‘हाम्वा पाला कालापहाड बोझ बोक्यौं, छोरानातिका पाला काठमाडौंमा तरकारी फलायाका छन्’
जीविकोपार्जनका लागि भारत जाने गरेका कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका बासिन्दा पछिल्लो समय आयआर्जन, बालबच्चाको शिक्षा, स्वास्थ्य सुविधाका लागि काठमाडौं आउन थालेका छन्।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-२ वामनथानका मनवीर सञ्ज्याल (५९) युवा उमेरमा मजदूरी गर्न कालापहाड पुगे। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका मानिस कमाउन भारत जानुलाई ‘कालापहाड जाने’ भन्छन्। परिवारको पेट पाल्न भारत पसेका उनले दिल्ली, कुमाउ, गढवाल, उत्तराखण्ड र उत्तरप्रदेशमा भारी बोक्नेदेखि चौकीदारीसम्मको काम गरे।
मनवीर मात्र होइन, गाउँठाउँमै आम्दानीको बाटो नभएपछि कर्णाली पारिका उनको छिमलका धेरै पुरुष गाउँबस्ती नै रित्याएर कालापहाड भासिन्थे। कतिपयको परिवार नै जान्थ्यो।
मनवीरका लागि कालापहाड बरु नजिक थियो, ‘नेपाल’ अर्थात् काठमाडौं चाहिं सपना जस्तै। पछिल्लो समय उनी त्यही सपनाको शहर आएर गुजाराका लागि नङ्ग्रा खियाइरहेका छन्।
छोराबुहारी र नातिनातिनी सहित ६ महीनाअघि काठमाडौं आएका उनी कीर्तिपुरको पाँगास्थित चारधारामा तरकारी खेती गरिरहेका छन्। भाडामा लिएको साढे दुई रोपनी जग्गामा उनले टनेल प्रविधिबाट गोलभेंडा, बन्दाकोभी लगायत तरकारी फलाइरहेका छन्। तरकारीले आम्दानी दिन थालेसँगै उनले गाई पाल्ने योजना बनाएका छन्।
“हाम्वा पाला कालापहाड बोझ बोक्यौं, छोरानातिका पाला काठमाडौंमा तरकारी फलायाका छन्,” मनवीर भन्छन्।
गाउँमा खान-लाउनै दु:ख भएर काठमाडौं पसेको उनको परिवारलाई यहाँ पेट पालेर बालबच्चा पढाउन पुगेको छ। सन्तानलाई राम्रो शिक्षा दिन सकिने र स्वास्थ्य सुविधाको व्यवस्था भएकैले यता आएको उनी बताउँछन्।
पश्चिम पहाडबाट जीविकाका लागि काठमाडौं आउने मनवीरको परिवार मात्र एक्लो होइन। कमाइका लागि पहिले कालापहाड मात्र विकल्प देख्नेहरू पछिल्ला वर्षहरूमा आयआर्जन, स्वास्थ्य सुविधा र छोराछोरीको शिक्षाका लागि संघीय राजधानी आएर बस्न थालेका छन्। आफ्नो गाउँठाउँमा खेतीबाट पेट पाल्नै कठिन, सडक असुविधाले कष्टकर जीवनयापन, स्वास्थ्य सेवा र शिक्षा कमजोर भएका कारण जीवन धान्न र राम्रो अवसरको खोजीमा त्यस भेगका मानिस आउन थालेका हुन्।
पहिले फाट्टफुट्ट संख्यामा आएकाहरूबाट यहाँ आयआर्जनको विकल्प र राम्रो सरसुविधा भएको सुनेर आउने क्रम बढेको छ।
कीर्तिपुरमै ६ वर्षदेखि व्यावसायिक तरकारी खेती गरिरहेका बाजुरा बुढीनन्दा नगरपालिका-१ साउनेगाउँका ललिप्रसाद पाण्डे कर्णाली पारिबाट आएकाहरू कीर्तिपुरका साथै थानकोट, नैकाप लगायत ठाउँमा धेरै छन्। उनी बस्ने ठाउँमा बाजुरा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, रुकुम-पश्चिमका मानिस परिवार सहित बसेका छन्। तीमध्ये धेरैले व्यावसायिक रूपमा तरकारी खेती र पशुपालन गरिरहेका छन्।
कतारमा तीन वर्ष काम गरेर फर्केपछि उनी गाउँमै खेत खनीखोस्री गरिरहेका थिए। प्रतिफल केही थिएन। थानकोटमा बसेर तरकारी खेती गरिरहेका बहिनी र ज्वाइँबाट यता तरकारी फलाएर जिन्दगी राम्ररी चल्ने र छोराछोरीले पनि राम्रो शिक्षा दिन सकिने सुने। दुर्गम गाउँमा हरेक कुरामा समस्या खेपिरहेका उनलाई यो खबरले तानिहाल्यो। उनी कुम्लोकुटुरो बोकेर आए।
“रोजगारीका लागि भारत जाँदा केही कमाइ त हुन्थ्यो, तर उता स्वास्थ्य र केटाकेटीको शिक्षा जस्ता कुरा त छुट्थ्यो,” उनी भन्छन्।
पाण्डेले वार्षिक ३२ हजार रुपैयाँ तिर्ने गरी चार रोपनी जग्गा भाडामा लिएर खेती शुरू गरेका थिए। तर, तरकारीबाट राम्रो आम्दानी नभएपछि अहिले दुई रोपनी मात्र लिएका छन्।
तरकारी खेतीसँगै उनले पशुपालनमा पनि हात हालेका छन्। चार वटा गाई पालेका उनी राम्रो आम्दानी हुन थालेपछि संख्या बढाउने योजनामा छन्। यस क्षेत्रमा घाँस प्रशस्त पाइने भएकाले खुराकको चिन्ता नभएको उनी सुनाउँछन्।
उत्पादित दूध घरघरमा बेच्छन्। प्रतिलिटर १०० रुपैयाँमा दूध बेचिरहेका उनी ग्राहकबाट मासिक रूपमा एकमुष्ट रकम बुझ्छन्। “गाईपालन त मेरा लागि सरकारी जागीर जस्तै भएको छ,” उनी दङ्ग छन्।
टनेलमा उनले मौसम अनुसारका विभिन्न तरकारी रोप्ने गरेका छन्। तरकारी फार्म दर्ता गरेका छन् भने आफू जस्तै किसानको कृषि समूह बनाएका छन्। बीउबिजनमा असल छिमेकी भन्ने संस्थाले सहयोग गर्छ। खेतीमा गाईको मलमूत्र हाल्ने गरेका छन्।
तरकारीबाट पहिलाको तुलनामा आम्दानी घटे पनि जीविका यसैबाट चलिरहेकोमा पाण्डे सन्तुष्ट छन्। कृषिकर्ममै व्यस्त हुँदा ६ वर्षदेखि बाजुरास्थित घर जान पाएका छैनन्। “यहाँ छोड्नै मिल्दैन। म र श्रीमतीको त ड्युटी जस्तै भएको छ,” उनी भन्छन्।
मानव विकास सूचकाङ्कमा ७७औं स्थानमा रहेको कमजोर जिल्ला हो, बाजुरा। त्यसमा पनि उत्तरी भेगमा गरीबी र भोकमरी छ। किसानलाई खेतीपातीबाट बाह्रै महीना खान पुग्दैन। सिंचाइ सुविधा नभएकाले खडेरी लागेको वर्ष कृषि उत्पादन झनै हुँदैन। खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले पठाउने चामलमा भर पर्नुपर्छ। पाण्डेले पनि यही अवस्था निरन्तर भोगे। खेतीबाट खानै नपुगेपछि गाउँको जग्गा अरूलाई कमाउन दिएर आएको पाण्डे बताउँछन्।
बाजुराको बुढीनन्दा नगरपालिका-५, बिर्सैनकी तिलखुणी विक (३५) कीर्तिपुरको पाँगास्थित चारधारा नजिकै जस्ताको टहरामा तीन छोराछोरी, भाइ र भदा सहित बस्छिन्। उनले टहरा भएको ठाउँ सहित तीन रोपनी जग्गा वार्षिक ४० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएर तरकारी खेती गरिरहेकी छन्। आधा जग्गामा धान रोपेकी छन्, आधामा टनेलमा तरकारी फल्दै छन्। मौसम अनुसारको तरकारी खेती गर्दै आएकी छन्- काउली, बन्दा, फर्सी, गोलभेंडा, लौकादेखि गाँजर, मुला, काँक्रा, खुर्सानी, तीतेकरेलासम्म। अहिले उनको टनेलमा गोलभेंडा पाकेका छन्।
उत्पादित धेरैजसो तरकारी व्यापारीलाई बेच्छिन् भने आफैं पनि कीर्तिपुर बजार गएर बिक्री गर्छिन्। स्थानीय पसलेबाट सोझै पनि तरकारीको माग आउँछ। अर्डर अनुसार पसलमै पुर्याइदिन्छिन्। आफैं बोकेर पुर्याइदिन्छिन्। कतिपय सर्वसाधारण बजारमा भन्दा सस्तो पाइने भन्दै टनेलमै पुग्छन्।
हामी पुग्दा उनी फोनमा पसलेसँग तरकारीको मोलभाउ गर्दै थिइन्। पसलेले गोलभेंडा लिने भएपछि सन्तोष मानेकी उनले यसपाला खासै व्यापार नभएको खिन्नता पोखिन्।
तिलखुणी बाजुरामै छँदाको कुरा हो, शहरमा सुविधा हुन्छ भन्ने सुनेकी थिइन्। उनका आफन्त कीर्तिपुरमै तरकारी खेती गर्थे। तरकारी बेचेर राम्रो आम्दानी हुने, छोराछोरीलाई पढाउन सकिने भन्ने सुनेपछि उनी हौसिइन्। गाउँका अरू धेरै जना आएपछि उनी पनि श्रीमान् र बालबच्चा सहित चार वर्षअघि काठमाडौं आइन्।
दम्पती मिलेर तरकारी खेती त शुरू गरे, तर सोचे जस्तो आम्दानी भएन। टनेल र टहरा निर्माणमै दुई लाख रुपैयाँ खर्चेर खेती शुरू गरेका उनीहरूको कामले गति नलिंदै कोभिड-१९ को महामारीले दु:ख दियो। पहिलो बन्दाबन्दी (लकडाउन) हुँदा आम्दानी राम्रो थियो, दोस्रो र पछिका लकडाउनमा भने कमाइ घट्दै गयो। तरकारीको कमाइले पेट पाल्न र बच्चा पढाउन सक्ने अवस्था नदेखेपछि श्रीमान् रामबहादुर विक बालबच्चा र खेती तिलखुणीको जिम्मा लगाएर दुई वर्षअघि साउदी अरब गए।
कोभिड-१९ को महामारी अघि उनले दुई वटा गाई पालेकी थिइन्। दूध बेचेर राम्रो आम्दानी भइरहेको थियो, तर गाई स्याहार्न गाह्रो भएपछि बेचिन्। तरकारी खेतीले जेनतेन धानेको उनको भनाइ छ।
उनका अनुसार मौसमी तरकारी फल्ने वेला राम्रो कमाइ भए पनि अहिले भाउ घटेको छ। उनले टनेलबाट प्रतिकिलो १५ रुपैयाँमा गोलभेडा बेच्छिन्, बिचौलियाले ५० रुपैयाँ किलोको दरले बेचेर फाइदा लिने गरेका छन्। दु:ख गर्ने किसानले फाइदा नपाउने गुनासो गर्दै उनी भन्छिन्, “जति दु:ख गर्यापन हाम्वा हात औंणा रुपियाँ पड्दाइन,” उनी भन्छिन्।
उसो त बाजुरामा उनको खेतीपाती गर्ने आफ्नै जमीन थियो। तर, जति दु:ख गरे पनि खानै धौधौ हुन्थ्यो। काठमाडौंमा तरकारी खेतीबाट अर्थोपार्जन गर्न सकिने थाहा पाएर आएकी उनले यहाँ पनि अपेक्षा गरे जति आम्दानी पाइनन्। तर, जति छ त्यसमा खुशी छिन्।
गाउँमा कष्टकर जीवन भोगेर आएकी उनी तुलनात्मक रूपमा यहाँ धेरै सहज भएको बताउँछिन्। भन्छिन्, "ज्याजसो भयापन हाम्वा गाउँभन्दा याइ सजिलो छ। गाउँणो भारी बोक्नुपण्दो छ, याँ पड्डैन।"
उद्देश्य: शिक्षा र स्वास्थ्य
तिलखुणीका तीन छोराछोरी, एक भाइ र भदा कीर्तिपुरकै सामुदायिक विद्यालयमा पढ्छन्। कमाउने लोभभन्दा पनि छोराछोरीले राम्रो पढून् भनेर आएको उनी बताउँछिन्। जेठा छोरा कुशलले एसईई दिइसके। छोरी रमिता कीर्तिपुरस्थित वैष्णवी माविमा कक्षा ७ मा अध्ययनरत छन्।
रमिता भन्छिन्, “गाउँका विद्यालयभन्दा यहाँ पढाइ राम्रो हुन्छ। उता र यताको शिक्षामा धेरै फरक पाएँ।” यहाँ अंग्रेजी माध्यमबाट पढाइ हुने र यसले भोलि केही गरी विदेश जान मिले पनि सजिलो हुने उनी बताउँछिन्।
तिलखुणीकै काम हेरेर उनकै गाउँकी दीपा विक पनि चार महीनाअघि कीर्तिपुर पाङा चारधारामा आएर बस्न थालेकी छन्। अहिले तिलखुणीलाई खेतीमा सघाइरहेकी उनी पनि जग्गा भाडामा लिएर तरकारी खेती गर्ने सोचमा छिन्। श्रीमान् मजदूरीका लागि भारतमा छन्। गाउँमा स्वास्थ्य र शिक्षाको राम्रो सुविधा नभएकै कारण बालबच्चा सहित काठमाडौं आएको उनी बताउँछिन्। “गाउँको पढाइले छोराछोरीको भविष्य बन्दैन, उनीहरूले आफू जस्तै दु:ख नपाऊन् भनेर आएकी हुँ,” उनी भन्छिन्। उनका श्रीमान् पनि भारतबाट सोझै काठमाडौं आउने योजनामा रहेको उनले सुनाइन्।
ललिप्रसाद यहाँ आउनुको उद्देश्य पनि छोराछोरीलाई राम्रो शिक्षा दिनु हो। दुई छोरालाई कीर्तिपुरकै उज्ज्वल शिशु निकेतन एकेडेमीमा पढाएका छन्। “गाउँमा शिक्षा राम्रो छैन, विद्यालय टाढा पनि छ,” उनी भन्छन्, “यहाँ शिक्षा र स्वास्थ्यको सुविधा राम्रो छ। अर्को कुरा, कमाउन विदेश जाँदा परिवारसँग छुट्टिनुपर्थ्यो, यहाँ सँगै बस्न पाइएको छ।”
मनवीर सञ्ज्याल पनि नातिनातिनीलाई राम्रो शिक्षा दिन यता आएको बताउँछन्। उनका एक नाति, एक नातिनी छन्। मनवीरका छोरा जीवन छोराछोरी र आफ्नो भविष्यका लागि काठमाडौं रोजेको बताउँछन्। कक्षा १२ उत्तीर्ण गरेका उनले स्नातक पनि पढ्ने सोच बनाएका छन्।
मिर्गौला बिग्रेका मनवीरले नियमित रूपमा डायलासिस गराइरहनुपर्छ। सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालमा डायलासिसको सुविधा छैन। त्यसमा पनि उनको घर रहेको स्वामीकार्तिक खापर गाउँपालिका-२ बाट जिल्ला अस्पताल निकै टाढा पर्छ। अरू रोगको निदान र उपचारका सबै सुविधा जिल्ला अस्पतालमा नभएकाले बिरामी हुँदा धनगढी, नेपालजगन्ज र काठमाडौं नै पुग्नुपर्छ। उनले आफ्नो जटिल स्वास्थ्य अवस्था पनि हेरेर काठमाडौं रोजे। यहाँ सजिलै औषधि किन्न पाएका छन्। अप्ठयारो हुँदा अस्पताल नजिकै छन्।
बाजुराका विकट ठाउँमा सडक असुविधाका कारण स्वास्थ्य संस्थामा सहज पहुँच नरहेको, सामान्य औषधोपचार पनि उपलब्ध नहुने भन्दै उनले दुर्गम जिल्लालाई राज्यले बेवास्ता गरेको आरोप लगाए।
नौ वर्षअघि तिलखुणीको आन्द्रामा घाउ हुँदा जिल्ला अस्पतालमा उपचार हुन सकेन। श्रीमान् भारत भएकाले उतै गएर उपचार गराइन्। केही समय मुम्बईमा घरेलु श्रमिकका रूपमा काम गरिन्। श्रीमान् मानसिक रोगी भएर फर्किनुपर्यो। गाउँमा कमाइको मेलो नभएकाले उपचार गराउने रकम थिएन। काठमाडौं गएर आयआर्जन गर्ने र उपचार पनि गराउने उद्देश्यले सपरिवार आए। पाटनको मानसिक अस्पतालमा श्रीमान्को उपचार भयो। निको भएपछि विदेश गए।
ललिप्रसाद पनि जिल्लामा छँदा स्वास्थ्योपचारको अभाव, यातायात असुविधा जस्ता समस्या भोग्नुपरेकोमा यहाँ अर्कै जीवन बाँचिरहेको बताउँछन्। “बाजुरातिर अस्पतालमा अत्यावश्यक स्वास्थ्योपचार पाइँदैन। त्यसमाथि अस्पताल धेरै टाढा छ र यातायात सुविधा छैन। सुत्केरी हुँदा बाटोमै बच्चा पाउनुपर्ने बाध्यता छ,” उनी भन्छन्, “राज्यले सबै सुविधा गाउँमा पुर्याएको भए हामी किन यहाँ आउनुपर्थ्यो र!”