तमोर नदीमा बाढी, खतराको तह पार
केही दिनदेखिको वर्षाका कारण तमोर नदीमा बाढी आएको छ भने पानीको सतहले खतराको तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार तमोर नदीले त्रिवेणी क्षेत्रमा खतराको तह पार गरेको हो। त्रिवेणी जलमापन केन्द्रमा पानीको सतह नौ मिटर पुग्दा चेतावनी दिने गरिएको छ भने १० मिटर पुग्दा खतरा तह मानिन्छ। अहिले भने पातीको सतह १०.२१ मिटर पुगेको महाशाखाले जनाएको छ।
आज बिहानैदेखि कोशी जलाधार क्षेत्रमा वर्षा भइरहेको छ। जसका कारण यस क्षेत्रका नदी तथा खोलामा बाढी आइरहेको छ।
तमोरसँगै सप्तकोशीमा पनि बाढी आएको छ। सप्तकोशीको चतरा क्षेत्रमा पानीको सतहले चेतावनीको तह पार गरेको महाशाखाले जनाएको छ। चतराको पुरानो जलमापन केन्द्रमा पानीको सतह ६.५६ मिटर र नयाँ जलमापन केन्द्रमा ६.५१ मिटर पुगेको छ।
यस्तै, कमला नदीमा पनि बाढीले जलस्तर चेतावनीको तह पारेको छ। बेल्सोट जलमापन केन्द्रका अनुसार कमला नदीको जलसतह ५.२३ मिटर पुगेको छ। यो स्थानमा पाँच मिटर पुग्दा चेतावनीको तह र ६ मिटर पुग्दा खतराको तह पार गरेको मानिन्छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी रेखा उत्तरतिर सर्दा केही दिनदेखि वर्षा भइरहेको छ। अझै एक-दुई दिन वर्षा हुने विभागले जनाएको छ।