मनसुन सक्रिय भइरहेकाले पर्यो भदौरे झरी
न्यून चापीय रेखा नेपाल नजिक बनेको वेलामा धेरै वर्षा हुन्छ। अहिले सो रेखा नेपाल नजिक भएको कारण देशव्यापी पानी परिरहेको हो।
हाल नेपालको तराई क्षेत्र र भारतको उत्तर प्रदेशको उत्तर-पश्चिम क्षेत्रतिर न्यून चापीय रेखा बनेको हुँदा ती प्रणालीको प्रभावले झरी परेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेल बताउँछन्।
विभागकै अर्का मौसमविद् सुदर्शन पोखरेलका अनुसार न्यून चाप भएको क्षेत्रमा हावा माथि जाने प्रक्रिया धेरै हुने हुँदा वर्षाको मात्र बढ्ने गर्छ। “न्यून चापीय रेखा भएको ठाउँमा मौसम सफा हुँदैन किनभने जमीन तातेर तातो हावा माथि जाने प्रक्रिया हुने हुँदा पानीको बाफ पनि माथि गएको हुन्छ। त्यसले बढी बादल बनाउने र वर्षा गराउने हुन्छ,” पोखरेलले भने।
न्यून चापीय रेखा नेपाल नजिक बनेको वेलामा धेरै वर्षा हुन्छ। “अहिले हेर्दा टर्फ लाइने भनिने वर्षाको सो रेखा नेपाल नजिक भएको कारण देशव्यापी पानी परिरहेको हो,” उनले भने, “यो अहिलेको घटना मनसुनको स्वाभाविक प्रक्रिया नै हो भन्ने देखिन्छ।”
मनसुन सक्रिय भएकाले भदौरे झरी
मौसमविद् पौडेलका अनुसार नेपालमा शुक्रबार र शनिबार पनि वर्षा निरन्तर हुने देखिएको छ। शनिबारदेखि भने बिस्तारै पश्चिम नेपालबाट मौसम खुल्दै जाने र आइतबारबाट मौसममा सुधार आउने देखिएको पौडेल बताउँछन्।
“लगातार पानी परेर एकदुई स्टेशन बाहेक कतै पनि भारी वर्षा रेकर्ड भएको छैन,” उनी भन्छन्, “स्वाभाविक र औसत वर्षा भइरहेको देखिन्छ। यसलाई मध्यम वर्षा मान्न सकिन्छ।”
पौडेलका अनुसार अहिले पनि मनसुन सक्रिय भइरहेकाले भदौरे झरी परेको हो। मनसुनको अवधि अक्टोबर २ सम्मै बाँकी रहेकाले फेरि फेरि झरी पर्न सक्ने पनि उनले बताए।
यद्यपि विगतका वर्षभन्दा अहिले भने पानी पर्ने तालिका भने बदलिएको उनी बताउँछन्। “पानी पर्ने प्याटर्न फरक हुँदै गएको छ। विगतमा लगातार ६/७ दिन झरी पर्थ्यो,” पौडेल भन्छन्, “पछिल्ला वर्ष एकदुई दिन मज्जाले वर्षा भएर बाढीपहिरो आउने अनि फेरि सुक्खा हुने प्रवृत्ति देखिएको छ।”
मौसमविद् पोखरेलका अनुसार मंगलबार बाँके, कास्की क्षेत्रमा धेरै वर्षा भएको थियो। बुधबार झापा, नेपालगन्ज क्षेत्रतिर धेरै वर्षा भएको र बिहीबार झापाको दमक क्षेत्र, लमजुङको खुदी बजार, नवलपरासी र बर्दघाट पूर्वको क्षेत्रमा धेरै पानी परेको देखिएको पोखरेलले बताए।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा चट्याङ सहित धेरै वर्षा हुने सम्भावना छ।