माओवादी नेताहरूको चिनियाँ गिरोह ‘कनेक्सन’
समाजशास्त्री दीपेश घिमिरे माओवादी इतरका दलले दक्षिणी छिमेकी भारतको खुफिया एजेन्सी ‘रअ’ को सम्पर्कबाट नेपालमा राजनीतिक प्रभाव जमाएको र त्यो स्थान माओवादीले लिन नसकेपछि चीनका जुनसुकै तहसँग सम्पर्क बढाएको हुन सक्ने बताउँछन्।
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको सुन तस्कर गिरोहसँग सम्बन्ध देखिए पनि केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूलाई अभियुक्त बनाएन। गत पुस १० गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयले रोकिदिएको विद्युतीय चुरोट (भेप)भित्र लुकाएर ल्याइएको सुन छुटाउन महरा बाबुछोरा नै लागिपरेको अनुसन्धानमा खुलेको थियो।
महराले केही दिनअघि गृहजिल्ला दाङमा भन्सारले रोकिदिएको सामान वैध नै रहेको ठानेर चासो देखाएको बताएका थिए। भेपभित्रको सुन चोरिएपछि सीआईबीले अनुसन्धान गर्दा तस्कर गिरोहसँग महराद्वयको सम्बन्ध पत्तो लागेको थियो। अभियोगपत्रमा प्रहरीले सुन पठाउने गिरोहका सदस्य भनिएका चिनियाँ नागरिक दाओजिन वाङ र भन्सार कर्मचारीसँग महराद्वयले गरेको फोन सम्पर्कको विवरण तालिका नै बनाएर समेटेको छ। सोही तालिका सार्वजनिक भएपछि महरा विवादमा तानिएका थिए।
छोरा राहुलले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई जफत सामानको लिलामी चाँडो गर्ने बन्दोबस्त मिलाउने कानूनी प्रक्रियाबारे सोधपुछ गरेको जिल्ला अदालत, काठमाडौंमा दायर भएको अभियोगपत्रमा उल्लेख छ।
चिनियाँसँगको सम्बन्धका कारण उपाध्यक्ष महरा बदनाम भएको यो पहिलो पटक होइन। यसअघि चुनाव जित्न उनले चिनियाँसँगै ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो। २०६७ सालमा सार्वजनिक भएको अडियोमा ५० सीट ल्याउन उक्त रकम आवश्यक भएको महराले बताएका थिए।
चिनियाँसँगको सम्बन्धकै कारण बदनाम हुने माओवादी नेतामा महरा एक्ला भने होइनन्। महरा जोडिएको सुन तस्करीभन्दा पछि बरामद भएको ६० किलो अवैध सुन प्रकरणमा अर्का नेता वर्षमान पुन मुछिएका छन्। राजस्व अनुसन्धान विभागले साउन ३ गते हङकङबाट ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याइएको सुन बरामद गरेको थियो।
यो प्रकरणमा चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन्। दावाको साइनो पार्टी उपमहासचिव एवं सांसद वर्षमान तथा उनकी पत्नी पूर्व सभामुख ओनसरी घर्तीसँग देखिएको छ। घर्तीसँग त यो गिरोहले सभामुखको कार्यकक्षमै भेटेको थियो।
दावाले माओवादी कार्यकर्ता रोल्पाकी अमला रोकासँग विवाह गरी पुन दम्पतीसँग सम्बन्ध बढाएका हुन्। वर्षमानले दावालाई अवैध काममा सघाएको आरोपको खण्डन गरे पनि उनीसँगको सम्बन्ध इन्कार गर्न सकेका छैनन्।
दावा लामो समयदेखि नेपालमा अवैध काममा संलग्न हुँदै आएको प्रहरीको अभिलेख छ। २०७६ मै उनी ‘ग्याम्बलिङ’, अश्लील भिडिओ देखाएर असुली गर्ने जस्ता कार्यमा लागेको खुलेको थियो। दावाले भियतनाम, कम्बोडियामा सक्रिय चिनियाँ आपराधिक गिरोहलाई नेपाल ल्याएर अवैध धन्दा चलाउने गरेका थिए। चीन सरकारको आग्रहमा नेपाल प्रहरीले उक्त गिरोह विरुद्ध कारबाही ‘अपरेशन’ चलाए पनि दावा र अमला जोगिएका थिए।
चीनले एक हजार हाराहारी चिनियाँ नागरिक पक्राउ पर्ने सूची दिए पनि प्रहरीभित्रको बेमेलका कारण १२२ जना मात्र पक्राउ परेका थिए।
त्यसपछि केही समय निष्क्रिय बसेको यो गिरोह पुनः कल सेन्टरका नाममा ‘लोन एप’ मार्फत असुलीमा लागेको थियो। एक वर्षअघि जिल्ला प्रहरी परिसर, काठमाडौंले कल सेन्टरमा छापा मार्दा यही गिरोह देखिएको थियो। ठमेलस्थित होटल भियनाबाट पनि कल सेन्टर चलाइएको फेला परेको थियो। उक्त होटल चलाउन अमलाले घरबेटीसँग सम्झौता गरेको कागजात बरामद भए पनि उनलाई अभियुक्त बनाइएन।
कल सेन्टरका कानूनी साझेदार देखिएका अमलाका छोरा सुवीन्द्र रोका विरुद्ध भने मुद्दा चलेको थियो। यो त्यही होटल हो, जहाँ सुन तस्करले प्रयोग गरेको भन्दै राजस्व अनुसन्धान विभागले छापा मारेको थियो। हाल यो प्रकरणमा संगठित अपराध समेत जोडिने भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ। दावा समूहसँग माओवादीका अन्य नेता-कार्यकर्ता समेत नजिक देखिन्छन्।
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरा दीपेशको पनि दावासँग उठबस रहेको सूचना प्रहरीको अभिलेखमा छ। पुन बाबुछोरासँग दावाले फोटो समेत खिचाएका छन्। दीपेश माओवादीको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)का महासचिव हुन्।
२०७६ माघमा मनाङ एअरको हेलिकप्टर ‘चार्टर’ गरी दीपेश र अमला तीन जना चिनियाँलाई लिएर गोसाइँकुण्ड गएको कागजातबाट खुल्छ। प्रहरी स्रोतका अनुसार ती चिनियाँलाई दावाले नै नेपाल ल्याएका हुन्।
चिनियाँ क्रान्तिका ‘नायक’ माओत्सेतुङको विचारधारा बोकेर नेपालमा खुलेको पार्टीका नेता चिनियाँ नागरिकसँगकै सम्बन्धले बदनाम भइरहेका छन्। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा समाजशास्त्र पढाउने दीपेश घिमिरे माओवादी इतरका दलले दक्षिणी छिमेकी भारतको खुफिया एजेन्सी ‘रअ’ को सम्पर्कबाट नेपालमा राजनीतिक प्रभाव जमाएको र त्यो स्थान माओवादीले लिन नसकेपछि चीनका जुनसुकै तहसँग सम्पर्क बढाएको हुन सक्ने बताउँछन्।
“दक्षिणले नपत्याएको अवस्थामा उत्तरका जुनसुकै हैसियत भएकासँग सम्बन्ध गाँसेर वैदेशिक सम्बन्ध बनाउन खोजेको देखिन्छ,” उनी भन्छन्, “नत्र सभामुख, उपप्रधानमन्त्री भइसकेका व्यक्ति कसरी एउटा फलफूल व्यापारीको सामान छुटाउन अघि सर्छन्?”