डेंगीको लक्षण देखिएपछि के गर्ने?
‘सामान्य ज्वरो आउँदा घरमै उपचार गर्दा पनि निको हुन्छ। तर, रगत बग्ने, झाडाबान्ता हुने, रक्तचाप कम हुने, कलेजो, फोक्सो दुख्ने, बेहोस हुने भएमा तुरुन्तै अस्पताल भर्ना हुनुपर्छ। आफैं औषधि किनेर खानु हुँदैन, झन् रगत बग्ने र ज्यानै जोखिममा पर्नसक्छ।’
केही महीनायता बढ्दै गएको डेंगीको संक्रमण देशव्यापी बनेको छ। असोज ७ गतेसम्म सातै प्रदेशमा २१ हजार ३५२ जनामा डेंगी देखिएको छ भने २७ जनाको मृत्यु भएको छ।
डेंगीको प्रकोप, नियन्त्रण र उपचार लगायतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. सञ्जयकुमार ठाकुरसँग हिमालखबरकी अनिता श्रेष्ठले गरेको कुराकानीः
देशभर डेंगीका बिरामीको संख्या बढिरहेको छ। उपचारको व्यवस्था कस्तो छ?
हामीले शुरूआतदेखि नै देशभरका अस्पतालसँग छलफल गरेका थियौंं। डेंगी बिरामीको चाप त बढेको छ, तर अस्पतालमा बेडको अभाव छैन। हालसम्म ९५ प्रतिशत मानिस घरमै बसेर उपचार गराइरहेका छन् भने डेंगी लागेका ५ प्रतिशत मानिस भर्ना हुने गरेका छन्। चिकित्सकको सल्लाह अनुसार घरमै उपचार गरेर बस्दा पनि निको हुन्छ।
डेगींका कारण गम्भीर बिरामी भएकाहरूमा बेहोस हुने, अङ्ग बिग्रने जस्ता लक्षणहरू देखिन्छन्। यस्ता लक्षण देखाए पनि समयमै उपचार गरे निको हुन्छ। मृत्युदर एक वा दुई प्रतिशत मात्र छ, तर समयमै उपचार नगर्ने र जथाभावी औषधी खानेहरूको मृत्यु समेत हुन सक्छ। यस्तो भएमा ५० प्रतिशत मानिसको मृत्यु हुने सम्भावना रहन्छ।
डेंगी नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले के गरिरहेको छ?
चार महीनायता (जूनदेखि सेप्टेम्बर अर्थात् असारदेखि असोजसम्म) निकै डेंगी बढेको छ। त्योभन्दा पहिलेदेखि नै फाट्टफुट्ट देखिने यो रोग वर्षात् शुरू भएदेखि प्रकोपकै रूपमा देखिन थालेको हो।
पानी जम्मा हुने ठाउँहरू बढी हुने, अव्यवस्थित शहरीकरणका कारण भएका फोहोर, बोतल, टायरमा जम्मा भएको पानीमा लमखुट्टेले अण्डा पार्छ। त्यस्तै, घरमा पनि कौसी, गमला, कौसी खेती गर्ने, पानी ट्याङ्कीमा छोपेर नराख्ने गरेकाले लामखुट्टेको वृद्धि विकास हुन्छ, जसले रोग सारेर प्रकोप बढाउँछ।
हामीले स्थानीय तहमै नियन्त्रणका कार्यक्रम गरिरहेका छौं। बजेट पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पठाइसकेको छ। स्थानीय तहमा पनि लामुखुट्टेको लार्भा मार्ने काम भइरहेको छ।
डेंगीका बिरामी बढ्न थालेपछि सिटामोलको अभाव भएको हाे?
बजारमा कुनै औषधिको अभाव छैन। बाहिर हल्ला भए पनि यो सत्य होइन। हामीले औषधि व्यवस्था विभागका निर्देशकदेखि औषधि व्यवस्थापक संघ, उत्पादक संघसँग बसेर छलफल गरेका छौं। उनीहरूका अनुसार, कतिपय ठाउँमा सिटामोलको माग बढेको छ, जसलाई अन्य ठाउँबाट ल्याएर भए पनि आपूर्ति गरिएको छ। हाल बजारमा तीन करोडभन्दा बढी ट्याबलेट सिटामोल उपलब्ध छ।
डेंगीबाट बच्न कीटनाशकको प्रयोग गर्न हुन्छ कि हुँदैन?
कीटनाशकको प्रयोग भने त्यति धेरै उपयोग नभएको विज्ञहरूको सुझाव छ। बाहिर कीटनाशक औषधि छरेर घरभित्रको लामखुट्टे मर्दैन। घरभित्रै एसी, गमला, फ्रिज, कौसीमा लामखुट्टेले पानी जमेको ठाउँमा फुल पार्ने र लार्भा बढ्ने हुन्छ।
पानी जम्मा हुने ठाउँ पहिचान गरेर कम्तीमा एक हप्ता सफा गरिदिए प्रभावकारी र प्रकोप नियन्त्रणको दिगो उपाय हुन्छ। त्यसैले पनि हरेक वर्षायाममा आआफ्नो घरभित्र सफा गर्न जरुरी छ।
एक सातामा लामखुट्टेका लार्भा हुने भएकाले त्यतिवेलै पानी विर्सजन गरे लामखुट्टे बन्न पाउँदैन। अन्य देशमा पनि सफाइ अभियान नै चलाएर प्रकोपलाई नियन्त्रण गरिरहेका छन्।
व्यापक प्रकोप फैलिरहेको ठाउँहरूमा घरभित्रै पनि कीटनाशक औषधि छर्ने तयारी गरेका छौं। त्यसको कार्यविधि बनिसकेको छ। विज्ञ तथा विश्व स्वास्थ्य संगठनको सल्लाह अनुसार प्रकोप व्यापक भए यसको काम शुरू गर्छौं। तर, आफूखुशी स्थानीय तहदेखि व्यक्तिगत रूपमा कीटनाशकको प्रयोग गर्नु हुँदैन। त्यसले फाइदाभन्दा बढी बेफाइदा गर्छ।
यो रोग कतिको खतरनाक छ?
औषधि नभएकै कारण हालसम्म चिकित्सकहरूले लक्षण अनुसार उपचार गरिरहेका छन्। यसमा तहका लक्षण छन्। पहिलो तह, सामान्य ज्वरो आउने, दोस्रो तहमा शरीरमा प्लेटलेट्सको कमी हुने, जसले गर्दा भित्री वा बाहिरी शरीरमा रगत बग्न थाल्छ। तेस्रो, शरीरका अङ्गहरू नै बिगार्ने गर्छ।
सामान्य लक्षण ज्वरो आउने, बान्ता हुनेहरूले घरमै बसेर उपचार गरे पनि निको हुन्छ। तर, शरीरबाट रगत बग्ने, झाडाबान्ता हुने, रक्तचाप कम हुँदै जाने, कलेजो, फोक्सो दुख्ने, बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्तै अस्पताल भर्ना हुनुपर्छ। जथाभावी आफैं औषधि किनेर खाए झन् रगत बग्ने र ज्यान जोखिममा हुने सम्भावना हुन्छ।
कतिपयले जडीबुटी औषधि पनि प्रयोग गर्छन्। चिकित्सकहरूको सल्लाह नलिई खानु हुँदैन। डेंगी भएको समयमा चिकित्सकको सल्लाहमा बस्ने, गम्भीर लक्षण देखिए तुरुन्तै अस्पताल भर्ना हुँदा यो रोगबाट एक प्रतिशतभन्दा कमको मात्र मृत्यु हुन्छ।
हालसम्म मृत्यु भएका अधिकांशमा अन्य रोग पनि देखिएको छ। डेंगी संक्रमण भई मृत्यु हुनेहरूको इतिहास हेर्दा कतिलाई डेंगी सहित स्क्रब टाइफस, कोभिड-१९, चिनी रोग इत्यादि रोगहरू पनि भएको पाइएको छ।
डेंगीको उपचार गर्न कुन अस्पतालमा जानुपर्छ?
डेंगीको उपचार देशभरका सबै अस्पतालमा हुन्छ। यसका लागि सीमित अस्पताल भनेर तोकिएको छैन। आईसीयू र एचडीयूको सेवा कोरोना महामारीको समयमै व्यवस्था गरिसकिएको छ। डेंगीका लागि कुनै पनि अस्पतालमा शय्याको कमी छैन।
सबै चिकित्सकले डेंगीको उपचार गर्न सक्छन्। मन्त्रालयबाट पनि यसको उपचारका लागि चिकित्सकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ। डेंगीको प्रकोप धेरै भएको ठाउँमा चिकित्सकलाई तालीम तथा अभिमुखीकरण कार्यक्रम भएका छन्। जुनसुकै अस्पतालमा चिकित्सकबाट आवश्यक सल्लाह र सुझाव लिन सकिन्छ।
डेंगी लागेपछि के गर्नुपर्छ?
समान्यतया डेंगीका कारण ज्वरो आउने, जीउ दुख्ने हुन्छ, जसका लागि चिकित्सकले सिटामोल दिन्छन्। यो बाहेक अन्य औषधि बिरामीले प्रयोग गर्नु हुँदैन।
त्यस्तै, जीवनजल र झोल पदार्थ सेवन गरिरहनुपर्छ। अस्पतालमा भर्ना हुनेलाई चिकित्सकले हेरेर उपचार गराउँछन्। घरपरिवारका सदस्यले भने घरको सफाइ गर्ने, बिहान सूर्य उदाएपछि र अस्ताउनुअघिको दुई–तीन घण्टा लामखुट्टेको टोकाइबाट बच्ने, झुलभित्र बस्ने, धूप वा मलम लगाएर जोगिने उपाय गर्न सकिन्छ।
सरकारले डेंगीलाई महामारी घोषणा गर्न खोजेको हो?
कुनै पनि रोग विगतका वर्षमा भएको संख्याभन्दा अत्यधिक मात्रामा एक्कासि बढ्यो भने त्यसलाई महामारी भनिन्छ। यो प्रकोपका रूपमा मानिन्छ। विज्ञ तथा इपिडिमियोलोजिस्टहरूको आकलन अनुसार, हरेक दुईदेखि तीन वर्षमा नेपालमा डेंगीको प्रकोप बढ्छ। जसको कारण हो, अनियन्त्रित बसोबास तथा शहरीकरण।
यसै अनुसार सन् २०१९ मा पनि प्रकोपका रूपमा देखिएको थियो, जति वेला १७ हजार मानिस बिरामी भएका थिए। यस वर्ष त्यो संख्यालाई पनि नाघेर १९ हजारभन्दा बढीमा डेंगी देखिएको र २७ जनाको मृत्यु भएको छ।
यसो हुनुको कारण यो रोगको उपचारका लागि न कुनै औषधि छ, न त खोप नै बनेको छ। डेंगी चार प्रकारका हुन्छन्, ‘डेन भी वान्, डेन भी टू, डेन भी थ्री र डेन भी फोर’। यी चार किसिमका भाइरसमा पनि एक व्यक्तिलाई एउटा भाइरसले संक्रमण गरेर निको भए पनि अर्को प्रकारको भाइरसले संक्रमण गर्दा गम्भीर बनाउँछ। एकैपटक दुई वटा भाइरसले संक्रमण गरे रोग कडा हुन्छ र मानिसको मृत्यु समेत हुन सक्छ।
एक जना व्यक्तिलार्ई यी चारै प्रकारका डेंगी भाइरसले संक्रमित बनाउन सक्छन्। नेपालमा दुई प्रकारका डेंगी भाइरस ‘डेन भी वान्, डेन भी टू’ भएको शङ्का छ भने अन्य भाइरस देखिएका छैनन्। अध्ययन नहुँदा अन्य दुई खाल भाइरसका उपलब्ध छन् वा छैन भन्ने यकिन गर्न सकिंदैन।
हालसम्म कुन वर्षमा कुन भाइरसले मानिसलाई संक्रमित बनाएको छ भन्ने अध्ययन नेपालमा भएको छैन। इपिडिमियोलोजी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले यस वर्षदेखि अध्ययन शुरू गरेको छ।
अहिले गरेको अध्ययनले अबका वर्षहरूमा सहज बनाउन सक्छ। तैपनि, रोगको नियन्त्रण गर्ने उपाय नै लामखुट्टेको वृद्धि र विकास हुने स्रोत नष्ट गर्नु हो।
अहिले नै डेंगीको प्रकोप त बढिसकेको छ। महामारी घोषणा गर्ने कि नगर्ने टुङ्गो लागेको छैन। महामारी घोषणा गर्न विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड नियालिरहेका छौं।
डेंगीको प्रकोप कम गर्न के गर्नुपर्छ?
सबै जनाले सात दिनमा एक दिन आआफ्नो घरको सरसफाइ गर्ने बानी बसाल्नुपर्छ। सबैले आफ्नो तहबाट, जस्तो- स्थानीय सरकार, स्थानीय बासिन्दाले सरसफाइ अभियान चलाए भने लामखुट्टेको वृद्धि-विकास रोक्न सकिन्छ।
प्रकोप घटाउन घरभित्र पानी जम्ने ठाउँको पहिचान गरी निर्मूल गरियो दुई-चार सातामै प्रकोप नियन्त्रण गर्न सकिन्छ।
यो नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको एक्लो प्रयासले मात्र हुँदैन। अन्य मन्त्रालयदेखि स्थानीय सरकार, स्थानीय बासिन्दाको पनि सहयोग आवश्यक छ। अब घर घरमै गएर डेंगीको अवस्था, जमेका पानी नष्ट गर्ने, जनतालाई सचेत गराउने, जोखिमबारे जानकारी दिने काम गर्न स्थानीय सरकारले घरदैलो अभियान चलाउनुपर्छ।