सर्वसाधारणबाट तीन अर्ब ४५ करोड उठाइसकेपछि घोराही सिमेन्टको क्रेडिट रेटिङ खारेज
स्वार्थ बाझिने आपसी सम्बन्धबारे छानबिन टुङ्गोमा नपुग्दै केयर रेटिङ्सले घोराही सिमेन्टको क्रेडिट रेटिङ रद्द गर्ने भएको छ।
केयरको क्रेडिट रेटिङका आधारमा घोराही सिमेन्टले सर्वसाधारणलाई शेयर बेचेर रकम उठाइसकेपछि अब क्रेडिट रेटिङ खारेज गरिन लागेको हो। केयर रेटिङ्सले घोराही सिमेन्टको यसअघिको प्राथमिक शेयर निष्कासन र ब्यांक ऋणसँग सम्बन्धित क्रेडिट रेटिङलाई फिर्ता लिने सूचना जारी गरेको छ।
केयर रेटिङ्सले यसअघि गरेको क्रेडिट रेटिङका आधारमा घोराही सिमेन्टले प्राथमिक शेयर निष्कासन गरेर सर्वसाधारणसँग तीन अर्ब ४५ करोड रुपैयाँ सङ्कलन गरिसकेको छ। यसरी गरिएको क्रेडिट रेटिङमा स्वार्थको द्वन्द्व भएको विज्ञप्ति निकालेर नियामक नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्राथमिक शेयर निष्कासनको प्रक्रिया नै दुई साता रोकिदिएको थियो।
तर, अनुसन्धान टुङ्गोमा नपुग्दै असार २० मा फेरि प्राथमिक शेयर निष्कासनको प्रक्रियालाई खोलिदिएको थियो। त्यति वेला हिमालखबरसँगको कुराकानीमा धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले स्वार्थको द्वन्द्व भएको विषयमा छानबिन जारी रहेको बताएका थिए।
बोर्डले यो अनुसन्धान कहाँ पुर्यायो भन्ने सार्वजनिक जानकारी दिएको छैन। बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले छानबिन गर्न गठित उपसमितिले काम गरिरहेको सूचना मात्रै आफूसँग भएको र त्यसबाहेकको जानकारी नभएको बताए।
केयर रेटिङ्सले क्रेडिट रेटिङ रद्द गर्ने प्रक्रिया शुरू गर्नुअघि नै घोराही सिमेन्टले अर्को क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सबाट क्रेडिट रेटिङ गराइसकेको छ। इन्फोमेरिक्सका अनुसार साउन ५ मै घोराही सिमेन्टको क्रेडिट रेटिङ जारी गरेको थियो। यसले क्रेडिट रेटिङमा भइरहेको जालझेलको सङ्केत गर्छ।
शेयर निष्कासनकर्ता वा ऋण लिन चाहने कम्पनीको साख मूल्याङ्कन गरी उक्त कम्पनीमा शेयर वा ऋण लगानीको जोखिमबारे देखाइने साङ्केतिक सूचकाङ्क क्रेडिट रेटिङले कम्पनीको वित्तीय हैसियतलाई खुलस्त पारिदिने हुँदा यो निकै महत्त्वपूर्ण हुन्छ। क्रेडिट रेटिङ यथार्थ भएन वा जालझेल गरियो भने सर्वसाधारण सूचनाको पासोमा पर्ने जोखिम हुन्छ।
घोराही सिमेन्टमा केयर रेटिङ्सले गरेको क्रेडिट रेटिङ सोझै कानून विपरीत देखिएको छ। क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३४ मा ‘क्रेडिट रेटिङ संस्थाले आफ्नो मुख्य शेयरधनी वा मुख्य शेयरधनी कुनै कम्पनीमा आधारभूत शेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ गर्न नपाउने’ व्यवस्था छ। केयर रेटिङ्स नेपालमा विशाल समूह र यसका सदस्यको कम्तीमा १९ प्रतिशत सीधै र थप घुमाउरो लगानी छ।
केयर रेटिङ्सले क्रेडिट रेटिङ गरेको घोराही सिमेन्टमा पनि विशाल समूहका सदस्यको कम्तीमा २१.३४ प्रतिशत शेयर लगानी छ। यसले आपसमा सम्बद्ध कम्पनीको क्रेडिट रेटिङ गरी कानूनको बर्खिलाप हुने काम गरेको देखिएको छ।
केयर रेटिङ्स नेपालले शुरूआतदेखि नै आफ्ना मुख्य शेयरधनी विशाल समूहसँग सम्बद्ध कम्पनीको क्रेडिट रेटिङ गर्दै आएको छ। रेटिङको वैधतामा प्रश्न उठेपछि भने केयर रेटिङ्सले गत महीना विशाल समूह सम्बद्ध एक दर्जन कम्पनीको क्रेडिट रेटिङ रद्द गरेको छ। कानून मिचेकोमा दण्डित हुनबाट बच्न यस्तो जालझेल गरिएको अनुमान छ। विशाल समूह सम्बद्ध कम्पनीको विषयमा यसअघि गरिएका क्रेडिट रेटिङ सीधै कानून विपरीत ठहरिन सक्ने देखिएपछि केयर रेटिङ्सले आफ्नो मूल्याङ्कनलाई फिर्ता लिएको हो।
विशाल समूह सम्बद्ध युनाइटेड डिस्ट्रिब्युटर्स, मैनावत्ती स्टील, कमला रोलिङ मिल्स, एनआईसी एशिया ब्यांक, भीजी अटोमोबाइल्स, ग्लोबल ट्रेडिङ कन्सर्न, यती ब्रुअरी, एड्भान्स अटोमोबाइल्सको क्रेडिट रेटिङ फिर्ता लिइसकिएको छ। त्यसैगरी, ग्रीन भेन्चर्स तथा पारामाउन्ट मोटर्सको क्रेडिट रेटिङ्स फिर्ता लिने प्रक्रिया शुरू गरिएको छ।
केयर रेटिङ्सले घोराही सिमेन्टको रेटिङ रद्द गरेर कानूनी कारबाहीबाट उम्किन खोजे पनि रद्दको प्रक्रिया आफैंमा कानून विपरीत छ। क्रेडिट रेटिङ नियमावलीको नियम २३ को उपनियम (२) ले रेटिङ गरिएको धितोपत्रको निष्कासनकर्ता कम्पनी खारेज भएकोमा बाहेक अन्य अवस्थामा क्रेडिट रेटिङ संस्थाले रेटिङ कायम रहने गरी निश्चित गरिएको अवधि बाँकी रहेसम्म रेटिङ फिर्ता लिन पाउनेछैन भन्ने व्यवस्था गरेको छ।
क्रेडिट रेटिङ गरिएको कम्पनीको आग्रह अनुसार रेटिङ फिर्ता लिने व्यवस्था नियमावलीमा छैन। तर, केयर रेटिङ्सले भने घोराही सिमेन्टको आग्रह अनुसार रेटिङ फिर्ता गरिएको जनाएको छ।