कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ
नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार सांसद शर्मालाई पक्राउ गरेको हो। काठमाडौंको गोल्फुटारस्थित निवासबाटै उनलाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ।
चिकित्सा क्षेत्रका विवादित व्यवसायी शर्मा गत मंसीरमा सम्पन्न निर्वाचनमा मोरङ-३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। उनी मेडिकल कलेजको सम्बन्धन, सीट निर्धारण र शिक्षण शुल्कका विषयमा विवादमा आइरहेका व्यक्ति हुन्।
उनी विरुद्ध यसअघि २०७३ सालमा पनि पक्राउ पूर्जी जारी भएको थियो। सीआईबीको अनुसन्धानमा डा. शर्माले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गरेको देखिएको थियो।
सीआईबीले पक्राउ गर्न प्रमाण जुटाएको सुइँको पाएपछि उनी जापान उडेका थिए। त्यसको केही महीनापछि नेतृत्वमा पुग्न प्रहरी अधिकारीबीच हानथाप चल्दा उनी जोगिएका थिए।
त्यति वेला सीआईबीको नेतृत्व गरेका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले हिमालखबरसँगको कुराकानीमा डा. शर्माले गलत अभ्यास गरेको भेटिएको बताएका थिए। “कागजातबाट शर्माले गलत अभ्यास गरिरहेको देखिएको थियो,” सिलवालले भनेका थिए, “पक्राउको तयारी गर्दागर्दै म सेवाबाट बाहिरिने अवस्था आयो। अनि के भयो, मलाई थाहा छैन।”
उनलाई त्यही नक्कली शैक्षिक प्रमाणपत्रमा पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ। “२०७३ सालमै पक्राउ पुर्जी जारी भएको थियो, त्यसकै आधारमा पक्राउ गरिएको हो,” सीआईबी स्रोतले भन्यो।