दावा पक्राउसँगै राजनीतिकर्मीतर्फ सोझियो अनुसन्धानको सुई
चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ पक्राउ परेसँगै राजस्व अनुसन्धान विभागले करीब एक क्विन्टल सुन तस्करी प्रकरणको राजनीतिक ‘कनेक्सन’ तिर अनुसन्धान थालेको छ।
राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट साउन १४ मा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेसँगै सुन तस्करी प्रकरणको राजनीतिक ‘कनेक्सन’ तिर अनुसन्धान थालिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको करीब एक क्विन्टल सुन साउन ३ मा बरामद गरेयता चलिरहेको अपरेशनको यो सबैभन्दा महत्त्वपूर्ण ‘क्लू’ हुने विभागले अपेक्षा गरेको छ।
ठमेलबाट पक्राउ परेका दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने ‘अजेन्ट’ हुन्, उनको ‘कनेक्सन’ नेकपा (माओवादी केन्द्र)का नेताहरूसँग देखिन्छ। विभागका महानिर्देशक नवराज ढुंगानाले दावा सुन तस्करीमा संलग्न भएको प्रमाण फेला परेकाले नियन्त्रणमा लिएको पुष्टि गरे। “चिनियाँ मूलको भए पनि उनीसँग नेपाली नागरिकता पनि छ भन्ने कुरा आएको छ,” महानिर्देशक ढुंगानाले हिमालखबरसँग भने, “तर, यसबारे पुष्टि भइसकेको छैन। दावा यो गिरोहका निकै महत्त्वपूर्ण सदस्य हुन् भन्ने चाहिं हालसम्मको अनुसन्धानले देखाएको छ।”
उनीसँगै सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ। यद्यपि अधिकांश भरिया वा सहयोगी तहका मात्रै छन्। तस्करी गराउने व्यक्तिहरूको तहतर्फ अनुसन्धान पुगिनसकेकाले दावाको पक्राउले गिरोहको उपल्लो तहमा उक्लन सहज हुने अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ।
विभागले गोदाम, सुन गाल्ने मशिन लगायत सामान बरामद गरेकाले तस्करीमा ठूला व्यापारी र राजनीतिक व्यक्तिको संलग्नता हुन सक्ने उनीहरूको अनुमान छ। तर, दावा पक्राउसँगै राजनीतिक तह ‘एक्सपोज’ हुने भएपछि अनुसन्धान रोकिन सक्ने जोखिम रहेको एक अधिकारीले बताए।
विभागको टोलीले काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेर दावालाई पक्राउ गरेको हो। यो त्यही होटल हो, जुन चिनियाँ आपराधिक गिरोहले सञ्चालन गरेको भनी एक वर्षअघि पनि खुलेको थियो। यसअघि २०७९ साउन ११ गते पनि प्रहरीले यस होटलमा छापा मारेको थियो। ठगीको आरोपमा चार चिनियाँ नागरिकलाई पक्राउ गर्दा २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, एक लाख ९० हजार मूल्य बराबरको सिम कार्ड बरामद भएको थियो।
मञ्जिल श्रेष्ठ र अमला रोकाले घरधनी रत्नमान श्रेष्ठसँग होटल चलाउन सम्झौता गरेको भेटिएको थियो। अमला माओवादी उपमहासचिव वर्षमान पुन र ओनसरी घर्तीसँग पारिवारिक सम्बन्ध भएकी व्यक्ति हुन्। गिरोहका सदस्य दावा सहितको टोलीले बारम्बार पुन र घर्तीलाई भेट्ने गरेको पाइएको छ। घर्तीलाई त यो गिरोहले सभामुख भएकै वेला कार्यकक्षमै पुगेर भेटेको थियो।
त्यति वेला प्रहरीले अमलाको संलग्नता खुल्ने प्रमाण भेटेको थियो। तर, जिल्ला प्रहरी परिसर, काठमाडौंले मञ्जिललाई प्रतिवादी बनाए पनि अमलालाई भने उन्मुक्ति दिएको थियो। यद्यपि परिसरका तत्कालीन प्रवक्ता एसपी दिनेश मैनाली (हाल एसएसपी)ले भने त्यति वेला अमलालाई पनि प्रतिवादी बनाइने बताएका थिए, तर अभियोगपत्रमा भने उनलाई प्रतिवादी बनाइएन।
सुन तस्करीको आरोपमा पक्राउ परेका बेल्जियमका नागरिक दावासँग नेपाली नागरिकता र राहदानी पनि रहेको छ। उनले नेपाली नागरिकता काभ्रेबाट लिएका हुन्। यस विषयमा हिमालखबरले समाचार प्रकाशित गरेपछि उनी चीन गएका थिए। उनले भित्र्याएको चिनियाँ गिरोहले नेपालमा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ, अश्लील भिडिओ देखाएर र ‘लोन’ (ऋण) एप मार्फत अवैध असुली गर्ने गरेको पाइएको थियो।
दावाको आपराधिक शृङ्खला
यो गिरोह नेपालमा अवैध धन्दामा लागेको तथ्य २०७६ सालमै खुलेको थियो। त्यति खेर प्रहरीले काठमाडौंबाट १२२ जना चिनियाँलाई अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लील भिडिओ देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गरेको थियो। चीनको आग्रहमा गरिएको अपरेशनबाट एक हजारभन्दा बढी चिनियाँ नागरिक पक्राउ पर्ने अपेक्षा थियो।
चीनको मिनिस्ट्री अफ पब्लिक सेक्युरिटीका निर्देशक वाङ हुवो नेतृत्वको टोलीले काठमाडौं आएर त्यो अपरेशनलाई गोप्य रूपमा सघाएको थियो। तर, प्रहरी र राजनीतिक पहुँचका कारण त्यति वेला गिरोहका मुख्य सञ्चालक फरार भए भने उनीहरूका नेपाली साझेदारबारे प्रहरीले अनुसन्धान नै गरेन। तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई समेत यो गिरोहको नाइके भनिएका चेन सितियानले भेटेका थिए।
यो गिरोहका नेपाली साझेदारको सम्बन्ध माओवादी नेता तथा प्रहरी प्रशासनमा रहेका व्यक्तिसँग देखिएपछि अनुसन्धान अघि बढेन। प्रहरीले १२२ चिनियाँलाई पक्राउ गर्नुअघि नै सितियानले नेपाल छोडिसकेका थिए। तत्कालीन आईजीपी खनालले नै सितियानलाई भगाएको आरोप लागेको थियो। त्यति खेर माओवादी र नेकपा (एमाले)बीच एकीकरण भएर बनेको नेकपाको सरकार थियो।
दावासँग वैवाहिक सम्बन्ध गाँसेकी रोल्पाको थवाङकी अमला चिनियाँको नेपाली साझेदार रहेको चार वर्षअघि नै अनुसन्धानमा खुलेको भए पनि कारबाही नगरी जोगाइएको थियो। २०७६ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच जना चिनियाँले ल्याएको २९३ थान मोबाइल, ल्यापटप प्रहरीले जफत गरिदिएपछि छुटाउन दावाको समूह सक्रिय भएको थियो। इजाजत विना ल्याइएका सामान भन्सारमा रोकिएपछि काठमाडौंको बूढानीलकण्ठमा रहेको रोयल स्यान्ड्स होटलले मगाएको भन्दै होटल दर्ता प्रमाणपत्र र सामान मगाएको पत्र लिएर दावाको समूह भन्सार कार्यालय पुगेको थियो।
रोयल स्यान्ड्स होटल बूढानीलकण्ठ नगरपालिका कार्यालयमा मञ्जिल श्रेष्ठको नाममा दर्ता छ भने कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेखमा मञ्जिल र अमला संस्थापक शेयरधनी छन्। कम्पनी रजिस्ट्रार कार्यालयमा २०७५ मंसीरमा दर्ता भएको यो होटलको केही कित्ता शेयर चैत ७ गते चिनियाँ नागरिकद्वय लिन फेङचेङ र लिन लोङयुआनले पनि खरीद गरेका थिए। मञ्जिल, अमला र दावाले होटल, रेस्टुरेन्ट चलाउन चिनियाँसँग मिलेर अन्य कम्पनी पनि खोलेको प्रहरी अनुसन्धानबाट देखिएको थियो।
अहिले पनि सवारीसाधनका पार्टपुर्जाभित्र अवैध सुन मगाउने रेडी ट्रेड यही गिरोहले नेपालीको नाममा दर्ता गरेको पाइएको छ। यो कम्पनी दोलखाका दिलीप भुजेलको नाममा दर्ता छ। तर, भुजेल मोटरसाइकलको पार्टपुर्जा आयात गर्ने कम्पनी चलाउने हैसियतका नभएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्। भुजेलले काठमाडौंमा घर बनाउने कामदारका रूपमा मजदूरी गर्दै आएका छन्।
त्यस्तै, मञ्जिल, अमला, दावा सहित चिनियाँ नागरिक चु जिलियाङ, चेन काइमु र चोङ गुआङपेङको नाममा छङ फङ होटल सञ्चालन गर्ने गरी २०७६ कात्तिकमा कम्पनी दर्ता भएको भेटिएको थियो। तर, प्रहरीले अनुसन्धान गर्ने आँट बटुल्नै सकेन। उनीहरूकै ओरियन्टल इन्टरटेनमेन्ट अनलाइन र रोयल स्यान्ड्स टेक इन्टरटेनमेन्ट ग्याम्ब्लिङ नामक कम्पनीको उद्देश्यमै अनलाइन ग्याम्ब्लिङ सञ्चालन गर्ने भनेर कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको खुलेको थियो। रोयल स्यान्ड्स टेक कम्पनी अमला र मञ्जिलको नाममा दर्ता छ।
यसरी अनेक आपराधिक क्रियाकलापमा कानूनी कारबाहीबाट जोगिएको केही समयपछि नै यो समूह फेरि अवैध दुनियाँमा फर्किएको देखिन्छ। एक वर्षअघि काठमाडौं र रुपन्देहीमा कल सेन्टरका नाममा चिनियाँ ‘लोन एप’ बाट यो गिरोहले ठगी गरेको खुलेको थियो। प्रहरीले अघिल्लो वर्ष काठमाडौंमा छापा मारेको स्काई वर्ल्ड विजय श्रेष्ठ, सुविन्द्र रोका मगर र पाल्साङ शेर्पाको नाममा दर्ता छ। रुपन्देहीको ब्लू स्काई बिजनेश सोलुसनमा भने विजय र सुविन्द्र साझेदार हुन्।
अदालतमा दायर अभियोगपत्र अनुसार ब्लू स्काई र स्काई वर्ल्ड दुवै कम्पनीका व्यवस्थापक मञ्जिल हुन्। कम्पनीधनी सुविन्द्र अमलाका छोरा हुन्। सुविन्द्र पछिल्लो पटक आमासँगै ‘लोन स्क्याम’ गर्ने कम्पनीमा जोडिएका थिए। ब्लू स्काईमा अमलाले नै ब्यांंक खातामा कार्यालय सञ्चालनका लागि खर्च पठाइदिने गरेको पक्राउ परेका कमलजंग सेनले प्रहरीसँगको बयानमा खुलाएका थिए। सेनले अमला आफ्नी माइजू रहेको समेत बताएका छन्।
“कार्यालय स्थापना गर्न अमला रोका, सुविन्द्र रोका मगर र मञ्जिल श्रेष्ठ समेतले मेरो ब्यांंक खातामा रकम पठाउने गर्थे,” सेनले बयानमा भनेका छन्, “मेरी माइजू नाताकी अमला रोकाले बुटवलमा ठूलो कम्पनी खोल्दै छौं, काम गर्ने भए ४०–५० हजार जति तलब हुन्छ भनेकाले घरभाडाको सम्झौता गरेको हुँ।” सेन यो कम्पनीका जनरल म्यानेजर हुन्।
दावा अवैध धन्दा चलाउने गिरोहको सक्रिय सदस्य भए पनि कागजातमा कहीं देखिंदैनन्। सुन तस्करीमा भने उनी जोडिने प्रमाण भेटिएको विभागका महानिर्देशक ढुंगानाले बताए। “अपराध गर्नेहरू एउटामा मात्र सीमित हुँदैनन्। कल सेन्टर प्रहरीले बन्द गराएपछि यता आएको हुन सक्छ,” ढुंगाना भन्छन्, “पहिलेदेखि तस्करी समानान्तर चलाएको पनि हुन सक्छ। पछि खुल्दै जाला।”
नेपाली नागरिकता र राहदानी लिए, तर कारबाही भएन
राजनीतिक र प्रशासनिक संरक्षण पाएका दावाले काभ्रेबाट वंशजको नेपाली नागरिकता लिएका छन्। दावाको बेल्जियमको राहदानी पनि छ। हिमालखबरलाई प्राप्त कागजात अनुसार दावाले २०७४ पुस २० गते नेपाली नागरिकता लिएका हुन्। नेपाली नागरिकतामा भने उनको नाम निमा तामाङ छ भने ठेगाना नमोबुद्ध-११।
जिल्ला प्रशासन कार्यालय, काभ्रेमा नागरिकता दिने कार्यमा संलग्न कर्मचारीको विवरण हुने कागजात नै गायब पारिएको पाइएको एक प्रहरी अधिकृतले बताए। “कस्ता कागजातका आधारमा नागरिकता दिइएछ भनेर खोज्न जाँदा अभिलेख फाइलको बीचको पन्ना नै गायब पारिएको रहेछ,” ती अधिकारीले भने।
दावाले नेपाली नागरिकता लिंदा शिवप्रसाद सिम्खडा प्रमुख जिल्ला अधिकारी थिए। उनी २०७३ मंसीर ९ गतेदेखि २०७५ वैशाख १४ गतेसम्म काभ्रेको प्रमुख जिल्ला अधिकारी रहेको कार्यालयको विवरणमा उल्लेख छ।
नागरिकता लिएको एक महीनापछि नै दावाले नेपाली राहदानी लिएका हुन्। २०७५ माघ ११ गते दावा तामाङको नाममा राहदानी जारी भएको कागजातबाट खुल्छ। उनले अहिले नेपाली र बेल्जियम दुवै मुलुकको राहदानी प्रयोग गरिरहेका छन्।
नेपाली राहदानी लिएको तीन महीनापछि नै उनी यही राहदानी प्रयोग गरेर विदेश गएको राहदानी विभागको अभिलेखबाट खुल्छ। २०७५ जेठ २ गते विदेश प्रस्थान गरेका दावा साता दिनपछि सोही राहदानी प्रयोग गरेर नेपाल फर्किएका थिए।
नेपाली राहदानीको म्याद १ मार्च २०२८ सम्म छ। हालै मात्र नवीकरण गरिएको बेल्जियम राहदानीकोे म्याद ३ जनवरी २०३० सम्म छ। नेपाली नागरिकता र बेल्जियमको राहदानीमा उल्लेख दावाको जन्म मिति भने फरक छ। नेपाली नागरिकतामा जन्ममिति २०४१ वैशाख १५ उल्लेख छ भने बेल्जियमको राहदानीमा २०४० चैत ३ गते जन्मिएको उल्लेख छ। नेपाली कागजातमा उनको जन्मथलो काभ्रेको नमोबुद्ध हो भने बेल्जियम राहदानीमा लिथाङ छ। लिथाङ तिब्बतमा पर्छ।
नेपाली नागरिकता र राहदानी लिएको तथा अन्य अवैध गतिविधिमा संलग्न भएको भन्दै नेपाल प्रहरी ले दावालाई निगरानीमा राखेको थियो। तर, उनको राजनीतिक पहुँचका कारण कारबाही प्रक्रियामा ल्याउन सकेको थिएन। उनै दावा अहिले सुन तस्करीमा पक्राउ परेका छन्।