मणिपुर हिंसामा जुधिरहेका अनेकौं राष्ट्रवाद
राष्ट्र कसको हो र को राष्ट्रको हो भन्ने प्रश्न सिर्जित भारतको विभाजन र उत्तर-पूर्वमा दशकौंसम्म चलेको जातीय द्वन्द्व आज पनि जारी छ जसले उक्त क्षेत्रको नक्शा फेर्ने प्रयत्न गरिरहेछ।
(लेखक एवं पत्रकार सम्राट्को पछिल्लो पुस्तक नर्थइस्ट इन्डियाः अ पोलिटिकल हिस्ट्री (उत्तरपूर्वी भारतः एक राजनीतिक इतिहास) हो। क्याराभान म्यागेजिनको जून अङ्कमा प्रकाशित यो विश्लेषणको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)
मणिपुरमा जातीय हिंसा भड्किएको एक महीनापछि मेको शुरूतिर यो लेख लेखिरहँदा उक्त भारतीय राज्य (प्रान्त) युद्धभूमिमा परिणत भएको छ। सशस्त्र जत्थाले बालुवा भरेको बोराको छेकबार राखेर सुरुङ खनेका छन्। सबैखाले सुरक्षा शक्ति सडकमा गस्ती गरिरहेछन्। एक सयभन्दा बढी मानिस मारिइसकेका छन्। हजारौंको घर जलाइएको छ। दशौं हजार स्थानीय बासिन्दाले प्रान्त नै छोडेको छन्। सबैतिर छाएको आक्रोशले समस्या बल्झाइरहेको छ।
प्रान्तका बहुसंख्यक मैतेई जातिका विभिन्न संगठनको छाता संगठन ‘कोअर्डिनेटिङ कमिटी अन मणिपुर इन्टिग्रिटी’ (कोकोमी)ले ‘चीन-कुकी नार्कोआतङ्कवादी (लागूऔषध आतङ्कवादी) विरुद्ध राष्ट्रिय युद्ध’ घोषणा गरेको छ। मैतेई संगठनहरूले मणिपुर प्रान्तमा ‘राष्ट्रिय नागरिक सूची’ (न्याशनल रजिस्टर अफ सिटिजन्स, एनआरसी) लागू गर्न र त्यसमा कुकीहरूलाई नसमेट्न माग गरेका छन्। कुकीहरू म्यानमारबाट अवैध तवरले भित्रिएका आप्रवासी भएको आरोप उनीहरूको छ (एनआरसी-भारतको नागरिकता ऐनमा सन् २००३ मा गरिएको संशोधनपछि सिर्जना गरिएको सूची जसको उद्देश्य भारतका सबै वैध नागरिकलाई सूचीबद्ध गर्नु हो ताकि अवैध आप्रवासीको पहिचान होस्; हालसम्म यो सूची आसाम बाहेक अन्यत्र लागू भएको छैन)।
अर्कातर्फ कुकी संगठनहरू र उनीहरूका निर्वाचित जनप्रतिनिधिहरूले आमहत्या हुने डरका कारण आफ्नो समुदाय भएको क्षेत्रमा बेग्लै प्रशासनिक व्यवस्थाको माग गरिरहेका छन्। ‘हाम्रा जनता मणिपुर मातहत बस्न सक्दैनन् किनभने हाम्रो आदिवासी समुदाय विरुद्ध यस्तो घृणा बढेको छ, संसद्, मन्त्री, पादरी, प्रहरी, सरकारी जागीरे, सामान्यजन र बालबच्चाहरू समेतमाथि आक्रमण भएको छ। हाम्रा जनताका लागि मैतेईहरूमाझ बाँच्नुभन्दा मर्नु श्रेयस्कर भएको छ,’ मणिपुर राज्य सभामा प्रतिनिधित्व गर्ने १० जना कुकी सांसदले १२ मेमा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
त्यसको एक हप्तापछि भारतका गृहमन्त्री अमित शाहलाई बुझाइएको ज्ञापनपत्रमा कुकी सांसदहरूले हिंसाका कारण ठूलो संख्यामा जनताहरूको बसाइँसराइ हुँदा राज्य नै विभाजित भएको उल्लेख गर्दै यस्तो लेखिएको छ- ‘इम्फाल उपत्यकामा कुकीहरू छैनन्। पहाडमा मैतेईहरू छैनन्।’
कम्तीमा पाँच प्रकारका राष्ट्रवादबीचको टकरावको प्रतिफलस्वरूप मणिपुरमा ‘जनताहरूमाझ अन्तर्घुलन हुन नसकेको’ हो। मैतेई राष्ट्रवाद मणिपुर राज्यको अहिलेकै सीमा सुरक्षित गर्न र आफ्नो समुदायको प्रभुत्व रहेको राजनीतिक यथास्थिति कायम राख्न चाहन्छ। कुकी र नागा राष्ट्रवाद भने इम्फाल (मणिपुरको राजधानी)को प्रभुत्वबाट स्वायत्तता चाहन्छ जुन संविधानको छैटौं अनुसूचीका प्रावधानहरूको विस्तारदेखि वर्तमान सीमालाई परिवर्तन गर्ने गरी नयाँ राज्यहरूको सिर्जनासम्म हुन सक्छ (भारतको संविधानको छैटौं अनुसूचीमा मेघालय, असम, मिजोरम र त्रिपुरा राज्यहरूको आदिवासी जनताको स्वायत्तता सुनिश्चित गरिएको छ)।
त्यस्तै, मणिपुरमा बर्मेली राष्ट्रवाद पनि छ। फेब्रुअरी २०२१ मा म्यानमारमा भएको ‘कू’ पश्चात् शुरू भएको गृहयुद्धका कारण भारत आउने बर्मेली शरणार्थीको संख्या पनि बढेको छ। त्यसैगरी, राज्यको आड पाएको शक्तिशाली भारतीय राष्ट्रवाद त छँदै छ। राष्ट्र कसको हो र को राष्ट्रको हो भन्ने प्रश्न सिर्जित भारतको विभाजन र उत्तर-पूर्वमा दशकौंसम्म चलेको जातीय द्वन्द्व आज पनि जारी छ जसले उक्त क्षेत्रको नक्शा फेर्ने प्रयत्न गरिरहेछ।
कुकीहरूले बेग्लै प्रशासनिक बन्दोबस्तको माग गरेको क्षेत्रमध्ये कांगपोक्पी जिल्ला पनि पर्छ जसलाई नागा जातिले आफ्ना पूर्वजको थलो दाबी गर्छन्। सन् २०१६ मा राज्यका प्रशासनिक एकाइहरूको पुनर्गठन हुने क्रममा कुकी बाहुल्य कांगपोक्पीलाई नागाबहुल सेनापति जिल्लाबाट अलग गराइएको थियो। त्यति वेला मणिपुरमा नागा जातिको प्रतिनिधित्व गर्ने संगठन ‘युनाइटेड नागा काउन्सिल’ ले राज्यमा मालसामान आउने मुख्य राजमार्गहरू रोकेर विरोध जनाएको थियो। उक्त नाकाबन्दी १३९ दिनसम्म भएको थियो। हरेक जातिसँग आफ्नै सशस्त्र समूह र आफ्नै दाबी सहितको नक्शा भएको क्षेत्रमा आधिकारिक नक्शा बनाउनु निकै कठिन काम हो।
विवादास्पद भौगोलिक दाबी नै लामो समयदेखि मणिपुरका तीनवटा मुख्य समुदायबीचको द्वन्द्वको मुख्य कारक रहिआएको छ। सन् १९९२ देखि १९९७ को बीचमा नागा र कुकीबीच हिंसात्मक दङ्गा भएको थियो। म्यानमारको सिमाना नजिकैको शहर मोरेहमा ‘न्याशनल सोसियलिस्ट काउन्सिल अफ नागाल्यान्ड (इसाक-मुइभाह)’ र ‘कुकी न्याशनल आर्मी’ बीचको द्वन्द्वबाट उक्त दङ्गा भड्किएको थियो। उनीहरूले सशस्त्र गतिविधि जारी राख्न आफूले कब्जा गरेको भूभागका व्यवसायीबाट ‘कर’ उठाउने गर्थे। मोरेह शहर व्यापारको सङ्गमस्थल थियो। सरकारी आँकडा अनुसार उक्त दङ्गामा ४७३ कुकीहरू र २०८ नागाहरू मारिएका थिए। हजारौंको घर जलाइएको थियो।
मणिपुरमा नागाहरूले आफ्नो भूभागको दाबी गरिरहेका छन् जसलाई शक्तिशाली ‘न्याशनल सोसियलिस्ट काउन्सिल अफ नागाल्यान्ड (इसाक-मुइभाह) (एनएससीएन: आई-एम)’ले आड दिइरहेछ। यो दाबी नै नागा र मैतेईबीच दोहोरिरहने तनावको कारण बनेको छ। सन् २००१ मा नागाल्यान्डपार पनि युद्धविराम गर्ने सम्झौता तत्कालीन अटलबिहारी बाजपेयी सरकार र एनएससीएन (आई-एम)बीच भएपछि मैतेई समूहले ‘मणिपुर टुक्र्याउन पाइँदैन’ भन्दै प्रदर्शन गरेको थियो।
सोही वर्षको १८ जूनमा प्रदर्शनकारीले विधान सभा, मुख्यमन्त्री र सभामुखको आवासमा आगजनी गरेका थिए जबकि राज्यमा पहिलेदेखि नै राष्ट्रपतीय शासन कायम थियो। त्यति वेला सुरक्षाकर्मीबाट मारिएका १८ जनालाई मैतेई संगठनहरूले ‘कांग्लेपाकका शहीद’ भनेर सम्मान गर्छन् र हरेक वर्ष ‘महान् जून आन्दोलन’ भनेर उक्त घटनाको स्मरण गर्छन्। सन् १९४७ अघि ब्रिटिश इन्डिया अन्तर्गत रियासती राज्यको मैतेई नाम थियो, कांग्लेपाक।
मणिपुर राज्य विभाजन हुन्छ कि भन्ने डर मैतेईमा देखिन्छ। लामो समयदेखि नागा र कुकी संगठनले विभाजनको माग राखेका कारण उनीहरूमा यो डर पलाएको हो। चार दशकदेखि एनएससीएन (आई-एम) नागा जातिको बसोबास रहेको सिङ्गो भूभाग एउटै प्रशासनिक एकाइ हुनुपर्छ भनेर संघर्षरत छ। मणिपुरको उखरुल जिल्लाका टी. मुइवाह यसका प्रमुख नेता हुन्।
नागाबहुल अरुणाचल प्रदेश, आसाम, मणिपुर र उत्तरी म्यानमारलाई समेटेर स्वतन्त्र नागा राष्ट्र बनाउने सपना पूरा गर्ने नाममा सन् १९४७ यता धेरै रगत बगिसकेको छ। सन् १९९७ पछि भने एनएससीएन (आई-एम) भारतीय सरकारसँग एकपछि अर्को शान्ति वार्तामा संलग्न हुँदै आएको छ।
आर्म्सडममा बसिरहेका मुइवाह सन् २०१० मा भारत फर्किए र आफ्नो पुर्ख्यौली गाउँ मणिपुरको सोमडाल घुम्न चाहे। तत्कालीन मनमोहन सिंह सरकारसँगको सल्लाहमा नै उनको भ्रमण कार्यक्रम तय गरिएको थियो तर मणिपुरको तत्कालीन कांग्रेस सरकारले उनको समूहलाई नागाल्यान्ड-मणिपुर सीमामा रोक्यो।
मणिपुरको वर्तमान भारतीय जनता पार्टी सरकारका मुख्यमन्त्री एन. बीरेन सिंह त्यति वेला कांग्रेसका प्रवक्ता थिए। नागाहरूको युद्धविराम मणिपुरसम्म पुर्याउँदा के भएको थियो भनेर उनले मिडियालाई स्मरण गराए। त्यति वेला मैतेई र नागाबीच हिंसात्मक दङ्गा भड्किने अवस्था सिर्जना भइसकेको थियो।
मुइवाहले अन्तिम समयमा आफ्नो भ्रमण रद्द गरेपछि त्यो सङ्कट टरेको थियो। त्यसयता कुकीले जस्तै नागाले पनि नागाबहुल पहाडमा मैतेइको प्रभुत्व रहेको इम्फालबाट स्वतन्त्र अन्तरिम ‘वैकल्पिक प्रशासनिक व्यवस्था’ को माग गरिरहेका छन्।
इतिहासबारे ठ्याक्कै विपरीत दुई धारणाले अलग प्रशासनिक बन्दोबस्तको विषयलाई विवादास्पद बनाइदिएका छन्। मैतेइहरू वर्तमान मणिपुरका सबै पहाड र उपत्यका बेलायतीले सन् १८९१ मा कब्जा गर्नुअघि कांग्लेपाककै अङ्ग थियो भन्ने विश्वास गर्छन्। बेलायती शासन अन्तर्गत रहेका राजाको पहाडमाथि कुनै अधिकार नभएकाले उपत्यकालाई पहाडसँग अलग गराउने काम अंग्रेजले गरेको उनीहरूको आरोप छ।
त्यसअघि कांग्लेपाकका राजाले मणिपुरका पहाडबाट कर उठाउने गर्थे भन्ने उनीहरूको व्याख्या छ। (मणिपुर राज्यलाई भौगोलिक रूपमा उपत्यका र पहाडका रूपमा विभाजन गरिन्छ। मणिपुर वा इम्फाल उपत्यकामा राजधानी इम्फाल शहर अवस्थित छ। उपत्यका वरिपरि उत्तरमा नागा पहाड, पूर्वमा मणिपुर र त्यसपूर्व म्यानमार सिमाना, दक्षिणमा कुकी पहाड र पश्चिममा मणिपुर पहाड छन्।)
अर्कातर्फ कुकी र नागा भने पहाड र उपत्यकालाई कृत्रिम रूपमा एकै ठाउँमा राखेको भनेर बेलायतीलाई आरोप लगाउँछन्। उनीहरूका अनुसार सन् १८९१ अघि पहाडमा स्वाधीन शासन चलाइरहेका जातीय मुखियाहरूको अधिकार खोसेर उनीहरू र बेलायतीबीच संयोजकको काम गर्न स्थानीय हाकिम राखेर त्यस्तो कृत्रिम एकता कायम गरिएको थियो।
वर्तमानको जटिलता भने हरेक जातिको भौगोलिक दाबीमा अन्तर्निहित छ। एउटै स्थानमा एकभन्दा बढीको दाबी पर्दा विवाद जटिल बनेको हो। यो विवादको जरा भने उपनिवेशकालीन प्रशासनिक संरचनामा छ। एनएससीएन (आई-एम)ले मणिपुरका पुराना अविभाजित चार जिल्लालाई आफ्नो मातृभूमि ठान्छ। ती जिल्ला हुन्- चन्डेल, सेनापति, तमेंगलांग र उखरुल। कुकी समूहले माग गरिरहेको ‘जालेनगाम राज्य’ को नक्शाले पनि यही क्षेत्रका धेरै भूभाग समेट्छ।
नागा समूहले चाहिं आफूले पुर्ख्यौली थलोमा मात्रै दाबी गरेको बताउँछ। उनीहरूले पटक पटक निकालेका विज्ञप्तिले कुकीलाई पुराना राजा र बेलायती उपनिवेशकले ल्याएर राखेका जातिका रूपमा प्रस्तुत गर्छन्। मैतेई संगठनहरू त कुकी म्यानमारबाट आएका आप्रवासी भएको भन्दै निष्कासन नै गर्नुपर्ने माग राख्छन्। जबकि कुकी आफूलाई मणिपुरका आदिवासी दाबी गर्छन्। साथै, म्यानमार लगायत अन्यत्र पनि कुकी रहेको स्विकार्छन्।
उपनिवेशपूर्वको मणिपुरका ऐतिहासिक सामग्रीका गम्भीर सीमा छन्। त्यस अवधिमा कुकी र नागा दुवैको मौखिक परम्परा थियो। त्यसैले उनीहरूको इतिहास झल्काउने लेख्य सामग्री पाइँदैन। मैतेईको दाबी मूलतः कांग्लेपाकका राजाहरूको वंशावली ‘चैथारोल कुम्पापा’ मा आधारित छ।
यसलाई अंग्रेजीमा अनुवाद गरेकी मैतेई अनुसन्धाता सरोज नलिनी अरमबाम पार्रातले आफ्नो अनुवादको परिचय खण्डमा उक्त वंशावलीका शुरूका अंशहरू १८औं शताब्दीमा पुनर्लेखन गरिएको उल्लेख गरेकी छन्। त्यसमा प्रयोग गरिएको मिति प्रणालीका आधारमा जोकोही पनि ती अंशहरूको लेखन सन् १४८५ पछि मात्र गरिएको निष्कर्षमा पुग्ने उनले उल्लेख गरेकी छन्।
चैथारोल कुम्पापाले महान् संस्थापक पाखङ्गबाको इतिहास भन्छ। वंशावली अनुसार उनले सन् ३३ मा उनले निंगथौचा रियासत खडा गरेका थिए जहाँ १२० वर्ष शासन गरे। त्यसपछि हजारौं वर्षसम्म निंगथौचा र अन्य ६ वटा जातिबीच युद्ध चलिरह्यो। अन्ततः ती सबै मैतेई मैतेई संघमा संगठित भए। उक्त वंशावलीमा मैतेई राजाहरू र पहाडका थांगुल जातिबीच युद्ध भएको पनि उल्लेख छ। नेता मुइवाह यही थांगुल जातिका हुन्।
पार्रातका अनुसार उक्त वंशावलीमा कुनै एक वंशबारे लेखिएको छ वा निंगथौचाबारे मात्रै भन्ने स्पष्ट छैन किनभने पिताहरूको नाम प्राय: लेखिएको छैन, आमाहरूको त छँदै छैन। यो अस्पष्टताले हरेक जातिलाई आफू अनुकूल दाबी गर्ने स्थान छोडिदिएको छ। कुकी न्याशनल अर्गनाइजेशनका प्रवक्ता सैलेन हाओकिपका तेस्रो शताब्दीका राजा ताओथिंमांग कुकी भएको दाबी गर्छन्। सन् १८४४ देखि १८६२ सम्म मणिपुरमा ब्रिटिश राजनीतिक अजेन्ट भएर काम गरेको मेजर विलियम म्याकुल्लोचले भने सबैभन्दा शक्तिशाली र विवादास्पद राजा पाम्हेइबा ‘नागा बालक रहेको र उनलाई राजा चुराई रेम्बाले धर्मपुत्र बनाएको’ उल्लेख गरेका छन्।
सन् १७०९ देखि १७४८ को बीचमा पामहेइबाको शासनकालमा मणिपुरको भूगोल सबैभन्दा बढी विस्तार भयो। सन् १८३० को दशकमा त्यहाँ बेलायती अफिसर क्याप्टेन रोबर्ट बोइलोउ पेम्बर्टन पुगेका थिए। उक्त शाही वंशावली हात पार्ने उनी पहिलो यूरोपेली थिए। उनले लेखे अनुसार पामहेइबाका सेनाहरूले उर्वर इर्रावत्ते उपत्यकामा भएको युद्धमा विजय प्राप्त गरेका थिए। उनीहरूले बर्मेली नगर र गाउँहरूमा आक्रमण गरेका थिए। अन्त्यमा आफैंले राजधानी स्थापना गरेका थिए। पामहेइबाको निधनपछि बर्मेलीहरूले पुनः आक्रमण गरे। पटक पटक इम्फालमा कब्जा जमाए र अन्ततः मणिपुर नै जिते।
सन् १८१९ देखि १८२६ सम्मको अन्तिम बर्मेली शासनलाई अहिले पनि मणिपुरमा ‘विनाशका सात वर्ष’ भनेर स्मरण गरिन्छ। पहिलो अंग्रेज-बर्मेली युद्धताका त्यो शासन समाप्त भएको थियो। इस्ट इन्डिया कम्पनीबाट तालीम र आर्थिक सहयोग पाएको सानो सेनाको नेतृत्व गरेका गम्भीर सिंहले मणिपुरमा रहेका बर्मेली शक्तिलाई हराएर कब्जा गरेका थिए। सन् १८३४ मा उनको निधन भएपछि अंग्रेजले मणिपुर दरबारमा एक जना राजनीतिक प्रतिनिधि राख्न थालेका थिए।
विभिन्न शताब्दीमा यी राजतन्त्र र साम्राज्यले शासन गरेका भूभाग खुम्चिने र फैलिने भइरहे। एउटा राज्य विस्तार हुँदा अर्को खुम्चिन्थ्यो। तर, अहिलेका राष्ट्रवादीले त्यति वेला फैलिएको भूभाग मात्र स्मरण गरिरहेछन् र त्यसैका लागि लडिरहेका छन्। कतिसम्म भने पूर्वजहरूको अत्तोपतो नभएका वा प्राचीन राजतन्त्रको इतिहास नै नभएका राष्ट्रवादीले पनि यस्तै माग राख्छन्। उनीहरूको हकमा ‘पुर्ख्यौली थलो’ ले राज्य जत्तिकै महत्त्व राख्छ।
नागालिम (नागाको राज्य) र जालेनगाम (कुकीको राज्य) जस्ता राष्ट्रबारे विवादास्पद अवधारणाका आधारमा उत्तर-पूर्वी भारतीय राज्यहरूले दशकौं लामो सशस्त्र द्वन्द्व खेपेका छन्। यो द्वन्द्व उत्तरऔपनिवेशिक भारतीय राष्ट्रवादसँगै उदाएको हो। यस अन्तर्गत स्वाधीन मणिपुरी राष्ट्रको अवधारणा पनि समेटिन्छ। उक्त अवधारणा चाहिं राज्यको वर्तमान सिमानामा आधारित छ।
मैतेइको बाहुल्य रहेको ‘उपत्यकामा रहेका सशस्त्र समूहहरू’ सन् १९६० दशकको अन्तिमतिरबाट यसैका लागि संघर्षरत छन्। सन् २०१९ मा आफूलाई तितुलर महाराजा लिसिम्बा संजाओबाको प्रतिनिधि बताउने दुई जना मैतेईले लन्डनमा एउटा पत्रकार सम्मेलन आयोजना गरेर भारतबाट मणिपुर अलग्गिएको घोषणा गरे। अर्को वर्ष संजाओबा भारतीय जनता पार्टीमा गए। उनले उक्त घोषणाको आलोचना गरे। राज्य सभामा निर्वाचित भए।
पक्कै पनि अहिले मणिपुरमा जुधिरहेका हरेक राष्ट्रवाद ऐतिहासिक तवरमा हेर्दा निकै नयाँ हुन्। त्यसो त राष्ट्र-राज्यकै अवधारणा नयाँ हो। पाँच सय वर्ष पहिला संसारमा कतै पनि राष्ट्र-राज्यको अस्तित्व थिएन। त्यो समय राजतन्त्र र साम्राज्यको थियो र ती राज्यहरू भाषा, संस्कृति वा शासित जनताको आस्थाका आधारमा बन्दैनथे। कुनै पनि साम्राज्यको सेनाले जतिसम्म विस्तार गर्न सक्यो त्यतिसम्म त्यो फैलिन्थ्यो। सम्राट् कुनै पनि समुदाय वा धर्मका हुन सक्थे। सिरियाली र लिबियाली सम्राट्हरूले पनि रोमको शासन गरेका थिए। बेलायती शाही परिवार पछिल्लो जर्मन मूलको हो।
त्यसो त अहिले जुन नक्शाका लागि लडाइँ भइरहेछ ती नक्शाहरू सन् १५६९ मा मरकेटर परियोजना लागू हुनुअघि थिएनन्। त्यसअघिका नक्शाहरू अहिले बोधगम्य छैनन्। ती निकै महत्त्वपूर्ण र राजा-महाराजाको आत्मतुष्टिका लागि बनाइएका थिए। आधुनिक छापाखानाको विकासपछि मात्रै नक्शाहरू सस्ता र सहजै उपलब्ध हुन थालेका हुन्। राजनीतिशास्त्री बेनेडिक्ट एन्डरसनले भन्ने गरेको ‘चिह्नका रूपमा नक्शाहरू’ आउनुअघि भूभाग, सिमाना र पहिचानले एकदमै फरक अर्थ दिन्थे।
बेलायतीको आगमनपछि मात्रै मणिपुरका जनजातिलाई कुकी र नागा भनेर विभाजन गर्न थालिएको हो। यी नामहरूको सिर्जना कसरी भयो भन्ने पनि स्पष्ट छैन। यी जातिहरूले पहिले आफूलाई त्यसरी चिनाउँदैनथे। भन्ने गरिन्छ, ‘कुकी’ भन्ने शब्द बंगाली भाषाबाट आएको हो किनभने उक्त जातिमा त्यो शब्द नै छैन।
त्यस्तै ‘नागा’ शब्दको उत्पत्तिबारे पनि विभिन्न सिद्धान्त छन् जसले आसामी वा बर्मेली भाषाबाट यो शब्दको निर्माण गरिएको भन्छन्। पहिलो पटक उत्तर-पूर्वी भारतमा यी जातिहरूसँग भेट हुँदा राखिएका औपनिवेशिक आँकडाहरूले उनीहरूलाई यी र अहिले चलनचल्तीमा नआएका अन्य शब्दहरूले सम्बोधन गरेको देखाउँछन्।
यसरी विभिन्न जनसमुदायको वर्गीकरण गर्ने उत्कण्ठा चाहिं अठारौं र उन्नाइसौं शताब्दीको विश्व बौद्धिक समुदायको प्रभाव हो। रसायनशास्त्रीहरूले विभिन्न तत्त्वहरूलाई पेरिओडिक तालिकाका विभिन्न हिस्सामा वर्गीकरण गरे जस्तै मानव समुदायलाई पनि यो वा त्यो भनेर वर्गीकरण गरियो। मानिसलाई उनीहरूको जनसंख्याका आधारमा वर्गीकरण गरियो। हरेक जमीनको सर्भे गरियो र नक्शाङ्कन गरियो। त्यसपछि यिनै वर्गीकरणको आधारमा निश्चित जनसमुदायको निश्चित भूभाग हुने ‘राष्ट्र-राज्य’ को नयाँ फेशनका रूपमा छायो।
प्रथम विश्वयुद्ध लगत्तै बहुभाषिक ओट्टोमन, अस्ट्रो-हंगेरिया र रूसी साम्राज्यको पतनसँगै राष्ट्र-राज्यको अवधारणा स्थापित भएको हो। ‘एक जातिलाई अर्को जातिसँग नमिसाउने’ अवधारणामा आधारित रहेर यूरोप र पश्चिमी एशियाको पुनर्नक्शाङ्कन गरियो। सोही क्रममा रोमानियामा बसिरहेका लाखौं हंगेरीभाषीलाई उनीहरूको नयाँ ‘मातृभूमि’ मा स्थानान्तरण गरियो।
त्यस्तै, ग्रीस र टर्कीमा पनि भाषाका आधारमा मानिसको आदानप्रदान भयो। जसबारे पत्रकार साम मिलरले लेखेका छन्, ‘लाखौं ग्रीकहरूलाई तीन हजार वर्षदेखि बस्दै आइरहेको भूभाग छोड्न बाध्य पारियो।’ दोस्रो विश्वयुद्ध लगत्तै बेलायती साम्राज्य पतन हुँदा त्यही ‘एक जातिलाई अर्को जातिसँग नमिसाउने’ र ‘हरेक राष्ट्रको आफ्नै मातृभूमि’ को अवधारणालाई स्थान दिइयो जसले भारतको विभाजन गर्यो।
आज मणिपुरमा यी विचारधाराले प्रभाव पारिरहेको देख्छौं। विविधतायुक्त पुराना रियासतहरू बहुराष्ट्रहरूको आपसी द्वन्द्वका कारण कमजोर भएका छन्। भारतको केन्द्रीय सरकारले स्थितिलाई सामान्य अवस्थामा फर्काउने प्रयत्न गरिरहेछ। तर, त्यो सामान्य अवस्थाको अर्थ हिंसा भड्किनुभन्दा अघिको अवस्था हो भने त्यो कदापि सम्भव छैन। ट्युबबाट मञ्जन निस्किसकेको छ। यसलाई फेरि ट्युबमै राख्न गाह्रो छ।