‘माछा पोखरीमा सजिलै मोती उत्पादन गर्न सकिन्छ’
‘जुन पोखरीमा माछा छ, त्यसैमा सिपी राखिने हो। अथवा पोखरी र ट्यांंकीमा पनि राख्न सकिन्छ। किसानले ४०० रुपैयाँ जतिको लागतमा मोती उत्पादन गर्न सक्छन्।’
पोखरास्थित बेगनास मत्स्य अनुसन्धान केन्द्रमा सिपी मार्फत मोती उत्पादन थालिएको छ। वैज्ञानिक एवं केन्द्रका प्रमुख डा. मोहम्मद इकबाल हुसेनको नेतृत्वमा गरिएको अनुसन्धानबाट सफा जलाशयमा सिपी मार्फत मोती उत्पादनको अनुसन्धानले सफलता पाएको हो।
यो सफलताले किसानले पनि माछा पोखरीमा मोती उत्पादन गर्न सक्ने बाटो देखाएको छ। यसको नेतृत्व गरेका वैज्ञानिक एवं बेगनास मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा. हुसेनसँग हिमालखबरका लागि दुर्गा राना मगरले गरेको संवादः
सिपीमा मोती उत्पादनबारे अनुसन्धान कसरी शुरूआत गर्नुभयो?
विभिन्न देशमा सिपीमा मोती उत्पादन सम्बन्धी अनुसन्धान तथा उत्पादन भइरहेका छन्। नेपालमा पनि गर्न सकिन्छ कि भनेर विभिन्न ठाउँबाट प्रस्ताव आएका थिए। त्यसपछि हामीले अनुसन्धान शुरू गर्यौं।
यसलाई २०७४ सालदेखि परियोजनाका रूपमा अगाडि बढायौं। शुरूआतमा सिपीमा कसरी मोती उत्पादन गर्ने भन्ने प्राविधिक ज्ञान थिएन। विभिन्न अध्ययन तथा अनुसन्धानका रिपोर्ट हेर्यौं।
अध्ययन गर्दै जाँदा सिपीको पहिचान गर्नु महत्त्वपूर्ण पक्ष भयो। मोती उत्पादनका लागि सिपीको पहिचानमा लाग्यौं। त्यस क्रममा हाम्रै मत्स्य केन्द्र नजिकका ठाउँ, तालका किनारमा अध्ययन गर्यौं।
स्थानीय रूपमा पाइने सिपी भनेको ‘लेमिल्लिडेन्स मार्जिनालिज’ रहेछ। त्यसको आवरण चम्किलो थियो। त्यसको पहिचान गरिसकेपछि मोती उत्पादनमा उपयोग गर्ने निष्कर्षमा पुग्यौं। मोती उत्पादनका लागि ‘बिड’ का रूपमा ‘इमेज बिड’ र ‘गोलाकार बिड’ को प्रयोग गर्यौं।
यो बिड भनेको के हो?
बिड भनेको सिपीमा राखिने चिज हो, जसले पछि मोतीको रूप लिन्छ। नुनिलो पानी अर्थात् समुद्रमा मोती प्राकृतिक रूपमा बन्छ। समुद्रमा पाइने ‘ओएस्टर’ मा मोती बन्छ। त्यहाँ पाइने बालुवा कणलाई सिपीले छोप्ने क्रममा क्याल्सियम कार्बोनेटको उत्पादनले मोतीलाई चम्किलो र राम्रो बनाउँछ।
समुद्र नभएकाले हाम्रो जस्तो देशमा आफैं मोती उत्पादन सम्भव भएन। त्यसका लागि सिपी उत्पादन गर्नुपर्यो। अहिले सफा जलाशयमा सिपीको उत्पादन नयाँ प्रयास हो। सिपीमा बिड तयार पारेर राख्छौं। जसले पछि चम्किलो मोतीको रूप लिन्छ। सिपीको बाहिरी आवरणलाई नै पाउडर बनाएर बिड तयार पारिरहेका छौं।
मोती उत्पादनका लागि सिपीमा इमेज बिड वा गोलाकार बिड राखेर प्रयोग गर्यौं। गोलाकार बिड संसारभर पाइन्छ। यो विशेषत: गहना, औंठीमा प्रयोग हुन्छ। हामीले नेपालमा जे माग छ, त्यसलाई नै राख्ने विचार गर्यौं।
यसमा भगवान् बुद्ध, विष्णु लगायतका आकृति ‘इमेज बिड’ का रूपमा तयार पार्यौं। भगवान्को आकृतिको मोती नेपालीका लागि आकर्षक बन्छ र यसले बजार लिन्छ भन्ने लागेर यस्तो गरेका हौं। अर्को, यसले किसानको आयस्तर बढाउन सक्छ भनेर नै ‘इमेज बिड’ बनायौं।
मोती बन्ने प्रक्रिया कस्तो हुन्छ?
शुरूमा नदी, नाला, पोखरी, तालबाट सिपी सङ्कलन गर्नुपर्छ। सिपी सङ्कलन गरेपछि तीन दिनसम्म बगिरहेको पानीमा डुबाएर राख्नुपर्छ। पानीमा राख्दा त्यसको मुख खुल्छ, जसमा ‘सर्जरी’ को माध्यमबाट बिडलाई प्रत्यारोपण गर्छौं।
अर्को, प्रक्रिया भनेको बिड बनाउनु हो। सङ्कलित सिपीलाई कृषि चुनमा १५ दिन भिजाएपछि नरम हुन्छ। त्यसलाई कुटेर पाउडर बनाउँछौं। त्यसपछि त्यही पाउडरबाट ढाँचा (मोल्ड) को प्रयोग गरी बिड डिजाइन गर्छौं। बिडलाई सिपीभित्र ‘मेन्टल क्याभिटी सर्जरी’ को माध्यमबाट राखिन्छ जुन महत्त्वपूर्ण र ध्यान दिनुपर्ने प्रक्रिया हो।
सर्जरी गरिएका सिपीलाई जालीयुक्त थैलीमा राखिन्छ। थैलीलाई ताल, पोखरीभित्र भुइँ नछुने गरी डोरीको सहायताले १२ देखि १८ महीनासम्म झुन्ड्याएर राख्नुपर्छ। त्यसका लागि पोखरी हरियो बनाउनुपर्छ। प्राकृतिक तालमा राख्दा सजिलो हुन्छ। अनुसन्धानका क्रममा हामीले पोखरी, फेवा, बेगनास र रुपा तालमा राखेका थियौं। रुपामा पानी गहिरो, मलिलो र लेउ पनि भएकाले सबैभन्दा राम्रो भयो।
विभिन्न तालतलैया विशेषत: मध्यपहाडी र तराई क्षेत्रमा सिपीमा मोती उत्पादन गर्न सकिन्छ। पोखरीमा डेढ–दुई मिटरको गहिराइमा राख्न सकिन्छ। सिपीको मुख्य आहारा भएकाले पानीमा लेउ हुनुपर्छ। गोबर, मल, युरिया राख्यौं भने पोखरीमा मलिलोपन आउँछ।
आफ्नो आहारालाई छोप्ने क्रममा सिपीले ‘क्याल्सियम कार्बोनेट’ उत्पादन गर्छ। त्यसले सिपीमा मोतीलाई चम्किलो र राम्रो बनाउँछ। एउटा सिपीमा दुई वटा बिडसम्म राख्न सक्छौं।
चम्किलो र मोटाइका आधारमा मोतीको गुणस्तर हेरेर बजारमूल्य निर्धारण गर्न सकिन्छ। किसानले सीधै ग्राहकसम्म पुग्नु पनि पर्दैन। गरगहना बनाउनेहरूसँग सम्पर्क गर्न सकिन्छ। गरगहना, औंठी लगायतको ढाँचामा लगेपछि मोतीको बजारीकरण हुन्छ।
हामीले भगवान्को रूप भएको मोती बनाउनुको मुख्य कारण पनि यही हो। त्यसलाई कम्तीमा दुई हजारदेखि दुई हजार ४०० रुपैयाँमा त सजिलै बेच्न सकिन्छ। नक्कली मोती त मान्छेले लगाउँछन् भने यो त सक्कली हो।
यसरी मोती उत्पादन किसानका लागि उपयोगी छ। जसरी माछा पाल्छौं, त्यसरी नै सोही पानीमा सिपी पालन गर्दा दोहोरो आम्दानी हुन्छ।
मोती अमूल्य रत्न हो। यसले राम्रो बजार पाउन सक्छ। जसबाट किसानले लाभ लिन सक्छन्। हाम्रो बुझाइमा यसबाट आर्थिक उन्नति हुन सक्छ। बाहिरबाट मोती निर्यात गरिरहनुपर्ने अवस्था पनि रहँदैन।
अनुसन्धानको सफलतासँगै अब किसानसम्म कसरी पुर्याउने भनी सोच्नुभएको छ?
हरेक खेतीका लागि विज्ञबाट प्रशिक्षणको आवश्यक हुन्छ। अनुसन्धानबाट सिकेका कुरा अहिले नै किसानलाई सिकाउन तयार छौं। किसानले पनि सजिलै सिक्न सक्छन्। सानो ठाउँमा पनि मोती उत्पादन गर्न सकिन्छ।
अब सरकारले ध्यान दिनुपर्ने हो। जुन प्रविधिको विकास भयो, यसलाई अगाडिसम्म लैजान सरकारले अपनत्व लिएर काम गर्नुपर्नेछ। अहिले ‘मेन्टल क्याभिटी’ बाट बिड राखेका छौं तर यसका अरू आयाम पनि छन्। जुन अझै खोज्न, अनुसन्धान गर्न बाँकी छ। अहिलेसम्म भएका अनुसन्धानबाट किसानले तालीम लिएर छिटै काम अघि बढाउन सक्ने देखिएको छ।
किसानलाई तालीम दिन सरकारले बजेट छुट्याउनुपर्छ। यसका साथै मोती उत्पादनबारे बुझ्न सीपयुक्त जनशक्तिका लागि ‘एक्सपोजर टूर’ को आवश्यकता छ। मोती उत्पादनमा चीन सबैभन्दा अग्रपंक्तिमा आउँछ। चीन र जापानले यसबारे गरिरहेका खोज तथा आविष्कार हामीले पनि हेर्नु जरुरी छ।
किसानले उत्पादन गर्न सक्नेमा कति आशावादी हुनुहुन्छ?
म आशावादी छु। मोती उत्पादनबारे किसान र विदेशमा बस्ने नेपालीले समेत चासो लिइरहेका छन्। किसानहरू यसबारे सोधखोज गरिरहेका छन्। अब सरकारले आवश्यक पहल गर्नुपर्छ।
हामी तालीम दिन पनि तयार छौं। किसान पनि इच्छुक छन्। अब सरकारले प्रभावकारी कार्यक्रम ल्याउनु जरुरी छ।
सिपीमा मोती उत्पादनका लागि कति खर्च लाग्छ?
माछापालन गरिरहेका किसानका लागि यो कम खर्चिलो छ। सिपी पोखरी तथा नालामा पाइन्छ।नपाएको खण्डमा अनुसन्धान केन्द्रहरूमा किन्न सकिन्छ। एउटा सिपीको ५० पैसादेखि एक रुपैयाँ पर्छ। त्यसपछि बिड बनाउने सिपीकै बाहिरी आवरणले हो।
काठ वा फलामबाट बिडको ढाँचा तयार पार्न सकिन्छ। त्यो ढाँचाका लागि पनि धेरै पैसा लाग्दैन। ५०० रुपैयाँ जतिको लागतमा मोती उत्पादन गर्न सकिन्छ।
जुन पोखरीमा माछा छ, त्यसैमा सिपी राखिने हो। अथवा पोखरी र ट्यांंकीमा पनि राख्न सकिन्छ। यसमा चाहिने सीप र धैर्य नै हो। त्यस्तै, सीप सिकाउन सरकारले निःशुल्क तालीमको व्यवस्था पनि गरिदिनुपर्छ।
अन्त्यमा यो अनुसन्धानको सफलताबाट कति खुशी हुनुहुन्छ?
अनुसन्धान सफल भएकोमा खुशी छु। हामीले यसमा मेहनत गरेका छौं। वैज्ञानिकको पहिचान र इज्जत गर्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ जस्तो लाग्छ।
वैज्ञानिकले गरेको अनुसन्धानको ‘प्याटेन्ट राइट’ उसैको नाममा राखिदिनुपर्छ। यसले वैज्ञानिकको इज्जत रहन्छ। अर्को कुरा ‘एक्सपोजर टूर’ पनि आवश्यक छ। अनुसन्धानको शुरूआतमा भारत गएका थियौं। तालीम पनि लिएका थियौं। तर, हामीलाई मोती नै देखाइएको थिएन।
सफा जलाशयमा मोती उत्पादन गर्नु नयाँ प्रयोग हो। हाम्रो नतीजा थाहा पाएर भारतीयहरूले पनि सोधखोज गरिरहेका छन्। त्यसैले हामीले छिटै ‘प्याटेन्ट राइट’ दर्ता गर्नुपर्छ, यसमा सरकारले सहयोग गर्नुपर्छ।