धरानमा भेटियो सेनकालीन स्याहामोहरको सक्कल
पृथ्वीनारायण शाहभन्दा अघि विभिन्न राज्यका शासकले सरकारी कागजपत्र कालो छाप लगाएर प्रमाणीकरण गर्थे, त्यसलाई नै स्याहामोहर भनिन्छ। धरानमा भेटिएको सबैभन्दा पुरानो स्याहामोहरको ऐतिहासिक महत्व छ।
बुवा काजीमान इङ्नाम लिम्बूहरुको किपटिया सुब्बा हुनुहुन्थ्यो। २०२३ सालमा उहाँ बित्नु हुँदा म सानै थिएँ। उहाँले सम्हाल्दै आएको सुब्बाङ्गीको जिम्मा मेरा दाजु मोतीबहादुरको काँधमा आयो।
दाजुले एसएलसी उत्तीर्ण गरिसक्नुभएको थियो। परम्परागत लेखापढी पनि जान्नुहुन्थ्यो। त्यहीकारण उहाँले नै बुवाको बिँडो थाम्नुपर्ने बाध्यता थियो। कसरी सुब्बाङ्गी प्रथा सञ्चालन हुन्थ्यो, मलाई हेक्का भएन। तर दशैँताका मतुवाली रैतीहरु रक्सी तथा सुँगुर, बोका वा खसीको साँप्रो कोसेली लिएर आउँथे। तागाधारी पनि केरा, रोटी, कुराउनी लिएर टीका थाप्न आउँथे।
दाजुको साथ लागेर तोकिएको तिरो उठाउन म पनि रैतीको घर जान्थेँ। घरघरमै नेपाली कागजमा भरपाई लेखेर दिनुपथ्र्यो। तिरोबाहेक रैतीले एक माना चामल पनि दिन्थे। बोक्ने जिम्मेवारी मेरो हुन्थ्यो।
सुब्बाले रैतीबाट वर्षमा पाँच जना बेठी (निःशुल्क खेतबारीको काम गर्नुपर्ने) उठाउँथे। बेठी तिर्न प्रायः १०–१२ वर्षका केटाकेटी आउँथे। अहिले बुझ्दा रैतीहरुले यो झारा टारेजस्तो लाग्छ। तेह्रथुम जिल्लामा नापी नभएसम्म तिरो उठाउने र बेठी लगाउने प्रथा कायम रह्यो। २०३२/३३ सालमा नापी भयो। त्यसपछि मालपोत अर्थात् सरकारीस्तरबाट तिरो असुल गर्न शुरु भयो।
मेरो घरमा पुराना कागजका मुठाहरू थुप्रै थिए। २०४२ सालमा घरमा आगलागी भयो। त्यति वेला सरकारी सेवाका लागि म जिल्लाबाहिरै थिएँ। आगलागीमा परी भएका सबै दस्तावेज ध्वस्त भए। के–कस्ता दस्तावेज थिए, अहिले पनि कौतूहल लागिरहेको छ। पक्कै पनि हाम्रो घरमा महङ्खवपूर्ण कागजपत्रहरु थिए। धेरै चाहिँ तिरो सम्बन्धीकै हुनुपर्छ।
साइनोमा मेरो काका पर्ने शेरबहादुर इङनाम इतिहास र संस्कृतिमा चासो राख्नुहुन्थ्यो। म सरकारी सेवामा रहँदा नै उहाँसँगको सहलेखनमा नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजनाअन्तर्गत ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’ (२०७०) प्रकाशित गरेका थियौँ। त्यसपछि एकल लेखनमा ‘लिम्बू जातिको इतिहास’ (२०७५) प्रकाशित गरेँ। घरमा भएका कागजपत्र जोगाउन सकिएको भए सुब्बाङ्गी प्रथा अध्ययनका लागि महत्वपूर्ण दस्तावेज हुने थिए।
दस्तावेज सङ्कलनका दुःख
इतिहास प्रमाणित गर्ने मुख्य आधार लिखत् नै हो। ताडपत्र, भोजपत्र, शिलालेख, मुद्रा आदिमा रहेका अक्षर र भाका तथा ती भाका जारी भएको सम्वत्अनुसार इतिहासका घटना र कालखण्ड निर्धारण गर्न सकिन्छ।
ऐतिहासिक लिखतहरू पुरानियाँ वा लालमोहरिया सुब्बा, फुटी सुब्बा, राय गिरी र लिम्बुवान सम्बन्धी अभिरुचि राख्ने इतिहासकारहरूसँग हुन्छ भन्ने हेक्का थियो। त्यसैले जानकारहरूसँग सम्पर्क गरी मैले थुम–थुमका त्यस्ता व्यक्तिहरूको नामावाली तयार पारेँ। अनि २६ कात्तिक २०७५ देखि आफ्नै गाउँ आठराई थुमबाट दस्तावेज सङ्कलन गर्न शुरु गरेँ।
दस्तावेज सङ्कलनका लागि घना लिम्बू बस्ती भएका ठाउँहरू आठराई, तमोरखोला, ताप्लेजुङ, याङवरक, पाँचथर, फेदाप, छथर, चौबिसे, मिक्लुङ थुमहरू पुगेँ। त्यस्तै धरान, झापा, काठमाडौबाट पनि सङ्कलन गरेँ। राष्ट्रिय अभिलेखालय, भूमि व्यवस्था तथा अभिलेख शाखा डिल्लीबजारबाट पनि सङ्कलन गरेँ।
यस्ता ऐतिहासिक कागजहरुको खोजी गर्दा अनेकौँ हण्डर खाइयो। कतिपय कागज उपलब्ध गराउँछु भन्नेहरुले अन्तमा खाली हात फर्काए। तेह्रथुममा त्यस्तै भयो। एक जनाले आफूसङ्ग भएको सबै कागज लैजान भनेर मेरो हातमा थमाइदिए। तर, मैले भने ती कागज हाललाई लैजाने र पछि फिर्ता गर्ने वा फोटोकपीसम्म गर्ने गरी दिन आग्रह गरेको थिएँ। उनले यसरी धक फुकाएर ती कागज दिए कि, फर्काउनु नपर्नेसम्मको कुरा भयो।
तर, भोलिपल्ट बिहानै ती व्यक्ति म बास बसेको ठाउँमा आए र सबै कागज आफूलाई फिर्ता हुनुपर्ने माग गरे। बडो अप्ठ्यारोमा परियो। नजिकै फोटोकपी गर्ने ठाउँ पनि थिएन। मेरो हिड्ने वेला भइसकेको थियो। तर, कतिपयले भने फोनकै भरमा कागजपत्रको फोटो पठाएर पनि ठूलो सहयोग गरेका थिए।
राष्ट्रसेवामा समर्पित हुने क्रममा सहसचिव पदबाट सेवा निवृत्त भएँ। आफ्नो वृत्तिविकासका क्रममा ६ महीना धनकुटाको प्रमुख जिल्ला अधिकारी भएँ। सरकारी कामकाजको अनुभव र सम्पर्कले पनि मलाई दस्तावेज संकलन गर्न सहज बनायो।
राष्ट्रिय अभिलेखालयको टोली लिएर पूर्वी नेपालका गाउँ–गाउँ पुगेर पुराना कागजपत्रहरु सङ्कलन गरी सुरक्षित राख्न सहयोग पनि गरेँ। मैले राष्ट्रिय अभिलेखालयलाई एक हजार ५०० जति कागज सङ्कलन गर्न सघाएँ।
राष्ट्रसेवामा समर्पित हुने क्रममा सहसचिव पदबाट सेवा निवृत्त भएँ। आफ्नो वृत्तिविकासका क्रममा ६ महीना धनकुटाको प्रमुख जिल्ला अधिकारी भएँ। सरकारी कामकाजको अनुभव र सम्पर्कले पनि मलाई दस्तावेज संकलन गर्न सहज बनायो।
सेवानिवृत्त जीवनपछि कागजपत्र अध्ययन र सङ्कलनका लागि म राष्ट्रिय अभिलेखालय यसरी धाएँ कि, मानिलिऊँ त्यहीँको कर्मचारी हुँ। त्यहाँका कार्यालय प्रमुखदेखि विभागीय कर्मचारीहरुले गरेको सौहार्द सहयोगकै कारण मेरो ऐतिहासिक लिखत सङ्कलन र त्यसको व्याख्या सम्भव भएको छ।
मेरो खोजको मुख्य लक्षित समूह लिम्बू र लिम्बूसम्बन्धी ऐतिहासिक लिखत् हो। लिम्बूसँग सम्बन्धित अन्य जातिगत समूहको दस्तावेज भेटे पनि तिनीहरुलाई मैले गुमाउन चाहिनँ। यसैक्रममा कुनै सरकारी कार्यालयमा रहेका लिखतहरु सङ्कलन गर्न जाँदा निक्कै कष्ट भोगियो। प्रशासनिक व्यवधानको कष्ट त छँदैछ, त्यसमाथि जाडोको समयमा झन् समस्या।
सरकारी कार्यालयहरुमा ऐतिहासिक दस्तावेजहरु प्रायः अँध्यारो कोठामा राख्ने चलन छ। अँध्यारो कोठा चिसो हुन्छ। त्यसैले ती अभिलेखहरु अध्ययनका लागि अतिरिक्त कपडा बोकेर जानुपर्ने बाध्यता पनि बेहारेँ।
यसरी भेटियो संवत् १८१४ को स्याहामोहर
पुराना लिखतहरुको खोजी गर्दा सेनकालीन स्याहामोहरको सक्कल भेट्दा म एकदमै खुसी भएको थिएँ। दस्तावेजको खोजी गर्दै जाँदा सागुरीगढी गाउँपालिका–२, धनकुटाका देव इवाहाङसँग एक थान सेनकालीन स्याहामोहर र एकथान लालमोहर सक्कल प्राप्त भयो।
स्याहामोहरको भाषा बुझिनँ। पछि थाहा भयो त्यसमा मैथली भाषाको प्रयोग भएको रहेछ। शुरुका लालमोहरमा तथा सेन राजाहरूले आदान–प्रदान गरेको चिठी–पत्रमा मैथली भाषा प्रयोग गरेको पाइन्छ। यो स्याहामोहर हालसम्म प्राप्त सबैभन्दा पुरानो सक्कल र कहिँकतै प्रकाशित नभएको दस्तावेज हो।
देव इवाहाङले यो स्याहामोहर धरानमा लगेर सुरक्षित राखेका रहेछन्। यो कामदत्त सेनको समय अर्थात् संवत् १८१४ को स्याहामोहर हो। अहिलेसम्म लिम्बू इतिहासका अध्येता कसैले पनि सेनकालीन स्याहामोहरको सक्कल प्रति छाप्ने अवसर पाएका छैनन्।
पृथ्वीनारायण शाहको पालादेखि सरकारी कागजपत्रका रातो छाप लगाएर प्रमाणीकरण गर्न थालिएपछि त्यसलाई ‘लालमोहर’ भनियो। त्यसअघि यस्ता कागजपत्रमा कालो छाप लगाइन्थ्यो। तत्कालीन सरकारले कालो छाप लगाएर प्रमाणीकरण गरेका कागजपत्र नै स्याहामोहर हुन्। त्यसैले धरानमा भेटिएको सबैभन्दा पुरानो स्याहामोहरको ऐतिहासिक महत्व छ।
उक्त स्याहामाेहर मैथली भाषामा लेखिएको छ। विज्ञहरुका अनुसार त्यो समयको भन्दा मैथली भाषा अहिले धेरै परिवर्तन भइसकेको छ। त्यसैले स्याहामाेहरलाई जो कोही मैथली भाषीले पढेर अर्थ लगाउन सक्दैनन्।
स्याहामोहरको विवरण
।।श्रीश्रीश्रीलक्ष्मीनारायणजीव
।।स्वस्ति श्री रुपनारायेणत्याद्दि वीविध वीरुदावली वीराजमान मानोन्त महाराजा धिराज हिंन्दुपति. राजराजेस्वर छत्रपति वीर दलन भुपभंजन महाराजा श्री श्री श्री कामदत्तसेन जीव देव देवानाँ सदासमर वीजयिनाम्–––––––––––––––––––––––
सुनंदतु मीयाँ गवाश्राद आये रहैवीन्य महश्रावु हाँग राये सही श्रईं पदवी दीहल श्रगाउ पनी षालीसार है सेईज्याली साजानी राये पदवी दीहल ऐती संम्वत १८१४ साल माह फागुन सुदी ताः१ रोज्य मोकाम वीजैपुर हुकुम हजुर सरेवाराम्––––––––