नेपालीलाई म्यानमारमा बन्धक बनाउने ‘चिनियाँ गिरोह’ नेपालमै
फिरौती तिरेर म्यानमारबाट फर्किएकाहरूले ‘चिनियाँ मानव तस्कर’ को गैरकानूनी धन्दाभित्र कष्टकर र डरलाग्दो दैनिकी बिताउनुपरेको खुलाएका छन्। ‘साइबर स्क्यामिङ’ का लागि २०० भन्दा बढी नेपाली म्यानमारको म्यावडी क्षेत्रमा बन्धक भएको प्रहरीको अनुमान छ।
नेपाली युवायुवतीलाई आकर्षक आम्दानीको लोभ देखाएर द्वन्द्वग्रस्त मुलुक म्यानमार पुर्याउन नेपालमै बसेर चिनियाँ गिरोह सक्रिय भएको प्रहरी अनुसन्धानले देखाएको छ। उक्त गिरोहले नेपाली युवायुवतीलाई म्यानमारको विद्रोही जातीय सेनाको अधीनस्थ क्षेत्रमा सञ्चालित अवैध साइबर क्याम्पमा लगी बन्धक बनाएर ठगी कार्यमा लगाउने गरेको अनुसन्धानमा पाइएको छ।
गत असार २८ गते नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले चीनको गान्सु प्रान्तका लियाङ जुनलाई काठमाडौंको बिजेश्वरीबाट पक्राउ गरेपछि यो गिरोह नेपालमै सक्रिय रहेको खुलेको हो । उनीमाथि अहिले साइबर अपराध र मानव बेचबिखनको कसूरमा अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार ४२ वर्षीय लियाङ आफूलाई ‘जोन्सन’ भनेर चिनाउँथे। उनी सन् २०१८ देखि नेपाल आउन थालेका थिए। उनी भिजिट, विद्यार्थी र व्यापार भिसामा नेपाल आउजाउ गर्थे। पेशा र उद्देश्य परिवर्तन गरेर उनी नेपालमा आवातजावत गरिरहेका थिए। कृषि, आयात-निर्यात र व्यापार लगायतका पेशा गर्ने बताए पनि उनका गैरकानूनी कार्यबारे भने अध्यागमन विभाग, प्रहरी जस्ता सरकारी निकाय लामो समयसम्म बेखबर जस्तै बने।
युवायुवतीलाई भने शुरूमा लियाङले चिनियाँ दोभाषे मार्फत नेपालीलाई थाइल्यान्डमा ‘कम्प्युटर टाइपिङ’ सम्बन्धी जागीर लगाइदिने प्रलोभन देखाएका थिए।
थाइल्यान्ड पुर्याएपछि त्यहाँबाट म्यानमारको विद्रोही सेनाको कब्जामा रहेको स्थानमा सञ्चालन भइरहेको अवैध साइबर शिविरमा विना पारिश्रमिक काममा लगाउने, ठगी कार्यमा लगाउने, नमाने वा नसकेमा यातना दिने र घर फर्कन खोज्दा पीडितबाटै लाखौं रुपैयाँ फिरौती मागेर बन्धक बनाउने गरिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले ती युवालाई दैनिक २० घण्टासम्म अनलाइन ठगीमा लगाउने गरेको देखाएको छ। ती अवैध साइबर अखडा चीन, थाइल्यान्ड र म्यानमारको सीमावर्ती क्षेत्रमा रहेको पीडित र प्रहरीले बताएका छन्।
लियाङ सम्मिलत गिरोहले मात्रै कम्तीमा ४० जना नेपालीलाई म्यानमार पुर्याएर अनलाइन ठगीमा लगाएको ब्यूरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठले बताए। श्रेष्ठका अनुसार पक्राउ पर्नुअघि लियाङले नेपालीको नाममा व्यवसाय दर्ता गरेका थिए। ती नेपालीबारे प्रहरीले खुलाएको छैन।
श्रेष्ठका अनुसार लियाङले बिरामी भएको बहाना पारेर सोधपुछमा केही बोलेका छैनन्। यो गिरोहका एक जना थाइल्यान्ड र अर्को एक जना म्यानमारको म्यावडीमा बसेर ठगी चलाइरहेको जाहेरीकर्ताले प्रहरीलाई बताएका छन्। अनुसन्धानबाट पनि थाइल्यान्ड बस्नेले नेपाल लगायत अन्य देशबाट त्यहाँ पठाइएकाहरूलाई ‘रिसिभ’ गरेर म्यानमार पठाउने गरेको खुलेको श्रेष्ठले बताए। अर्का एक जनाले म्यानमारबाटै अवैध गतिविधि सञ्चालनमा सघाउने गरेका छन्।
गिरोहको फन्दामा परेर २०७९ साउन ९ गते भिजिट भिसामा थाइल्यान्ड गएकी एक २६ वर्षीया युवती त्यहाँबाट १३ घण्टा गाडी र डुङ्गाको यात्रा गरेर थाइल्यान्डको च्याङमाई हुँदै म्यानमारको म्यावडी पुगेकी थिइन्। तिनै युवतीको जाहेरी तथा मौखिक सूचनाका आधारमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको हो । त्यसअघि अनलाइन मार्फत थाइल्यान्डबाटै १३ जनाले जाहेरी दिए पनि धेरै सूचना अस्पष्ट भएकाले अनुसन्धान अलमलमै थियो ।
बिरामी भएपछि २० हजार थाई भाट फिरौती तिरेर ती युवतीलाई २०७९ को भदौमा क्याम्पबाट निस्कन दिइएको थियो। उनी भदौ ६ गते नेपाल आएकी थिइन्। तर, उनीसँगै म्यानमार गएका ६ जना भने नेपाल फर्किन सकेका छैनन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले चिनियाँ गिरोहले यसअघि नेपालबाटै अवैध साइबर गतिविधि गर्न खोजेकोमा केही व्यक्ति पक्राउ परेपछि सुरक्षित ठाउँ खोज्दै म्यानमार पुगेको देखाएको छ। २०७९ सालको असार/साउनमा प्रहरीले पोखरा, काठमाडौं र बुटवलमा चिनियाँले चलाएका कल सेन्टरमा छापा मार्दा चिनियाँ लोन एप मार्फत ठगी गरेको पाइएको थियो।
त्यति वेला पक्राउ पर्ने समूहको सम्बन्ध अहिले म्यानमार पठाउने व्यक्तिसम्म जोडिएको प्रहरीको आशङ्का छ। “त्यस वेला बरामद भएका मोबाइल, ल्यापटप, कम्प्युटरको प्राविधिक अनुसन्धान नभएकाले त्यति वेला र अहिलेको समूहको कनेक्सन केलाउन सकिएको छैन,” ब्यूरो प्रमुख श्रेष्ठले भने।
यसअघि नेपाल, भारत, मलेशिया, लाओस लगायत देशबाट बेरोजगार युवालाई म्यानमार लगेर राहदानी र मोबाइल जफत गर्ने, बन्धक बनाउने र फेसबूक, ह्वाट्सएप, ट्वीटर, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल मार्फत नक्कली आईडी बनाएर ठगी गरिरहेको रिपोर्ट खोज पत्रकारिता केन्द्रले प्रकाशन गरेको थियो।
गत वैशाख १९ गते चिनियाँ विदेश मन्त्री छिन काङले म्यानमार पुगेरै समकक्षीसँगको भेटमा चीन-म्यानमार सीमावर्ती क्षेत्रमा रहेका अवैध साइबर अखडामा चिनियाँहरूलाई समेत बन्धक बनाएर काम गराइरहेको बताएका थिए। उनले दुवै देशको संयुक्त पहलमा सीमावर्ती क्षेत्रमा मौलाइरहेको ठगी र मानव तस्करीको अन्त्य गर्नुपर्ने बताएका थिए।
म्यानमार पुर्याउने तीन अवैध रूट
यो गिरोहले नेपाल लगायत विभिन्न एशियाली देशबाट युवायुवतीलाई तीन फरक फरक रूट प्रयोग गरेर म्यानमार पुर्याउने गरेको छ। पहिलो रूट हो, काठमाडौं-कोलकाता-ब्यांकक-म्यानमार-रंगून हुँदै म्यावडी।
दोस्रो, काठमाडौं-ब्यांकक हुँदै थाइल्यान्ड र म्यानमारको सीमावर्ती च्याङमाई पारि म्यावडी। प्रहरीमा जाहेरी दिएकी २६ वर्षीया युवती दोस्रो रूटबाट म्यानमार पुगेकी थिइन्।
तेस्रो रूट हो, दुबई हुँदै रंगून अनि त्यहाँबाट म्यानमारको कचिन प्रान्तको ‘ह्वा’। दुई महीनाअघि नेपाल फर्किएका योगराज लिबाङ तेस्रो रूटबाट त्यहाँ पुर्याइएका थिए। झापाका लिम्बू एक हजार डलर तलब हुने विज्ञापनलाई पछ्याउँदा गत नोभेम्बरमा म्यानमारको अवैध साइबर क्याम्पमा जाकिएका थिए जो अनेक उपाय लगाएर सकुशल नेपाल आउन सफल भएका थिए।
ठगीको चिनियाँ मोडल
फिरौती तिरेर म्यानमारबाट फर्किएकाहरूले ‘चिनियाँ मानव तस्कर’ को गैरकानूनी धन्दाभित्र कष्टकर र डरलाग्दो दैनिकी बिताउनुपरेको खुलाएका छन्। ‘साइबर स्क्यामिङ’ का लागि २०० भन्दा बढी नेपाली म्यानमारको म्यावडी क्षेत्रमा बन्धक भएको अनुमान प्रहरीको छ।
उनीहरूलाई घरपरिवारसँग सम्पर्क गर्न दिइँदैन भने बाहिर निस्किन वर्जित छ। ठगी गर्न नसक्ने वा नमान्नेलाई चरम यातना दिइन्छ। त्यहाँबाट निस्कन लाखौं फिरौती तिर्नुपर्छ। कतिले आफन्तलाई सकुशल फिर्ता ल्याउन जमीन बेचेका छन् भने कति ऋणको पासोमा परेका छन्। कतिपयले ज्यान जोगाउन चिनियाँसँग मिलेर थप नेपालीलाई बन्धक क्याम्पमा बोलाइरहेका छन्।
तीमध्ये एक हुन्, धादिङका रिजन तामाङ।
काठमाडौंमा जसोतसो जीवन धानिरहेको रिजनको परिवार अहिले मानव तस्करसँगको साँठगाँठभित्र रुमल्लिरहेको छ। रिजनकी श्रीमती प्रेमा तामाङले आफ्नो श्रीमान् चिनियाँ गिरोहको फन्दामा परेको बताइन्। रिजनलाई परिबन्दमा पार्ने मुख्य नाइके लियाङ नै भएको प्रहरीले बताएको छ।
रिजन र प्रेमा कालीमाटीमा फूलको व्यापार गर्थे। आर्थिक अभावबाट मुक्ति पाउन विदेश जाने सोच बनाइरहेकै वेला रिजनले चिनियाँ सम्पर्क सूत्र भेटे- कविता गुरुङ।
कविताले ‘राम्रो तलब र काम पाइन्छ’ भन्दै रिजनलाई थाइल्यान्ड जान आग्रह गरिन्। उन्नत जीवनको सपना बोकेर उनी एक लाख रुपैयाँ खर्चेर भिजिट भिसामा काठमाडौंबाट ब्यांकक उडे। ब्यांककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न एक जना चिनियाँ बसेका थिए।
रिजनलाई दुई दिन होटलमा राखियो। तेस्रो दिन थाइल्यान्डकै अर्को शहरमा कार्यालय रहेको बताउँदै थाई–म्यानमार सीमावर्ती क्षेत्र हुँदै म्यावडी पुर्याइयो। बल्ल रिजनले आफू ठगिएको चाल पाए।
रिजनलाई दिइएको काम उनले पार लगाउन सक्ने थिएन। काम थियो- अनलाइन मार्फत मानिसहरू ठग्ने। काम गर्न नसकेपछि रिजनलाई अर्को अड्डामा सारियो। त्यहाँ शुरू शुरूमा त उनलाई मानसिक र शारीरिक यातना समेत दिइयो।
रिजनकी श्रीमती प्रेमाका अनुसार म्यानमार पुगेको ११ दिनपछि ‘चिनियाँ बोस’ ले रिजनलाई फकाउँदै आफू जस्तै नेपाली युवालाई म्यावडी ल्याउन अह्राए। यातनाबाट बच्न रिजनले चिनजानका नेपालीहरूलाई म्यावडी बोलाउन थाले। यद्यपि, आफ्नो श्रीमान्ले एक जना नेपालीलाई मात्रै म्यानमार लैजान सघाएको प्रेमाको दाबी छ। “नेपालबाट मान्छे ल्याउनैपर्छ भनेर चिनियाँ ‘बोस’ ले तनाव दिएछ। अनि मेरो सम्पर्कबाट एक जना भाइ त्यहाँ गएका हुन्,” प्रेमा भन्छिन्, “अहिले मेरो श्रीमान्लाई पनि चिनियाँले त्यहाँबाट निस्कने भए आठ लाख रुपैयाँ तिर्नुपर्छ भनिरहेका छन्। त्यो भाइ पनि नेपाल फर्किन चाहन्छ। राम्रो कमाइ गर्ने नाममा चिनियाँले फसायो।”
तर, रिजनले कम्तीमा तीन जनालाई म्यानमार लगेको प्रमाण हिमालखबरले फेला पारेको छ। त्यस्ता पीडित र उनीहरूका परिवारका सदस्यसँग भेटेको पनि छ।
तीमध्येका एक हुन्, हेटौंडाका संग्राम अधिकारी। उनी अस्ट्रेलिया जाने सोचले अंग्रेजी भाषा आइएलटीएसको कक्षा लिन काठमाडौं आएका थिए। प्रेमाकी दिदीकी छोरी र संग्राम साथी साथी हुन्। थाइल्यान्डमा काम र तलब राम्रो भएको साथीले सुनाएर सानीआमा प्रेमासँग भेटाइदिइन्।
संग्राम पनि तीन लाख तिरेर थाइल्यान्ड जान तयार भए। प्रेमाले रिजनसँग सम्पर्क गराइदिइन्।
काठमाडौंका गिरीश नेवार श्रीमती गीताकी साथी रोजिता मार्फत प्रेमाकहाँ पुगे। प्रेमाले आफ्ना श्रीमान्ले थाइल्यान्डमा मासिक एक लाख रुपैयाँ नेपाली कमाइरहेको र त्यहाँ थप मानिस आवश्यक भएको बताइन्। गिरीश एक लाख रुपैयाँ तिरेर थाइल्यान्ड जान राजी भए।
थाइल्यान्ड जान चाहने गिरीश, संग्राम र अन्य दुई युवालाई प्रेमाले भेट गराइदिइन्। १२ नोभेम्बर २०२२ मा उनीहरू कोलकाता गए। कोलकाता पुगेपछि अन्य दुई युवा भने काठमाडौं फर्किए। गिरीश र संग्राम त्यहाँबाट बिजनेस भिसामा थाइल्यान्ड गए।
रोजगारीका लागि थाइल्यान्ड हिंडेका उनीहरूलाई म्यानमारको पुरानो राजधानी रंगून हुँदै द्वन्द्वग्रस्त म्यावडी पुर्याइयो। उनीहरूलाई बोलाउने रिजन भेट्न आए र काम बताएर फर्किए। तर, गिरीश र संग्रामले पनि अनलाइन ठगीको काम गर्न सकेनन्। यातना खेप्न थाले।
हुँदाहुँदा रिजन पनि गिरीश र संग्राम लगायत अन्य युवालाई धम्क्याउँथे। गिरीशले घरमा श्रीमतीलाई फोन गर्न खोज्दा समेत रिजनले नै रोक्थे। म्यानमारमा आफूहरूले भोग्दै आएको यातना र ठगिएको कुरा परिवारलाई नभन्नू भन्थे।
गिरीशले आफू यस्तो काम गर्न नसक्ने दोहोर्याएपछि उनीसँग उल्टै १२ लाख फिरौती मागियो। ऋण खोजी पैसा तिरेर गिरीश असार ३ गते काठमाडौं आइपुगे।
आफू ठगिएर म्यानमार गएको क्षण उनी सम्झिन पनि चाहँदैनन्। “काम गर्न सकिनँ। त्यहाँ भएका नेपालीले नै मानसिक तनाव दिए। केही नलागेपछि १२ लाख तिरेर फर्किएँ। यस बाहेक फर्कने टिकट खर्च लाग्यो,” गिरीशले भने, “म जस्ता धेरै नेपाली त्यहाँ फसेका छन्।”
म्यानमारमै बन्धक रहेका संग्रामलाई सकुशल नेपाल पर्काउन उनका ७१ वर्षका बुबा रामजी अधिकारी काठमाडौंमा भौंतारिरहेका छन्। हेटौंडाबाट साउन ८ गते काठमाडौं आएका उनी ऋणको खोजीमा छन्। १२ लाख फिरौती दिए मात्र संग्रामलाई पठाइदिने गिरोहले सन्देश पठाइरहेको छ।
“पैसा हाल्दे भनेर छोरा कराइरहेको छ। आफूसँग छैन। अब के गर्ने हो, कुनै उपाय छैन। मेरो छोरा आउला जस्तो छैन,” रामजीले पीडा पोखे।