मुस्ताङ बसाइँ जाने र छोड्नेहरू
मुस्ताङका स्थानीयवासीहरू विदेश गइरहँदा अरू नेपाली भने पर्यटन व्यवसायका कारण आकर्षित भएर त्यहाँ गइरहेका छन्।
अवसरको खोजीमा आफ्नो जिल्लाका मानिसहरू विदेश गइरहेको विषय मुस्ताङमा छलफलको विषय बनिरहेको वेलामा धेरैलाई देशकै अरू ठाउँबाट नेपालीहरू त्यहाँ गइरहेकोबारे धेरैलाई थाहै छैन।
नेपालका ७७ जिल्लामध्ये सबैभन्दा कम जनसंख्या हुनेमध्ये मुस्ताङ दोस्रो हो। बसाइँसराइका कारण त्यो संख्या पनि घट्दो क्रममा छ। २०७८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या १४ हजार ४५२ छ जसमध्ये पाँच हजार ८८२ चाहिं नेपालका अन्य भूभागबाट त्यहाँ गएकाहरू हुन्।
त्यसरी बाहिरबाट त्यहाँ पुगेकामध्ये एक हुन्, निमा लामा (२४)। काठमाडौंमै जन्मेहुर्केका उनी तीन वर्ष पहिला सेवा क्षेत्रमा कामका लागि त्यहाँ गएका हुन्। काठमाडौंमा उनी महीनौंदेखि कामको खोजीमा थिए। त्यति नै वेला एउटा रोजगार प्रदायक संस्थाबाट मुस्ताङमा होटल खुलिरहेको थाहा पाए।
“शुरूमा त मलाई खासै विश्वास लागेको थिएन तर पछि काम आकर्षक र अरूभन्दा फरक लाग्यो । त्यसैले मैले यहाँ आउने निर्णय गरें,” मुस्ताङको विशिष्ट भूगोल र हावापानीले सिर्जना गरेको अवसर औंल्याउँदै लामा भन्छन्।
मुस्ताङ चीनसँग सीमा जोडिएको नेपाली भूभाग हो जुन भौगोलिक र सांस्कृतिक रूपमा तिब्बती पठारको अंग हो। पछिल्लो पाँच महीनामा मात्रै करीब ६० हजार विदेशी पर्यटकले ट्रेकिङ र मुक्तिनाथको तीर्थयात्राका क्रममा मुस्ताङको भ्रमण गरे। त्यहाँ पुग्ने नेपाली पर्यटक पनि हजारौं छन्।
करीब दुई हजार विदेशी पर्यटकले त १५ दिनका लागि प्रतिव्यक्ति ५०० अमेरिकी डलर तिरेर विदेशीका लागि निषेधित उपल्लो मुस्ताङको पनि भ्रमण गरे। मुस्ताङमा भएका विभिन्न थरी होटलले खर्चालुदेखि साधारण पर्यटकको सेवा गर्छन्।
मुस्ताङका स्थानीय भने आफ्नो घर छोडेर बसाइँ सरेका छन्। उनीहरूले नेपालका अन्य भूभागबाट आउने नेपालीलाई लज र होटल खोल्न आफ्नो घर भाडामा दिएका छन्। त्यति मात्र होइन पर्यटनसँगै जोडिएका अन्य सेवा क्षेत्रमा पनि रोजगारी सिर्जना भएको छ।
उदाहरणका लागि पछिल्लो ६ वर्षदेखि बाग्लुङका विक्रम विक (२७)ले मुक्तिनाथ जाने तीर्थालुलाई घोडामा लैजाने–ल्याउने गरिरहेका छन्। मुस्ताङका स्थानीयवासीले घोडा पालेका त छन् तर ती घोडाको प्रयोग गर्न बाहिरका मानिसलाई जागीर दिएका छन्। “बाग्लुङमै काम पाउन गाह्रो भइरहेको वेला यो निकै राम्रो अवसर थियो,” विक भन्छन्, “काम सजिलो छ र मलाई घोडाको स्याहार गर्न मन पनि पर्छ।”
कागबेनीस्थित ‘प्याराडाइज ट्रेकर्स होम’ मा काठमाडौंबाट आएर काम गरिरहेका एक कामदार यहाँ ‘बेग्लै अनुभव भएकाले’ काम गर्न मन परिरहेको बताउँछन्। उनका सहकर्मीहरू भने उदयपुरबाट आएका हुन्। उनीहरू खाना पकाउनेदेखि स्याउखेतीका लागि ट्र्याक्टरले जोत्नेसम्मको काम गर्छन्।
“यहाँका धेरैजसो जमीन र होटलका मालिक त स्थानीय नै हुन् तर उनीहरू यहीं चाहिं काम गर्दैनन्,” चार वर्षदेखि परिवारकै लगानी रहेको होटल चलाइरहेका २८ वर्षे स्थानीय कर्मा नामग्याल गुरुङ भन्छन्। मुस्ताङमै बसिरहेका थोरै स्थानीयमध्ये उनी एक हुन्। “थोरै मात्र मुस्ताङी यहीं छन्। मेरा धेरैजसो साथीहरू त विदेशमा छन् र उनीहरूले आफ्ना होटल अरू जिल्लाबाट आउनेहरूलाई भाडामा लगाएका छन्,” उनी थप्छन्।
आफ्नो अधिराज्यबाट जनशक्ति पलायन भएकोमा मुस्ताङका राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्ट पनि चिन्तित छन्। त्यसैले नै लोमान्थाङमा आफैंले महँगो होटल ‘रोयल मुस्ताङ रिर्सोट’ खोलेको उनी बताउँछन्। “हाम्रा युवाले लगालग मुस्ताङ छोडिरहेकाले मैले यहीं अवसर सिर्जना गर्न चाहें,” विष्ट बताउँछन्। युवाहरूलाई होटल व्यवस्थापनको सीप सिकाएर, बरिस्ता र सेफ बन्ने गरी तालीम दिएर जागीर दिई मुस्ताङमै राख्ने लक्ष्य छ उनको।
स्थानीयको फिर्ती
आफ्नो पुर्ख्यौली विरासत जोगाउन र गृहजिल्लाको पर्यटन विकासमा योगदान गर्न प्रतिबद्ध मुस्ताङे उद्यमीको उदाहरण हुन्, कर्मा नामग्याल गुरुङ।
गुरुङ अपवाद हुन् किनभने उनी अरू थुप्रै स्थानीय युवक जसरी विदेश गएनन्। केटौले उमेरमा उनी विद्यालय शिक्षाका लागि काठमाडौं गएका थिए। त्यति वेला पोखरासम्म पुग्न एक हप्ता जति पैदल हिंड्नुपथ्र्यो। होटल म्यानेजमेन्टको डिग्री हासिल गरेपछि उनले आठ महीना दुबईमा र तीन महीना मलेशियामा प्रशिक्षार्थीका रूपमा काम गरे। गुरुङले विदेशमै रोजगारी अवसर पाएका थिए तर आफ्नो देश मात्र होइन मुस्ताङ नै फर्किने निर्णय गरे।
“विदेशमा रहुन्जेल मलाई होमसिक भइरह्यो,” गुरुङ सम्झिन्छन्। मलेशिया र दुबईको गर्मीमा खलखली पसिना आउँदा मुस्ताङको चिसो हिमाली हावाको निकै सम्झना आएको उनले सुनाए। गुरुङको परिवारले मुक्तिनाथमा विगत २५ वर्षसम्म ‘फोर सिजन्स होटल’ चलाइरहेको थियो। तर, गाउँमा होटल चलाइरहन गाह्रो भएपछि उनीहरू काठमाडौं सरेका थिए।
चार वर्षअघि उनी फर्किए र अहिले परिवारकै होटल सञ्चालन गरिरहेका छन्। “यहाँका स्थानीयले कुनै व्यवसाय सञ्चालन गरिरहेका छैनन्, धेरैजसोले त यो ठाउँ नै छोडिसके,” कुनै वेला आफूले पनि धेरै कमाउन ठूलो ठाउँमा जाने सोचेको स्विकार्दै गुरुङ भन्छन्।
होटलमा आउने पाहुनाहरूले आफूले गर्ने सत्कारको प्रशंसा गर्ने गरेकैले यही बसिरहन प्रेरणा मिलेको उनी सुनाउँछन्। “पाहुनाहरूले हाम्रो प्रयासको कदर गर्दा साँच्चै नै उत्साह आउँछ,” उनी भन्छन्, “म बच्चा हुँदा जस्तो गाउँ छैन मुस्ताङ। अहिले त यहाँ जहाँसुकैका मानिस छन्। यो ठाउँ अब पहिले जस्तो कहिल्यै हुनेछैन।”
यो परिवर्तन लोमान्थाङमा पनि भएको छ जहाँ मुस्ताङे राजकुमारले सुविधासम्पन्न ‘रोयल मुस्ताङ रिसोर्ट’ सञ्चालन गरिरहेका छन् जसमा परम्परागत र आधुनिक निर्माणशैलीको मिश्रण गरिएको छ। “सात दिनका लागि आएका पर्यटकहरू एक दिन बसेर गएको देख्यौं हामीले,” विष्ट भन्छन्, “हाम्रो संस्कृति, परम्परा र यहाँको विशिष्ट अनुभव गर्न आएका पर्यटकलाई सेवा दिने नै हाम्रो उद्देश्य हो।”
विष्टका अनुसार उनको रिसोर्टमा बर्सेनि विदेशी र स्वदेशी गरी चार हजार पर्यटक आउने गर्छन्। मुस्ताङको भ्रमणमा लगाइएका प्रतिबन्ध हटाइए होटलले अरू पर्यटक पनि थेग्न सक्ने उनको दाबी छ।
अब टाढा छैन मुस्ताङ
कुनै वेला देशका अन्य भूभागबाट अलग्गिएको मुस्ताङ सडक यातायातको विस्तार भएसँगै सहजै पुग्न सकिने भएको छ। पोखराबाट ११ दिनको पैदल यात्रा गरेपछि मात्र पुगिने ठाउँ अब आठ घण्टाको जीप यात्राबाटै पुगिन्छ। कालीगण्डकी राजमार्गको स्तरोन्नति भयो भने यो दूरी पनि पाँच घण्टामा झर्नेछ।
अन्नपूर्ण र धौलागिरी हिमाललाई चिरेर बग्ने कालीगण्डकीले यहाँ संसारकै गहिरो खोच बनाएको छ। अस्थिर भौगोलिकतासँगै यहाँ अत्यधिक वर्षा पनि हुन्छ।
“सडक निर्माण गर्न र त्यसलाई सुचारु गर्न निकै कठिन भूगोल हो यो,” अन्नपूर्ण संरक्षण क्षेत्र योजनाका लोकेन्द्र अधिकारी भन्छन्, “घासादेखि लोमान्थाङको बाटो भने सजिलो र सुचारु छ किनभने यहाँ पानी पनि कम पर्छ, भूगोल पनि समथर छ।”
अप्ठ्यारो बाटोका बावजूद मुस्ताङ निकै द्रुत गतिमा परिवर्तन भइरहेछ र त्यही गतिमा यहाँका स्थानीय बासिन्दा बसाइँ सरेर गइरहेका छन्। तर, पोखरा र काठमाडौं लगायत ठाउँबाट यहाँ व्यवसाय गर्न जानेहरू पनि उत्तिकै छन्।
अहिले त्यहाँ भवनहरू बनाउने होडबाजी नै छ। नयाँ-नयाँ अत्याधुनिक होटल बनिरहेछन् जसले बढिरहेको पर्यटनलाई सघाइरहेछन्। त्यस्तै, सडक विस्तारका कारण उपल्लो मुस्ताङका बालबालिकालाई पोखरा र काठमाडौंका बोर्डिङ स्कूलमा जान सहज भएको छ।
सडक अझै राम्रो भए र हवाई यातायात सुरक्षित र अझ नियमित भए पर्यटकको संख्या बढ्ने जोमसोमका होटल व्यवसायी बताउँछन्। सन् २०१६ र २०२२ मा पोखराबाट जोमसोमका लागि उडेका दुई हवाई दुर्घटनाले धेरै पर्यटक र तीर्थालुको सातो लिएको छ।
“तारा एयरको दुर्घटनाले विदेशी पर्यटकको आगमन ह्वात्तै घटाएको छ, सडक राम्रो भए फेरि पर्यटक बढ्ने थिए,” कागबेनीमा ‘रेडहाउस’ सञ्चालन गरिरहेका ट्रिपल पी. गुरुङ भन्छन्। आफ्ना अधिकांश पाहुना सडकबाटै आउन रुचाउने गरेको उनी बताउँछन्।
नेपालका अधिकांश ठाउँमा वर्षाको समयमा पर्यटकको संख्या कम हुन्छ। तर, हिमाल पारिका मुस्ताङ र डोल्पा जस्ता जिल्लामा यही मौसममा बढी पर्यटक हुन्छन् किनभने यति वेला यहाँको मौसम घुम्नका लागि उपयुक्त हुन्छ। माउन्टेन बाइक वा मोटरसाइकलमा रमणीय दृश्यावलोकन गर्दै शयर गर्न पाइने भएकाले नेपाली पर्यटकका लागि यी ठाउँ प्रसिद्ध छन्।
अहिले त चीनसँगको सिमाना जोडिएको कोरला नाकासम्म मोटर गुड्ने बाटो बनेको छ। धेरै होटल व्यवसायी मुस्ताङ भ्रमणमा प्रतिबन्ध लगाउनुलाई अर्थपूर्ण ठान्दैनन्। चर्को शुल्क र काठमाडौंबाटै अनुमतिपत्र लिंदा हुने झन्झटका कारण आउने पर्यटक पनि नआइरहेको उनीहरूको गुनासो छ।
“मुस्ताङको कमजोर पर्यावरण र संस्कृतिलाई ध्यानमा राखेर पर्यटकको संख्या सीमित गर्ने उद्देश्यले ३० वर्षअघि प्रतिबन्धित क्षेत्र र शुल्कको नीति बनाइएको थियो तर सडकहरू बनिरहेको वर्तमान परिप्रेक्ष्यमा अब त्यो मुद्दा बाँकी छैन,” गुरुङ भन्छन्।
कसरी पुग्ने मुस्ताङ?
काठमाडौंदेखि पोखरा आठ घण्टाको यात्रामा नै पुग्न सकिन्छ।
सडक यातायातः
पोखरादेखि जोमसोम– ६ घण्टा
जोमसोमदेखि लोमान्थाङ– ६ घण्टा
हवाई यातायातः
काठमाडौं–पोखरा जाने एक रात बस्ने। त्यहाँबाट जोमसोम (एकै दिनमा हुन सक्छ।)
कागबेनीदेखि माथिको मुस्ताङ अहिले पनि विदेशीका लागि प्रतिबन्धित छ। विदेशी पर्यटकले पहिलो १० दिनका लागि प्रतिव्यक्ति ५०० डलर तिर्नुपर्छ र त्यस क्षेत्रको भ्रमणका लागि हरेक दिन ५० अमेरिकी डलर। बर्सेनि मुस्ताङ पुग्ने ६० हजार विदेशी पर्यटकमध्ये दुई हजार मात्रै उपल्लो मुस्ताङ पुग्छन्। मुस्ताङ पुग्न सहज भएसँगै सन् २००५ मा शुल्क र पर्यटक संख्याको सीमा पनि घटाइएको छ।
यो सामग्री अंग्रेजीमा पढ्न नेपाली टाइम्समा क्लिक गर्नुहोस्