आँखा पाक्ने रोग संक्रमणको कारक ‘इन्टेरो भाइरस’
देशभर देखिएको आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ बाट भएको पाइएको छ।
आँखा पाक्ने रोग भएका १० जनाको नमूना परीक्षण गर्दा ‘इन्टेरो भाइरस’ ले संक्रमण गराएको पुष्टि भएको हो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिबाट नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। उक्त नमूना परीक्षण गर्दा आठ जनाको नमूनामा ‘इन्टेरो भाइरस’ देखिएको हो।
प्रयोगशालाका निर्देशक रुणा झाका अनुसार अहिले अन्य ठाउँबाट नमूना ल्याइएको छैन। १० नमूनामा इन्टेरो भाइरसले संक्रमण गराएको देखिन्छ। “अब अन्य ठाउँको नमूना सङ्कलन गरेर थप परीक्षण गर्छौं,” निर्देशक झाले भनिन्।
एक वर्षअघि काठमाडौं उपत्यकामा विद्यालय जाने धेरै बालबालिकामा रुघाखोकी र ज्वरो जस्ता लक्षण देखिएर अस्पताल भर्ना भएका थिए। थप परीक्षण गर्दा उनीहरूमा समेत यही भाइरसको संक्रमण देखिएको थियो। इन्टेरो भाइरसले खासगरी रुघा, खोकी, ज्वरो, एलर्जी र शरीरका विभिन्न अङ्गमा संक्रमण गराउँछ।
यसको संक्रमण हुँदा आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ। कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायत समस्या पनि देखिएको छ।