देशभर फैलिंदै आँखा पाक्ने रोग, कसरी जोगिने?
वर्षा याम शुरू भएसँगै देशका विभिन्न जिल्लामा आँखा पाक्ने समस्या देखिएको छ। यसबाट कसरी जोगिने?
मन्टेसरीमा अक्षर सिक्दै गरेका हेटौंडा उपमहानगरपालिका-२ का चार वर्षीय रईश इटेनीलाई साथीसँग खेल्दै गर्दा आँखामा संक्रमण सर्यो। आँखा एक्कासि रातो भयो।
छोराको आँखा पाकेको भेउ नपाउँदै प्रतीक्षा न्यौपानेलाई पनि संक्रमण भयो। दुवैले आँखा जँचाए। संक्रमण भएको पत्ता लाग्यो।
एक सातापछि अहिले आमाछोरालाई निको हुँदै छ। “बाबुलाई सन्चो भयो, बरु म अझै पूर्ण रूपले कम्प्युटरतिर हेर्न सकिरहेकी छैन,” प्रतीक्षाले भनिन्।
आँखा पाकेका कारण दैनिक कामकाज गर्न समेत समस्या भएको उनले सुनाइन्। “आँखा पाक्दा मलाई त ज्वरो नै आयो,” प्रतीक्षाले भनिन्।
करीब १० दिनको कष्टकर दैनिकीपछि उनलाई सहज भएको छ। तर, पछिल्लो दुई सातायता मकवानपुरको हेटौंडामा आँखा पाक्ने संक्रमणका बिरामी एकाएक बढेका छन्। हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा साउन २१ मा मात्रै ७०० भन्दा बढी बिरामी आए।
अत्यधिक भीड बढेपछि अस्पतालले टोकन नै बन्द गर्यो। “अहिलेसम्मकै सबैभन्दा बढी टोकन तानियो। उपचार गर्न नभ्याइने गरी टोकन मात्रै दिएर भएन, अनि बन्द गर्यौं,” अस्पतालका कार्यक्रम संयोजक सुशील सिंहले भने।
यससँगै नियमित उपचारमा आउने बिरामीलाई केही दिन नआउन अस्पतालले सूचना टाँसेर आह्वान गरेको छ। “अन्य समस्या भएका बिरामीलाई नै फेरि आँखा पाक्ने संक्रमण सर्ने डर हुन्छ, त्यसैले पनि अत्यावश्यक छैन भने नआउँदा हुन्छ,” सिंहले भने।
अहिले आँखाको संक्रमण हुनेमा सबैभन्दा बढी विद्यालय जाने उमेरका बालबालिका छन्। पछिल्लो दुई सातामै हेटौंडाको सामुदायिक आँखा अस्पतालमा दुई हजारभन्दा बढीले उपचार गरेका छन्। यही गतिमा बिरामी आए तीन-चार दिनमै औषधि सकिने अस्पतालले जनाएको छ। अझ वीरगञ्जको आँखा अस्पतालले औषधि सकिएपछि आफूहरूसँग माग गरेको सिंहले बताए।
एक साताअघि केही जिल्लामा मात्रै देखिएको आँखा पाक्ने रोग अहिले भने देशभर नै फैलिएको छ। विद्यार्थीमा समस्या देखिन थालेपछि कतिपय स्थानीय तहले विद्यालय नै बन्द गरेका छन्।
चिकित्सकहरूका अनुसार मौसम परिवर्तनसँगै वर्षातको समयमा आँखा रातो हुने समस्या देखिने गरेको छ। अहिले विद्यार्थी, शिक्षक, ब्यांंक तथा वित्तीय संस्थाका कर्मचारी तथा ग्राहकमा यस्तो समस्या धेरै देखिएको छ।
मौसम परिवर्तनका कारण आँखा पाक्ने रोग अर्थात् ‘भाइरल कन्जक्टिभाइटिस’ देखिएको संयोजक सिंहले बताए। उनका अनुसार एलर्जिक ब्याक्टेरिया र भाइरसका कारण यो रोग लाग्छ।
आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु एक हो। यदि कसैको आँखा पाकेमा वा रातो भएमा सामान्य समस्या ठान्न नहुने स्वास्थ्यकर्मी बताउँछन्।
लक्षणहरू:
- एक्कासि एउटा वा दुवै आँखा रातो हुने,
- आँखा धेरै चिलाउने तथा टाँसिने,
- आँखाबाट बारम्बार पानी बगिरहने,
- कचेरा लाग्ने तथा टाँसिने,
- आँसु बगिरहने,
- आँखा सुन्निने,
- घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देखिने।
आँखा पाकेपछि के गर्ने?
- साबुनपानीले राम्ररी हात धुने,
- आँखा सफा राख्ने,
- आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय समयमा सफा गर्ने र त्यसपछि राम्ररी साबुनपानीले हात धुने,
- फोहोर कपडा वा लगाइरहेको लुगा, सारीको आँचल वा हातले आँखा नपुछ्ने,
- दिनदिनै लुगा र प्रयोग गरेको रुमाल फेर्ने,
- आँखामा लगाउने शृङ्गार सामग्रीको प्रयोग बन्द गर्ने,
- अरूका लुगा, रुमाल र शृङ्गारको उपकरण प्रयोग नगर्ने,
- आफूखुशी औषधि प्रयोग नगर्ने र आँखा विशेषज्ञलाई देखाउने,
- आँखा बेस्सरी नमिच्ने। यसो गर्दा कर्नियामा घाउ हुन सक्छ, कहिलेकाहीं आँखा पाक्ने मात्रै नभई अरू रोग जस्तैः युभेटिसले गर्दा पनि आँखा रातो हुन्छ, जुन उचित समयमा उपचार नगरिएको आँखाको ज्योति गुम्ने खतरा हुन्छ।
- संक्रमितसँग नसुत्ने, भीडभाड हुने ठाउँमा नजाने,
- सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने,
- कालो चश्माको प्रयोग गर्ने,
- स्कूल, कलेज लगायत भीडभाड हुने स्थानमा नजाने।
कसरी गर्ने घरमै हेरचाह?
यो रोग लागेमा घरमै पनि आँखाको स्याहार गर्न सकिन्छ। जसले गर्दा एक-दुई सातामै आफैं निको हुन्छ।
- आँखा बरफले सेक्ने,
- सफा पानीले सफा गर्ने,
- घरमा बस्दा वा बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने,
- संक्रमित आँखालाई छोएपछि राम्ररी हात धुने,
- आँखालाई नचलाउने,
- अरूले प्रयोग गरेका रुमाल–तौलिया प्रयोग नगर्ने,
- आफूखुशी औषधिको प्रयोग नगर्ने,
- गाह्रो भएमा तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा जाने।