म फरार छैन: पूर्व मन्त्री जोशी
पूर्व मन्त्री चन्द्रदेव जोशीले भ्रष्टाचार विरुद्धका हरेक प्रयासमा आफ्नो साथ रहेको बताएका छन्।
ललिता निवास जग्गा प्रकरणमा उनी फरार भएको भनेर केही सञ्चारमाध्यमले समाचार लेखेका थिए। उनले भने आजै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पुगेर फर्किएको बताएका छन्।
ललिता निवास प्रकरणमा सीआईबी प्रमुख किरण बज्राचार्यले बयानका लागि बोलाएको र आफू सीआईबी पुगेको जोशीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्। “पहिलो पटक सीआईबी प्रमुख आफैंले बयानका लागि भनेर बोलाउनुभयो तर फेरि अहिले नआउनु भनेर खबर आयो,” पूर्व मन्त्री जोशीले लेखेका छन्।
फेरि सोमबार बयानका लागि बोलाएकाले आफू सीआईबी पुगेको उनले बताएका छन्। “आज फेरि बोलाए बमोजिम सवा १ बजे सीआईबी कार्यालय पुगेको थिएँ। तर, बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो,” जोशीले भने।
उनले भ्रष्टाचार विरुद्धको प्रयासमा आफ्नो साथसहयोग रहने जनाएका छन्। पूर्व मन्त्री जोशीले लेखेका छन्, “भ्रष्टाचार विरुद्धको हरेक प्रयासमा मेरो प्रतिबद्धता कायम छ। म फरार छैन।”
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले आइतबार साँझ पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग घटना विवरण कागज गराएको थियो। यस प्रकरणमा सीआईबीले ४०६ जनामाथि अनुसन्धान गरिरहेको छ।