राजनीतिक संरक्षणमा ‘ब्ल्याकमेल’ र असुली
चिनियाँ आपराधिक गिरोह भित्र्याएर ‘लोन एप’ मार्फत ‘ब्ल्याकमेल’ र असुली धन्दा चलाउने नेपाली एजेन्ट राजनीतिक/प्रशासनिक पहुँचका कारण झन् सक्रिय हुन थालेका छन्।
काठमाडौं, सिनामंगलस्थित स्काई वल्र्ड सर्भिस सेन्टरमा गैरकानूनी काम हुने सूचना पाएपछि नेपाल प्रहरीले यकीन गर्न आफ्ना कर्मचारी खटायो। कनिष्ठ तहको कामदारका रूपमा त्यहाँ पसेका ती प्रहरीले तीन महीना काम गर्दा पाएको सूचना यति थियो- केही चिनियाँ रातदिन त्यहीं बस्छन्। कोही आउनेजाने गरिरहन्छन्। कामदारहरू शिफ्ट अनुसार रातभर, दिनभर काममा हुन्छन्। ठूलो मेसमा हजार/१२ सय जनाका लागि खाजा-खाना पाक्छ। कम्प्युटर, मोबाइल, ल्यापटप टन्नै छन्। एकअर्काको कामबारे कसैलाई थाहा हुँदैन।
थप सूचना नआउने, बरु आफ्नै ‘अपरेशन’ को भेद खुल्ने जोखिम बढेपछि प्रहरीले कर्मचारी फिर्ता बोलायो। अनि बरामद सामग्रीबाटै थप सूचना र प्रमाण जुट्ने आससहित काठमाडौं जिल्ला प्रहरीले साउन पहिलो साता त्यहाँ छापा मार्यो। पाँच चिनियाँ र दुई भारतीय पक्राउ परे भने ३६० वटा ल्यापटप, ७५४ वटा सीपीयू, ५५६ वटा मोनिटर सहित आठ लाख ३० हजार रुपैयाँ बरामद भयो।
एक हजार २४२ कर्मचारीलाई मासिक एक करोड ५३ लाख ५९ हजार १५८ रुपैयाँ तलब दिइएको अभिलेख पनि प्रहरीले फेला पार्यो। कर्मचारीलाई खुवाउन १८ जना व्यावसायिक कूक कार्यरत थिए। उनीहरूको मासिक वेतन सुविधा पाँच लाख ७५ हजार रुपैयाँ र बिहान-बेलुकाको खाना खर्च महीनावारी ३५ लाख रहेको विवरण प्रहरीको अनुसन्धान प्रतिवेदनमा छ। मासिक विद्युत् खर्च तीन लाख, इन्टरनेट खर्च दुई लाख रुपैयाँ छ।
कार्यालय सञ्चालन खर्चको यस्तो आँकडाले उक्त सर्भिस सेन्टरमा कुन तहको अवैध कारोबार हुन्थ्यो भन्ने अनुमान लगाउन सकिन्छ। कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाइएको प्रबन्धपत्रमा कम्पनीको मूल उद्देश्य कल सेन्टर सञ्चालन गरी ग्राहकका समस्या समाधान गर्ने भनिएको छ। तर, त्यहाँबाट चिनियाँहरूले ‘लोन (ऋण) एप’ मार्फत ऋणको जालोमा फसाएर अवैध असुली गर्ने गरेको आरोपमा प्रहरीले कारबाही चलाएको हो। ऋण लिएकाहरूबाट ‘ब्ल्याकमेल’ गरी अतिरिक्त रकम असुल्ने गरिएको प्रमाण बरामद विद्युतीय सामग्रीबाट फेला पर्यो। “उनीहरूका लक्षित समूह भारतीय छन्,” जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनाली भन्छन्।
यस्तै अपराधको आरोपमा प्रहरीले साउनमै रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित ब्लू स्काई बिजनेश सोलुसन प्रालिबाट तीन जनालाई पक्राउ गर्यो। गत फागुनदेखि साउनसम्मको ६ महीनामा प्रहरीले देशभर गरेर यस्ता आधा दर्जन ठाउँमा छापा मारेको छ। प्रहरीका अनुसार, एप डाउनलोड गरेपछि ऋण लिन विभिन्न विवरण भर्न भनिन्छ। त्यसपछि पटक पटक गरेर बढीमा ५० हजार भारतीय रुपैयाँसम्म ऋण दिइन्छ। यस क्रममा ऋणीको तस्वीर सहित व्यक्तिगत विवरण भर्नुपर्छ भने आधार कार्ड वा नागरिकतामध्ये एउटा कागजात पनि अपलोड गर्नुपर्छ। पाँच जना नजिकका नातेदार वा साथीभाइको फोन नम्बर, इमेल लगायत विवरण पनि मागिन्छ।
पछि यिनै विवरण मार्फत पहुँच बनाई अरूको नाङ्गो तस्वीरमा ऋणीको टाउको जोडेर आफन्त वा साथीभाइकहाँ पठाइन्छ। “उनीहरूका ल्यापटप, कम्प्युटरबाट यस्ता फोटो र मेसेज भेटिएका छन्,” मैनाली भन्छन्। चिनियाँ लोन एपको अपराध भारतमा सबैभन्दा बढी छ। ७ सेप्टेम्बर २०२२ को इन्डिया टुडे पत्रिकाका अनुसार, भारतभर चिनियाँ लोन एपबाट ऋण लिएका ५२ जनाले आत्महत्या गरिसकेका छन्। नेपालमा भने पीडित नभेटिएको प्रहरीको दाबी छ।
लोन एप मार्फत चिनियाँहरूको आपराधिक सञ्जाल नेपालमा यसरी फैलनु पछाडि प्रहरीको तीन वर्षअघिको एउटा असफल ‘अपरेशन’ जोडिन्छ। २०७६ पुसमा प्रहरीले काठमाडौंबाट १२२ चिनियाँलाई अनलाइन जुवा, म्याच फिक्सिङ र अश्लील भिडिओ देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गरेको थियो।
चीन सरकारकै आग्रहमा गरिएको उक्त ‘अपरेशन’ बाट एक हजारभन्दा बढी चिनियाँ पक्राउ पर्ने अपेक्षा थियो। द मिनिस्ट्री अफ पब्लिक सेक्युरिटी, चाइनाका निर्देशक वाङ हुवो नेतृत्वको टोली काठमाडौं आएर यो ‘अपरेशन’ लाई गोप्य रूपमा सघाएको थियो। तर, प्रहरी र राजनीतिक नेतृत्वसम्म पहुँचका कारण गिरोहका मुख्य सञ्चालक फरार भए भने उनीहरूका नेपाली साझेदारबारे प्रहरीले अनुसन्धान नै गरेन।
यसरी गरियो सञ्जाल विस्तार
रोल्पा, थवाङकी अमला रोका २०७४ सालअघिसम्म नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को रोल्पा-काठमाडौं सम्पर्क मञ्चकी उपाध्यक्ष थिइन्। सशस्त्र द्वन्द्वरत पार्टी मूलधारको राजनीतिमा आएपछि उनले फाट्टफुट्ट जडीबुटी व्यापार पनि थालिन्। यस क्रममा ठमेलको व्यापारिक वृत्तमा चिनजान बढाइन्। चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग उनको निकटता बढ्यो।
२०७५ जेठमा एमाले-माओवादी मिलेर नेकपा बनेपछि अमलाले पदीय भूमिका पाइनन्। त्यही अवधिमा दावा, उनी र मञ्जिल श्रेष्ठको समूह चिनियाँहरू मार्फत अवैध कार्यमा लाग्यो। प्रहरीका अनुसार, चिनियाँलाई नेपालमा अवैध काममा भित्र्याउने प्रमुख व्यक्ति हुन्, दावा।
२०७६ असोज ८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच जना चिनियाँले ल्याएका २९३ थान मोबाइल, ल्यापटप प्रहरीले जफत गरेपछि दावाको समूह पहिलो पटक प्रहरी अभिलेखमा समेटिएको थियो। इजाजत विनाका यी सामान प्रहरीले भन्सारमै रोकी कानूनी कागजात ल्याए छोडिदिने भन्दै भर्पाई दिएर पठायो। उनीहरू केही दिनपछि बूढानीलकण्ठमा रहेको रोयल स्यान्ड्स होटलले मगाएको भन्दै होटलको दर्ता प्रमाणपत्र र सामान मगाएको पत्र लिएर भन्सार पुगे। तर, सरकारको स्वीकृतिपत्र नभएकाले सामान दिइएन।
बूढानीलकण्ठ नगर कार्यालयमा रोयल स्यान्ड्स होटल मञ्जिलको नाममा दर्ता छ भने कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेखमा मञ्जिल र अमला संस्थापक शेयरधनी छन्। रजिस्ट्रार कार्यालयमा २०७५ मंसीरमा दर्ता भएको यो होटलको केही कित्ता शेयर चार महीनापछि चैत ७ गते चिनियाँ नागरिकद्वय लिन फेङचेङ र लिन लोङयुआनले पनि खरीद गरेका थिए। २०७६ मा प्रहरीले १२२ चिनियाँ पक्राउ गर्दा उक्त होटल अवैध अखडाको केन्द्र रहेको खुलेको थियो।
मञ्जिल, अमला र दावाले होटल, रेस्टुरेन्ट चलाउन चिनियाँसँग मिलेर अन्य कम्पनी पनि खोलेको प्रमाण प्रहरीले उतिवेलै नजुटाएको होइन। यी तीन सहित दुई चिनियाँ चु जिलियाङ, चेन काइमु र चोङ गुआङपेङका नाममा छङ फङ होटल सञ्चालन गर्ने गरी २०७६ कात्तिकमा कम्पनी दर्ता भएको देखिन्छ। चिनियाँको पक्राउसँगै यो गिरोहको सञ्जाल पत्तो लागे पनि प्रहरीले कानूनी कारबाही गरेन। कतिसम्म भने ओरियन्टल इन्टरटेन्मेन्ट अनलाइन र रोयल स्यान्ड्स टेक इन्टरटेन्मेन्ट ग्याम्ब्लिङ नामक कम्पनीको उद्देश्यमै अनलाइन जुवा सञ्चालन गर्ने भनी कम्पनी रजिस्ट्रार कार्यालयमा उल्लेख थियो। रोयल स्यान्ड्स टेक मञ्जिल र अमलाका नाममा दर्ता भएको कागजातबाट खुल्छ।
कानूनी कारबाही छलिएको केही समयपछि नै यो समूह फेरि अवैध दुनियाँमा फर्कियो। काठमाडौं र रुपन्देहीमा ‘लोन स्क्याम’ चलाउन पनि स्काई वल्र्ड काठमाडौंका विजय श्रेष्ठ, रोल्पाका सुविन्द्र रोका मगर र सिन्धुपाल्चोकका पाल्साङ शेर्पाका नाममा कम्पनी दर्ता गरिएको भेटिन्छ। ब्लू स्काईमा विजय र सुविन्द्र साझेदार छन्। काठमाडौंको गैरीगाउँमा रहेको लेमन ग्रूप अफ कम्पनीमा भने विजय एकल सञ्चालक छन्। यो कम्पनीमा २०७८ फागुनमा प्रहरीले छापा मारे पनि मुद्दा चलेन।
अदालतमा दायर भएको अभियोग अनुसार ब्लू स्काई र स्काई वल्र्ड दुवै कम्पनीका व्यवस्थापक मञ्जिल हुन्। कम्पनीका धनी सुविन्द्र अमलाका दिवङ्गत पति सुजनप्रकाशपट्टिका छोरा हुन्। माओवादी द्वन्द्वकालीन पृष्ठभूमि भएका रोल्पाली नेता तथा हाल नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य सन्तोष बुढाका अनुसार, शिक्षक सुजनप्रकाशको गाउँमै भएको झगडाका क्रममा २०५० को दशकमा मृत्यु भएको थियो। “उनी बन्दूक बोकेर हिंडेनन्। यद्यपि, माओवादीको शिक्षक संगठनमा आबद्ध थिए,” बुढा सम्झन्छन्, “गाउँले साइनोमा अमला मेरी नातिनी पर्छिन्।”
पछि अमलाले दावासँग विवाह गरिन्। रोल्पा गृहजिल्ला भएका पूर्व मन्त्री एवं माओवादी नेता वर्षमान पुनले तीन वर्षअघि यो संवाददातासँग उक्त कुरा पुष्टि गरेका थिए। उनले भनेका थिए, “अमलाले चीनतिरै बिहे गरेकी छन्। नेपाल आउँदा ज्वाइँ सहित हाम्रोमा पनि आउँछिन्।”
फेरि उन्मुक्ति
अमलाले अवैध सञ्जाल विस्तार गर्न पारिवारिक सदस्यको समेत साथ लिएकी छन्। बुटवलको ब्लू स्काई बिजनेश सोलुशन चलाउन उनैले ब्यांक खातामा खर्च पठाइदिने गरेको पक्राउ परेका कमलजंग सेनले प्रहरी बयानमा खुलाएका छन्। कम्पनीका महाप्रबन्धक सेनले अमला आफ्नी माइजू रहेको बताएका छन्। उक्त कल सेन्टर चलाउन उनैले घर खोजिदिएका हुन्। “कार्यालय स्थापना गर्न अमला रोका, सुविन्द्र रोका मगर र मञ्जिल श्रेष्ठ समेतले मेरो ब्यांक खातामा रकम पठाउने गर्थे,” सेनको बयान छ, “मेरी माइजू नाताकी अमला रोकाले बुटवलमा ठूलो कम्पनी खोल्दै छौं, काम गर्ने भए ४०/५० हजार जति तलब हुन्छ भनेकाले घरभाडाको सम्झौता गरेको हुँ।”
काठमाडौंको ठमेलस्थित होटल भियना प्रालिमा पनि अमलाको संलग्नता खुल्छ। गत साउन ११ मा प्रहरीले उक्त होटलबाट २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, एक लाख ९० हजार मूल्य बराबरका सिम कार्ड बरामद गरेको थियो। साथै, चार चिनियाँ नागरिकलाई समातेको थियो। बरामद सामानमा ऋणीलाई धम्क्याएको, अश्लील फोटोहरू जोडेको भेटिएको थियो। मञ्जिल र अमलाले घरधनी रत्नमान श्रेष्ठसँग होटल चलाउन सम्झौता गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। काठमाडौं प्रहरीका प्रवक्ता एसपी मैनालीले उक्त प्रकरणमा अमलालाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको दाबी गरे। तर, अभियोगपत्रमा अमला प्रतिवादी छैनन्।
कानूनी कारबाहीबाट जोगिएपछि यो समूह झनै विस्तार हुँदै गएको छ। चार वर्षअघि चिनियाँ र नेपाली पक्षबीच भएको शेयर तथा लगानी सम्बन्धी सम्झौतामा साक्षी बसेका व्यक्ति नै अहिले अवैध कामको हर्ताकर्ता बनेको भेटिन्छ। अमला, मञ्जिल, चिनियाँ नागरिकद्वय लिन फेङचेङ र लिन लोङयुआनबीच होटल-रेस्टुराँ साझेदारीमा चलाउने र शेयर खरीद सम्बन्धी सम्झौता हुँदा दाङका हिमाल बाठा मगर साक्षी बसेका थिए। २०७५ फागुन ७ मा भएको उक्त समझदारीमा बाठा मगर फेङचेङका साक्षी हुन्। तर, प्रहरीसँगको बयानमा उनले २०७८ फागुनतिर मञ्जिलसँग चिनजान भएको र उनैले काम गर्न बोलाएको बताएका छन्। अहिले उनी उक्त कम्पनीमा लेखा एवं मानव संसाधन विभाग प्रमुख हुन्।
सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीका अनुसार, शुरूमा चिनियाँहरू वैदेशिक लगानीको आवरणमा नेपाल छिरे र राजनीतिक तथा प्रशासनिक पहुँच विस्तार गरे। यो समूहले शुरूमा एप लोन मार्फत आकर्षक ब्याज दिएर सर्वसाधारणसँग ऋण लिन्थ्यो। बिस्तारै विश्वासमा पारेर एक लाख युआनसम्म ऋण पुर्याएपछि त्यसको विवरण नै ‘सिस्टम’ बाटै हटाएर सम्पर्कविहीन बनिदिन्थ्यो।
“त्यतिखेर यी चिनियाँले चिनियाँ विरुद्ध नै काम गर्थे,” तीन वर्षअघि काठमाडौं प्रहरी प्रमुख छँदा समेत यो मामिलाबारे अनुसन्धान गरेका उनी भन्छन्, “प्रहरीले केही चिनियाँ पक्राउ गरेपछि साम्य भएको थियो। उनीहरूले फेरि शुरू गरे र अहिले भारतीयलाई पीडित बनाइरहेछन्।” सीआईबीले १२२ चिनियाँ पक्राउ गर्दा तयार पारेको छुट्टै अनुसन्धान प्रतिवेदनमा चिनियाँ र नेपालीबीच दोभाषेको काम गर्ने एक नेपाली महिलाले पनि चिनियाँहरूलाई राजनीतिक व्यक्तिहरूसँग भेटघाट गराउँदै आएको उल्लेख छ। ती महिला सीता राना मगर हुन्।
कामदार पक्राउ गरे पनि मुख्य सञ्चालक र तिनका नेपाली साझेदार तथा सहयोगी उम्कँदा अहिले यो गिरोहले नेपाली भूमि दक्षिणी छिमेकी मुलुकका नागरिक विरुद्ध दुरुपयोग गरिरहेको छ। “यसले छिमेकीसँगको सम्बन्धमै दीर्घकालमा असर पार्न सक्छ,” साइबर ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द अर्याल भन्छन्, “राज्यले साइबर अपराध सम्बन्धी अनुसन्धानका स्रोतसाधन, प्रविधिमा लगानी नगरे यो जोखिम टार्न सकिँदैन।”
राजनीतिक-प्रशासनिक ‘साँठगाँठ’
गत वैशाखमा उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अध्यागमन विभागबाट सादा पोशाकमा एक प्रहरी निरीक्षक पठाइदिन खबर आयो। गृह मन्त्रालयको निर्देशन भनिएपछि कार्यालयले तुरुन्तै पठाई पनि हाल्यो। अध्यागमनले काठमाडौं प्रहरीको समेत सहयोग लिएर महाराजगञ्जको एउटा घरबाट २२ चिनियाँलाई पक्राउ गर्यो। तर, लगत्तै गृहमन्त्री बालकृष्ण खाँणले अध्यागमन, उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी प्रमुख र गृहका सहसचिवलाई बोलाएर कसले र किन छापा मारेको भन्दै र्याखर्याख्ती पारेको एक प्रहरी अधिकृत सम्झन्छन्। पक्राउ परेका २२ जनालाई नै सोही साँझ अध्यागमनले बोलाएका वेला उपस्थित हुने शर्तमा गुपचुप रूपमा छाडियो।
त्यति वेला उपराष्ट्रपति कार्यालयका सचिव र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले पनि उनीहरूलाई छाड्न दबाब दिएको अध्यागमन विभाग स्रोत बताउँछ। अध्यागमनले त्यहाँ अवैध असुली हुने गरेको शङ्कामा छापा मारेको थियो। दीपेशको चिनियाँ गिरोहसँगको साइनो पुरानै हो। दावासँग उनको विशेष सम्बन्ध छ। दावाले नै चिनियाँ टोलीसँग दीपेशको भेट गराइदिएका हुन्, यद्यपि कानूनी कागजातमा उनी कतै देखिँदैनन्।
चिनियाँ गिरोहले अवैध धन्दा चलाउन प्रहरीको उच्च नेतृत्वसम्मै पहुँच बनाएको भेटिन्छ। २०७६ मा विमानस्थलमा रोकिएको सामान छुटाउन चेन सितियान नामका चिनियाँले तत्कालीन आईजीपी सर्वेन्द्र खनालसँग समेत भेटेका थिए। उक्त भेटको तस्वीर उनले विच्याटमा प्रहरीले खटाएको सुराकीलाई पठाएका थिए। ‘तिम्रो बोससँग भेटिसकें। सामान छिटो छोडिदिनू’ भन्दै सितियानले चिनियाँ भाषामा कात्तिक २ गते तस्वीर सहित भोइस मेसेज पठाएका थिए। थाइल्यान्डबाट अवैध रूपमा सामान ल्याएका सितियानले विच्याटमा जेसन नामक फर्जी आईडी बनाएका थिए। उनले उपराष्ट्रपतिका छोरा दीपेश र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक मार्फत आईजीपी खनाललाई भेटेका थिए।
त्यो भेटको प्रभाव प्रहरी ‘अपरेशन’ मा समेत देखियो। सितियान सहितका मुख्य सञ्चालक काठमाडौंमा प्रहरीले छापा मार्नुभन्दा केही दिनअघि नै भियतनाम उडे। २०७६ माघमा अवकाश पाएका खनाल अहिले नेकपा (एमाले)बाट आसन्न प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार छन्।
प्रहरी स्रोतका अनुसार, यो गिरोहले माओवादी उच्च तहका नेताहरूको साथ पाएको छ। अमलाले वैदेशिक लगानी आउने भन्दै माओवादी नेताहरूलाई भेटाउने गर्छिन्। माओवादी नेता वर्षमान पुन, उनकी पत्नी समेत रहेकी पूर्व सभामुख ओनसरी घर्तीसँग अमला र दावाको विशेष सम्बन्ध रहेको स्रोतको दाबी छ।
वर्षमानले अमलासँग सम्बन्ध रहेको स्विकारे पनि ओनसरीले आफूले नचिन्ने बताएकी थिइन्। सितियानकै समूहका रोङफेङले दावा मार्फत धेरैचोटि वर्षमानलाई भेटेका थिए। पुन परिवारसँग दावा र अमलाले ‘डिनर’ गरेको तस्वीर प्रहरीले सङ्कलन गरेको छ। यस विषयमा वर्षमानले यो संवाददातालाई आफू ऊर्जामन्त्री छँदा मन्त्रालयसँग सम्बन्धित काममा चिनियाँहरू आइरहने हुँदा त्यस्ता भेटघाट स्वाभाविक भएको प्रतिक्रिया दिएका थिए। “अमलाले चिनियाँ ज्वाइँ, देवर लिएर भेटाउने गरेकी छन्,” उनको भनाइ थियो, “त्यसै क्रममा उनका अन्य आफन्तसँग पनि भेट भएको हुन सक्छ।” तर, यो पाटोमा अनुसन्धान गर्ने आँट प्रहरीले जुटाउन सकेको छैन।
के हो ‘लोन एप’?
गिरोहले गो लोन, ह्यान्डी लोन, क्रेडिट लोन जस्ता एप जडान गर्न इन्टरनेटको भर्चुअल नम्बरबाट लिङ्क पठाउँछ। एप जडान गर्दा फोन बूक, ग्यालरी, मेसेजमा पहुँच दिन भनिन्छ। यसमा पहुँच नदिई एप जडान हुँदैन। एप जडानपछि केवाइसी फारामका नाममा मोबाइल नम्बर, इमेल, आधार कार्ड, प्यान कार्ड जस्ता व्यक्तिगत विवरण भर्न भनिन्छ।
साथी वा आफन्तका पाँच वटा मोबाइल नम्बर, इमेल पनि मागिन्छ। त्यसपछि ब्यांक अकाउन्टमा ऋण रकम आउँछ। प्रहरीका अनुसार, शुरूमै ब्याज र फाइल खर्च भनेर केही रकम कटाइन्छ। “१५ हजार रुपैयाँ ऋण लिएको छ भने पाँच हजार खर्च कटाउँछ,” काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनाली भन्छन्।
एप जडान गर्नासाथ प्रयोगकर्ताको सम्पूर्ण डेटा क्लाउडमा सेभ हुन्छ। यो विवरण पछि इन्टरनेट गेटवेमा नक्कली भर्चुअल आइडी बनाउन प्रयोग गरिन्छ। यसरी बनाइएको आईडीबाट ऋणीलाई फोन गर्न एनएक्स कल नामक एप्लिकेशन र वाट्सएप प्रयोग गरिन्छ। एक साताको भाका दिएको ऋण नउठे फोन र मेसेज गरेर धम्क्याउन शुरू हुन्छ।
ऋण तिरे पनि त्यो विवरण एपमा अद्यावधिक नगरी भुक्तानीका लागि ताकेता गरिन्छ। पैसा नदिए ‘ब्ल्याकमेल’ शुरू हुन्छ। ऋणी वा उनका आफन्त, साथीभाइको तस्वीर अरूको नाङ्गो तस्वीरमा जोडेर पठाउने लगायतका अनेक हर्कत गरिन्छ।
लोन एप मार्फत यस्तो आपराधिक जालो चीनबाट शुरू भएको हो। सन् २०१२ देखि चीनमा यस्तो एप मार्फत तत्काल ऋण दिन थालिएको थियो। सन् २०१६ सम्म आइपुग्दा चीनमा यसै मार्फत १०० अर्ब डलरको कारोबार हुन थालेको इन्डिया टुडेले लेखेको छ। त्यसपछि चीनले फाइनान्सियल रिस्क स्पेशल रेक्टिफिकेशन वर्क लीडरशिप समूह बनाई यस्तो एप चलाउने कम्पनीलाई दुई वर्षभित्र हिसाबकिताब राफसाफ गर्ने समय दियो।
त्यसपछि त्यहाँ यो काम लगभग बन्द भयो। तर, त्यसमा संलग्नहरू सफ्टवेयर डेभलपमेन्ट कम्पनी खोल्ने नाममा अन्य मुलुक छिरे। त्यसयता सफ्टवेयर डेभलपमेन्ट कम्पनी खोल्ने भन्दै उद्योग विभागमा दुई दर्जन चिनियाँ उद्योग दर्ता छन्।
(हिमालको २०७९ मंसीर अंकबाट।)