यसरी गरिंदै छ पोखरामा मोती उत्पादन
बहुमूल्य रत्न मोती पोखरामा उत्पादन गर्न थालिएको छ भने देशभरका कृषकले पनि सजिलै उत्पादन गर्न सक्ने वैज्ञानिक बताउँछन्।
बहुमूल्य रत्न मोतीबारे जानकारी लिन भारततिर लाग्दै गर्दा वैज्ञानिक डा. मोहम्मद इकबाल हुसेन अलमलमा थिए। भारत पुगेपछि झन् अलमलमा परे किनकि मोती कसरी उत्पादन हुन्छ भन्ने प्रक्रिया देखाइएन, वर्णन मात्रै गरियो।
नेपालमा मोती उत्पादन गर्न सकिन्छ/सकिंदैन भन्ने अलमलमै पोखरा फर्किएका वैज्ञानिक हुसेन अहिले भने ढुक्क छन्। “पोखराका तालमा मात्रै होइन, मध्यपहाडका सबैजसो भेगमा किसानले मोती उत्पादन गर्न सक्छन्,” वैज्ञानिक हुसेन भन्छन्।
यो आत्मविश्वास गत ६ वर्षमा गरेको अध्ययन, अनुसन्धान र परीक्षणबाट प्राप्त भएको हो। बेगनास मत्स्य अनुसन्धान केन्द्रका प्रमुख समेत रहेका वैज्ञानिक हुसेनको टोलीले पोखराका तालमा सिपीबाट मोती उत्पादनमा सफलता हासिल गरेको छ।
२०७४ सालदेखि शुरू गरिएको अनुसन्धानमा पोखराका ताल, सफा जलाशयमा सिपीबाट मोतीको उत्पादन हुने प्रमाणित भएको छ। जसका लागि प्राविधिक टोलीले पोखराका सफा जलाशयमा पाइने ‘लेमिल्लिडेन्स मार्जिनालिज’ प्रजातिको सिपीमा मोती उत्पादनका विषयमा अनुसन्धान गरेको हो।
व्यक्तिगत तवरमा पनि देशका केही स्थानमा सिपीबाट मोती उत्पादन गरिंदै आएको छ। सरकारी प्रयास र त्यसपछिको सफलता भने यो पहिलो हो।
पोखराका फेवा, बेगनास र रुपा तालमा सिपीबाट मोती उत्पादनका लागि परीक्षण गरिएको थियो। जसमा सबैभन्दा राम्रो रुपा तालमा देखिएको छ। वैज्ञानिक हुसेन भन्छन्, “रुपा तालको गहिराइ र मलिलोपन मोती उत्पादनका लागि राम्रो छ।”
कसरी गरिन्छ मोती उत्पादन?
मोती उत्पादनका लागि पहिलो चरणमा सिपी चाहिन्छ। सिपी पानीमा पाइने एक जीव हो। यो विशेषत: तराई क्षेत्रका पोखरी, सिमसार, नहर, खोला र खोल्सामा पाइन्छ। सिपी सङ्कलन गरेपछि बचाउन पानीमा राखिन्छ।
नुनिलो पानी अर्थात् समुद्रमा ‘ओएस्टर’ मा बालुवाका कणले मोतीको उत्पादन हुने गर्छ। तर, नेपालमा भने समुद्र नरहेकाले सफा जलाशयमा मोती उत्पादन गर्न प्राविधिक टोलीले सिपीबाट नै ‘बिड’ बनाएको हो। बिड पछि गएर मोतीमा परिणत हुन्छ।
पोखरी, खोला, नहर लगायत ठाउँबाट सङ्कलन गरिएको सिपीलाई सफा गरी केही दिन सेतो बनाउन कृषि चुनमा डुबाइन्छ। त्यसपछि सिपीलाई धूलो बनाएर त्यसमा केमिकलको प्रयोगले ससाना डल्लो बनाइने गरेको हुसेन बताउँछन्।
डल्लोलाई काठ अथवा फलामका विभिन्न आकृतिका ‘मोल्ड’ को प्रयोग गरी सिपीको ‘मेन्टल केबीटी’ मा राखिन्छ। त्यसपछि सानो थैलीमा डोरीको सहायताले १२ देखि १८ महीनासम्म पोखरी, तालमा डुबाइन्छ।
अनुसन्धानका क्रममा त्यस्ता २०० थैली रुपा, फेवा र बेगनास तालमा राखिएका थिए। थैली राख्न पानी गहिरो हुनुपर्ने, भुइँ छुन नहुने र हरियो पानी चाहिने वैज्ञानिक हुसेन बताउँछन्।
सिपीको मुख्य आहारा पानीमा नै पाइने लेउ हो। यसबाहेक दाना पनि दिन सकिन्छ।
व्यावसायिक माछापालन गरिरहेका कृषकले पनि पोखरीमै सिपीबाट मोती उत्पादन गर्न सक्ने हुसेन बताउँछन्। यससँगै सिपी पालनको सम्भाव्यता अध्ययन गर्न थाइल्यान्डबाट ‘हिपग्रोसिस क्युमिन्जी’ प्रजातिका ३० वटा सिपी पनि केन्द्रमा ल्याइएका छन्।
मोतीको नेपालीकरण
संसारमा मोतीको उत्खनन हजारौं वर्षअघि भएको थियो। चीनमा राजघरानाका व्यक्तिलाई मोतीका गहना उपहार दिने चलन थियो। विशेषगरी महिलाका गरगहनामा प्रयोग हुने मोती प्राकृतिक रत्न हो।
जीवित जीवमा उत्पादन हुने भएकाले पनि बहुमूल्य रत्नका रूपमा लिइन्छ। आज पनि विश्वभर मोती उत्पादनमा चीन पहिलो नम्बरमा आउँछ। नेपालले भने विदेशबाट मोती आयात गर्छ।
मोतीको अवस्था, सुन्दरता र उत्पत्ति हेरेर विश्व बजारमा मूल्य निर्धारण हुन्छ। हाल पाँच हजारदेखि १० लाखसम्म मोतीको बजार मूल्य छ।
अनुसन्धान टोलीले मोतीलाई भगवान्का आकृतिमा ढालेको छ। बुद्ध, विष्णु, गणेश लगायत देवदेवीकाे आकृतिको ‘मोल्ड’ निर्माण गरिएको छ।
“नेपालमा जे बिक्छ त्यही गर्नुपर्यो,” वैज्ञानिक हुसेन भन्छन्, “भगवान्का आकारमा ढाल्दा मोती बिक्री हुने सम्भावना बढी हुने भएकाले मूर्तिकै आकारमा उत्पादन गरेका छौं।”
अन्यत्र भने बहुमूल्य मोती प्रायः गोलाकार रूपमा पाइन्छ। पोखरामा उत्पादित मोतीलाई फरकपन दिइएको हो।
थोरै लगानीमा उत्पादन
अनुसन्धानको सफलतासँगै अब व्यावसायिक रूपमा मोती उत्पादनका लागि सहज भएको मत्स्य केन्द्र प्रमुख हुसेन बताउँछन्। यस क्षेत्रमा माछापालन गर्ने कृषकले माछासँगै मोती उत्पादन गर्न सिपीको खेती गर्न सक्ने उनी बताउँछन्।
माछापालन गर्ने कृषकका लागि न्यून लगानीमा सिपीमा मोती उत्पादन गर्न सकिने भएकाले लाभकारी हुने उनको भनाइ छ। एउटै मोतीको दुई हजार रुपैयाँसम्म पर्ने बताउँदै उनी यसबाट कृषकको जीवनस्तर उकास्न सकिने बताउँछन्।
माछापालन गरिरहेका कृषकले खोला, पोखरी, तालबाट सिपी आफैं सङ्कलन गर्न सक्छन्। यसलाई खरीद पनि गर्न सकिन्छ। एउटा सिपीको ५० पैसादेखि एक रुपैयाँ मात्र पर्छ।
त्यसका लागि कृषि चुन, केमिकल, मोल्ड गरेर रु.४०० को हाराहारी मात्र लगानी हुने हुसेन बताउँछन्। “रु.४०० रुपैयाँको लगानीमा मोती उत्पादन गर्न सकिन्छ,” उनी भन्छन्, “जलीय कृषिमा व्यावसायिक ढङ्गले सिपीबाट मोतीको उत्पादन नेपालका लागि कोशेढुङ्गा सावित हुन्छ।”
यसका लागि किसानलाई तालीम दिन सकिने उनी बताउँछन्। “सिपीबाट मोती उत्पादन प्रक्रिया जटिल छैन, किसानले सजिलै सिक्न सक्छन्,” हुसेन भन्छन्, “सरकारले लगानी गर्यो भने हामीले नै किसानलाई तालीम दिन सक्छौं।”