धरानमा डेंगीको महामारी
धरानमा चार महीनाअघि शुरू भएको डेंगी संक्रमणले महामारीको रूप लिएको छ। उपमहानगरले डेंगी नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसक्दा विकराल अवस्था आएको पूर्व जनप्रतिनिधिको भनाइ छ।
डेंगीका कारण जेठ २३ मा धरान उपमहानगरपालिका-१७ की एक महिलाको मृत्यु भएको थियो। त्यसयता साउन मध्यसम्म आठ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमण घर घरमा पुगिसकेको छ।
धरानको स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन १५ सम्म परीक्षण गरिएका चार हजार ८६ मध्ये दुई हजार ४१४ जनामा डेंगी देखिएको छ। परीक्षण गरेकामध्ये ५९ प्रतिशतमा डेंगी देखिएको छ। यो त बीपी प्रतिष्ठानमा परीक्षण गर्नेहरूको तथ्याङ्क मात्र हो।
यही हाराहारीमा निजी अस्पताल, क्लिनिक र ल्याबमा पनि परीक्षण भइरहेको छ। कतिपय बिरामी परीक्षण नै नगराई घरमै बस्ने गरेका छन्। सबै हिसाब गर्ने हो भने धरानमा अहिले हजारौंको संख्यामा डेंगी संक्रमित छन्। डेंगी संक्रमणबाट बीपी प्रतिष्ठानकै चिकित्सक, नर्स र कर्मचारी पनि बिरामी भएका छन्।
डेंगी संक्रमणका कारण विद्यालयका कक्षामा विद्यार्थीको संख्या घटेको छ भने शिक्षक बिरामी परेपछि विद्यालय र कलेजमा पढाइ प्रभावित भएको छ। बीपी प्रतिष्ठानमा डेंगीका बिरामीको चाप थेगिनसक्नु भएपछि छुट्टै डेंगी क्लिनिक सञ्चालन गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोखरेल बताउँछन्।
“बिरामीको चाप दैनिक थपिंदो छ। डेंगी नियन्त्रणका लागि सबै नलाग्ने हो भने समस्या अझै बढ्ने अवस्था छ,” डा. पोखरेल भन्छन्।
विज्ञहरूका अनुसार डेंगी भाइरसयुक्त एडिज जातको लामखुट्टेको टोकाइबाट माानिसमा रोग फैलिन्छ। यो लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्छ र त्यसबाट चाँडै लामखुट्टे उत्पादन भई झाडी वरपर बस्छ। उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता धरानमा पानीको अभावका कारण घर घरमा भाँडा वा ड्रममा पानी जम्मा गर्ने चलन रहेकाले त्यसैमा लामखुट्टेले फुल पारेर डेंगी फैलाउने गरेको पाइएको बताउँछन्।
मेहताका अनुसार मोटर ग्यारेजमा पुराना टायर त्यतिकै राखिंदा त्यसमा पनि पानी जमेर लामखुट्टे फैलिएको पाइएको छ। यससँगै अव्यवस्थित रूपमा सुँगुर पाल्ने प्रचलनले पनि फोहोरका कारण लामखुट्टे फैलिरहेको छ। अहिले धरान बाहेक पूर्वका अन्य शहरमा पनि डेंगी फैलिन थालेको छ।
स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार डेंगी नियन्त्रणकाे प्रभावकारी उपाय भनेकै लामखुट्टेको वासस्थान खोज्ने र लार्भा नष्ट गर्नु (सर्च एन्ड डिस्ट्रोय) हाे। चार वर्षअघि पनि धरानमा डेंगी फैलिंदा ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान चलाइएको थियो। त्यस वेला उपमहानगरले सक्रियता देखाएर अभियान चलाएको थियो।
यस पटक डेंगी फैलिएपछि विभिन्न वडा समितिले मशिनबाट फगिङ (धुवाँ लगाउने) गरेका थिए, तर उपमहानगरले ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान चलाउन ढिला गर्यो। उपमहानगरका मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर आईन्द्रविक्रम बेघाले डेंगी फैलिएर धरानवासीको ज्यान जाँदा समेत वृक्षरोपणमा मात्र ध्यान दिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले शनिबारका दिन वृक्षरोपण गर्नुभन्दा सबै समर्थकलाई जम्मा गरेर डेंगी विरुद्ध ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान चलाउन सुझाव दिइरहेका छन्।
डेंगी नियन्त्रणमा उपमहानगरले प्राथमिकता नदिएको भन्दै विरोध हुन थालेपछि स्वास्थ्य महाशाखाको टोलीले असार १५ बाट ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान शुरू गरेको थियो। तीव्र गतिमा फैलिरहेको डेंगी महामारीलाई महानगरको सानो टोली नियन्त्रण गर्न सकेन।
नेपाली कांग्रेसले पनि ‘ग्रीन एन्ड क्लीन धरान’ अभियान सञ्चालन गरेर डेंगीका लार्भा नष्ट गर्ने काम गरिरहेको क्षेत्रीय सचिव सुजेन्द्र तामाङले बताए। अहिले धरानमा जनता समाजवादी पार्टीले डेंगीका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिहेको छ।
मेयरकाे भूमिका ताल न बेतालकाे: पूर्व मेयरहरू
उपमहानगरले यस पटक डेंगी नियन्त्रणका लागि समयमै प्रभावकारी काम गर्न नसकेको धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्वो बताउँछन्। “यस्तो सङ्कटका वेला स्थानीय सरकारले सबैसँग समन्वय गरेर नियन्त्रणमा लाग्नुपर्ने हो तर मेयरको भूमिका ताल न बेतालको छ। अन्य जनप्रतिनिधि पनि आफ्नै तालमा चलिरहेका छन्,” पूर्व मेयर मेन्याङ्वो भन्छन्, “सामाजिक संघसंस्था र नागरिक समाज पनि मौन देखिन्छन्। सामाजिक सञ्जालमा गफ गरेर मात्र डेंगी नियन्त्रण हुँदैन।”
त्यस्तै, अर्का पूर्व मेयर तिलक राई पनि डेंगी नियन्त्रणका लागि उपमहानगरले समन्वय गर्न नसकेको बताउँछन्। मेयर साम्पाङले ‘म सक्षम छु। कसैको साथ सहयोग चाहिंदैन’ भन्ने अभिव्यक्ति दिने गरेकाले पनि समस्या उत्पन्न भएको उनी बताउँछन्। पूर्व मेयर राई भन्छन्, “सामाजिक सञ्जालमा छाउने काम मात्र भइरहेको छ, फील्डमा त्यस्तो केही छैन।”
पूर्व उपमेयर मञ्जु भण्डारी सुवेदी पनि डेंगीको महामारीले नगर आक्रान्त हुँदा समेत मेयर गम्भीर नदेखिएको बताउँछिन्। महामारी नियन्त्रणका लागि सरोकारवालासँग समन्वय गरेर अघि बढ्न सुझाव दिंदै सुवेदी भन्छिन्, “स्थानीय तहले बोर्डमा सरकार लेखेर मात्रै हुँदैन। जनताको जीवनमा सरकार भएको अनुभूति दिलाउन सक्नुपर्छ।”
बुद्धिजीवी डा. राजेन्द्र शर्मा उपमहानगरको डेंगी ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान फितलो भएको बताउँछन्। मेयर साम्पाङले डेंगी महामारीलाई संवेदनशील रूपमा नलिएको डा. शर्माको ठम्याइ छ। उनी भन्छन्, “अरूले डेंगी नियन्त्रणका लागि फगिङ गर्दा पनि मेयरले विरोध गरेको देखियो। उहाँमा काम गर्नेभन्दा यूट्यूबमा भाइरल हुने प्रवृत्ति मात्र बढी देखियो।”
उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख मेहेता पनि ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान प्रभावकारी बन्न नसकेको स्वीकार गर्छन्। चाँडै यसलाई तीव्रता दिने उनको भनाइ छ। मेहेता भन्छन्, “सर्च एन्ड डिस्ट्रोय अभियान पर्याप्त छैन। हामी सबैसँग समन्वय गरेर काम गरिरहेका छौं।”
धरानमा डेंगीले महामारीको रूप लिंदा समेत उपमहानगरले प्रभावकारी काम गर्न नसकेको भन्दै सुनसरी उद्योग वाणिज्य संघले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र उपमहानगरसँग छलफल चलाएको छ। संघका अध्यक्ष विजय श्रेष्ठ भन्छन्, “उपमहानगरले गर्न नसक्ने हो भने हामी नेतृत्व लिन्छौं र प्रभावकारी रूपमा अभियान चलाउँछौं।”
डेंगी शिविर सञ्चालन
उपमहानगरले डेंगी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भनेर आलोचना भएपछि साउन १५ बाट धरान-८ स्थित धरान सभागृहमा डेंगी परीक्षण शिविर सञ्चालन गरिएको छ।
शिविरमा डेंगीको निःशुल्क परीक्षण र उपचार गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई बताउँछन्। उनका अनुसार बिरामीलाई औषधि समेत दिने गरिएको छ।
त्यस्तै, धरान-१४ को वडा कार्यालयले पनि साउन १५ बाटै वडावासीका लागि निःशुल्क उपचार शिविर सञ्चालन गरेको छ।