जब सासूआमाको स्वेटरले आङ छोपिन्
कर्णालीका दुई जिल्ला जुम्ला र कालिकोटको यात्रा गर्दा लाग्यो- बहुआयामिक गरीबीसँग जुधिरहेको यस क्षेत्रको मुहार फेर्न पूर्वाधार विकास गरेर मात्र हुँदैन, जनजीवनलाई प्रत्यक्ष छुने गरी रोजगारी र आयआर्जनका कार्यक्रम चलाइनुपर्छ।
‘एकैछिन है’ भनेर घरभित्र पसेकी थिइन्। धेरैबेरसम्म पनि निस्किइनन्।
नयाँ ठाउँ। नयाँ परिवेश। कल्पना नै नगरेको पीडाको चाङ बोकेका मानिसहरू। सबथोक विचित्र लागिरहेका थिए।
कर्णाली प्रदेशमा खाद्यान्न अभाव र कुपोषणको विषयमा रिपोर्टिङ गर्न गत जेठमा जुम्ला गएकी थिएँ। त्यही मेसोमा उनीसँग भेट्नु थियो।
उनी अर्थात् राजु रावल। वर्ष २३। वतन- चन्दननाथ नगरपालिका, जुम्ला।
कुनै सरकारी आँकडामा शायद यसरी नै लेखिएको छ उनको परिचय। पक्कै पनि छुट्नेछ, उनको अर्को परिचय- डेढ वर्षअघि एक मृत र एक कुपोषित बच्चालाई एकैसाथ जन्म दिएकी आमा हुन् उनी। आफैं पनि कुपोषित छिन्।
खाद्य सुरक्षाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय दाताहरूसँग लामो सूची थियो- कहाँ कहाँ, को को कुपोषित छन्? कसका सन्तान कुपोषणग्रस्त छन्? कसका सन्तान कुपोषणले बिते? त्यो सूचीमा राजुको पनि नाम थियो। त्यसैले उनलाई भेट्न चन्दननाथ नगरपालिका-७, मिचास्थित उनको घर पुगेकी थिएँ।
म पुग्दा उनी घरसँगैको गोठ सफा गर्दै थिइन्। उनले लगाएको कुर्ता धेरै ठाउँमा फाटेको थियो। छाती उदाङ्गै थियो। त्यसैले असहज बनाएर होला, उनी लुगा फेर्न भन्दै हत्तपत्त घरभित्र पसिन्।
लामो समयसम्म उनी बाहिर नआएपछि म नै उनको कोठामा पसें। उनी त घोप्टो मुन्टो लगाएर बसिराखेकी रहिछन्।
“धेरै समय पो लगाउनुभयो, बोल्न गाह्रो लागेको हो तपाईंलाई? त्यसो हो भने हामी तपाईंको श्रीमान्सँग कुरा गर्छौं नि,” उनको सङ्कोच बुझेर सहज बनाउन खोजें।
उनी बोलिनन्। केही समय अवाक् नै भइन्। त्यसपछि भनिन्, “अर्को लुगा लगाऊँ भनेको, लुगा नै भएन। अर्को लुगा त आमाको एउटा स्वेटर मात्र रहेछ।”
उनको जवाफले एकछिन भावशून्य बनायो।
आफैलाई प्रश्न गरें- कति गरीबी र अभावले चिथोरेपछि मान्छेसँग एक जोडी पनि लुगा हुँदैन? अनुमान लगाउन सकिन्छ। त्यही जीवन बाँचिरहेकी थिइन्, राजु।
बाहिर फोटोग्राफर दाइले पर्खिरहेका अवस्थामा मैले उनलाई जे छ, त्यही लगाएर कुरा गरे हुन्छ भन्न मात्र सकें। बल्ल उनी सासूआमाको स्वेटर लगाएर निस्किइन्।
त्यसपछि भिडिओमा कुराकानी भयो।
कुरा गरिसकेपछि मेरो मन एकतमास भयो। सद्दे अवस्थाको एकसरो लुगा नभएको उनको चरम गरीबीले नराम्ररी चिमोटिरह्यो।
यो अवस्था देखेपछि कर्णालीमा पहिलेको तुलनामा पूर्वाधार विकास भएकोबारे आएका अनेक समाचार फोस्रा लागे। पूर्वाधार विकास हुँदैमा आर्थिक र सामाजिक रूपान्तरण कहाँ भइहाल्दो रहेछ र? राजु एक मात्र पात्रलाई लिएर मैले यस्तो धारणा बनाउनु गलत हुन सक्छ तर उनी जस्ता केही पात्र समाजमा हुनु विकासमाथि नै प्रश्नचिह्न हो।
राजुले आफ्नो आङ ढाक्न सकेकी छैनन्। निरक्षर छिन्। गर्भावस्थामा पनि पोषिलो खाना त परको कुरा, पेटभरि खान पाइनन्। जसका कारण एक सन्तान कुपोषित जन्मियो, अर्को जन्मनासाथ बित्यो।
२३ वर्षीया राजुका श्रीमान् कर्णबहादुर रावल ४८ वर्षका छन्। उनीहरूको सम्पत्तिको नाममा एउटा घर छ। गुजाराका लागि रोजगारी छैन। पाएसम्म मजदूरी गर्छन्, अन्यथा ऋण लिएर छाक टार्छन्।
यो बेहाल देख्दा लाग्यो, कर्णालीको तस्वीर बदल्ने गरी बनिरहेका सडक, पुलपुलेसा, बजारका ठूला भवन आदिले त्यहाँका मानिसहरूको जीवनमा रत्तिभर प्रभाव पारेको छैन। सडक राम्रो भएकाले बिरामी हुँदा चाँडै अस्पताल त पुग्लान् तर उपचार गर्ने पैसा नहुँदा अस्पताल पुगेर पनि उनीहरूको जीवन बाँच्न सक्दैन।
बजारका भवनमा सबथोक उपलब्ध होलान्, तर ती कुरा किन्ने क्षमता नहुँदा भोको पेट भवनको छेउबाट घिस्रिनुको विकल्प हुँदैन।
उनको घरमा खाद्यान्नको नाममा सरकारले दिएको पौष्टिक आहार अर्थात् पोषिलो पीठो मात्र थियो। घरमा अन्न राख्ने अरू भाँडा, झोला र बोरा सबै रित्ता थिए। सरकारले ‘आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम’ अन्तर्गत हिमाली र पहाडी जिल्लामा गर्भवती, सुत्केरी, पूर्ण स्तनपान गराइरहेका र ६ देखि २३ महीनाका बालबालिकालाई पोषिलो पीठो नि:शुल्क वितरण गर्छ। उनीहरूले मासिक रूपमा तीन किलो पीठो पाउँछन्।
“तपाईंको घरमा अरू खानेकुरा छैन?” कतै कुनातिर केही जगेडा होला कि भन्ने आशाले सोधें।
जवाफमा राजुका श्रीमान् कर्णबहादुरले भने, “बिहान थियो, भर्खर भात खाएर सकियो। बेलुका खान अब कतैबाट ल्याउँछौं।”
यसरी पेट भर्न र शरीर ढाक्न सकस हुने जुम्लामा राजु एक्ली होइनन्। जुम्लाकै तिला गाउँपालिका-२, रारालिहीकी संगीता दमै (२०) को अवस्था पनि खासै फरक छैन। उनको परिवारमा चार छोराछोरी, वृद्ध सासूससुरा, श्रीमान् सहित आठ जना छन्। परिवार चलाउन श्रीमान्ले करीब ६ महीना भारतमा गर्ने मजदूरीको कमाइमा भर पर्नुपर्ने उनी बताउँछिन्। त्यसैले अत्यावश्यक पोषिलो खानेकुरा उनीहरूको पहुँचमै छैन।
संगीताका अनुसार ६ महीनाअघि जन्मिएकी छोरी पनि जन्मँदै चरम कुपोषित थिइन्। स्वास्थ्य सुधार हुँदै आएकी छोरीलाई साँझ-बिहान सरकारी पोषिलो पीठो नै खुवाउने गरेको उनी बताउँछिन्।
“हामीले फलाएको धान र सिमी तीन महीना मात्र पुग्छ। बच्चाहरूलाई सधैं खुवाउने त यही पीठोे हो। घरमा खानेकुरा नहुँदा कहिलेकाहीं त यो पीठो हामी नै खाइदिन्छौं,” उनले भनिन्।
यही पोषिलो पीठो लिन स्वास्थ्य चौकीमा ५० भन्दा धेरै महिला लाम लागेका थिए। कति महिलाहरू त तीन किलो पीठो लिन एक दिनको बाटो हिंडेर आएका थिए। यसले कर्णालीको भोकको विवशता बताइरहेको थियो।
सामान्यतया सञ्चारमाध्यममा कर्णालीको गरीबी र आँसुको कथा आउने गरेको पाइन्छ। कति अवस्थामा मलाई पनि लाग्थ्यो, कर्णालीले कति आँसु बेचेको होला! किन आँसुको खेती गरेको होला?
तर, सुर्खेत, दुल्लु, राकम हुँदै कालिकोट र जुम्ला पुगेपछि मेरो धारणा बदलियो। आखिर जोसँग जे छ, देखिने त्यही नै हो। कर्णालीसँग भोक र अभावको आँसु छ, त्यसैले त्यही देखियो।
देशभरिमा खाद्यान्न अभाव कर्णालीमा सबैभन्दा धेरै रहेको सरकारी तथ्याङ्कले देखाउँछ। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको २०७८/७९ को तथ्याङ्क अनुसार २०७९ सालको अनुमानित जनसंख्याको तुलनामा यो प्रदेशमा खाद्य आवश्यकता तीन लाख ३८ हजार ९३५ मेट्रिक टन छ भने खाद्य उपलब्धता तीन लाख १९ हजार ८१८ मेट्रिक टन मात्र छ। अर्थात् आफ्नै उत्पादनमा भर पर्दा कर्णालीमा १८ हजार ११६ मेट्रिक टन खाद्यान्न अपुग हुन्छ।
खाद्यान्न अभावको प्रत्यक्ष असर त्यहाँको स्वास्थ्यमा परेको छ। ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६’ का अनुसार कर्णालीमा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपन ३६ प्रतिशत छ। जबकि अन्य प्रदेशमा पुड्कोपन औसत २५ प्रतिशत मात्रै छ।
खाद्यान्नको चर्को अभाव र कुपोषण कर्णालीको गरीबीसँग जोडिएको छ। राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको ‘बहुआयामिक गरीबी सूचकाङ्क २०२१’ अनुसार कर्णाली प्रदेशका धेरै जनतामा अन्य प्रदेशको तुलनामा बहुआयामिक गरीबी छ। सन् २०१९ को सर्वेक्षणमा आधारित उक्त तथ्याङ्क अनुसार कर्णालीका ३९.५ प्रतिशत जनता बहुआयामिक गरीबीबाट पिल्सिरहेका छन्। यस्तो संख्या सुदूरपश्चिममा २५.३ प्रतिशत, मधेश प्रदेशमा २४.२, लुम्बिनीमा १८.३, गण्डकीमा ९.६ प्रतिशत र बागमतीमा सात प्रतिशत मात्र छ।
दैनिक आयका आधारमा मापन गरिने निरपेक्ष गरीबीको तुलनामा यहाँ बहुआयामिक गरीबी फराकिलो छ। यो भनेको शिक्षा, स्वास्थ्य र जीवनस्तर तीन वटै आयाममा कर्णालीका जनता कमजोर अवस्थामा छन्। खानेपानी, सरसफाइ, पोषण र शिक्षामा पहुँच निकै कम छ। बहुआयामिक गरीबीका कारण छोरीको बालविवाह गरिदिने प्रवृत्ति छ। जसले किशोरी आमा बन्ने, आमा र बच्चा कुपोषित हुने र शिशुको मृत्यु हुने अवस्था कायमै छ।
यी सबै अवस्था देख्दा आजभन्दा पाँच दशकअघि जुम्लाको सिञ्जा उपत्यकामा ५० दिन बसेर कर्णाली लोक संस्कृति १ः इतिहास पुस्तक (२०२७ साल) लेखेका सत्यमोहन जोशीले २०७८ साउन १६ गते उनकै निवासमा भएको भेटमा पुस्तकका विविध सन्दर्भ सुनाउँदै भनेका कुरा सम्झिएँ। “अन्यत्रभन्दा जुम्ला खलंगाका मान्छेहरू रोगी, भोका र लापरवाह थिए,” उनले भनेका थिए।
सिञ्जा क्षेत्र त पुगिएन, तर चन्दननाथ नगरपालिकाको मिचा र तिला गाउँपालिकाको रारालिही पुग्दा जोशीले २०२७ सालमा देखेको जुम्ला र ५३ वर्षपछि मैले देखेको जुम्लामा खासै फरक पाइनँ।
विभेदका अनेक रूप
यात्राका क्रममा तिला गाउँपालिका क्षेत्र पुग्दा छाउगोठ देखें। सुदूरपश्चिमका साथै कर्णाली प्रदेशमा छाउगोठ भत्काउने अभियान चलाइए पनि जुम्लामा भने त्यसको प्रभाव रहेनछ। त्यस्ता गोठ स्थानीय बासिन्दाको भाषामा ‘व्यवस्थित’ बनाइएको रहेछ। तर, व्यवस्थित भनिएको छाउगोठ पनि बस्न लायक थिएन।
गोठ अँध्यारो थियो। झ्याल नभएको गुम्म। भित्र पसेपछि एक फन्को घुम्ने पनि ठाउँ नभएको साँघुरो।
उनीहरूले भनेको व्यवस्थितको अर्थ घरको नजिक छाउगोठ सारिनु रहेछ। त्यो घर नजिकैको अँध्यारो कोठरीमा तिला गाउँपालिका-७, घोडेसिमकी लक्ष्मी रोकाय (३२) प्रत्येक महीना पाँच दिन बिताउने गर्छिन्। उनका अनुसार १६ वर्षको उमेरमा विवाह गरेर आएदेखि यो नियम पालना गर्दै आएकी उनी यस विरुद्ध परिवारसँग बोल्न सक्दिनन्।
“घरमा के भनेर बस्दिनँ भन्नु खै? श्रीमान् र सासूलाई बुझाउन पनि सक्दिनँ। गाउँपालिकाले त छाउगोठ हटाउनू भन्छ। घरमा साँझ-बिहान झगडा हुनुभन्दा बसेकै राम्रो नि,” उनले आफ्नो बाध्यता सुनाइन्।
लक्ष्मीका अनुसार उनी जस्तै छाउगोठमा बस्ने घोडेसिमका धेरै महिला छन्। पहिले घरदेखि टाढाको गोठमा राखिने गरेकोमा अचेल घरको छेउमै कोठा बनाएर राखिनु धेरै राम्रो भएको उनलाई लाग्छ।
महीनावारी विभेदमा अभ्यस्त भएर यसलाई सामान्य रूपमा लिन विवश लक्ष्मीहरूको अवस्था कहिले फेरिएला? यो प्रश्न यस्तो विभेद विरुद्ध काम गरिरहेका संस्था र राज्यसामु तेर्सिन्छ।
गाउँका केही बालबालिका भेटेपछि यस ठाउँमा शिक्षामा पहुँच नभएको प्रस्ट तस्वीर पनि देखें। धाराबाट पानी बोकेर आउँदै गरेका ९ वर्षदेखि १३ वर्षका तीन बालिकासँग कुराकानी गर्दा दुई जनाले आफ्नो थर र एक जनाले नाम भन्न सकेनन्। उनीहरूले विद्यालय नजाने, घरमा भाइबहिनी हेरेर बस्ने बताए।
यो देख्दा यी बालिकाको भविष्य चन्दननाथ नगरपालिकाकी राजु रावलको जस्तै हुने अनुमानले मन चसक्क भयो। राजुले पनि विद्यालय टेक्नै पाइनन्, १६ वर्षमै विवाह भयो। अशिक्षा र गरीबीसँग जुधेर अहिले कष्टसाध्य जीवन बाँचिरहेकी छन्।
दशक लामो सशस्त्र युद्धमा सबैभन्दा धेरै प्रभावित जिल्लाहरूमध्ये जुम्ला पनि एक हो। गरीबी, असमानता, जातीय विभेद अन्त्य गर्ने भन्दै माओवादीले जुम्लीहरूलाई युद्धमा सामेल गरेको थियो। तिला गाउँपालिकाकी तारा परियारले माओवादीमा नलाग्दा ज्यान लिने धम्की दिएर आफ्नो श्रीमान् हरिलाललाई २०५५ सालमा जबर्जस्ती लडाकू बनाएको बताइन्। युद्धका क्रममा २०६२ सालमा सेनाको गोलीबाट हरिलालको मृत्यु भएको थियो।
सामाजिक-आर्थिक असमानता र विभेद विरुद्धको लडाइँ भनिए पनि आफूहरूले जातीय छुवाछूत भोगी नै रहेको ताराले बताइन्।
“आत्मनिर्भर त भएकी छु, तर गाउँमा कुनै कार्यक्रम र उत्सव हुँदा दलित हो, बोलाउने कि नबोलाउने भन्ने गरेको सुनिन्छ,” उनले पीडा सुनाइन्। उनले स्याउको व्यावसायिक खेती गर्दै आएकी छन्।
विभेदपूर्ण व्यवहार हुँदै आए पनि आफूलाई कमजोर ठानेर नबस्ने र कर्म गरेर समाजमा उभिने आत्मविश्वास पनि उनले देखाइन्। उनले भनिन्, “स्याउ खेती गरेर राम्रै कमाउँछु। छोराहरूलाई पनि पढाएँ। मान्छेहरूले हेपे पनि आफूलाई कमजोर चाहिं मान्न हुँदैन रहेछ।”
ताराको यो आत्मविश्वास देखेर कर्णालीका अन्य महिला पनि यसरी नै हिम्मत बटुलेर अघि बढून् भन्ने कामना गरें। तर, यो कामना सफल हुन यहाँका जनतालाई रोजगारी अपरिहार्य हुने देखें। जुन कुरा कालिकोटमा रोजगारी पाएका महिलाहरूले प्रमाणित गरिसकेका छन्।
आम्दानीले बढाएको आत्मविश्वास
कालिकोटमा सिंचाइ कुलो निर्माणमा श्रम गरेर महिलाहरूले आम्दानी गरिरहेको जुम्ला पुगेरै थाहा पाएँ। त्यसपछि कालिकोट पनि पुगें। गाउँका धेरैजसो पुरुष कमाइका लागि भारत र अन्य ठाउँमा गएका कारण स्थानीय स्तरमा पक्की कुलो, ढल, भवन आदि निर्माणका काम हुँदा महिलाले कामको अवसर पाउने गरेका रहेछन्। विगतमा पुरुषले मात्र गर्न सक्ने मानिएका यस्ता काममा उनीहरूले आफ्नो क्षमता सावित गरिरहेका पनि देखियो।
वेलावेला चल्ने यस्ता विकास-निर्माणको योजनामा श्रम गरेर उनीहरूले केही महीना भए पनि आयआर्जन गर्दै आएका छन्। यसबाट यहाँका महिलाहरूले जिन्दगीकै पहिलो आम्दानी गरेको र पहिलो पटक आफ्नै कमाइबाट घरखर्च चलाएको सुन्दा औधी खुशी लाग्यो।
कालिकोटको शुभकालिका गाउँपालिका-६, हाउडीगाडकी जौकला शाही (५०)ले एक महीना काम गरेर २५ हजार रुपैयाँ कमाइन्। यति रकमबाट तीन महीना पुग्ने खाद्यान्न जोहो भएको उनी दङ्ग पर्दै सुनाइन्।
यो गाउँपालिकाका ८०० पुरुषमध्ये आधाजसो मजदूरीका लागि भारत जाने गरेको गाउँपालिकाको तथ्याङ्क छ। त्यसैले यहाँ विकास निर्माणमा खटिनेमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको वडा नम्बर ६ का वडाध्यक्ष दीपबहादुर शाहीको भनाइ थियो।
तर, कर्णालीका सबै जिल्लामा कालिकोटका महिलाहरूको जस्तो आम्दानीको बाटो छैन। जुम्लाकै चन्दननाथको मिचा, तिलाको रारालिही लगायत क्षेत्रका झन्डै ३० जना महिलासँग कुराकानी गर्दा उनीहरूसँग आम्दानीको कुनै स्रोत थिएन। अन्यथा काम पाएमा ६० वर्षको उमेरमा पनि पसिना बगाउन तयार भएको दृढता पनि देखियो। भलै, त्यो दृढता अभावले नै सिर्जना गरेको हो।
दैलेखको दुल्लुमा ६० वर्षीया जयसरा कामी मध्यदिनको चर्को घाममा बाटो बनाउन कोदाली चलाइरहेकी थिइन्। तीन महीनाअघि भाँचिएको हात देखाउँदै उनले भनिन्, “काम गरेर कोही मर्दैन नानी। सकुन्जेल गर्नुपर्छ। तर, यो काम पनि अब एक-दुई महीना मात्र पाइने हो। त्यसपछि पो फेरि गाह्रो हुन्छ।”
कर्णालीका दुई जिल्ला जुम्ला र कालिकोटको मेरो यात्राले ती क्षेत्रका मानिसको सामाजिक अवस्था बदल्न रोजगारी नै पहिलो आवश्यकता देख्यो। रोजगारीबाट आर्थिक सहजता आउँछ, त्यसले खाद्यान्न, शिक्षा र स्वास्थ्यमा पहुँच बढाएर समग्र जीवनस्तर बदल्छ।
तिला गाउँपालिका पुग्दा बाटोमा केही प्रौढ महिला ढुङ्गामा अडेस लागेर बसेको देखें। उनीहरूको जीवन र भोगाइबारे बात मार्न मन लाग्यो। आफ्नो परिचय दिंदै ८२ वर्षीया कुसुमकला रावललाई सोधें, “जुम्लामा ८२ वर्ष बिताउनुभयो। यहाँ कठिन भयो भनेर अर्को सुविधायुक्त ठाउँ जाऊँ जस्तो कहिल्यै लागेन?”
जवाफमा उनले भनिन्, “यहाँ सबै छ नानी। पानी छ, खाना छ, बाटो पनि आयो, बत्ती पनि भर्खर आएको छ। हामीलाई त धेरै राम्रो भइसकेको छ।”
यो उमेरसम्म यो ठाउँबाट कहिले पनि बाहिर नगएकीले होला, कुसुमकलालाई जुम्लामा जेजति छ त्यो पर्याप्त लागेको हुनुपर्छ।
अन्त्यमा मैले ठट्टा गर्दै भनें, “देशको राजधानी शहर काठमाडौं घुम्न त एक पटक जानुपर्यो नि आमा।”
उनले पनि रमाइलो शैलीमा भनिन्, “तपाईंसँग लिने भए लेऊ नानी। अरू कसले लैजाला र देखुँली काठमाडौं! बरु हामीकाँ नै बस, हामीले जे खाई बाँचेका छौं त्यही खाएर बाँचौली।”
आह! कति विशाल हृदय। तर, हृदयको आयतनले मात्रै साँघुरो पेट नभरिंदो रहेछ। तिला तरेर काठमाडौंतिर हानिंदै गर्दा मेरो मनमा जुम्ला र कालीकोट बसिरहको थियो। कुनै समय जुम्ला टाढा थियो। भनिन्थ्यो, सडकले छोएकै छैन।
अहिले जुम्लासम्मै सडक पुगेको छ। जुम्ला बजार गुल्जार भइरहेछ। काठमाडौंसम्म आइपुगेको आधुनिकता त्यहाँ पनि पुग्छ कसैगरी।
तर, अहिले पनि जुम्ला र कालिकोटका जनताका निम्ति काठमाडौं टाढा छ। शायद त्यसैले नै देशको मानचित्रमा आज पनि त्यो भूगोल अभाव र आँसुको प्रतिबिम्ब बनिबसेको छ। अब काठमाडौंबाट जाने म जस्तै अर्को कुनै रिपोर्टरले यस्तो देख्न-लेख्न नपरे कति जाति हुन्थ्यो!