सुन तस्करीमा अहिलेसम्म पाँच चिनियाँ सहित २१ जना पक्राउ
साढे ६० किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म पाँच चिनियाँ नागरिक सहित २१ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार थप चार जनालाई पक्राउ गरेको हो। योसँगै सुन तस्करीमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।
सीआईबीका अनुसार बुधबार चिनियाँ नागरिक टियान मी, वेन टोङ, डिङ सेङफा र ली नेङकाई पक्राउ परेका हुन्। यसअघि पक्राउ परेका व्यक्तिहरूसँगको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ। यसअघि चिनियाँ नागरिक लिन जेयाङ पक्राउ परेका थिए।
त्यस्तै, सुन तस्करी प्रकरणमा १५ जना नेपाली पनि पक्राउ परेका छन्। जसमा भन्सार अधिकृत सन्तोष चन्द र भन्सार अजेन्ट राजकुमार भुजेल पनि छन्। स्वास्थ्यमा समस्या देखिएपछि भन्सार अजेन्ट रूक्मिना सुब्बालाई तारेखमा छोडिएको छ।
त्रिभुवन विमानस्थलबाट सुन बोकेर ल्याएको ट्याक्सीका चालक अशोक लामा पनि पक्राउ परेका छन्। त्यस्तै, सरोज श्रेष्ठ, नरेश तामाङ, कृष्णकुमार श्रेष्ठ, राजनकुमार श्रेष्ठ, कुमार ढकाल, राजेन्द्रबहादुर राई, यादव पराजुली, सुदर्शन गौतम र हर्कराज राई पनि थुनामा छन्।
यसैगरी, भारतीय नागरिक थुप्तेन छिरिङ र बेल्जियमका नागरिक दावा छिरिङ पनि सुन तस्करीमा पक्राउ परेका छन्। दावा पक्राउ परेसँगै राजनीतिक ‘कनेक्सन’ तिर अनुसन्धान थालिएको छ। उनको विभिन्न नेतासँग उठबस भएको देखिएको छ।
साउन ३ गते हङकङबाट आएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएर बाहिर निस्किएपछि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो। स्कूटरको ‘ब्रेक शू प्याड’ मा लुकाएर ल्याइएको सुन गलाउँदा ६० किलो ७१६ ग्राम निस्केको छ।
अहिले यसबारे सीआईबीले अनुसन्धान गरिरहेको छ। सीआईबीले अनुसन्धान थालेपछि बुधबार चार जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको हो।