जग्गा माग्दै बागमती सरकारलाई वनकरियाको ज्ञापनपत्र
मकवानपुरका वनकरियाले स्थायी बसोबासका लागि जग्गा माग्दै बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र दिएका छन्।
मकवानपुरको मनहरी गाउँपालिका-४ ट्वाङ्ग्रामा कबुलियती वनको जग्गामा बस्दै आएका उनीहरूले स्थायी बसोबासका लागि दशकदेखि जग्गाको माग गर्दै आएका छन्। आइतबार बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएका हुन्।
वनकरिया महिला विकास संघको अगुवाइमा बसोबासको व्यवस्था गर्न माग गर्दै मन्त्रालयमा पुगेका हुन्। कृषिमन्त्री राजेन्द्रमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर सामूहिक रूपमा जग्गा उपलब्ध गराउन माग गरेको संघ संयोजक माया वनकरियाले बताइन्। कृषिमन्त्री श्रेष्ठले वनकरिया समुदायको मागलाई सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
सामूहिक पुर्जाको माग गरी संघ र प्रदेशको मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै आएको वनकारिया समुदायकी अगुवा सन्तोषी वनकरियाले बताइन्। “कुनै पनि मन्त्रीलाई ज्ञापनपत्र बुझाउन बाँकी छैन, तर अहिलेसम्म सुनुवाइ भएको छैन,” उनले भनिन्।
हाल बसोबास रहेको ट्वाङ्ग्राको जग्गा कबुलियती वन क्षेत्रमा पर्छ। त्यसलाई छोड्नुपर्ने समय नजिकिंदै गएपछि वनकरिया अप्ठ्यारोमा परिरहेको मनहरी गाउँपालिका-४ वडाध्यक्ष प्रकाश थापाले बताए। उनीहरूलाई जग्गाको व्यवस्थाका लागि आफूले पनि सक्दो पहल गरिरहेको थापाको भनाइ छ।