समाधान हुँदै हाेइन फराकिलो सडक
एक घन्टामा वारपार हुनुपर्ने नारायणगढ-मुग्लिन सडकमा यात्रुले घन्टौं जाम खेप्नुपर्छ। वर्षात्मा त पहिरोले झन् सास्ती हुन्छ। किन हुन्छ मुग्लिन सडकमा जाम, केही छैन समाधानको उपाय?
पूर्वी नेपालबाट जेठ ३१ मा मनसुन भित्रिएको दुई साताअघि नै नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध भइसकेकाे थियो। जेठमा ८ मा चितवनको इच्छाकामना गाउँपालिका-६ को ३ नम्बरमा पुलमा गएको पहिरोले दिनभर यातायात ठप्प रह्यो।
मनसुनपछि त झन् निरन्तर पहिरो जाने र नारायणगढ-मुग्लिन सडक अवरुद्ध हुने क्रम चलिरहेको छ। डिभिजन सडक कार्यालय, भरतपुरका अनुसार असार मात्रै दर्जन ठाउँमा पहिरोले सडक अवरुद्ध भयो भने यात्रुले घन्टौं जाममा बस्नुपर्यो। असार १४ मा गएको पहिरो कारण त १८ घन्टा सडकमै बिताउनुपर्यो।
मनसुनमा मात्रै होइन, अघिपछि पनि पहिरो गइरहन्छ। अझ पहिरो नजाँदा पनि नारायणगढ-मुग्लिन सडकखण्ड पार गर्न सास्ती खेप्नुपर्छ। ३३.२५ किलोमिटर लामो यो सडक एक घन्टामै वारपार हुनुपर्ने हो, तर घन्टौं ट्राफिक जाममा बित्छ।
ट्राफिक जाम व्यवस्थापन गर्नकै लागि भनेर विभिन्न कार्य भइरहेका छन्। जसमा प्रमुख हो, सडक विस्तार। नारायणगढ-मुग्लिन खण्डमा मात्रै होइन, अन्यत्र पनि ट्राफिक जाम व्यवस्थापनका लागि सडक विस्तारलाई नै प्राथमिकतामा राख्ने गरिएको छ। के सडक विस्तारले मात्रै ट्राफिक जाम व्यवस्थापन हुन्छ त?
विज्ञहरू भने ट्राफिक जाम व्यवस्थापनका लागि सडक विस्तार नै उचित ठान्ने बुझाइ गलत भएको बताउँछन्। सडक विस्तारले मात्रै ट्राफिक जामबाट मुक्ति नदिने उनीहरूको भनाइ छ। “सडक चौडा गरे मात्र ट्राफिक जामको समाधान हुन्छ भन्ने सोच्छाैं, जुन गलत हो,” यातायातविज्ञ आशिष गजुरेल भन्छन्, “चौडा बनाउँदा केही समयका लागि सडकको क्षमता वृद्धि हुन्छ र सहज भए जस्तो लाग्छ। तर, जब गाडीको संख्या बढ्छ, सडकको क्षमता घट्दै जान्छ र फेरि ट्राफिक जामको समस्या शुरू हुन्छ।”
सडक चौडा बनाएर मात्रै दिगो व्यवस्थापन नहुने उनको भनाइ छ। गजुरेल भन्छन्, “ट्राफिक इन्जिनीयरिङले पनि चौडा सडकलाई दिगो समाधानका रूपमा हेर्दैन।”
त्यस्तै, सडकविज्ञ देवेन्द्र कार्की पनि फराकिलो सडक बनाउनु नै ट्राफिक जामको समाधान नभएको बताउँछन्। “सडक फराकिलो हुँदा केही हदसम्म ट्राफिक जाम कम हुन्छ, सडक व्यवस्थापनमा सहज हुन्छ, तर पूर्ण रूपमा ट्राफिक जाम भने हट्दैन,” कार्की भन्छन्, “जाम हटाउन सडक व्यवस्थापन गर्नैपर्छ।”
सडक फराकिलो बनाउँदैमा ट्राफिक जाम कम नहुने भौतिक पूर्वाधारविज्ञ कमल पाण्डे पनि बताउँछन्। “बर्सेनि पोखरा र नारायणगढको रूट भएर पश्चिम र पूर्वबाट आउने सवारी साधनको संख्या जुन गतिले बढिरहेको छ, त्यसले ट्राफिक जाम पनि बढ्दै जान्छ,” पाण्डे भन्छन्, “सवारी चापको जामलाई फराकिलो सडकले केही हदसम्म धान्ला, तर पर्याप्त भने हुँदैन।”
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व सहसचिव समेत रहेका पाण्डे अहिले नारायणगढ-मुग्लिन सडकखण्डमा भइरहेको विस्तारले केही वर्ष धाने पनि दीर्घकालीन समाधान नहुने बताउँछन्। उनी भन्छन्, “हालको सडक विस्तारले केही वर्ष सजिलो भए पनि दीर्घकालीन समाधानको उपाय खोज्न जरुरी छ।”
यसअघि गरिएको सडक विस्तारलाई भौतिक पूर्वाधारविज्ञ पाण्डे उदाहरणका रूपमा पेश गर्छन्। उनका अनुसार ट्राफिक जाम व्यवस्थापनकै नाममा पहिले नागढुंगादेखि नौबिसेसम्म पहाड काटेर सडक फराकिलो पारिएको थियो, जुन सही थिएन। अहिले नारायणगढ-मुग्लिनमा भइरहेको सडक विस्तार पनि दीर्घकालीन समाधान नभएको बताउँदै पाण्डे भन्छन्, “सडक विस्तार अल्पकालीन समाधान बाहेक केही होइन।”
किन हुन्छ सधैं जाम?
सामान्यतया सवारीसाधनको संख्या सडकको क्षमताभन्दा बढी भएपछि पालो कुर्नुपर्दा ट्राफिक जाम शुरू हुन्छ। योसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा सडकको बीचमा निर्माण सामग्री राख्ने, निर्माणको समयमा गाडी रोक्ने, खाल्डाखुल्डी, पहिरो, सवारी दुर्घटना, ओभरटेक, जथाभावी गाडी रोख्ने, चालकले लेन मिच्ने, ट्राफिक नियम उल्लंघन गर्ने जस्ता विभिन्न कारण हरेक दिन घन्टौं जाम हुन्छ।
अहिले भने सडक विस्तारले पनि जाम बढाएको छ। सडक विस्तार तथा निर्माण कार्य चरणबद्ध रूपमा नगरी सबै एकैपटक भइरहेकाले ट्राफिक जामको समस्या झनै बढेको विज्ञहरूको भनाइ छ। विगतबाट पाठ नसिक्दा नारायणगढ-मुग्लिनको जामले झनै समस्या ल्याएको सडक विभागका पूर्व महानिर्देशक कार्की बताउँछन्।
यो सडकखण्डमा नागढुंगादेखि नारायणगढसम्म एकैपटक भत्काइएको छ। “मुग्लिनको जाम पुरानै समस्या हो। यसमा निर्माण कार्यले समस्या थप्छ,” कार्की भन्छन्, “एकैचोटि काम गर्न सकिने अवस्था रहँदैन। अहिले त झन् पूरै ‘फेज’ मा भत्काइएको छ।”
यो सडकखण्डमा वर्षात्मा हिलो र हिउँदमा धूलो हुन्छ। विगतमा यसरी नै काम गरिंदा समस्या हुने गरेको थियो। “विगतबाट कुनै पाठ सिकेनौं, निर्माणको काम अन्धाधुन्ध चलेको छ,” उनी भन्छन्, “एकैपटक भत्काउनुको सट्टा १०-१० किलोमिटर गर्दै विभिन्न चरणमा भत्काउँदै काम गर्नुपर्थ्यो।”
निर्माणका क्रममा हुने लापरवाही त भयो नै निर्माण सामग्री सडकमै राखेर काम गर्दा पनि जाम बढाइरहेको छ। त्यस्तै, मोटरसाइकल र माइक्रोबसले जथाभावी गर्ने ‘ओभरटेक’ ले पनि जामको समस्या बढाइरहेको कार्कीको भनाइ छ।
राम्रो व्यवस्थापन नगर्दासम्म जामको समस्या रहिरहने यातायातविज्ञ गजुरेल सुनाउँछन्। “निर्माण सामग्री सडकमै राखिएको छ, कतिपय स्थानमा गाडी रोक्नुपर्ने अवस्था छ,” जामको कारण बताउँदै गजुरेल भन्छन्, “मालवाहक गाडी पनि त्यही बाटो सुस्तरी हिंड्छ। अन्य सवारीसाधनले ओभरटेक गर्न पाउँदैनन् र लाइन लाग्छ। जसले गर्दा नारायणगढ-मुग्लिन सडकमा सधैंभर ट्राफिक जामको समस्या आउँछ।”
यी समस्या मात्रै सुल्झाउने भने पनि अहिलेकै लेन अनुसार ट्राफिक जामको समस्या कम हुने उनको भनाइ छ। “मुग्लिन सडकखण्डको दैनिक १२ हजारसम्म सवारी साधन आवतजावतलाई धान्न सक्ने क्षमता छ,” गजुरेल भन्छन्, “ट्रान्सपोर्ट इन्जिनीयरिङलाई आधार मान्दा पनि एउटा लेनमा केही घन्टासम्म ३०० गाडी जाम विना हिंड्न कुनै समस्या हुँदैन।”
नारायणगढ-मुग्लिन सडकखण्डमा राम्रोसँग ट्राफिक व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ। “कुनै अवरोध नगर्ने हो भने दैनिक १२ हजार सवारीसाधन गुड्न पर्याप्त छ। जाम हटाउनकै निम्ति सडक चौडा गरिरहनुपर्दैन,” गजुरेल भन्छन्।
कसरी होला समाधान?
विज्ञहरूको भनाइलाई आधार मान्ने हो भने नारायणगढ-मुग्लिन क्षेत्रमा साँघुरो सडक र बारम्बार खस्ने पहिरो ट्राफिक जामको मुख्य कारक होइन। यद्यपि, सकेसम्म हालको सडकखण्डलाई चार लेनसम्म तन्काउँदा ट्राफिक जामको समाधान दिगो हुन सक्ने यातायातविज्ञ गजुरेलको भनाइ छ। “दुईवटा लेन आउने र दुईवटा लेन जाने गरी बीचमा डिभाइडर राखिदिने हो भने आमुन्ने-सामुन्ने दुर्घटनाको सम्भावना पनि कम हुन्छ,” गजुरेल थप्छन्, “एकातिरको एउटा लेन मालवाहक गाडीको पनि प्रयोग गर्न सकिन्छ भने अर्को लेन अन्य सवारी साधनलाई मिल्छ।”
यसरी ट्राफिक व्यवस्थापन गर्न सकियो भने आगामी ५० वर्षसम्म जामको समस्याबाट छुटकारा पाउन सकिने उनी बताउँछन्। यसमा ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राख्नपर्ने उनको जोड छ। पहिरोको समस्या समाधान गर्न भने सिन्धुलीको सडकमा झैं ‘रिटेन्सन वाल’ लगाउने र पूर्ण इन्जिनीयरिङ विधि प्रयोग गर्नुपर्ने यातायातविज्ञ गजुरेलको सुझाव छ।
त्यस्तै, भौतिक पूर्वाधार मन्त्रालयका पूर्व सहसचिव कार्की पनि ट्राफिक व्यवस्थापनमै जोड दिन्छन्। निर्माणका क्रममा पनि ट्राफिक प्रहरी कार्यालय, सडक विभाग र प्रोजेक्ट म्यानेजरले व्यवस्थित ढङ्गले काम गर्नुपर्ने उनको भनाइ छ। “निर्माण कार्य र यातायात व्यवस्थापन राम्रोसँग गर्ने हो भने मुग्लिन सडकखण्डको जामको समस्या हल गर्न सकिन्छ,” उनी भन्छन्।
त्यससँगै वैकिल्पक सडकका विषयमा सोच्नुपर्ने उनको भनाइ छ। अहिले वैकल्पिक सडकका रूपमा पारिपट्टी गल्छीदेखि धादिङबेसीबाट सडक सञ्चालन भइरहेको छ। “पारिपट्टीको सडकलाई व्यवस्थित गर्न सक्ने हो भने सडक फराकिलो बनाउन समय र बजेट खर्चिनुपर्छ जस्तो लाग्दैन,” कार्की भन्छन्। त्यस्तै, सुरुङमार्ग पनि निर्माण क्रममा रहेकाले सवारी साधन बढ्ने वेलासम्म विकल्प तयार हुन सक्ने उनको भनाइ छ।
मुग्लिन क्षेत्रमा सधैं पहिरो खसिरहन्छ। पहिरोका कारण हुने जामको समाधानका लागि भने विकल्प खोज्नुपर्ने उनको भनाइ छ। “अन्धाधुन्ध शाखा सडक काट्दा पहिरो खस्ने समस्या देशव्यापी हो। मुग्लिनमा पहिरोले एकाध घन्टा जाम हुन्छ, पहिरो नै जामको मुख्य कारण भने होइन,” उनी भन्छन्, “तैपनि यसलाई दीर्घकालिन रूपमा समाधान गर्न सकिने गरी हेर्नैपर्छ।”
लामो समय सडक इन्जिनीयरका रूपमा काम गरेका भौतिक पूर्वाधारविज्ञ पाण्डे पनि निर्माणाधीन सुरुङमार्गले ट्राफिक व्यवस्थापन केही सहज हुनेमा आशावादी छन्। द्रुतमार्ग बनेपछि मालवाहक ट्रक र वीरगन्जबाट आउने सवारीलाई त्यही बाटो आउने-जाने र हालको सडकबाट अन्य सवारीसाधन चल्ने बनाउन सकिए ट्राफिक जाम कम हुनेे उनको भनाइ छ। “त्यसपछि यो बाटोले केही वर्षसम्म धान्न सक्छ। ट्राफिक व्यवस्थापनमा पनि सहज हुन्छ,” उनी भन्छन्।
नौबिसे पारिपट्टि उत्तरतर्फ (नुवाकोट)को फाँट, नुवाकोट, त्रिशूली खोला किनारबाट वैकल्पिक शाखा सडकको योजना अघि सारिएको थियो। त्यो योजना अन्तर्गत डिजाइनको काम बनिसकेको भए पनि जग्गा मुआब्जाको विवादले अघि बढ्न सकेको छैन।
यो सडक निर्माण गरेमा दीर्घकालीन रूपमा प्रभावकारी बन्ने पूर्वाधारविज्ञ पाण्डे बताउँछन्। “ट्राफिक व्यवस्थापनका लागि उत्तरतर्फ नुवाकोटबाट एउटा शाखा लानुपर्ने हुन्छ। हालको नौबिसेको सडकले मात्र पुग्दैन,” उनी भन्छन्, “गल्छीदेखि पारिपट्टि र उत्तरतर्फको नुवाकोटको सडक नागढुंगामा जोडिन्छ। दुवै सडक नागढुंगामा जोडिएपछि अहिले जस्तो घन्टौं जाममा बस्नुपर्ने समस्या हट्छ।”
दीर्घकालीन समाधानका लागि सवारी संख्या घटाउने व्यवस्था गर्नुपर्ने र वैकल्पिक मार्ग खोज्नुपर्ने उनको भनाइ छ। त्यस्तै, उकालो र अन्य आवश्यक स्थानमा अतिरिक्त लेन बनाएर सुविधाजनक तरीकाले सडक सञ्चालन गर्नतर्फ पनि ध्यान दिनुपर्छ। “विकल्प खोज्नुपर्छ, फराकिलो सडकले मात्र हालको ट्राफिक जामलाई कम गर्न सक्दैन,” पाण्डे भन्छन्।
कहाँ पुग्यो स्तरोन्नतिको काम?
हाल नागढुंगा-मुग्लिन सडक स्तरोन्नति आयोजना अन्तर्गत निर्माणाधीन अवस्थामा छ। जस अन्तर्गत सडक विस्तार, पुल निर्माण, नाली र रिटेनिङ वाल निर्माणको काम भइरहेको छ। नागढुंगादेखि नौबिसे र नौबिसेदेखि मलेखुसम्म पूर्वी खण्डमा दुई चरणमा निर्माण कार्य चलिरहेको छ।
पूर्वी खण्डका आयोजना प्रमुख ईश्वरबहादुर रिजालका अनुसार नागढुंगादेखि नौबिसेको १२.२६ किलोमिटर सडकमा ३० प्रतिशत काम भएको छ। नौबिसेदेखि मलेखुको ४३.५१ किलोमिटर सडकमा झन्डै १० प्रतिशत काम भएको रिजाल बताउँछन्। पूर्वी खण्डको निर्माण कार्य जून २०२५ मा सक्ने लक्ष्य छ।
मलेखुदेखि मुग्लिनसम्म पश्चिम खण्डको निर्माण २०७९ पुस १५ बाट शुरू भएको हो। आयोजना प्रमुख सुरेन कार्कीका अनुसार हालसम्म हाल १.५ प्रतिशत काम मात्र सकिएको छ। “वर्षात् र भौगोलिक कठिनाइका कारण काममा ढिलाइ भइरहेको छ,” कार्की भन्छन्, “ट्राफिक व्यवस्थापन योजना अनुसार काममा कुनै अवरोध नभए तीन वर्षभित्रै निर्माण सक्ने लक्ष्य छ।”
दुवै खण्डको काम नियमित रूपमा गरियो भने पनि कम्तीमा तीन वर्ष लाग्नेछ। त्यतिन्जेल ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर पहल थालिएन भने नारायणगढ-मुग्लिन सडकखण्डमा ओहोरदोहोर गर्ने यात्रुले हरेक दिन जाम झेल्नुपर्ने नै छ। अहिले यो सडकखण्डमा दैनिक १२ हजारदेखि १५ हजारसम्म सवारीसाधन आवतजावत गर्छन्।