सुन प्रकरणमा उच्चस्तरीय समिति माग गर्दै एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
सुन तस्करी प्रकरणलाई लिएर नेकपा (एमाले)ले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ।
करीब १०० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेका सांसदले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका हुन्। यसअघि प्रतिनिधि सभाको बैठकमा पनि एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको थियो। त्यसमा सरकारी पक्ष सहमत नभएपछि प्रतिनिधि सभाको बैठक पनि सूचना टाँसेर स्थगन गरिएको थियो।
राष्ट्रिय सभाको बिहीबारको बैठक शुरू हुने बित्तिकै एमालेका सांसदले विरोध जनाएका थिए। त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्न दिएका थिए।
सांसद श्रेष्ठले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे। उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म राष्ट्रिय सभाको बैठक अगाडि बढाउन नहुने उनको भनाइ थियो।
त्यसपछि अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको बैठकको कामकारबाही अघि बढाउन खोजेका थिए। एमाले सांसदले विरोध जारी राखेपछि राष्ट्रिय सभा बैठक साउन २२ गते बस्ने गरी स्थगन भएको छ।
साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएर भित्रिएको करीब एक क्विन्टल सुन राजस्व विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो। सुन तस्करीमा संलग्न भएको आरोपमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन्। यसमा अनुसन्धान जारी रहेको विभागले जनाएको छ।