महिला ‘अछूत’ हुन्छन्, रगत निस्किने भएकाले कमजोर हुन्छन् भन्ने परम्परागत मान्यता छन्। यही सोच र अभ्यासले पुरुषसत्ताको निर्माणमा भूमिका खेल्छ।
अहिले ६ देखि ९ वर्षसम्मका छोराहरूले घरका महिला सदस्य तथा सञ्चारमाध्यमबाट महीनावारीबारे केही न केही थाहा पाउँछन्। छोराहरूलाई म त कहिले पनि महीनावारी हुन्नँ, म बलियो, सुविधाप्राप्त, माथिल्लो दर्जाको भन्ने भावनाको विकास भई शक्ति र पुरुषसत्ताको उद्भव र सबलीकरण हुन्छ। जसले आफूभन्दा उमेर र क्षमता धेरै भएका महिलाहरू (ती चाहे आमा-दिदी नै किन नहुन्) प्रति दोस्रो दर्जाको सोच र व्यवहार राख्छ। यो चक्रीय रूपमा बढ्छ र महिलाहरू भएका ठाउँमा अभ्यासमा रहन्छ।
उता, ६ देखि ९ वर्षकै उमेरमा छोरीहरूले पनि आफ्नो महीनावारी हुनेबारे केही न केही थाहा पाउँछन्। उनीहरूले महीनावारी भएका वेला बार्नुपर्ने कार्य र कारणको लामो सूची पाउँछन्। साथै, म आफ्नो भाइ (उमेर र शारीरिक रूपमा सानो हुँदा पनि उसको शक्ति सम्बन्ध देखाउन सजिलो हुने भएकाले यहाँ भाइ प्रयोग गरिएको हो) भन्दा कमजोर छु, अशुद्ध हुँ, सानी हुँ, मैले सहनुपर्छ, मेरो आवाज सानो हुनुपर्छ, मेरो भाइको खुशी नै सबथोक हो भन्ने मनोभावका साथ परिवार र समाजको नियमसँगै हुर्किन्छिन्, पुरुषसत्ताको पहरेदार हुन्छिन्।
महीनावारीसँग जोडिएको सोच र अभ्यास यति बलियो हुन्छ कि समाजका हरेक तह वा पत्रमा टाँसिएर बसेको हुन्छ। संसारका झन्डै आधाभन्दा बढी मानिस पाठेघर र अण्डाशय लिएर जन्मेका हुन्छन्। हुर्कंदै जाँदा एउटा समयमा उनीहरूको महीनावारी हुन्छ, उमेर बढेसँगै एउटा बिन्दुमा महीनावारी सुक्छ। आज चन्द्रमा चुम्दै गरेका, सगरमाथाको शिखर टेक्दै गरेका, अस्पतालको सघन कक्षमा उपचार गरिरहेका, युद्ध लडिरहेका महिला, किशोरी, पारलैङ्गिक र अपाङ्गता भएकाहरू आआफ्नो क्षेत्रमा आफ्नो क्षमता सावित गर्दै शक्ति सन्तुलन गर्ने र पुरुषसत्ताको असरलाई निर्मूल पार्ने प्रयासमा छन्।
लैङ्गिक समानता र सामाजिक समावेशी नीतिले संयुक्त राष्ट्रसंघको उच्चस्तरीय निकायदेखि एउटा वडा कार्यालयको नीतिमा समेत प्राथमिकता पाएको देखिन्छ। यसमा बजेट विनियोजन पनि गरिएको हुन्छ। तर, कतै पनि महीनावारी विभेद र यसको गम्भीरताबारे कुरा हुँदैन।
दक्षिण गोलार्द्धीय मर्यादित महीनावारी सञ्जालका अनुसार, महीनावारी विभेद जटिल र बहुआयामिक अवधारणा हो। महीनावारी हुने कारणले नै महिलाहरूले निषेधदेखि हिंसा, छोइछिटो बार्नुपर्ने अभ्यास, स्रोतसाधनबाट वञ्चितीकरण भोग्नुपर्छ जुन मानव अधिकारको हनन पनि हो। दक्षता र स्रोतका कारण महीनावारी विभेदलाई सधैं सबैले एकीकृत र बृहत् अवधारणाबाट सम्बोधन गर्न अप्ठ्यारो पर्ला, तर एकल रेखीय दृष्टिकोणले सम्बोधन गरेर यसको उपज शक्ति असन्तुलन र पुरुषसत्ताको असरलाई सम्बोधन गर्न सम्भव छैन।
महीनावारी विभेद न्यूनीकरण गर्न पछिल्लो समय विशेषगरी प्याड नि:शुल्क वितरण गर्ने, शौचालय बनाउने जस्ता काम हुन थालेका छन्। यी प्रयास महत्त्वपूर्ण हुँदाहुँदै पनि महीनावारी विभेदको अभ्यासले चक्रीय र प्रणालीगत रूपमा निर्माण गर्ने र बलियो पार्ने शक्ति असन्तुलन र पुरुषसत्तालाई यस्ता कामले छुँदैन। अर्थात् महीनावारीसँग जोडिएका खान नहुने, छुन नहुने, हिंडडुल गर्न नहुने जस्ता अभ्यास र त्यसबाट संविधानको हक र मानव अधिकार हनन भएको पाटोमाथि बहस छेडेको हुँदैन। गत साउन २१ गते महीनावारी हुँदा बैतडीकी १५ वर्षीया अनिता चन्दले विद्यालयले दिएको प्याड लगाएकी थिइन्, साथै यस अवधिमा बार्नुपर्ने संस्कारजन्य नियम पनि पालना गरिराखेकी थिइन्।
आज हाम्रा घर विभेद र हिंसाको कारखाना बनेका छन्, विद्यालयहरू विभेद र हिंसाको संवाहक। छोरीहरू गर्भमै मारिन्छन्, जन्मिएका छोरीहरूले पनि मान्छे भएर बाँच्न पाएका छैनन्। बालविवाहको रापमा पनि छोरीहरू नै पिल्सिरहेका छन्।
बालविवाह रोकथाम, छाउगोठको अन्त्य, बालिकालाई विद्यालय भर्ना, हिंसा न्यूनीकरण गर्न काम नै नभएका होइनन्। तर, जरैदेखि रोग निमिट्यान्न पार्नतिर नलागी सोझो रूपमा जुन हाँगामा रोग लाग्यो त्यसको मात्र उपचार गर्ने जस्ता काम भएका छन्। त्यस्ता कामले एउटा समस्याको पत्र फाले पनि अर्को पत्र फैलिन्छ र जब्बर बन्छ। महीनावारी विभेदको असर पनि त्यस्तै हो। अन्तर्निहित कारण पन्छाएर वा बिर्सिएर गरिएका सीधा र एकल रेखीय कामहरूले दिगो समाधान हुन सकेको छैन।
महीनावारी विभेद हटाउन छोरी जन्मिने प्रक्रियादेखि नै संवेदनशील हुनुपर्छ। अर्थात् छोरीलाई गर्भदेखि नै सशक्त बनाउनुपर्छ। हामीकहाँ आमामा लगानी गर्ने विषयलाई गम्भीर रूपमा उठाइन्छ, तर त्यससँग जोडिएको महत्त्वपूर्ण पाटोमा ध्यान पुग्नै सकेको छैन। एउटी छोरी जन्मिएरै आमा बन्ने भएकाले गर्भदेखि नै छोरीलाई सशक्त बनाउन आवश्यक छ। यसका लागि महीनावारीलाई निशर्त मर्यादित बनाउनुपर्छ।
हिमालको बालिका अङ्कले उठान गरेका बालिका सवालमा केन्द्रित रहेर विविध पाटोमा विश्लेषण गरौं।
गर्भैमा विभेद
छोरीमाथि विभेदको शृङ्खला गर्भैदेखि शुरू हुन्छ। गर्भमा छोरी छ भन्ने थाहा पाएपछि भ्रूणहत्या गर्ने प्रवृत्ति बढ्दो छ। गर्भपतन सुविधामा पहुँच भएकाले लिङ्ग पहिचान गरी छोरी भए तुहाउने कृत्य शहरी क्षेत्रका शिक्षितहरूमा झनै झाँगिएको छ।
महीनावारी हुने कारण अशुद्ध मानिने, महीनावारी हुँदा कुनै सांस्कृतिक काममा योग्य नहुने, वंशमा नगनिने, बिहे गरेर जाने भएकाले आमाबुबालाई बुढेसकालमा हेरचाह नगर्ने, कुनै पनि समयमा महीनावारी हुन सक्ने भएकाले मृत्यु संस्कार लगायत कुनै पनि सांस्कृतिक र धार्मिक कार्यमा नेतृत्व गर्न नपाउने अभ्यास भएकाले छोरीहरूलाई छानीछानी गर्भमै हत्या गरिन्छ। जसको निर्णायक जेजसरी व्याख्या गरे पनि महीनावारी विभेद नै हो।
जन्मेपछि विभेद
महीनावारी विभेदले ग्रस्त समाजमा छोरीहरू जन्मेपछि पनि लैङ्गिक भेदभावको शिकार बन्छन्। नवजात शिशु अवस्थामा छोरीहरूले आवश्यक स्याहार र उपचार नपाउँदा कुपोषित हुने, रोगी हुने र कतिपयको ज्यान नै जाने गरेको छ। नेपालमा नवजात शिशुको मृत्युदरमा छोराभन्दा छोरीको संख्या बढी छ। ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित सर्लाहीमा सन् १९९९ देखि २०१७ सम्म गरिएको अनुसन्धानले लैङ्गिक विभेदले धेरै नवजात छोरीको ज्यान गएको देखाएको छ। अनुसन्धान अनुसार जन्मेको पहिलो सात दिनमा छोराको मृत्युदर बढी देखिए पनि तीन सातापछि छोरीहरूको मृत्युदर २.४३ गुणा बढी पाइयो। यसको अन्तर्निहित कारण महीनावारी विभेद नै हो।
कुपोषण
एकातिर छोरीहरूले महीनावारी विभेदको चक्रीय र प्रणालीगत असरका कारण पर्याप्त पोषण र रेखदेख पाउँदैनन्, अर्कातिर उनका आमाहरू बच्चा जन्माएको केही समयपछि फेरि नियमित महीनावारी शुरू भएर महीनावारी विभेदका अभ्यासमा फर्कन्छन्। जसका कारण भोक लागेको वेला चाहेको वा पोषिलो खाना खान पाउँदैनन्। जब छोरीहरूको महीनावारी शुरू हुन्छ, उनीहरू पनि नियमित खाइरहेको खानेकुराबाट वञ्चित हुन्छन्। यसरी महीनावारी विभेदले कुपोषणको एउटा चक्र नै निर्माण गरेको हुन्छ। यसर्थ महीनावारी विभेद अन्त्य नगरी कुपोषण हटाउन खोज्नु हाम्रो जस्तो समाजमा सम्भव देखिंदैन।
शिक्षामा विभेद
महीनावारी विभेद र सुदृढ पुरुषसत्ताको कारण छोरीहरूले एक त पढ्नै पाउँदैनन्, पाए पनि गुणस्तरीय शिक्षाको अवसरबाट विमुख बन्छन्। विद्यालय भर्ना भए पनि नियमित उपस्थित हुन, विद्यालय शिक्षाबाट छुट्नेले अनौपचारिक सिकाइको अवसर पाउन पनि छोरीहरू पछाडि नै रहन्छन्। शिक्षा लिन पाएका कतिपय छोरीले निश्चित शर्त वा सम्झौता अन्तर्गत त्यस्तो अवसर पाएका हुन्छन्, जस्तै: घरको सबै काम गर्नुपर्ने, काम भ्याएर जानुपर्ने आदि। हिमालको यही अङ्कमा युनिसेफको विद्यालय क्षेत्र सुधार योजना कार्यक्रम अनुसार पाँचदेखि १२ वर्षका ७० हजार बालबालिका विद्यालय बाहिर भएको र त्यसमा पनि छोरीहरू बढी प्रभावित भएको सन्दर्भ महीनावारी विभेदको एक उपज हो।
बालविवाह
नेपाल बाल परिषद्ले प्रकाशन गरेको नेपालमा बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन २०७८ ले बालविवाह गर्नेमा पुरुष नौ प्रतिशत र महिला ३२.८ प्रतिशत देखाएको छ। अशिक्षा, गरीबी, बसाइँसराइ, प्राकृतिक प्रकोप आदिलाई बालविवाहको कारण मानेर आमाबुबालाई सीपमूलक तालीम, बालिकालाई छात्रवृत्ति, बीमा आदिको व्यवस्था गरिंदै आएको छ, तर बालविवाह घटेको छैन। जबसम्म महीनावारी विभेद हटाउन बालविवाह न्यूनीकरणका कार्यक्रममा एकीकृत र बृहत् कार्यक्रम योजनाबद्ध गरिंदैन, तबसम्म बालविवाह घट्दैन। किनभने सानै उमेरदेखि असमानता, हिंसाका साथै महीनावारी विभेदका कारण मानसिक, शारीरिक र सामाजिक पाटोमा पर्ने असर तथा कुनै मूल्य नै नभएको जस्तो व्यवहार भोग्ने छोरीहरू घरपरिवारबाट वा आफूखुशी बालविवाह गर्न बाध्य भइरहेका छन्।
बेचबिखन
सबै बेचबिखनका प्रकृति एकै हुँदैनन्। मनोरञ्जन क्षेत्रमा आउने धेरैजसो बालिका अभिभावककै संलग्नतामा बेचिएका वा घर छोड्न बाध्य भएका देखिन्छन्। महीनावारी विभेदले निम्त्याएको शक्ति र पुरुषसत्ताको निर्माण र सबलीकरणका कारण परिवार, बालिका आफैं र बेच्ने गिरोहमा छोरीहरूलाई वस्तूकरण गर्ने/गराउने संस्कार हावी भएको भन्दा अत्युक्ति हुँदैन।
यौन तथा प्रजनन स्वास्थ्य
नेपालमा विशेष गरेर सहस्राब्दी विकास लक्ष्यको शुरूआती दिनहरूसँगै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यमा विभिन्न आयाममा काम भएको छ भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लागू गरिएको छ। महीनावारीको कुरा नगरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको कुनै पनि आयाम अपूर्ण हुन्छ, तर महीनावारी विभेदबारे कतै पनि प्रसङ्ग छैन। जुन छोरीहरूले आफ्नो महीनावारीलाई मर्यादित ढङ्गबाट सम्बोधन गर्न सक्दैनन् वा महीनावारीका लक्षण, समस्या वा आफ्नो शरीरका परिवर्तनबारे जान्न सक्दैनन्, उनीहरूले कहिले यौनसम्पर्क गर्ने, के हुँदा सुरक्षित हुन्छ, के भयो भने हुँदैन, अनिच्छित गर्भ रहेमा कहाँ जाने, कहिले बच्चा जन्माउने, कुनै समस्या देखिए कहाँ जाने आदि विषयमा निर्णय गर्न सक्दैनन्। एकातिर महीनावारी विभेदको चक्रीय र प्रणालीगत शक्ति असन्तुलन, पुरुषसत्ता, अर्कातिर जैविक अवस्थाले सिर्जना गरेका परिस्थितिमा अनभिज्ञता वा ढिलो निर्णयका कारण महिलाहरू मृत्युको मुखमा पुग्छन्। न्याशनल पपुलेशन एन्ड हाउजिङ सर्भे (सन् २०२१) मा १४-४९ वर्षका महिलाहरूको मृत्यु कर्णालीमा ८.२ प्रतिशत, लुम्बिनीमा ६ प्रतिशत र मधेशमा ५.७ प्रतिशत हुनुले महीनावारी विभेद र प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वको सम्बन्ध पुष्टि गर्छ।
एकातिर चक्रीय शक्ति असन्तुलन र पुरुषसत्ताको मार छँदै छ, अर्कोतिर छोरीहरू घरमा भएका हिंसा र विभेद विरुद्ध प्रश्न गर्न सक्दैनन्। यसकै कारण उनीहरू अवसरबाट वञ्चित रहन्छन्, छिटै वा बालविवाहमा झोसिन्छन् र मानसिक, शारीरिक, सामाजिक अस्वस्थताको दलदलमा फस्छन्।
मनोरोगको भास
महीनावारी विभेदको शक्ति र पुरुषसत्ताको दबाबका कारण छोरीहरू बुझ्ने भएदेखि नै हीनभावमा हुर्कन्छन्। किशोरीवयमा रजस्वलामा शुरू भएसँगै महीनावारीसँग जोडिएको मौनता, अज्ञानता र चरणबद्ध विभेदका कारण उनीहरू थप तनावमा पर्छन्। घर, समाज वा विद्यालयमा उनीहरूमध्ये कतिले दुर्व्यवहार वा हिंसा भोग्छन्। कतिपय चाहिं सम्भावित दुर्व्यवहार तथा हिंसाका कारण स्वयं, परिवार र समाजबाट दबाबमा हुन्छन्।
सारमा, महीनावारी विभेदले निर्माण गरेको असन्तुलित शक्ति र पुरुषसत्ताको जराले जीवनभर नै असर गरेको हुन्छ। विभिन्न नाम र स्वरूपमा महीनावारी विभेद संसारभर छ। गरीबी, प्रकोप, महामारी, ग्रामीण क्षेत्र, अपाङ्गता, लैङ्गिक तथा अल्पसंख्यक आदिको हकमा महीनावारी विभेदको असर झनै गहिरो छ। साथै, भूमण्डलीकरण लगायत अन्य नयाँ आयामको प्रभाव पनि पर्ने नै भयो। तर, महीनावारी विभेदलाई लैङ्गिक हिंसा, मानव अधिकार हननको दृष्टिकोणले बहस हुनै बाँकी छ। महीनावारीलाई ‘मर्यादा’ को केन्द्रमा राखेर हरेक तह र तप्कामा घनीभूत बहस गर्न सके मात्रै संविधानमा लेखिएका अधिकारको उपभोग गर्न र असन्तुलित शक्ति एवम् पुरुषसत्ताको जरा उखेल्दै लैङ्गिक समानता र सामाजिक न्याययुक्त समाज निर्माण गर्न सकिन्छ।