अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या : नेपाल नेत्रज्योति संघ
“यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरूले नआत्तिई सावधानी अपनाउनुपर्छ। यस्ता बिरामीको आँखामा हेर्दैमा सर्दैन, बिरामीको आँखाबाट आएको आँसु मिसिएको वस्तु तथा सामानहरूको प्रयोगबाट मात्र यो रोग सर्न सक्छ।”
अहिले देशैभरि आँखा पाक्ने समस्या (कन्जंक्टिभाइटिस) फैलिएको छ। देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको चाप पनि बढिरहेको छ।
नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार आँखा अस्पतालहरूमा आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा कन्जंक्टिभाइटिसको समस्या देखिएको छ।
“शुरूआतमा भारतको सीमावर्ती क्षेत्रहरूमा मात्र कन्जंक्टिभाइटिसको समस्या देखिएको थियो। अहिले देशैभरि यो समस्या फैलिरहेको छ। हाम्रो नेटवर्कका सबै अस्पतालहरूको सोमबारसम्मको डेटा हेर्ने हो भने दैनिक आँखा जाँच गराउने बिरामीमध्ये ५० प्रतिशतमा कन्जंक्टिभाइटिसको समस्या देखिएको छ,” उनले भने।
संघको तथ्यांक अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा मात्रै करीब ८० प्रतिशत बिरामी आँखा पाक्ने समस्या लिएर आउने गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत देशका विभिन्न जिल्लामा भाइरल कन्जंक्टिभाइटिस देखिएकोले सतर्क रहन सुझाव दिएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार कन्जंक्टिभाइटिस घरमै स्याहार गरे एकदेखि दुई हप्तामा आफैं निको हुन्छ। उनले स्वास्थ्यकर्मीको सल्लाह विना जथाभावी औषधि प्रयोग नगर्न पनि सुझाव दिए।
दृष्टि कम हुने लगायत आँखा सम्बन्धी समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।
चिकित्सकका अनुसार भाइरल कन्जंक्टिभाइटिसले आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने/दुख्ने र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने लक्षण देखिन्छ।
हरेक वर्ष बर्खामा आँखा पाक्ने समस्या देखिने गरेको भए पनि यस पटक यो समस्या प्रकोपकै रूपमा फैलिइरहेको छ। भाइरल कन्जंक्टिभाइटिस सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। त्यसैले रोकथामका भनेको संक्रमित व्यक्तिसँग सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भीडभाडबाट बच्नुपर्छ।
यस्तै संक्रमितले प्रयोग गरेका सामान जस्तै तौलिया, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने जथाभावी आँखा नछुने र आँखा छुनुपरेमा छुनुअघि वा छोइसकेपछि साबुनपानीले मिचीमिची राम्रोसँग हात धुनपर्छ।
नेपाल नेत्रज्योति संघको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा. डा. ज्ञानेन्द्र लामिछाने भन्छन्, “यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरूले नआत्तिई सावधानी अपनाउनुपर्छ। यस्ता बिरामीको आँखामा हेर्दैमा सर्दैन, बिरामीको आँखाबाट आएको आँसु मिसिएको वस्तु तथा सामानहरूको प्रयोगबाट मात्र यो रोग सर्न सक्छ।”