पृथ्वीनारायणले लिम्बूहरूलाई दिएका लालमोहर
पृथ्वीनारायण शाहले पूर्वका लिम्बूहरूको नाममा १८३१ सालमा जारी गरेका अधिकांश लालमोहरका सक्कल भेटिएका छैनन्, भेटिएका कागजात पनि नक्कल उतार गर्दा व्यहोरा फरक फरक देखिन्छन्।
अर्जुनबाबु माबुहाङ
राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले १८३१ साउन २२ मा पूर्वका लिम्बूहरूलाई लालमोहर दिएका थिए। तर, ती लालमोहरका सक्कल प्रति पाइएका छैनन्। २०२१ सालमा भूमिसुधार कार्यक्रम लागू गरिएपछि कर्मचारीहरू मार्फत लिम्बूहरूबाट लालमोहर फिर्ता गराउने अभियान नै चल्यो। किनकि भूमिसुधार लागू गराउन ती कागजातले अप्ठेरो पार्थे। थोरै किपटिया लिम्बूहरूले मात्र कागज लुकाउन सके। किपटिया सुब्बाहरू माल, गौंडामा ठेक्का थितिको तिरो तिर्न जाँदा कागजात लिएर जान्थे र कागजात बन्धकी राखेर घरायसी खर्च टार्थे। केही सक्कल कागजात भने लिम्बूवानमा बचेको पाइन्छ।
लालमोहर भनेको राजाको शासनमा राजाले पठाउने आदेशपत्रमा लगाइने रातो रङको छाप हो। यस्तो छाप लागेको कागजलाई पनि लालमोहर नै भनिन्छ। लालमोहरमा रातो मोहरमा थोप्ला थोप्ला गोलाइमा नागका बुट्टा कुँदिएको, बीचमा ‘श्री दुर्गा’ लेखिएको, त्यसदेखि मुनि खड्ग तेर्स्याइएको र त्यसदेखि मुनि ‘भवानी’ लेखिएको पाइन्छ। पत्रहरूका छापमा परेका देउताका नाम, मठमन्दिर, हातहतियारले उतिवेलाको शासक र जातिको आस्था र शौर्य प्रतिविम्बित गर्छ।
हालै लिम्बू जातिका इतिहास अध्येता लक्ष्मण लावतीले पाँचथरको अम्लाबुङका हर्कबहादुर आङदेम्बेको घरमा पृथ्वीनारायणले पुनि राय लिम्बूलाई लालमोहर दिएको सक्कल कागज फेला पारेका छन्। पत्रमा सिरिङ लिम्बूलाई सुन र मोतीका हार, हात्तीका दाँत दिएर फकाई गोर्खालीको पक्षमा ल्याउन कालपुरी गोसाइलाई दरबारबाट खटाइएको देखिन्छ। कामदत्त सेनको मृत्यु भएको लेखिएको छ। कामदत्तपछि विजयपुर राज्यको राजकाज हेर्ने गरी सिरिङलाई राजा थाप्ने शर्त पनि पत्रमा खुलेको छ। पत्रमा लालमोहर छाप उडे पनि मोहर र खड्गको डोब स्पष्ट देखिन्छ। पत्रमा मिति छैन, तिथि र स्थान चाहिं ‘माघ सुदी ४ रोज ३ मुकाम कान्तिपुर शुभम्’ लेखिएको छ।
पुनि राय लिम्बूको नाममा जारी भएको लालमोहर।
योगी नरहरिनाथको पुस्तक इतिहास प्रकाशमा सन्धिपत्रसंग्रह (२०२२ साल)को पृष्ठ १८७ मा पृथ्वीनारायण शाहले १८३१ आश्विन वदि ३० रोज ४ मा काठमाडौंबाट पूर्व खटिएका अभिमानसिं, पारथ भण्डारी, कीर्तिसिं खवास, बली बानियाँहरूलाई लेखेको पत्र छापिएको छ। पत्रमा ‘...श्रृंग्याका सुवाले मान्न आयाको इसलिम्बा च्याङथापुसम्म जति हाम्रो फौज पुग्यो...’ भन्ने उल्लेख छ। उतिवेला गोर्खालीहरू सिक्किम कब्जा गर्न पाँचथर च्याङथापुको शिर फालेलुङसँग जोडिएको इसलिम्बा पुगेका थिए। उति नै वेला सिरिङ लिम्बू गोर्खालीसँग मिल्न पुगेको समाचारबारे पृथ्वीनारायणले पत्रमा ‘श्रृंग्याका सुवाले मान्न आएको’ लेखेका हुन्। त्यसैले कालपुरी गोसाइ खटाएर पुनि राय मार्फत सिरिङ लिम्बूलाई लेखिएको माथि उल्लिखित मिति नभएको पत्र १८३० माघ ४ गतेको हो, १८३१ सालको होइन। किनभने १८३१ सालमा त माघ १ गते नै पृथ्वीनारायणको निधन भइसकेको थियो।
पुनि राय हाल पाँचथरका अम्लाबुङ, आङसराङमा रहेका आङदेम्बे पापो लिम्बूहरूका पुर्खा हुन्। सिरिङ लिम्बू हाल ताप्लेजुङ जिल्लाका मिवाखोला भेगका सान्धुङेगेका सन्तान हुन्। नाल्बो, चोङ्बाङ, साम्याङखाम, केदेम, हाङ्गम, लङ्वा लगायतका नाम, थर भएका लिम्बूहरू सिरेङ वंशी भनेर चिनिन्छन्। उनीहरूको उत्पत्ति थलो तोक्पेगोला, मिवाखोलाको शिर सिङ्सादेन हो। त्यहाँ जौ खेती गरिन्थ्यो। जौलाई लिम्बू भाषामा ‘सि’ भनिन्छ। जौ फाँड्नुलाई लिम्बू भाषामा ‘सिलेङ’ भनिन्छ। यही शब्द अपभ्रंश भई ‘सिरेङ’ भएको हो। लिम्बू भाषामा ‘ल’ र ‘र’ उस्तै ध्वनि मानिन्छ।
१८३१ का तीन लालमोहर
पृथ्वीनारायण शाहले १८३१ सालमा मात्रै लिम्बूहरूलाई तीन वटा लालमोहर दिएको देखिन्छ। सुब्बा प्रेमबहादुर माबोहाङ र भूपेन्द्रनाथ शर्मा ढुंगेल लिखित पुस्तक संक्षिप्त नेपाल इतिहास (२०११/२०४७ साल)को पृष्ठ २२४ मा १८३१ वैशाख वदि ३० मा पृथ्वीनारायणले श्री जङ राय, श्री फुङ राय, श्री जमुन रायका नाममा लालमोहर जारी गरेको लेखिएको छ। उक्त लालमोहरको सक्कल भेटिएको छैन। यस्तै, पृथ्वीनारायणले १८३१ श्रावण सुदि २२ मा श्री सुन राय, श्री कुम राय, श्री जङ रायका नाममा लालमोहर गरिदिएको पाइएको छ। यो लालमोहर चाहिं सक्कलको नक्कल गरिएको अनुमान हुन्छ। लालमोहर बेलायतमा बसोबास गर्दै आएका धरानका जयकुमार केरुङकोमा फेला परेको हो। यो लालमोहर पत्र मेरो पुस्तक लिम्बूवान् (२०६३ साल)को आवरणमा छापिएको छ।
यो लालमोहरको व्यहोरा इमानसिंह चेम्जोङ (हिस्ट्री एन्ड कल्चर अफ द किरात पिपल, सन् १९६७) र शिवकुमार श्रेष्ठ (लिम्बुवानको ऐतिहासिक अध्ययन, २०४२ साल)ले पाँचथरका नन्दकुमार केरुङलाई स्रोतव्यक्ति राखेर छापेका छन्। पृथ्वीनारायणले नै १८३१ भाद्र वदि ५ रोज ६ मा कान्तिपुरबाट श्री नन्द राय र श्री जमुन रायलाई गरिदिएको लालमोहरको व्यहोरा श्रेष्ठले लिम्बुवानको ऐतिहासिक अध्ययनको पृष्ठ १२२–१२३ मा छापेका छन्। स्रोतव्यक्ति 'भूपू गभर्नर ललितबहादुर तुम्बाहाङ्फे, तेह्रथुम' उल्लेख छ। राणा विरोधी आन्दोलनको समयमा नेपाली कांग्रेसले धनकुटाको घुमाउने चौतारामा जनसरकार घोषणा गरेर ललितबहादुरलाई गभर्नर बनाएको थियो। उनी नेकपा एमालेका नेता विजय सुब्बा र पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेका पिता हुन्।
यी लालमोहरमध्ये १८३१ श्रावण २२ को सक्कल बमोजिमका नक्कल र नक्कलको उतारमा एकरूपता छैन। छाप, व्यहोरा, मिति र तिथि पनि फरक पाइएका छन्। लिम्बूहरूले नै सक्कल बमोजिम नक्कल उतारेको १८३१ श्रावण सुदी २२ को लालमोहर छापको उतार गरिएको छ। मोहरको नक्कलमा लेखिएका ‘दुर्गा’, ‘भवानी’ र खड्गको छाप स्पष्ट देखिंदैन। श्रावण शुदि २२ कै लालमोहरको उतार पुरातत्त्व विभागको मुखपत्र प्राचीन नेपाल (२०४२ भदौ–असोज)को नेपाली खण्डभित्र पृष्ठ २२ मा छापिएको छ, जसको शिरमा ‘श्री पशुपति’, ‘श्री राम’ र ‘श्री नायव’ लेखिएको छ।
१८३१ साउन २२ को लालमोहर।
राष्ट्रिय अभिलेखालयले इलामको प्याङ (माईजोगमाई गाउँपालिका)का देवीप्रसाद मिङदोङ (लिङदम?)लाई स्रोतव्यक्ति राखेर संगृहीत गरेको १८३१ सालकै कागजको नक्कलको नक्कल उतार भएको लिखतको शिरमा पृथ्वीनारायण शाहको स्तुति गाइँदै ‘स्वस्ति श्री महाराजधिराज ताँबापत्रीका...’ लेखिएको छ। राष्ट्रिय अभिलेखालयले इलाम (जमुना, सन्दकपुर गाउँपालिका)का कहरसिंह लिम्बूलाई स्रोतव्यक्ति राखेर संगृहीत गरेको १८३१ कै अर्को कागजमा ‘लिम्बुवान खम्बुवान हाम्रो भयो’ लेखिएको छ। यसरी १८३१ कै कागजातका व्यहोरा पनि फरक फरक छन्।
कहरसिंहलाई स्रोतव्यक्ति राखेर अभिलेखालयले संग्रह गरेको १८३१ सालको नक्कलको नक्कल उतार गरिएको कागजमा ‘श्रावण सुदी १ रोज २ मुकाम कान्तिपुर शुभम्’ लेखिएको छ। यो पत्रको नक्कल इतिहासकार ज्ञानमणि नेपालले नेपाल-सुखिम सम्बन्ध (२०४१ साल) को पृष्ठ ५९ मा पनि छापेका छन्। किरात याक्थुङ चुम्लुङद्वारा प्रकाशित स्मृतिग्रन्थ इमानसिंह चेम्जोङ व्यक्तित्व र कृतित्वको पृष्ठ २७ मा श्रावण शुदि २२ नहुुने धारणा इतिहासकार दिनेशराज पन्तले राखेका छन्।
लालमोहरधारी कसका पुर्खा?
१८३१ सालका लालमोहरवाला लिम्बूहरू आजका कुन कुन थरी लिम्बूका पुर्खा हुन्, खोजको विषय हो। श्री जङ राय तेह्रथुम-धनकुटाका इङनाम, इवा थरीका पापो लिम्बूहरूका पुर्खा देखिन्छन्। इङ्नाम-इवाहाङ पापो लिम्बू वंशावली पुस्तक (२०५४ साल)को पृष्ठ १३२-१३४ मा श्री जङ राय र गोर्खालीको युद्धबारे अनुसन्धानमूलक लेख पाइन्छ। गोर्खालीतिरै लागेका श्री जङ रायलाई गोर्खालीले नै मार्न लागेपछि बाँचेका घटनालाई लिएर हिङदेन/हिउँदिया खोला, हाङहाङ्मा फुक्कु/ह्वाकु जस्ता ठाउँहरूको भाष्य बनेको पाइन्छ। ह्वाकु, निगुरादेन, फुगङ्वा वारिपारि पाँचथरको अमरपुर, पञ्चमीमा गोर्खा भोटे र लिम्बूबीच लडाइँ भएको ब्रायन हज्सनको पाण्डुलिपिमा भेटिन्छ। केही समयअघि इतिहासकार भगिराज इङ्नामले धनकुटा, बुढीमोरङका देव इवाहाङकहाँ कामदत्त सेनले इवाहरूका पुर्खा महश्रावुहाङलाई दिएको स्याहामोहर फेला पारेका थिए। उक्त स्याहामोहर उनले लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (२०७७ साल) को पृष्ठ ४०-४१ मा छापेका छन्।
हाल धरानमा बसोबास गर्दै आएका समाजसेवी केबी इवाहाङ र सुरत इवाहाङसँग भएको इवा वंशावलीको टिपोटमा १३औं पुस्तामा थिक्पुलुङदेखि मोहोश्राम्वको नाम छ। उनैको नाम स्याहामोहरमा महश्रावुहाङ लेखिएको हो। सेनसँगै राजनीतिक सम्बन्धमा रहेका लिम्बू, सुब्बाहरूलाई नै पृथ्वीनारायणले फकाएर लालमोहर दिएको देखिन्छ। यस्ता सुब्बाहरूमा तेह्रथुमका आठराई, छथर, धनकुटाको चौबीस र पाँचथरका भेटिन्छन्। श्री फुङ रायलाई विजयपुरका चौतारिया बुधिकर्ण रायले १८२८ सालमा धनकुटाको चौबीस, लेटाङ (मोरङ)मा जागीर दिएका थिए। उनी चेम्जोङ थरका लिम्बू हुन सक्ने अनुमान गर्न सकिन्छ। उनका पुर्खा चेम्वुचा (चेम्जोङ), चमेजेंग (चेम्जोङ) को नाम विसं १८०८ र १७६३ का स्याहामोहरहरूमा परेका छन्। उनै फुङ्मा रायको सेन कालदेखि खाइपाइ आएको अधिकार पृथ्वीनारायणले पनि थामिदिएका हुन्।
श्री जमुन रायबारे त्यस्ता पत्रहरू खुलेको पाइएको छैन। अम्बिकाप्रसाद आङ्देम्बेको सङ्कलनमा प्रकाशित लिम्बूको संक्षिप्त इतिहास तथा आङ्देम्बे वंशावली (२०६६ साल)को पृष्ठ १८२ मा बुधिकर्ण रायले दिएको स्याहामोहरमा देवपति राय, सुनासिंह राय, पुन्य राय, जमुन्दर राय, खेम्नु राय लगायत नाम छन्। जमुन्दर राय नै जमुन राय हुन सक्छन्। यिनी आङ्देम्बे लिम्बूहरूका पुर्खा हुन् कि? सोही कागजमा नाम उल्लेख भएका सुनासिंह राय पनि श्री सुन राय हुन सक्छन्। इमानसिंह चेम्जोङ (ऐजन, पृष्ठ ११८)ले श्री सुन रायलाई कामदत्त सेनका चेम्जोङ थरी लिम्बूका मन्त्री सामो राय नै सुन राय भनेका छन्। माथि चर्चा गरिएको पुनि रायको कागजमा ‘... पृथ्वीनारायण शाहले हाम्रा पुर्खा कुम रायलाई बक्क (स)...’ जस्ता वाक्यहरू परेकाले श्री कुम राय आङ्देम्बे पापो लिम्बूका पुर्खा ठहरिन्छन्। उनको नाममा धेरै वटा स्याहामोहर जारी भएका छन्।
श्री नन्द राय चाहिं कुन थरीका लिम्बूका पुर्खा हुन्, खुट्याउन गाह्रो छ। १८६९ सालको कस्य रुक्का (आदेशपत्र) मा ‘...आगे छथर्या श्री नन्द राय मजदिन राय बाजवर्ण राय फौदसिं राय लिंसु राय गुन्जा राय...’ भनेर उल्लेख भएकाले छथरका खेवा लिम्बू हुन् कि भन्ने अनुमान गर्न सकिन्छ।
लालमोहरको व्यहोरामा परेका ‘तुत्तु तुम्याङहाङ याक्थुङहाङका सन्तान’, ‘लिम्बू’, ‘लिम्बूवान्’, ‘अरु राजा मासिने हुँदा तिमीहरू राजा नै हो भन्ने नमासिने हौ’, ‘अरु नौलाख एक पट्टी तिमिहरू हौन’ जस्ता वाक्यांशले उतिवेला याक्थुङ्बा लिम्बूको पहिचान तथा सामाजिक र राजनीतिक हैसियत प्रस्ट पार्छन्।