नौ जिल्लाबाट सात वर्षमै देशभर कसरी फैलियो डेंगी?
करीब दुई दशकअघि जापानबाट आएका एक जनामा देखिएको डेंगी अहिले भने देशभर नै फैलिएको छ। डेंगी कति घातक छ र कसरी जोगिने?
जापानबाट आएका एक जनामा डेंगी देखिंदा सरकारले मात्रै होइन, स्वास्थ्यकर्मीले पनि खासै वास्ता गरेका थिएनन्। २०६१ सालमा नेपाल भित्रिएका व्यक्तिमा डेंगी देखिए पनि त्यसको एक दशकसम्म वास्ता गरिएन।
२०७३ सालमा भने तराई-मधेशका जिल्लामा पनि डेंगी देखिन थाल्यो। त्यो वर्ष नौ जिल्लाका ३२ जनामा डेंगीको संक्रमण भेटिएको थियो। त्यसयता हरेक वर्ष तराई-मधेशमा मात्रै होइन, पहाडी जिल्लामा पनि डेंगीको प्रकोप देखिन थालेको छ।
काठमाडौं उपत्यकामा २०६६ सालमा डेंगी सार्ने लामखुट्टे भेटिएको थियो। त्यति वेला खासै वास्ता गरिएन। केही वर्ष काठमाडौंमा बेवास्ता गरिएको डेंगीले २०७९ सालमा भने प्रकोपकै रूप लियो।
नेपालमा डेंगी भेटिएको १२ वर्षपछि प्रकोपको रूप लिन थालेको हो। २०७३ सालमा चितवनमा ६८५ र झापामा ३६७ जना डेंगीका बिरामी भेटिएका थिए। २०७४ सालमा २१ जिल्लाका दुई हजार १११ जनामा संक्रमण देखिएको थियो।
त्यसको दुई वर्षपछि २०७६ सालमा आएर डेंगीको प्रकोप ५६ जिल्लामा फैलिएको थियो भने १२ जनाले ज्यान गुमाएका थिए। कोरोनाभाइरस महामारीका वेला २०७७ र २०७८ सालमा डेंगीको प्रकोप देखिएन।
तर, २०७९ सालमा डेंगीको प्रकोप ७६ जिल्लामा फैलियो। ५४ हजार ७८४ जना संक्रमित हुँदा ८८ जनाको ज्यानै गयो। २०६१ सालयता डेंगीबाट मृत्यु हुनेको संख्या यही नै उच्च हो। यो वर्ष पनि डेंगीको प्रकोप उच्च हुने स्वास्थ्यकर्मीको आकलन छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार यो वर्ष साउन तेस्रो सातासम्म देशका ७१ जिल्लामा डेंगी पुगिसकेको छ। त्यस्तै, सात हजार २५३ जना संक्रमित भइसकेका छन। जसमध्ये चार हजार ६७९ जना संक्रिमत सुनसरीमा मात्रै छन्।
सुनसरीको पनि विशेषगरी धरान उपमहानगरपालिकामा डेंगीको प्रकोप फैलिएको छ। धरानमा हालसम्म नौ जनाको डेंगीका कारण मृत्यु भएको छ।
मुख्य कारण जलवायु परिवर्तन
पछिल्ला वर्षमा डेंगीको प्रकोप बढ्नुमा विज्ञहरूको फरक फरक मत छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी डेंगीको प्रकोप फैलिनुको मुख्य कारण जमेको पानी भएको बताउँछन्। डा. मरासिनीका अनुसार वर्षा याममा घर नजिकका खाल्डा, गमला, सवारीसाधनका टायरमा जमेको पानीमा डेंगी रोग फैलाउने एडिज नामक लामखुट्टेले अन्डा पार्छ। शहरबजारतिर पुराना टायर यत्तिकै फालिएका हुन्छन् भने त्यसले लामखुट्टेलाई हुर्कन अनुकूल वातावरण दिन्छ।
२०६३-६४ सालतिर वीरगन्जमा डेंगीको प्रकोप फैलिंदा झन्डै ४०० जना सङ्क्रमित भएका थिए। त्यो वेला डा. मरासिनी लगायतको टोलीले वीरगन्जमा मात्रै डेंगी फैलिनुको कारणबारे अध्ययन गरेको थियो। अध्ययनले गाडीको टायरमा जमेको पानीमा लामखुट्टेले वासस्थान बनाएर डेंगी फैलिएको निष्कर्ष निकालेको थियो।
त्यो वेला मधेश आन्दोलन उत्कर्षमा थियो। आन्दोलनको मुख्य केन्द्र वीरगन्ज थियो। आन्दोलनकारीले टायरको थुप्रो बनाएर सडक जाम गर्ने गरेकाले वर्षात्को पानी जमेपछि लामखुट्टेले वास बनाएको डा. मरासिनी बताउँछन। “त्यो वेला आन्दोलनकारीले टायर जलाएपछि संक्रमण पनि स्वात्तै घट्यो,” उनी भन्छन्।
डेंगी संक्रमणले प्रकोपको रूप लिन थालेपछि पछिल्ला वर्षमा अध्ययन पनि हुन थालेका छन्। धेरैजसो अध्ययनले नेपालका पहाडी जिल्लामा पनि डेंगीको संक्रमण फैलिनुमा जलवायु परिवर्तनलाई कारण मानेका छन्। पछिल्ला वर्षमा बढिरहेको तापमान नै डेंगी फैलाउने पर्याप्त कारण बनिरहेको अध्ययनहरूको निष्कर्ष छ।
वैज्ञानिक अध्ययनहरूका अनुसार औद्योगिक क्रान्ति शुरू हुनुअघि सन् १८५० तिर वायुमण्डलको औसत तापक्रम १४ डिग्री सेल्सियस थियो। अहिले १५.१ डिग्री सेल्सियस पुगेको छ। अर्थात्, समग्र वायुमण्डलको औसत तापक्रम १.१ डिग्री बढेको छ। यही बढेको तापक्रमकै कारण डेंगी जस्ता कीटजन्य संक्रामक रोग बढेको विज्ञहरू बताउँछन।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०७८ जेठमा डेंगीबारे एक अध्ययन गरेको थियो। परिषद्का प्रमुख अनुसन्धान अधिकृत मेघनाथ धिमाल सहित १४ जना अध्येताले गरेको अध्ययनमा जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण मलेरिया, डेंगी, चिकनगुनिया, जापानिज इन्सेफ्लाइटिस जस्ता संक्रामक रोग बढ्न थालेको उल्लेख छ।
अध्ययनका क्रममा धिमालको टोलीले समुद्री सतहबाट ८५ मिटर उचाइको वीरगन्जदेखि दुई हजार १०० मिटर उचाइको धुन्चेसम्म ८३४ वटा घरबाट जमेका पानीको नमूना सङ्कलन गरेको थियो। नमूनामा डेंगी फैलाउने लामखुट्टेका जीवाणु फेला नपरेको कुनै ठाउँ थिएन।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी केन्द्रीय विभागकी सहप्राध्यापक रेश्मा तुलाधार सहित सात जना अनुसन्धाता मिलेर गरेको एक अनुसन्धानले पनि पहाडी क्षेत्रमा तापक्रम र वर्षामा हुने फेरबदलले डेंगीको भेक्टर फैलावटमा प्रत्यक्ष असर पुर्याइरहेको देखाएको छ। तराई क्षेत्रमा सापेक्षिक आर्द्रताको मात्राले डेंगी भेक्टर फैलावटमा असर पुग्ने पारासाइटस् एन्ड भेक्टर जर्नलमा प्रकाशित अध्ययनको निष्कर्ष छ।
तापक्रम वृद्धि र गर्मीका दिनहरू बढ्दै जानुले डेंगी सार्ने एडिज लगायत अन्य विभिन्न प्रजातिका लामखुट्टे हुर्किन अनुकूल वातावरण दिएको विज्ञहरू बताउँछन्। डेंगी सार्ने लामखुट्टेका लागि १० देखि २५ डिग्री सेल्सियसको वातावरण उत्तम मानिन्छ। बढ्दो तापक्रमले उच्च पहाडी क्षेत्र समेत यी लामखुट्टेका लागि बसोबास र प्रजनन गर्न अनुकूल बन्दै गएको छ।
ल्यानसेट जर्नलमा २०७६ सालमा द डेंगी इपिडेमिक एन्ड क्लाइमेट चेन्ज इन नेपाल अध्ययन प्रकाशित भएको थियो। इपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख वासुदेव पाण्डे र ग्लोबल हेल्थ एन्ड सस्टेनेबल डेभलपमेन्ट युनिभर्सिटी कलेज लन्डनका एन्थोनी कोस्टेलोले गरेको अध्ययनले पनि बढ्दो तापक्रम, वर्षा र आर्द्रताका कारण डेंगी सार्ने लामखुट्टेको वासस्थान फराकिलो हुँदै गएको देखाएको छ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन डेंगी फैलिनुको अर्को कारण बढ्दै गएको शहरीकरणलाई मान्छन्। जनघनत्व बढी भएका शहरमा डेंगी सार्ने लामखुट्टेलाई हुर्कन सहज हुने डा. पुन बताउँछन्। किनकि, यस्ता घना शहरमा पानी जोहो गर्नको लागि ड्रम र बाल्टी राखिएको हुन्छ।
त्यस्तै, ग्यारेज तथा बसपार्कको टायर, घर र कौसी खेतीका लागि राखिएका गमलामा पनि यो लामखुट्टे फैलिन्छ। “जस्तोसुकै ठाउँमा पनि पानी जमेको छ भने यो लामखुट्टेले फुल पारिहाल्छ,” डा. पुन भन्छन्।
त्यस्तै, लानसेट जर्नलमा २०७५ सालमा प्रकाशित द लेन्सेन्ट क्लाइमेट काउन्टडाउन रिपोर्ट ले सन् १९५० यता मात्र विश्वव्यापी रूपमा एडिज इजिप्टाईको विस्तार ९.१ प्रतिशत बढेको र एडिज अल्बोपिक्टस ११.१ प्रतिशत बढेको उल्लेख छ।
विश्व स्वास्थ्य संगठनले १२९ भन्दा बढी देशमा तीन अर्ब ९० करोडभन्दा बढी मानिस डेंगी संक्रमणको जोखिममा रहेको जनाएको छ। नौ करोड ६० लाख लक्षणात्मक केस र प्रत्येक वर्ष ४० हजार जनाको डेंगीकै कारण मृत्यु हुने अनुमान छ।
डेंगी कति घातक?
२०७६ सालयता डेंगी भएका धेरैजसो मानिस अस्पताल भर्ना भएका थिए। भर्ना नभएका संक्रमित पनि लामो समयसम्म थला परेका थिए। शरीरका विभिन्न अङ्ग अत्यधिक दुख्ने, रिंगटा लागेर उभिन नसक्ने, आँखा, हाड र जोर्नी दुख्ने जस्ता समस्या देखिएका छन्।
डेंगी भाइरस चार प्रजातिको हुन्छ, ‘डेन-१’, ‘डेन-२’, ‘डेन-३’ र ‘डेन-४’। जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ। नेपालमा हालसम्म ‘डेन-२’ र ‘डेन-३’ प्रजातिको डेंगी भेटिएको छ। ‘डेन-४’ प्रजातिको डेंगीको संक्रमण हालसम्म नभेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
एक पटक एक प्रकारको डेंगी लागेपछि जीवनभर त्यही प्रकारको डेंगी नलाग्ने विज्ञहरू बताउँछन्। तर, अन्य प्रकारको डेंगी लाग्न सक्छ। दोस्रो पटक लाग्ने डेंगी पहिलेको तुलनामा बढी खतरनाक हुने अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोलले गरेको अनुसन्धानमा पाइएको छ। एक प्रकारको विषाणुबाट (सेरोटाइप) डेंगी भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगी घातक हुने अनुसन्धानमा उल्लेख छ। अर्थात् यस्तो विषाणुले सारेको डेंगीले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ। यसको घातक प्रभावले शरीरभर रक्तस्राव हुन सक्छ।
चिकित्सकहरूका अनुसार डेंगी लाग्दा रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुन्छ। शरीरमा ‘प्लेटलेट्स’ को संख्या कम भएमा रक्तनलीबाट रगत अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने लक्षण देखा पर्न सक्छ।
डेंगीको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो। यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ। डेंगी लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन्।
डेंगी ज्वरो तीन प्रकारको हुन्छ, सामान्य, ‘हेमोरेजिक’ र ‘सक सिन्ड्रोम’। सामान्य ज्वरो सजिलै निको हुने भए पनि ‘हेमोरेजिक’ र ‘सक सिन्ड्रोम’ ज्वरो खतरनाक हुन्छ। सामान्य डेंगी ज्वरो नियन्त्रण नभएपछि ‘हेमोरेजिक’ वा ‘सक सिन्ड्रोम’ मा परिवर्तित हुने भएकाले नियन्त्रण गर्न गाह्रो हुने चिकित्सक बताउँछन।
गत वर्ष डेंगीको संक्रमण भएका मानिस तीनदेखि सात दिनसम्म ‘क्रिटिकल’ अवस्थामा पुगेका थिए। यस्तो स्थितिमा केही संक्रमित बेहोश समेत हुने भएकाले बढी हेरचाह आवश्यक हुने चिकित्सक बताउँछन्। यस्तो अवस्थामा चिकित्सकको निगरानीको लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्था समेत आउन सक्छ।
“डेंगी प्रभावित क्षेत्रमा ज्वरो आउँदा आफूखुशी आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नु हुँदैन,” डा. पुन भन्छन्, “खासमा डेंगीको कुनै उपचार नै छैन, यसको संक्रमण भएपछि लक्षणका आधारमा उपचार गरिन्छ।” त्यसैले डेंगीले असहज बनाउने बित्तिकै स्वास्थ्यकर्मीसँग सल्लाह लिइहाल्नुपर्छ।