भागेर चीन गएका दावा छिरिङ जेठमा फर्किएका थिए नेपाल
करीब एक क्विन्टल सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका दावा छिरिङ एक महीना चीनमा बसेर नेपाल फर्किएको खुलेको छ।
चिनियाँ मूलका बेल्जियमका नागरिक दावाले काभ्रेबाट नेपाली नागरिकता लिएका थिए। त्यसकै आधारमा उनले नेपाली राहदानी पनि बनाएका थिए। यस विषयमा हिमालखबरले समाचार प्रकाशित गरेपछि उनी भागेर चीन गएका थिए।
राजनीतिक संरक्षणका कारण जोगिंदै आएका उनी दोहोरो नागरिकता र राहदानीका विषयमा समाचार प्रकाशित भएपछि वैशाख ५ गते (१८ मार्च २०२३) मा सिचुआन एअरलाइन्सको फ्लाइटबाट चीन गएका थिए। त्यति वेला प्रहरीले पनि उनको खोजी थालेको थियो।
राजनीतिक संरक्षण पाएका उनी एक महीना चीनमा बसेपछि सुटुक्क नेपाल आएको पाइएको छ। दावा चीनबाट जेठ २० गते (२० मे २०२३) नेपाल आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रवक्ता झंकनाथ ढकालले पुष्टि गरे। “बेल्जियमको राहदानी प्रयोग गरेर चीनबाट नेपाल आएको रेकर्ड छ,” ढकालले हिमालखबरसँग भने।
त्यसयता पनि उनी राजनीतिक पहुँचकै आधारमा नेपालमा आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ। पछिल्लो पटक सुन तस्करीमा संलग्न रहेको पाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। सुन तस्करीमा संलग्न रहेको प्रमाण भेटिएपछि दावालाई पक्राउ गरिएको महानिर्देशक ढुंगानाको भनाइ छ।
विभागको टोलीले साउन १४ मा काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेको थियो। होटलबाटै उनलाई पक्राउ गरेको हो। यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन्।