मणिपुरको दंगाप्रति दक्षिणएशियाका अधिकारकर्मीको चिन्ता
भारतको मणिपुरमा तीन महीनादेखि चलिरहेको जातीय हिंसा रोक्न भारत सरकारले पहल नगरेको भन्दै दक्षिणएशियाका अधिकारकर्मीले चिन्ता जनाएका छन्।
मानवअधिकारका लागि दक्षिणएशियालीहरु (साउथएशियन्स फर ह्युमन राइट्स-एसएएचआर)ले प्रेस विज्ञप्ति जारी गरी मणिपुरमा भइरहेको जातीय दंगाप्रति ध्यानाकर्षण भएको जनाएको छ। मानव अधिकार रक्षकहरूको क्षेत्रीय सञ्जाल एसएएचआरका तर्फबाट ब्यूरो सदस्यहरु डा. पी. सरवणामत्तु र सुशील प्याकुरेलले जारी गरेको विज्ञप्तिमा तीन महीना लामो जातीय-साम्प्रदायिक दंगाबाट आफूहरू अत्यन्त चिन्तित भएको जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘निश्चित समुदाय विरुद्ध भइरहेको बर्बर यौनहिंसा र जातीयद्वेषी भीडको आक्रमण भयानक छ।’
भारतको मणिपुर राज्यमा मे महीनादेखि चलिरहेको हिंसामा हालसम्म १५० जनाभन्दा बढीको ज्यान गएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएको जनाइएको छ ।
स्थितिलाई नियन्त्रणमा ल्याउनेतर्फ राज्य सरकार एवं भारतको केन्द्रीय सरकारको दृढ राजनीतिक इच्छा वा क्षमता नदेखाएको भन्दै एसएएचआरले आपत्ति जनाएको छ। ‘मणिपुरको हिंसा नियन्त्रण गर्न र प्रभावितहरूलाई तत्काल न्याय दिलाउने गरी सम्बोधन गर्न एसएएचआर आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।