एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
नेकपा (एमाले)का सांसदले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक आज पनि स्थगन भएको छ।
बुधबार प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै एमाले सांसदले विरोध जनाएका हुन्। उनीहरूले करीब १०० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै आएका छन्।
सभामुख देवराज घिमिरले प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न खोजेपछि एमाले सांसद रोस्टम घेराउ गर्न पुगेका थिए। उनीहरूले नाराबाजी गर्न थालेपछि सभामुख घिमिरले आजको बैठक स्थगन भएको घोषणा गरे। प्रतिनिधि सभाको अर्को बैठक साउन २६ गते दिउँसो १ बजे बोलाइएको छ।
एमालेको अवरोधका कारण संसद् बैठक लगातार अवरुद्ध हुँदै आएको छ। एमाले सांसदले उच्चस्तरीय छानबिन समित गठन गर्न माग गरिरहेका छन् भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नपर्ने सरकारको धारणा छ।
हङकङबाट आएको करीब १०० किलो सुन साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएर निस्केपछि राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो। यसमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन्। विभागले थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको छ।