कहाँबाट किन भित्रिन्छ किलोका किलो अवैध सुन?
अवैध सुन बरामद भएपछि गरिने हरेक अनुसन्धानले राज्यका निकायले पत्तो नपाई अझ बढी सुन तस्करी हुने सङ्केत गर्छन्। नेपालमा यति धेरै परिमाणको सुन तस्करी कहाँबाट, कसले र किन गरिरहेका छन् त?
गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करीब १०० किलो अवैध सुन जफत गर्यो। त्यसपछि विभिन्न ठाउँमा छापा मार्दा भेटिएका वस्तुले सुन तस्करीको मात्रा ठूलो रहेको देखायो। टोखा, बालुवाटारमा सुन गाल्ने मशिन भेटियो भने सुन निकालिसकेको मोटरसाइकलको ‘ब्रेक प्याड’ पनि बरामद भयो। यसले अवैध सुन ठूलो मात्रामा नेपाल भित्रिने गरेको फेरि एक पटक पुष्टि गर्यो।
किलोका किलो सुन बरामद भएपछि गरिने हरेक अनुसन्धानले राज्यका निकायले पत्तो नपाई अझ बढी सुन तस्करी हुने सङ्केत गर्छ। यस्ता घटना सतहमा आएपछि केही समय तस्करहरूले यस्तो कारोबार स्थगन गर्छन् र सामसुम भएपछि दाउ हेरेर फेरि सञ्चालन गर्छन्। पञ्चायतकालदेखि नै यो चक्र अविच्छिन्न घुमिरहेको छ।
आखिर नेपालमा सुन तस्करी कहाँबाट, कसले र किन गरिरहेका छन् त?
कहाँबाट भित्रिन्छ?
पञ्चायतकालदेखि हालसम्म सार्वजनिक भएका तस्करीका घटनाहरू केलाउँदा नेपालमा सुन तस्करी हुने मुलुक हङकङ, चीन र यूएईको दुबई देखिन्छन्। हङकङ र दुबईबाट हवाईमार्गबाट सुन भित्रिन्छ भने चीनबाट स्थलमार्गबाट। हङकङबाट भित्रिने अवैध सुन कहिलकाहीं चीन छिराएर स्थलमार्ग हुँदै पनि भित्र्याइन्छ।
चीनबाट ल्याइने स्थलमार्गको रूट भने अक्सर अदलबदल भइरहन्छ। सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङ नाका अवैध रूपमा सुन भित्र्याइने चल्तीका रूट हुन्। गोरखा, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोला पनि अवैध सुन ओसारपसारमा प्रयोग भएको पाइन्छ। एकतिर सुरक्षा निगरानी बढाइनासाथ तस्करहरू अर्को नाकातिर सोझिने गर्छन्।
यसरी हवाई र स्थलमार्गबाट नेपाल ल्याइएको सुन भारतमा भने स्थलमार्गबाट पुर्याइने गरेको छ। कहिलेकाहीं आन्तरिक उडानबाट पनि सीमावर्ती क्षेत्रमा सुन पुर्याइन्छ। पछिल्लो चोटि २०७९ पुसमा दुबईबाट सुडानी नागरिकले ल्याएको सुन काठमाडौंदेखि विराटनगर जहाजबाट पनि ओसारपसार गरिएको खुलेको थियो। नेपाल ओरालेपछि सुन सुनौली, जोगबनी, काँकडभिट्टा, रक्सौल नाकाबाट भारत प्रवेश गराइन्छ। चल्तीका नाकामा कडाइ भए पनि खुला सीमा भएका कारण सुन सहजै भारत छिराइन्छ।
सुन खपत बढी हुने विवाह, चाडबाडको याममा भने नेपालमै पनि अवैध सुनको केही हिस्सा खपत हुन्छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका सल्लाहकार तेजरत्न शाक्य नेपालमा सिजनमा दैनिक ४० किलोसम्म सुन खपत हुन्छ। तर, वैधानिक तवरबाट नेपाल भित्रिने सुनको मात्रा दैनिक १० किलो मात्रै छ। “सिजनको वेला यो माग तस्करीको सुनबाट पनि आपूर्ति हुने गरेको छ,” उनी भन्छन्।
किन हुन्छ तस्करी?
तस्करी भएर भित्रिएको सुनको नेपाल खपत मुलुक नभई ट्रान्जिट मात्र हो, यदाकदा बाहेक। तर, सुन तस्करीमा नेपालीहरूको समेत संलग्नता हुने गरेको छ। तस्करीको सुनमा भारतीय, नेपाली सुन व्यापारीहरू नै संलग्न हुने गरेको तथ्य बारम्बार उजागर हुँदै आएका छन्। २०७१ सालदेखि सुन तस्करी संगठित तवरमा हुने गरेको भन्दै प्रहरीले संगठित अपराध निवारण ऐन अनुसार अनुसन्धान गर्न थाल्यो। संगठित अपराधको कसूरमा अभियोजन भए सम्पत्ति रोक्का हुने, सम्पत्ति शुद्धीकरणमा छुट्टै मुद्दा चल्ने गर्छ। जसले गर्दा कसूर ठहर भएको अवस्थामा कारबाहीको घनत्व बढी भएकाले सुन तस्करी निरुत्साहित हुने अपेक्षा थियो। तर, यो घट्नुका सट्टा पछिल्लो पटक त चिनियाँ नागरिक समेत यो गिरोहमा सामेल भएको देखिएको छ।
विभिन्न मुलुकका व्यापारी नै यो अवैध काममा आकर्षित हुनुको कारण हो, यसमा हुने उच्च मुनाफा। यस्तो मुनाफाको मात्रा पनि बढिरहेको जानकारहरू बताउँछन्। अन्य व्यवसाय र औद्योगिक लगानीबाट आम्दानी गर्न हम्मे परिरहेका वेला अवैध सुनमा गरिने लगानीबाट एक वर्षभित्रै शतप्रतिशत प्रतिफल पाउने भएपछि व्यवसायी त्यतै आकर्षित हुने गरेका छन्। सुन कारोबारसँग परिचित एक व्यवसायीका अनुसार २०५० को दशकमा उपलब्ध झिटीगुन्टा सुविधा अन्तर्गत भारतीय बजारमा अवैध सुन पुर्याउँदा बढीमा एक प्रतिशतसम्म नाफा हुन्थ्यो। अहिले त्यो दर १५ प्रतिशतसम्म पुगेको छ।
सुन तस्करी भएर आउने मुलक हङकङमा साउन २२ गते १० ग्राम सुनको मूल्य नेपाली रुपैयाँ ८२ हजार ३३५ छ। यति नै परिमाणको सुनको मूल्य दुबईमा ८४ हजार ३२४ रुपैयाँ छ। नेपालमा सोही दिन उक्त वजनको सुनको मोल ९६ हजार ३६५ रुपैयाँ छ। नेपालमा प्रति दश ग्राम सुन आयात गर्दा १५ प्रतिशत भन्सार तिर्नुपर्छ। यो दर अघिल्लो वर्ष १० प्रतिशत थियो। जस अनुसार सुन अवैध बाटोबाट ल्याए कम्तीमा पनि प्रति दश ग्राम १२ हजार मुनाफा हुन्छ। त्यो भनेको एक किलो सुन भन्सार छलेर ल्याउँदा १२ लाख रुपैयाँ फाइदा हुन्छ। “भन्सार दर बढाएसँगै तस्करीबाट हुने मुनाफा पनि बढ्यो,” शाक्य भन्छन्।
नेपाली व्यापारीले अवैध सुन भारत पुर्याउँदा साढे २ लाखसम्म नाफा हुने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०७३ मा गरेको अनुसन्धानबाट खुलेको तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले बताएका थिए। यही नाफाबाट उत्साहित भएर सुन कारोबारलाई लक्षित गरी पछि तिब्बती र नेपाली व्यापारीहरूको लगानीमा ल्हासा र खासामा सुन पसल नै खुलेका थिए।
भारत पुर्याएर हुने मुनाफाका अतिरिक्त पूँजी पलायनका लागि समेत सुनको तस्करी बढेको आशङ्का छ। नेपालले गर्ने वस्तु तथा सेवाको कुल आयातमध्ये दुईतिहाइ हिस्सा भारतबाट आउँछ। भारतबाट सामान आयात गर्दा न्यून मूल्याङ्कन गरेर भन्सार छल्ने र ब्यांकिङ च्यानलबाट पठाउन नसकिएको अपुग रकम सुनको तस्करी मार्फत भुक्तानी भइरहेको अनुमान छ।
भारतमा सुनको माग नेपालको भन्दा अझ बढी छ। त्यहाँ वार्षिक ९०० मेट्रिक टन खपत हुने र ३०० मेट्रिक टन तस्करी भएर भित्रिने गत ४ अप्रिलको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा उल्लेख छ। वर्ल्ड गोल्ड काउन्सिलका अनुसार भारतमा सुनमा लाग्ने करको दर बढाएसँगै तस्करी समेत बढेको छ। १५ प्रतिशत आयात कर र ३ प्रतिशत जीएसटी (वस्तु र सेवा कर) सहित १८ प्रतिशत कर लाग्छ। भारतमा अहिले प्रति दश ग्राम सुनको मूल्य ६० हजार भारु नाघेको छ। यससँगै गैरकानूनी बाटोबाट भारत भित्रिएको सुनमा हुने मुनाफा पनि २० प्रतिशतले बढेको टाइम्स अफ इन्डियाले लेखेको छ।
तस्करीमा को को?
सुन तस्करीमा व्यापारी मात्र छैनन्, राज्यका जिम्मेवार पदमा बसेकाहरूदेखि राजनीतिक दलका नेतासम्म यसमा जोडिन्छन्। राज्यका निकायमा बस्ने पदाधिकारीको सहयोग विना तस्करी असम्भव भएकाले तस्करीबाट प्राप्त हुने मुनाफाको अंश कर्मचारी, प्रहरी र राजनीतिक व्यक्तिसम्म पुग्ने गरेको पटक पटक खुलेको तथ्य हो। उच्चपदस्थ प्रहरी, कर्मचारी नै यदाकदा कारबाहीको दायरामा आउने गरेका छन्। २०७३ सालमा सीआईबीले दुबईबाट काठमाडौं ल्याइएको साढे ३३ किलो सुन तस्करीमा भन्सार र प्रहरी कर्मचारीको नेक्सस उधिनेको थियो। प्रहरीको डीआईजी तहका व्यक्ति नै तस्करीको आरोपमा थुनिएका थिए।
सुन तस्करीको शक्ति निर्वाचन र सरकार अदलीबदलीसम्म पुग्ने गरेको इतिहास छ। २०४३ सालमा साढे २२ किलो सुन सहित विमानस्थलमा पक्राउ परेका राष्ट्रिय पञ्चायत सदस्य (रापस) चन्द्रबहादुर बुढाले नजिकिंदै गरेको चुनावमा खर्च जोहो गर्न अवैध काम गरेको बयान दिएका थिए। त्यसै वर्ष अर्का रापस नरबहादुर गुरुङ पनि अवैध सुन सहित समातिएका थिए। २०४४ मा तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका अङ्गरक्षक कर्णेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरी महानिरीक्षक डीबी लामालाई सुन तस्करीको अभियोग लागेको थियो।
२०४० र ५० को दशकमा भारतीय बजारको अत्यधिक माग परिपूर्ति गर्न अवैध बाटोबाट सुन भित्र्याउने गरिन्थ्यो। तस्करहरूले नेपाली राजनीतिकर्मीदेखि बेरोजगार युवालाई सुन ओसार्न हङकङ लैजान्थे।
२०४६ सालको राजनीतिक परिवर्तनपछि पनि नेपाल सुन तस्करहरूका लागि गतिलो ट्रान्जिट बन्न छोडेन। कतिसम्म भने त्यति वेला विमानस्थलको बिजुली रातभर काटेर भए पनि सुन तस्करीका लागि अनुकूल वातावरण बनाइन्थ्यो। २०५१ देखि २०५६ सालसम्ममा पटक पटक भएका सरकार बनाउने–ढाल्ने खेलका लागि आर्थिक स्रोत जुटाउने प्रमुख माध्यम सुन तस्करी थियो, जुन कुरा राजस्व चुहावटको छानबिन सम्बन्धी संयुक्त संसदीय समितिले २०५६ मा तयार पारेको प्रतिवेदनले सार्वजनिक गरेको थियो। सुन तस्कर र राज्य संयन्त्रको साँठगाँठ उजागर गरेको प्रतिवेदनमा भनिएको छ, ‘सरकार बदली हुनासाथ कतिपय अर्थमन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीहरू तस्करी र भ्रष्टाचारमा संलग्न हुने प्रवृत्ति हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ।’
अहिले पनि सुन तस्करी राजनीतिक संरक्षणमै हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्। करीब १०० किलो सुन तस्करी आरोपमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङको सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरूसँग बलियो साइनो रहेको खुलिसकेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफू निकट व्यापारी दीपक मलहोत्राको नाम समेत यो प्रकरणमा जोडिएपछि आक्रोशित बनेका थिए।
गत पुसमा भएको तस्करीको सुन विमानस्थल कार्गोबाटै चोरिएपछि सीआईबीले गरेको अनुसन्धानले माओवादीका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल सुन पठाउने भूमिकामा देखिएको अभियोगपत्रमै उल्लेख छ। तर, महरा बाबुछोराको भूमिका किटान गरेको सीआईबीले मुद्दा दायर गर्दा भने उनीहरूलाई प्रतिवादी बनाएन। राजनीतिक तह ‘एक्सपोज’ हुने देखिएपछि अक्सर यस्ता अपराधको अनुसन्धान नै छिनालेर जोगाउने गरिन्छ।